कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

गुरुमार्पाको टुँडिखेल कथा

आख्यान भन्छ, टुँडिखेल गुरुमार्पाको हो । हरेक फागुपूर्णिमा (होली) को रात एक मुरी चामलको भात र सिंगो राँगाको परिकार टुँडिखेलको एक्लो रुखमुनिका अदृश्य गुरुमार्पालाई अर्पण गरिन्छ । तर, सत्ता र सेना टुँडिखेलका ‘रक्षक’ गुरुमार्पा लखेट्न उद्यत छन् । रैथानेहरुको प्रश्न छ– कसको हो टुँडिखेल ?
भीमसेन थापाले सांस्कृतिक सम्पदा मासेर धराहरा उठाए, लगनमा विहार भत्काएर सिलखाना दरबार बनाए
मल्ल के. सुन्दर

गायब टुँडिखेल
काठमाडौं शान्तिपार्क, दक्षिणतिर भोटाहिटी भएर बागबजार जाने मूलबाटोसँगैको खुला ठाउँ शंखधर पार्क हो । राजाको शासनमा त्यसलाई रत्नपार्क भनिन्थ्यो । सँगै जोडिएको चउरलाई खुलामञ्च बनाइएको छ । त्यसभन्दा पर अलि फराकिलो ठाउँ सैनिक मञ्च बन्यो । सहिदगेट सडकपारिको सिंगो भूमि नेपाली सेनाको एकलौटी अधीनस्थ क्षेत्र भयो । सेनाको मुख्यालय यसै परिसरमा खडा गरिएको छ । आखिर, कहाँ छ टुँडिखेल ?

गुरुमार्पाको टुँडिखेल कथा

सर्जनका रूपमा उपत्यकामा रहेका बेलायती हेनरी अम्ब्रसे आय्लफिल्डले सन् १८५० तिर रानीपोखरीदेखि दक्षिण हाल दशरथ रंगशाला त्रिपुरेश्वरसम्म फैलिएको टुँडिखेलको तेलचित्र बनाएका थिए, बेलायती रेसिडेन्सीका लागि । उनीभन्दा एक शताब्दीअघि सन् १७२० मा तिब्बतबाट काठमाडौं भएर भारत पुगेका इटालीका पादरी लिप्पोलिट्टोले पनि आफ्नो यात्रा वृत्तान्तमा टुँडिखेलको खुला क्षेत्रफलबारे उल्लेख गरेका थिए । उनको अनुमानमा त्यतिखेरको टुँडिखेल उत्तरबाट दक्षिणसम्म लगभग तीन माइल लम्बाइ फैलिएको थियो । तर, अहिले न त्यो विशाल स्वरूप रहिरह्यो, न टुँडिखेल टुँडिखेलको रूपमा रह्यो । वर्तमानसम्म आइपुग्दा टुँडिखेल हरायो ।

अतिक्रमण कथा

भीमसेन थापा जनरल बनेपछि उनले रैथानेहरूको बौद्ध धार्मिक केन्द्र गणविहार तथा सांस्कृतिक सम्पदाहरू मासेर धराहरा उठाए, लगनमा विहार भत्काएर आफ्नो दरबार सिलखाना बनाए । त्यसै क्रममा सँगैको खुला चउर टुँडिखेललाई सैनिक छाउनी बनाए । पछि जंगबहादुरले पनि त्यसैलाई निरन्तरता दिँदै विश्वयुद्धका लागि गोरखाली जवानहरू छनोट गर्न र प्रशिक्षणका लागि टुँडिखेलमा सैनिक परेड गराए । टुँडिखेलमाथि शासकबाट भएका अतिक्रमणका आरम्भ थिए ती ।

टुँडिखेल पूर्वतिरको एकछेउको खरीको बोटमा संगमरमरले सजाइएको चौतारो बनाएर त्यसको वरपर विश्वयुद्धमा वीरगति प्राप्त भिक्टोरिया क्रससहित सम्मानित गोरखाली सैनिकका मूर्तिहरू ठड्याएर राणा शासकले त्यसलाई सैनिकीकरण गर्ने कामको थालनी गरिसकेका थिए । पछि खरीको बोटको चौतारी राणा शासकहरूको औपचारिक घोषणाको थलो बन्यो । करिया मुक्तिको घोषणा पनि श्री ३ चन्द्रशमशेरले यही चौतारीमा उभिएर गरेका थिए ।

नयाँ सडक ढोकासँगै हाल नेपाल वायुसेवा निगमको भवन भएको ठाउँमा उत्तरबाट दक्षिणतिर लाम लगाएर सैनिक ब्यारेकहरू उठाइए । केही समयपछि टुँडिखेलकै दक्षिणी हिस्सालाई रंगशालातिर सैनिक प्रशिक्षणका लागि तारो हान्ने अभ्यास केन्द्रमा परिणत गरियो । आवास क्षेत्रबीच बन्दुक पड्काउँदै सैनिक अभ्यास गर्दा त्यसबाट पर्ने मानसिक असर र मानवीय क्षतिको अवस्थाबारे सेनालाई चिन्ता थिएन । बरु, सैनिक अभ्यासको सहजताका लागि नागरिकको स्वतन्त्र हिँडडुलमाथि नियन्त्रण गरिन्थ्यो । तारो हान्ने समय सदैव टुँडिखेल निषेधित क्षेत्र बन्थ्यो । सैनिक–प्रहरीले टुँडिखेलमा पाइला टेक्ने नागरिकलाई लौरो बोकेर लखेट्थे, भेट्टाए लगेर थुनामा हाल्थे ।

महेन्द्रको निरंकुश राजनीतिक कदमप्रति अनुमोदनस्वरूप बेलायत सरकारका तर्फबाट महारानी एलिजाबेथ द्वितीयाको राजकीय भ्रमण भएको थियो । उनकै स्वागत–सम्मानमा उपत्यका सजाउने क्रममा टुँडिखेललाई बारभित्र खुम्च्याइयो । त्यहाँ ढोकाहरू उठाइए । वाग्मती अञ्चलाधीशको सनकमा खुला टुँडिखेल खण्डित गरियो । हेर्दाहेर्दै टुँडिखेल रत्नपार्क, खुलामञ्च अनि शाही सैनिक मञ्चका रूपमा अतिक्रमित भयो । टुँडिखेल टुँडिखेलकै रूपमा रहेन ।

शाही सैनिक मञ्च बनेपछि सेनाले टुँडिखेललाई आफ्नो अधीनस्थ क्षेत्रकै रूपमा बुझ्यो, त्यसैखाले व्यवहार गर्दै लग्यो । सेनाले नागरिकका लागि टुँडिखेलभित्र पाइला टेक्न पाउने र नपाउने समय तालिका तोक्न थाल्यो ।

टुँडिखेलको दक्षिणतिर रंगशालासम्म चर्चिएको मैदानलाई त सेनाले आफ्नो बपौतिकै चार किल्ला ठान्यो । सेनाले खुला मैदान मासेर सैनिक मुख्यालयको संरचना मात्र बनाएन, स्थानीय निकायसँग लिनुपर्ने अनुमतिसमेत नलिई अनियन्त्रित निर्माण कार्य

गरिरह्यो । सार्वजनिक थलोमा अनावश्यक भौतिक संरचना ठड्याएर त्यसलाई व्यापारिक प्रयोजनमा प्रयोग गरिरह्यो । एक अर्थर्मा सत्ता र सैनिकको अतिक्रमणमा टुँडिखेल मासियो ।

नागरिक चासो

टुँडिखेलमाथिको अतिक्रमणले सीमा नाघेको छ । तसर्थ नागरिक अभियन्ताहरू सामूहिक चिन्ता जाहेर गर्दै यसको संरक्षणका लागि सडकमा आए । गएको फागुन ७ गते बृहत् नागरिक आन्दोलनका तर्फबाट सार्वजनिक नारा उठाए– टुँडिखेल कसको ? अभियन्ताहरूको सामूहिक बुझाइ छ, टुँडिखेल नागरिकको हो । त्यसैले त्यतिखेर टुँडिखेलवरपर प्रदर्शन गर्दै नारा घन्काए– टुँडिखेल नागरिकको हो ! फुटपाथे पसलेहरूको हूलहुज्जत, बसपार्कको तमासा अनि निर्माण कम्पनीहरूको बसाइले टुँडिखेलको अस्मितामाथि व्यंग्य गरिरहेको थियो । स्वाभाविक हो, यस्तोमा सबैको मनमा प्रश्न उठेको छ– टुँडिखेल कहाँ छ ? कसको हो टुँडिखेल ?

सम्पदा संगम

टुँडिखेल केवल मैदान होइन । लामो लोकआख्यानसँग गाँसिएको यो सम्पदाको संगम हो । मूर्त सम्पदाहरू भद्रकाली, बज्रवीर महांकाल, संकटा तथा द्वैमाजुको आराध्यस्थल टुँडिखेल परिसरकै अंग हुन् । टेबहालको लिच्छविकालीन बौद्धचैत्य पनि यहीं छ । सुन्धाराको अतिरिक्त यस मैदानवरपर थुप्रै ढुंगेधाराबाट पानी बहन्थ्यो । विभू बर्माद्वारा निर्मित सम्वत् ४५ अंकित कलात्मक ढुंगेधारा टुँडिखेलकै अंश थियो ।

अक्षय तृतीयाका दिन आरम्भ भई कुमारी षष्ठीका दिन सम्पन्न हुने रैथानेहरूको देवाली पूजाको स्थल यही टुँडिखेलको खुला स्थान हो । नगरवरपरको हजारौं परिवारका देवाली पूजाका मूर्तिहरू टुँडिखेलवरपर सजाइन्थे । सेनाको कब्जापछि त्यो अमूर्त संस्कार–संस्कृति अब लोप भयो ।

चैत्र कृष्णचतुर्दशीबाट काठमाडौंमा मनाइने पाहाँचह्रे पर्व मूलतः भद्रकाली र टुँडिखेलसँग सम्बन्धित जात्रा हो । औंसीको अपराह्न घोडा दौडाएर मनाइने जात्रा मूलतः टुँडिखेल केन्द्रित हो । लिच्छविहरूको नेपालमण्डल आगमनभन्दा धेरैअघिदेखि यो जात्रा मनाइन्थ्यो । टुँडिखेलको माथिल्लो भागदेखि पुच्छारसम्म हुने यो दौडमा घोडाको रफ्तार जति तीव्र हुन्थ्यो, त्यही गतिमा मुलुकमा सहकाल हुने स्थानीय आस्था थियो । धार्मिक–सांस्कृतिक रूपमा जात्राको यति महत्त्व थियो कि आराध्यदेवी कुमारी स्वयं जात्रा अवलोकन गर्न उपस्थित हुन्थिन् । दुःखको कुरा, जसरी टुँडिखेलको स्वामित्व अपहरणमा पर्‍यो, त्यसैगरी समुदायस्तरको त्यो संस्कृति पनि सेनाले बलात् कब्जा गर्‍यो । अहिले यसलाई घोडेजात्राको विकृत अर्थमा मनोरञ्जन र खेल तमासामा रूपान्तरण गरियो ।

ऐतिहासिक पाटो

थुप्रै ऐतिहासिक प्रसंगमा टुँडिखेलको चर्चा पाइन्छ । तर, यसको इतिहास–आरम्भ कहाँबाट भयो, त्यसको केही लिखत भेटिन्न । टुँडिखेल अर्थात् तिनख्यः नामकरण सम्बन्धमा पनि फरक–फरक कथन छन् । पं. बद्रीरत्न बज्राचार्यका अनुसार, वरपर धेरै रूखबिरुवा भई सीमसार क्षेत्रका रूपमा ओसिलो भएकाले स्थानीय भाषाबाट तुं ख्यः अर्थात् भास्सिने चउर भनिएको हो, त्यसैबाट तुंख्यः, टुँडिखेल नाम रहन गयो ।

विशेषतः काठमाडौंको सवलबहाल (मन्त्रसिद्धि विहार) का बज्राचार्यहरू टुँडिखेललाई आगं चपाः अर्थात् साधनागारका रूपमा लिन्छन् । त्यसै बहालका एक सिद्ध शाश्वत बज्रले नै सिद्धिबलबाट बज्रवीर महांकाललाई तल झारेर टुँडिखेल परिसरमा प्रतिस्थापना गरेका हुन् भनिन्छ । इतिहासविद् डा. गौतमबज्र बज्राचार्यको मत छ, नेवार भाषामा तु शब्दको अर्थ पूर्व दिशा हो, कान्तिपुर नगरको पूर्व दिशामा रहेको खुला मैदान भएकाले नै तुंख्यः भनिएको हो । एकथरी बौद्धहरू दाबी गर्छन्– हाल वायुसेवा निगम भवनको दक्षिणमा रहेको ठूलो रत्नत्रयायको चैत्य छ, सोही त्रिरत्नबाटै अपभ्रंश हुँदै तिनख्यः हुन पुगेको हो ।

केशचन्द्र, गुरुमार्पा र टुँडिखेल

संस्कृति–सम्पदाको समृद्धिसँग जोडिएर राजा भाष्करदेवको प्रसंग धेरै ठाउँमा आउँछ । त्योमध्ये पाटनको क्वाःबहाल अर्थात् हिरण्यवर्ण विहार (गोल्डेन टेम्पल) प्रमुख हो । सुन्दर, आकर्षक, कलात्मक भएकाले यो विहार विश्वमै प्रख्यात छ । भाष्करदेवले बनाएकाले यसलाई भाष्करवर्माकृत महाविहार पनि भनिन्छ । वंशावलीअनुसार यो विहार एघारौं शताब्दीको हो ।

उनैले काठमाडौंमा अर्को एक आकर्षक बौद्धविहार बनाउन लगाए, जुन कालान्तरमा इटुंबहालको रूपमा चिनियो । विशेषतः खुला प्रांगणका कारण पनि यो चर्चित छ । इतिहासकारहरूका अनुसार, भाष्करदेवले मूलतः सैन्य उद्देश्यबाट यस विहार बनाउन लगाएका थिए । यसलाई सैन्य किल्लाका रूपमा प्रयोग गरिएको थियो भनिन्छ । भाष्करदेव कुनै भयानक रोग लागेर अल्पायुमै बिते । कसैले उनी निःसन्तान थिए भनेका छन्, कतिपयले केशचन्द्र उनकै छोरा हुन् भन्छन् । भाष्करदेवले काठमाडौंमा बनाएको विहार र केशचन्द्रको गहिरो सम्बन्ध छ । कालान्तरमा भाष्करदेवबाट निर्मित विहार जीर्ण भएपछि यिनै केशचन्द्रले त्यसको पुनर्निर्माण गरे भनिन्छ । तसर्थ उनकै नामबाट इटुंबहाललाई भाष्करदेव संस्कारित केशचन्द्र परावर्त महाविहार भनियो ।

केशचन्द्र सम्पन्न थिए र जुवाडे पनि । जुवा–लतमा भएभरको सम्पत्ति उडाए । पछि धनआर्जनका लागि भोटतिर लागे, फेरि धनाढ्य बने । आगलागीबाट ध्वस्त बनेको भाष्करदेव संस्कारित इटुंबहालको उनले पुनर्निर्माण गराए, जुन अहिले केशचन्द्र परावर्त महाविहारको नामबाट चिनिन्छ ।

स्वदेश फर्कंदा केशचन्द्रले भारी बोकाउन लगाएकामध्ये एक जना निकै बलिया व्यक्तिलाई सहयोगीका रूपमा घरमै राखे, तिनी थिए– गुरुमार्पा । गुरुमार्पा नरभक्षी थिए । उनी छरछिमेकका बालबच्चा चोरर खान पल्किए । नगरवासीको चर्को गुनासोपछि गुरुमार्पालाई मानवबस्ती बाहिर पठाउन केशचन्द्र बाध्य भए । तर, एउटा सहमति गरियो– नगरबस्तीबाहिर खुला स्थानमा गुरुमार्पाको बासस्थानको व्यवस्था गरिने र प्राणरक्षाका लागि जाँड, रक्सी, मासुसहित भरपेट दालभात खुवाउने । सोही सहमतिअनुसार गुरुमार्पाले आफ्ना लागि पाएको बासस्थान थियो– टुँडिखेलको खुला मैदान । आख्यान तथा रैथाने संस्कृति भन्छ, टुँडिखेल गुरुमार्पाको आश्रयस्थल हो । टुँडिखेल पूर्वतिर खडा एक्लो रूख गुरुमार्पाको बासस्थानको अर्थमा सांकेतिक रूपमा आज पनि संरक्षित छ ।

काठमाडौं, किलागलका किसानहरू बर्सेनि एउटा सांस्कृतिक पर्वका रूपमा गुरुमार्पालाई सम्झिन्छन् । कुनै कालखण्डमा गरिएको सहमतिको पालनास्वरूप केशचन्द्र विहारछेउको भूतुक्यबमा सिंगै राँगाको शरीरको विभिन्न अंगबाट ‘त्यापा जो’ अर्थात् चौरासी व्यञ्जन तयार पारिन्छ । एक मुरी चामलको भात पकाइन्छ । चोयाको ठूलो ढाकरमा एकातिर पन्ध्र पाथीको भात र अर्कोतिर सिंगो राँगोको मासुको परिकार तथा बाँकी पाँच पाथी चामलको भारी बनाएर एकै जनालाई बोक्न लगाइन्छ । बाजागाजासहितको किसानको टोली त्यो भारी कतै नबिसाई सिधै नयाँसडक ढोकाछेउ पुग्छ । यो सांस्कृतिक परम्परा मध्यरातमा सम्पन्न हुन्छ । भात र मासुका परिकार पहिले त्यहाँ अवस्थित गणेशलाई चढाइसकेपछि टोली सीधै टुँडिखेल छिर्छ र त्यही एक्लो रूखमुनि पुगेर एक मुरी चामलको भात र सिंगो राँगाको परिकार गुरुमार्पालाई अर्पण गरिन्छ ।

प्रत्येक वर्ष फागुपूर्णिमाको रात गुरुमार्पालाई यसरी नै सम्झने काम आजपर्यन्त हुँदै आएको छ । टुँडिखेल गुरुमार्पाकै हो भन्ने सहमति आज पनि रैथानेहरूले पालना गरिरहेका छन् । तर, सत्ता र सेना टुँडिखेलबाट गुरुमार्पालाई लखेट्न उद्यत छन् । अमूर्त संस्कृति र सम्पदा सधैंका लागि निम्ट्यान पार्न सत्ता उद्यत छ । यस्तोमा जनस्तरबाट प्रश्न उठछ– आखिर कसको हो टुँडिखेल ?

प्रकाशित : चैत्र १४, २०७७ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?