कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

आत्मविश्वासको जरो

नेसनल जियोग्राफिक च्यानलमा सिंहको आक्रमणमा परेका मृगहरूको भागदौड र सार्वजनिक स्थानमा हिँडिरहेका स्त्रीहरूको अवस्था उस्तै लाग्छ मलाई
दिपा कोइराला

प्राथमिकदेखि माध्यमिक तहसम्मका कक्षामा मेरा गुरुहरू भन्थे, ‘जीवनमा सफलता प्राप्त गर्न हामीले आत्मविश्वास बढाउनुपर्छ ।’ आत्मविश्वासको परिभाषा उतिखेर राम्ररी नबुझेको म आफैंमाथि प्रश्न गर्थें– यो आत्मविश्वास भन्ने जिनिस हुन्छ कहाँ ?

आत्मविश्वासको जरो

उतिखेर स्कुलमा ‘स्त्री गुरु’ हरू बिरलै हुन्थे । कतिपय स्कुलमा त एक जना पनि महिला शिक्षक हुन्थेनन् । सम्झन्छु, आत्मविश्वासको अर्थ नबुझेका हामी स्कुले केटीहरूलाई जब ‘छोटो नित्यकर्म’ का लागि नजिकैको खोल्छा या पल्लो डाँडोतर्फ जानुपर्थ्यो, त्यति स्वाभाविक कर्म पनि अत्यन्तै सकसपूर्ण र कहालिलाग्दो हुन्थ्यो । लाज, घिन, समाजले निर्माण गरेका प्रतिष्ठा र आतंक–मानकका कारण केटाभन्दा पचास या सय पाइला टाढा हिँडेर हामी छात्रा कुनै उपायले छेकिने स्थल खोज्थ्यौं । अहिले पनि सरकारी स्कुलका शौचालय देख्दा म कहालिन्छु । उतिखेर सरकारी स्कुलमा अहिलेजस्तो ढोका बन्द गर्न मिल्ने शौचालय नै थिएनन् ।

छात्राका लागि जाबो पिसाब फेर्नु पनि एउटा सकसपूर्ण विषय थियो । शौचका लागि साथी लिएर जानुपर्ने अवस्थाबाट हुर्कियौं हामी । साथीबिना लुक्न मिल्ने झाडी वा खोल्छामा जानु पनि डरलाग्दो हुन्थ्यो । डर– ‘जंगली मान्छे’ को, जंगली जीवको । साथीबिनै ‘पाँच मिनेट’ जाने छात्रहरू भने बाटैतिर निर्धक्क लघुशंका गरिरहेका भेटिन्थे । तर, एउटा ‘नेचर कल’ का लागिसमेत साथी र सुरक्षा चाहिने कुरो उदेकलाग्दो थियो । र, उस्तै मान्छेका लागि लज्जा पनि फरक–फरक थिए । केटाहरूलाई त्यही विषय हाम्रा लागि भन्दा सहज थियो । लाज, घिन, त्रास हामीलाई धेरै थियो, छात्रलाई कम ।

...

बाटोघाटो, स्कुल र सडक सार्वजनिक क्षेत्र हुन् । ती ठाउँमा छोरीमान्छेले आफूलाई निर्बल, निःसहाय र ‘अवला’ महसुस गर्नुका कारण के होलान् ? सायद हाम्रा शिक्षकले उतिखेर भन्ने गरेको ‘आत्मविश्वास’ यहीं लागू हुन्छ । हाम्रा र हामीजस्तै समाज भएका दक्षिण एसियाका देशका सार्वजनिक जीवनमा छोरी मान्छेहरू कति हिम्मतका साथ बाटोमा हिँड्छन् ? महिलाका लागि हाम्रा सार्वजनिक क्षेत्र कति सुरक्षित छन् ? स्कर्ट, गाउनमै साँझतिर बार–डिस्कोमा सुरापान अनि नृत्यका लागि आफ्ना साथीहरूका कम्मर समाउँदै घरबाट निस्किने अत्यन्तै एलिट वर्गका थोरै ‘भाग्यमानी’ का बेग्लै कुरा, तर आममहिला अहिले पनि रात–बिरात केटाहरूझैं निर्धक्क हिँड्न सक्छन् ?

आजकाल बिरलै देखिएलान्, नत्र केही वर्षपहिले राजधानीको सडकका भित्तामा अडेस लागेर सहजै पिसाब फेरिरहेका हुन्थे पुरुषहरू । सार्वजनिक शौचालय नहुनुको बाध्यता थियो त्यो, बुझ्न सकिन्थ्यो । तर, त्यस्ता दृश्य देख्दा महिलाहरूले लाज मान्नुपर्थ्यो र तर्कनुपर्थ्यो । एक्कैछिनलाई त्यस्ता पुरुषका ठाउँमा महिलाको कल्पना गरौं । भयो, त्यसो नगरौं किनकि हामीलाई त्यस्ता दृश्य अपाच्य लाग्छ । हाम्रो मनोग्रन्थीले महिलाको ‘त्यस्तो उपस्थिति’ स्विकार्दैन ।

संरचनाले महिलालाई हजारौं वर्षदेखि नै सार्वजनिक जीवन दिएको छैन । महिलाले सार्वजनिक ठाउँमा आफ्ना दाबी, अस्तित्व र आत्मविश्वास ग्रहण गर्न सकेका छैनन् । समाजले महिलालाई गोप्य–निजी वस्तुका रूपमा ट्रिट गरेको छ । अहिले पनि बाटामा, सार्वजनिक मञ्चमा, भेलामा, जुलुसमा, सडकमा, मोटरसाइकलमा, बसमा हेर्नुहोस्– कति छन् महिला ? सडक र जुलुसहरूमा अहिले नै हिँडिरहेका मान्छेको जेन्डरको अनुपात नियाल्नुस् त ! अब विमर्श हुनुपर्छ– घरबाहिरको समाजसँग महिलाहरू किन त्रस्त छन् ?

सधैं त्रासमा हिँडिरहेकै छन् महिलाहरू । सडक–बजारमा हुँदा आममहिलाको मनोदशा हुन्छ– कतै आफूनजिकैको व्यक्तिले छुन्छ कि ? दूराचार गर्छ कि ? तर, सार्वजनिक ठाउँमा अरू कसैले छुन्छ भन्ने त्रास पुरुषलाई विरलै होला ! कसैले आफूमाथि हिंसा या दुराचार गर्ला भनी हर्दम सतर्क भएर हिँड्नुपर्ने प्राणीको मनोदशा तपाईं–हामी अनुमान गर्न सक्छौं । नेसनल जियोग्राफिक च्यानलमा सिंहको आक्रमणमा परेका मृगहरूको भागदौड र सार्वजनिक स्थानमा हिँडिरहेका स्त्रीहरूको अवस्था उस्तै लाग्छ मलाई । मृगहरू सदैव त्रस्त र चनाखो देखिनुपर्ने व्यवहार पनि सम्भवतः सिंहहरूको आक्रमणका कारण विकास भएको ‘इभोल्युसनरी बानी’ होला । ठाडा र टाठा कान पार्दै छिनछिनमा वरपर, दायाँबायाँ हेरिरहने मृगहरू, सडकमा सामान्य घटनामा पनि आत्तिँदै ठूलो आवाजमा चिच्याउने महिला/केटाकेटी उस्तैउस्तै लाग्छ मलाई । सार्वजनिक स्थानमा महिलाको उपस्थिति बढ्दै जाँदा यस्तो अवस्था पहिलेभन्दा घटेको होला तर वृद्धिको रफ्तार धीमा छ । यी सबै सन्दर्भ आत्मविश्वासका हुन् । तर, त्यो आत्मविश्वासको जरो के हो ?

यसको जरो हो– हजारौं वर्षदेखिका मानव सभ्यताको अभ्यास । गर्भिणी बन्नुपर्ने, बच्चा हुर्काउनुपर्ने प्रारम्भिक जिम्मेवारीबाट भाग्न नमिल्ने हुँदा महिलाको बास प्रायः घरमै भयो । आंशिक समुदायबाहेक सिकारी युगमा समेत किशोरी र महिलाले घरबाट बाहिर निस्किन पाएनन् । सम्भवतः त्यहीँबाट सुरु भएको अभ्यास औद्योगिक युग कटेर अन्तरिक्ष युग र कम्प्युटर युगसम्म आउँदा जारी छ । र, महिलाले सार्वजनिक स्थानमा अझै बिरानो हुनुपरेको छ ।

सार्वजनिक ठाउँ र एकदमै संकुचित ठाउँमा बस्दा, रहँदा, हिँड्दा त्रस्त र कायल रहने समस्यालाई मेडिकल साइन्सले ‘एगोरोफोबिया’ भन्दो रहेछ । चाखलाग्दो यो छ कि यो समस्या केटामा भन्दा केटीमा दोब्बर हुने गर्छ । पुरुषभन्दा महिला दोब्बर प्रभावित हुनु सम्भवतः यो डिस्अर्डर (गडबडी) कै कारण हुन सक्छ । यहाँनिर स्मरणयोग्य कुरा के छ भने, केही हप्ताअघि भागरथी भट्टको हत्या भयो । र, आफूभन्दा कम उमेरको केटाले करणीपछि भागरथीको हत्या गरेको प्रहरीले नै पुष्टि गरिसकेको छ । यस्ता बलात्कार र महिला हिंसाका घटना हुनुका अनेक कारणमध्ये एक कमजोर मनोविज्ञान पनि हो । आफूभन्दा सानो उमेरका केटाले समेत सहजै महिलामाथि आक्रमण गर्नुको अर्थ हो, पुरुषहरू महिलामाथि सहजै हाबी छन् । युगौंदेखि महिलाको आत्मविश्वास कमजोर बनाउन हामी बाँचेको परिवेश उद्यत छ ।

मान्छेलाई सुरवीर, बहादुर, आत्मविश्वासी बनाउने समाज र सिकाइले हो । समाजको ‘हाइरार्की’ ले हो । समाजले महिलालाई ‘बिचरा, ‘निर्बल’, ‘अबला’ भनिदिएकै कारण र सार्वजनिक जीवनमा सहजै प्रवेश नदिएकै कारण स्त्री–जातिको आत्मविश्वास नउठेको हो ।

‘आत्मविश्वास बढाऊ’ भन्ने नारा लगाउँदैमा आत्मविश्वास बढ्दैन । महिलाको आत्मविश्वास कमजोर पार्न समाज, संस्कृति, आनिबानी, व्यवहार, शिक्षा सबै उत्तिकै जिम्मेवार छ ।

प्रकाशित : चैत्र १४, २०७७ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?