बजार बदलियो, बदलिएन असन- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजार बदलियो, बदलिएन असन

असनका भरिया भारी बोक्छन्, असन स्वयंचाहिँ इतिहास बोक्छ । यहाँ सामान किन्ने उपभोक्ता बदलिए, सामान बेच्ने पसले बदलिए, बेचिने सामान बदलिए, पसल रहने घर बदलिए । तर, स्वयं असन भने कहिल्यै फेरिएन ।
बजारले सहरको अर्थशास्त्र बोकेको हुन्छ । तर, असन एउटा यस्तो बजार हो, जसले काठमाडौंको अर्थतन्त्रभन्दा पनि काठमाडौंली जनजीवनको बजार–सभ्यता र उपभोग संस्कृतिको इतिहास बोकेको छ।
सुरेश किरण

पाकिस्तानको लाहोरमा एउटा भनाइ प्रचलित छ– जसले लाहोर देखेको छैन, त्यसले दुनियाँ देखेको छैन । लाहोरको यही भनाइ काठमाडौंमा फिट गर्ने हो भने त्यो असन बजारमा लागू हुन्छ होला– जसले असन देखेको छैन त्यसले काठमाडौं देखेको छैन ।

काठमाडौंलाई नेपालकै मुटु भनिन्छ । असन काठमाडौंको पनि मुटु हो । मुटुमा रक्तसञ्चार हुने चारवटा धमनी हुन्छन् । असनमा सातवटा धमनी छ । असन यस्तो मौलिक चोक हो, जहाँ सातवटा अलग–अलग ठाउँबाट प्रवेश गर्न मिल्ने सातवटै अलग–अलग बाटोहरू मिसिन आएका छन् । तीन हुन् ः भोटाहिटी, कमलाछी, बांगेमुढा, महाबौद्ध, ज्याठा, ठहिटी र इन्द्रचोक । यी सातवटा अलग–अलग मार्गहरूबाट विभिन्न स्थानका मानिसहरू असन छिर्न सक्छन् ।

धेरै बाटाहरू सम्मिश्रित चोक हुनु असनको मौलिकता मात्र होइन, असन ‘असन’ बन्न सक्नुको प्रमुख आधार पनि हो । धेरै ठाउँबाट मानिस आउजाउ गर्न सकिने साझा चोक भएकाले असन त्यसै पनि घुइँचो भइरहने ठाउँ हो । त्यसमाथि बजार जोडिएपछि असन भीडकै पर्याय बन्न पुग्यो ।

असन काठमाडौंको ठूलो बजार त हो, तर यो चोकमा बजार कहिलेदेखि सुरु भयो, त्यो इतिहास कसैलाई थाहा छैन । न त्यसमाथि कतै लेखिएकै पाइन्छ । असनमा अझै पनि तीन–चार पुस्ता अघिदेखि सञ्चालनमा रहेका पसलहरू धेरै बाँकी छन् । हाल पसल चलाइरहेका नाति पुस्तालाई पनि हजुरबाले पसल चलाएकोसम्म थाहा छ, त्यसअघि आफ्नो पसल थियो वा थिएन, थाहा छैन भन्छन् ।

हाल मसला र पूजा सामानको पसल चलाइरहेका स्थानीय विदेहवीर सिंह तुलाधर (४१) लाई आफ्ना हजुरबा दानवीर सिंह तुलाधर यो पसलमा बस्ने गरेकोसम्म थाहा छ, कसैकसैले दानवीरका बुबा बाबुकाजी तुलाधर पनि पसलमा बस्ने गर्थे भनेको सुनिन्छ । यसरी चार पुस्ता जोड्ने हो भने विदेहवीर सिंहकै पसललाई पनि १५० वर्ष जति पुरानो मान्न सकिन्छ ।

असनलाई नुनदेखि सुनसम्म किन्न पाइने बजार भनिन्छ, हो पनि । असनको पूरै चोक विभिन्न वस्तु बेच्ने पसलले भरिएको छ । पहिले पहिले सामानहरू थोकमा बेच्ने काठमाडौंकै एक मात्र बजार पनि असन नै थियो । यहाँ चामल, चिउरा, पिठो, दाल, गेडागुडीजस्ता खाद्यान्न थोकमा बिक्रीवितरण हुन्थ्यो । यहाँबाट किनेर लगेकै सामानहरू इन्द्रचोक, मरु टोलजस्ता बजारहरूमा खुद्रामा बेच्ने गरिन्थ्यो । ती खाद्यान्नहरू कतिमा बेच्ने भन्ने भाउ पनि असनमै तोकेर पठाइन्थ्यो । तसर्थ तत्कालीन काठमाडौंमा खाद्यान्नको भाउ निर्धारण गर्ने केन्द्र पनि असन नै थियो ।

असनमा त्यस्ता सामानहरू थोक–भाउमा बेच्न प्रायः भक्तपुर, ठिमी, टोखाबाट मानिस आउने गर्थे । त्यतिबेला यातायातको सुविधा थिएन । त्यसैले उनीहरू सामान बोकेर पैदलै असनसम्म पुग्ने गर्थे । बिहान झिसमिसेमै घरबाट हिँडेका उनीहरू असन पुग्दा अपराह्न १२ जति बजिसकेको हुन्थ्यो । त्यसैले असनमा अपराह्न १२ बजेपछि थोक बजारको चहलपहल सुरु हुन्थ्यो ।

स्थानीय सर्वज्ञरत्न तुलाधर (६५) लाई सम्झना भएअनुसार ठिमी, भक्तपुरबाट सामान बोकेर मानिसहरू आइपुगेपछि असनका पसलेहरू ‘वस्तु हेर्न जाने’ भन्दै अन्नपूर्ण मन्दिरतिर झुम्मिन पुग्थे । सामानको भाउ ठूलो आकारको बोरालाई नै एकाइ बनाएर खरिद बिक्री हुन्थ्यो । जोख्नुपर्ने सामान भए १६ किलोको एक एकाइ बनाएर भाउ राख्ने गरिन्थ्यो ।

चोकको बीचमा थोकबजार थियो भने चारैतिरका घरहरूमा नुन, तेल, घ्यू, चाकु, मरमसला, आयुर्वेदिक औषधि, तरकारीलगायत खाद्यान्नका खुद्रा पसलहरू थिए । आजभन्दा ७० वर्षअघिसम्म पनि काठमाडौंका घरहरूमा पसल कवल निकाल्ने चलन थिएन । न्युरोडमै पनि केही घरलाई छोडेर प्रायः घरहरूमा छिँडीको तल्ला दाउरा, पराल भण्डारण गर्ने र पानी सुरक्षित गर्नका लागि मात्रै प्रयोग हुने गर्थ्यो । तर, असनका जम्मै घरका छिँडी पसलकै रूपमा प्रयोग हुन्थ्यो ।

बजार भनेपछि सामान्यतः त्यसले सहरको अर्थशास्त्र बोकेको हुन्छ । तर, असन एउटा यस्तो बजार हो, जसले काठमाडौंको अर्थतन्त्रभन्दा पनि काठमाडौंली जनजीवनको बजार–सभ्यता र उपभोग संस्कृतिको इतिहास बोकेको छ । असनका भरियाहरू भारी बोक्छन्, असन स्वयंचाहिँ इतिहास बोक्छ । इतिहास पनि यस्तो जो कहिल्यै बदलिएको छैन । असनमा सामान किन्ने उपभोक्ताहरू बदलिए, सामान बेच्ने पसलेहरू बदलिए, बेचिने सामानहरू बदलिए, पसल रहने घरहरू बदलिए । तर, स्वयं असन भने कहिल्यै बदलिएन । यो अहिले पनि त्यही स्वरूपमा विद्यमान छ, जुन सयौं वर्ष पहिले थियो । यहाँको पसल बदलिनु, पसले बदलिनु वा ग्राहक बदलिनु त असनले कपडा बदलेजस्तो मात्रै हो, गुदीमा असन जो छ, त्यो अझै बदलिएको छैन ।

असनको भीड कम गर्न वा त्यसलाई व्यवस्थित गर्न अहिले पनि बेलाबेला विभिन्न काम हुने गर्छन्– कहिले सवारीसाधन निषेध, कहिले वान–वे ट्राफिक, कहिले फुटपाथ पसल हटाऊ अभियान । सायद अव्यवस्था नै असनको व्यवस्थित रूप हो क्यारे, यस्ता कुनै पनि अभियानले असनको भीडलाई व्यवस्थित गर्न सकेन । असनको भीडभाडलाई व्यवस्थित गर्ने पहिलो प्रयास राणा प्रधानमन्त्री जुद्धशमशेरले गरेका थिए । स्थानीय समाजसेवी स्व. तीर्थनारायण मानन्धरले आफ्नो संस्मरण पुस्तक ‘काठमाडौं ः उहिले र अहिले’ मा लेखेअनुसार, जुद्धशमशेरले असनका खुद्रा पसलहरू हटाएर भोटाहिटीमा सारेका थिए । भोटाहिटी नामको ढुंगेधारा पुरेर असनका जम्मै खुद्रा पसलहरू त्यहाँ सारिएको थियो । तर, भोटाहिटीको त्यो बजार आठ/दस वर्षभन्दा बढी चलेन । बजार बन्द भयो, पुनः असनमै भीड सुरु हुन थाल्यो ।

२००७ सालपछि भोटाहिटीको त्यही ठाउँमा साझा संस्थाको भवन निर्माण गरी नयाँ खाले ‘मार्केट’ सुरु गरियो । भोटाहिटी नामको ढुंगेधाराचाहिँ अहिले त्यही साझा संस्थाको भवनमुनि पुरिएको छ । सायद सम्पदा अभियन्ताहरूले भविष्यमा यसबारे पनि मुद्दा उठाउलान् । काठमाडौंबाट तिब्बत (भोट) मा व्यापार गर्न जाने तत्कालीन मूल मार्ग असन नै थियो । उनीहरू महिनौं लगाएर काठमाडौंबाट भोट पुग्थे र महिनौं लगाएर भोटबाट काठमाडौं आइपुग्थे । काठमाडौं आइपुग्दा उनीहरू सीधै घर जाँदैनथे । पहिले त्यही ढुंगेधारामा नुहाइधुवाइ गर्थे । अनि असनमा बनाइएको ‘यिताचपाः’ नामक सार्वजनिक घरमा गएर १४ दिनसम्म क्वारेन्टाइनमा बस्थे । १४ दिनपछि आवश्यक सरसफाइसहित सानो भोज गरेर उनीहरू घर फर्किन्थे । यसरी क्वारेन्टाइन बस्ने कार्यलाई स्थानीय नेपालभाषामा ‘नी च्वनेगु’ भनिन्थ्यो । भोटबाट फर्केर आउने व्यापारीले प्रयोग गर्ने ढुंगेधारो भएकाले त्यसको नामै ‘भोटाहिटी’ रहन गएको थियो । अहिले भोटाहिटीको अस्तित्व बाँकी नरहे पनि ‘नी च्वनेगु’ कार्यका लागि प्रयोग हुने यिताचपाः भने त्यही ठाउँमा जीर्ण अवस्थामा विद्यमान छ ।

असन पहिलेजत्तिकै भीडभाड र पहिलेजत्तिकै गुलजार भए पनि असन बजारको स्वरूप भने परिवर्तन हुँदै आइरहेको पाइन्छ । असनमा किनमेल गर्न आउने ग्राहक, बेचिने सामान, पसल र पसलेहरू अहिले धेरै बदलिइसकेका छन् । असनमा आएको परिवर्तनको यो स्वरूपले काठमाडौंली समाजको रहनसहन, जीवनशैली, लवाइखवाइ र उपभोक्ता चरित्रमा आइरहेको बदलावलाई पनि चित्रित गरिरहेको छ । काठमाडौं पहिले के खान्थ्यो ? अहिले के खाइरहेको छ ? काठमाडौं पहिले के लाउँथ्यो ? अहिले के लगाइरहेको छ ? त्यसको आँखीझ्याले इतिहास पनि असन बजारको स्वरूपमा आइरहेको यो परिवर्तनले खुलस्त बताइरहेको छ ।

असन चोक व्यापारिक दृष्टिले मात्रै होइन, सांस्कृतिक हिसाबले पनि उतिकै महत्त्वपूर्ण छ । काठमाडौंमा मनाइने जत्ति पनि महत्त्वपूर्ण जात्राहरू छन्, ती सबै असनमा प्रवेश नगरी अन्त्य हुँदैन । काठमाडौंको सबैभन्दा ठूलो जात्रा इन्द्रजात्रा हो । इन्द्रजात्रामा तानिने श्री कुमारीको रथ असन भएरै तान्ने गरिन्छ । जनबहाःद्यः (सेतो मच्छिन्द्रनाथ) को रथयात्रा हुँदा त्यो रथ पनि एक दिन असनमै बास बस्नुपर्ने परम्परा छ । पाहाँचःर्‍हे (घोडेजात्रा) को समयमा आयोजना गरिने ‘द्यः ल्वाकेगु’ (अजिमाहरूको रथ परिक्रमा गर्ने) जात्रा असनमै सम्पन्न गर्नुपर्ने परम्परा छ । होली पर्वको भोलिपल्ट सञ्चालन गरिने ठमेलको प्रसिद्ध चकंद्यः (सिंहसार्थबाहु) को जात्रा असनसम्म ल्याउनैपर्ने चलन छ । चाँगुनारायण हनुमानमान जाँदा असन भएरै जाने गर्छ । दसैंमा गोरखाबाट ल्याइने फूलपाती असनको बाटो हुँदै हनुमानढोका पुर्‍याइन्छ । दसैं भनेपछि असनको एउटा अर्को विशेषता पनि उल्लेख गर्नुपर्ने हुन्छ । सबैतिर दसैं दस दिन मान्ने गरिन्छ । अन्तिम दिन विजयादशमी भनी टीका लगाउने गरिन्छ । स्थानीय नेवाः समुदायले दसैंभन्दा पनि ‘मोहनि’ मनाउने गर्छन् । मोहनिको अन्तिम दिन दशमीमै पर्ने भए पनि त्यसलाई टीका भनिँदैन, ‘चालं’ भनिन्छ । देशैभरि ‘चालं’ दशमीको दिन मनाइन्छ । असनमा भने ‘चालं’ एकादशीका दिन मनाइन्छ । दशमीका दिन असनमा कुनै पर्व हुँदैन । असनवासीहरूको निधार खाली नै रहन्छ । भोलिपल्ट मात्रै उनीहरू मोहनिको मुख्य दिन मनाउँछन्, टीका थाप्छन् । यो पर्वलाई ‘असं चालं’ भनी छुट्टै नाम दिइएको छ ।

असनमा अन्नपूर्ण, गणेश, हिफःद्यः आदि विभिन्न देवीदेवताका मन्दिर छन् । त्यो धेरैले देखेको हुनुपर्छ । चोकको बीचमै पर्ने ‘न्याल्वहं’ भने धेरैले नदेखेको हुनुपर्छ । ‘न्याल्वहं’ अर्थात् ढुंगाले बनाइएको त्यो माछो पहिले चोकको बीच सडकको खाल्डोमा थियो । सबैले कुल्चिने–नाघ्ने भएकाले अहिले ३ फिट जतिको खम्बा बनाएर त्यहाँ शिलाको माछो राखिएको छ । त्यो माछो त्यहाँ कसरी आइपुग्यो भन्ने विषयमा एउटा रोचक कथा छ । कथा सुन्दा लाग्छ, त्यो लिच्छविकालीन प्रसंग हो । तर, त्यसमा हावाको बेग, ध्वनिको गतिसम्बन्धी प्रसंग पनि आउने भएकाले आजभन्दा हजार वर्षअगाडि यस्ता वैज्ञानिक तथ्य मानिसलाई कसरी थाहा भयो भनी अचम्म मान्नुपर्ने हुन्छ ।

त्यसो त असन सांस्कृतिक मात्र होइन, राजनीतिक रूपले पनि उत्तिकै संवेदनशील थलो हो । राणाकालमा राणाविरोधी गतिविधिहरू धेरैजसो असनकै छेउछाउ सम्पन्न हुन्थ्यो । सहिद गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्रीको बासस्थान असनकै अगलबगल थियो । २००७ सालको कात्तिकमा जब राजा त्रिभुवन नेपाल छोडेर नयाँदिल्ली लागे, तब काठमाडौंमा राणाविरोधी प्रदर्शन चर्किन थाल्यो । त्यस्ता प्रदर्शन सञ्चालन गरिने मुख्य थलो पनि असन नै हुने गर्थ्यो । ००७ सालको मंसिर १० गते पनि त्यस्तै एउटा प्रदर्शन भएको थियो । त्यो प्रदर्शनमा ‘सी क्लास’ का राणाहरू पनि सम्मिलित थिए । त्यसैले त्यो प्रदर्शनलाई कुनै पनि हालतमा सफल पार्नुहुँदैन भनी प्रहरीले व्यापक दमन गर्दा लाठी खाएर असन–भोटाहिटीकै एक स्थानीय व्यक्तिको मृत्यु भयो । उनी थिए स्थानीय न्हुछेरत्न तुलाधर । विसं. १९९७ सालको काण्डपछि प्रहरीको लाठी खाएर मृत्युवरण गर्ने पहिलो सहिद न्हुछेरत्न तुलाधर नै थिए । उनको मृत्युपछि काठमाडौंमा जति मानिस उर्ले, त्यति पहिले कहिल्यै नभएको वर्णन स्व. भुवनलाल प्रधानले आफ्नो पुस्तक ‘असं’ मा उल्लेख गरेका छन् ।

असनमा भएको यो घटनासँग नाट्यसम्राट् बालकृष्ण समको एउटा ऐतिहासिक प्रसंग पनि जोडिन आउँछ । भुवनलाल प्रधानको ‘असं’ मा वर्णन गरिएअनुसार, मंसिर १० गते असनमा भएको प्रदर्शनमा सहभागी भएका ‘सी क्लास’ का राणाहरूको नेतृत्व–पंक्तिमा बालकृष्ण सम पनि सामेल थिए । त्यतिबेला उनलाई बालकृष्णशमशेर जबरा नै भन्ने गरिन्थ्यो । प्रहरीको लाठी लागेर मृत्यु भएका न्हुछेरत्न तुलाधरलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न बालकृष्णशमशेर पनि आएका थिए । त्यही ठाउँमा आफ्नो मनको भाव पोख्दै बालकृष्णशमशेरले अबउप्रान्त आफूले ‘शमशेर जबरा’ भन्ने उपाधि त्याग गरी सर्वसाधारण जनतासँग समान भाव जनाउने ‘सम’ उपनाम राख्ने घोषणा गरेका थिए । कालान्तरमा बालकृष्णशमशेर ‘सम’ कै उपनामबाट साहित्यमा प्रख्यात भए ।

यसरी असन जाने–आउने विविध मार्गहरू भएजस्तै यसको महत्त्वलाई उजागर गर्ने विषय पनि विविध नै छन् । यति धेरै महत्त्व बोकेको यो चोकको नाम ‘असन’ किन रहन गयो र यसको महत्त्व के हो ? यो अर्को महत्त्वपूर्ण प्रश्न हो । काठमाडौंका अधिकांश टोलहरूको नाममा कुनै न कुनै अर्थ जोडिएर आएकै हुन्छ । तर, ‘असन’ नामको अर्थ के हो भन्ने विषयमा भने एउटै मत रहेको पाइँदैन । असन (असं) को अर्थ के हो र यो नाम किन रहन गयो भन्ने विषयमा कहीं उल्लेख पनि छैन । एकथरिको मत छ, बुद्धधर्म प्रचार गर्ने क्रममा सम्राट् अशोकका दूतहरू नेपाल आउँदा उनीहरूले यही ठाउँमा एउटा अशोकस्तम्भ निर्माण गरी त्यसलाई घुम्ने ‘अशोक मण्डप’ बनाएका थिए । त्यही अशोक मण्डप पछि अपभ्रंश भई ‘असंमदु’ वा ‘असं (असन)’ हुन भएको हो । सम्राट् अशोकका दूतहरू नेपाल आउँदा यहाँ किरातवंशको शासन चलिरहेको थियो ।

असनमा ‘अशोकचैत्य महाविहार’ नामक एउटा विहार अझै पनि विद्यमान छ । यो विहार सम्राट् अशोककै दूतहरूले बनाएको विश्वास गरिन्छ । यही अशोकचैत्य महाविहार पछि अपभ्रंश भई ‘असंबहाः’ हुँदै ‘असं (असन)’ हुन गएको भन्ने पनि जनविश्वास छ ।

त्यस्तै एउटा किंवदन्ती पनि प्रचलित छ । कुनै बेला यो ठाउँमा एउटा ठूलो अशोकको रूख थियो । त्यो रूख यति अग्लो थियो कि त्यसको फूल हालको मरुटोल (काष्ठमण्डप) सम्म पुग्थ्यो । त्यसको फूल काष्ठमण्डपमा अवस्थित गणेशलाई चढाउने गरिन्थ्यो । त्यही अशोकको रूखमा फुल्ने फूल चढाउने भएकाले मरुटोलको गणेशलाई ‘अशोक विनायक’ भनिएको हो । मरुटोलको अशोक विनायक र असनटोलको अन्नपूर्णदेवीलाई आमा–छोरा पनि भनिन्छ । त्यही कारण हरेक वर्ष दसैंताका एकै दिन यी दुई देवताको जात्रा चलाउने गरिन्छ । काठमाडौंमा रैथाने ज्यापू समुदायको ३२ वटा परम्परागत टोलहरू छन् । सबै टोलका ज्यापूहरू आफूलाई ‘ज्यापू’ नै भन्छन्, तर मरु र असनका ज्यापूहरू आफूलाई ज्यापू भन्दैनन्, किसान भन्छन् । त्यहाँका ज्यापूहरूलाई ‘मरु किसान’ र ‘असं किसान’ भनी सम्बोधन गरिन्छ ।

एकथरि अर्को दाबीअनुसार, काठमाडौं उपत्यका दहकै अवस्थामा रहेका बेला महामञ्जुश्रीले यो दहको गहिराइ नाप्न छेउछाउको पहाडमा बसी तीनपटक वाण प्रहार गरेका थिए । तीमध्ये एउटा वाण यही असन भएको क्षेत्रमा धसिएको थियो । त्यो वाणको प्रहारबाट यस ठाउँमा सहनै नसकिने ‘अशनि वज्रपात’ भएको थियो । यही ‘अशनि’ शब्दबाट ‘असन’ बन्न गएको तर्क यो पक्षको छ ।

त्यसो त अहिलेसम्म पनि असनमाथि हुँदै गरेको वज्रपात गनिसाध्य छैन । जथाभावी गाडी सवारी, जथाभावी पार्किङ, जथाभावी पसल कवल र जथाभावी ऐतिहासिक बहालसमेत कब्जा ! यस्ता ठूला वज्रपात असनले सहँदै आइरहेको छ । सायद, जस्तोसुकै वज्रपात पर्दा पनि चुपचाप सहनुको अर्को नाम पो ‘असन’ हो कि ?

प्रकाशित : चैत्र ७, २०७७ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्

कहिले कहिले रोकियो इन्द्रजात्रा ? 

हनुमानढोका दरबारसामु यःसिं उठाएपछि इन्द्रजात्रा आरम्भ हुन्छ । इन्द्रध्वजोत्थानको यो अनुष्ठान कहिलेदेखि आरम्भ भयो, इतिहासले आजसम्म पत्ता लगाएको छैन । कोही गुणकामदेवले सुरु गरेको मान्छन् भने कोही लिच्छवि राजा मानदेवका हजुरबुबा शंकरदेवले सुरु गरेको भन्छन् ।
सुरेश किरण

काठमाडौँ — त्यसो त यतिबेला इन्द्रजात्रा मात्र होइन, उपत्यकामा मनाइने सबैजसो जात्राहरू ठप्प छन् । ठूलो विवादबीच ललितपुरमा सुरु गरिएको रातो मछिन्द्रनाथको जात्रा पनि टुंग्याउन नसकेर अहिले ‘जात्रा’ भएको छ । ‘जात्रा’ हुनबाट जोगिएको कान्तिपुरको अर्को जात्रा हो, इन्द्रजात्रा । कोरोना महामारीका कारण अरु जात्रा–पर्व रोकिएजस्तै यसपालि इन्द्रजात्रा पनि रोकियो ।

तर, इन्द्रजात्रा रोकिनु भनेको काठमाडौंका लागि एउटा जात्रा मात्रै रोकिनु होइन । जात्रा रोकिनु काठमाडौंबासीको दिनचर्याको एउटा ठूलो हिस्सासमेत रोकिनु हो ।

ललितपुरका लागि रातो मछिन्द्रनाथ वा भक्तपुरका लागि बिस्केट जात्रा जति महत्वपूर्ण छ, कान्तिपुरका लागि इन्द्रजात्रा उति नै महत्वपूर्ण छ । काठमाडौंमा इन्द्रजात्रा कहिलेदेखि आरम्भ भयो, यसको स्पष्ट इतिहास अझै भेटिएको छैन । इतिहासकार बाबुराम आचार्यले यसलाई नेपालकै सबैभन्दा प्राचीन जात्रा भनेका छन् भने यस विषयमा अध्ययन गरेका फ्रान्सेली विद्वान जेराँ तोफाँले यसलाई काठमाडौंको सबैभन्दा मुख्य जात्रा मानेका छन् ।

हरेक वर्ष भाद्रशुक्ल द्वादशीका दिन सुरु हुने यो इन्द्रजात्रा लगातार आठ दिनसम्म चल्ने गर्छ । जात्रा अवधिभरि श्री कुमारीको रथयात्रा, दीप्याखं, लाखे, पुलुकिसि, दागिं, बौमत, उपाकु परिक्रमा, महाकाली नाच, सवःभक्कु नाच, दस अवतार आदि जस्ता दर्जन जति नाच एवं सहायक जात्रा सञ्चालन हुने यो जात्राको पहिलो र सबैभन्दा महत्वपूर्ण अंग भनेको यःसिं उठाउने अर्थात् इन्द्रध्वजोत्थान हो ।

हनुमानढोका दरबारसामु यःसिं उठाएपछि इन्द्रजात्रा आरम्भ हुन्छ । इन्द्रध्वजोत्थानको यो अनुष्ठान कहिलेदेखि आरम्भ भयो, इतिहासले आजसम्म पत्ता लगाएको छैन । कोही गुणकामदेवले सुरु गरेको मान्छन् भने कोही लिच्छवि राजा मानदेवका हजुरबुबा शंकरदेवले सुरु गरेको भन्छन् । तथापि जुनबेलादेखि सुरु भएको भए पनि जब यो सुरु भयो त्यसपछि भने आजसम्म इन्द्रजात्रा पूर्ण रूपमा रोकिएको इतिहास पाइँदैन ।

वि.सं. १८२५ मा गोर्खाका राजा पृथ्वीनारायण शाहले काठमाडौं आक्रमण गर्दा भने इन्द्रजात्रा बिथोलिएको थियो । तर, पूर्ण रूपमा रोकिएको चाहिँ थिएन । पृथ्वीनारायण शाहले काठमाडौं आक्रमण गर्नुभन्दा महिनौं अघिदेखि नै काठमाडौंलाई नाकाबन्दीमा पारेका थिए, जसले गर्दा काठमाडौंमा लत्ताकपडा र अन्य सामग्रीको हाहाकार मच्चिएको थियो । महँगी आकाशिएर सर्वसाधारण जनताले धान्न नसकिने अवस्था आइपुगेको थियो । यस्तै हाहाकारमै इन्द्रजात्रा पनि नजिक आइपुग्यो । यस्तोमा इन्द्रजात्रा मनाउने वा नमनाउने भन्ने विषयमा दरबारभित्र खुब छलफल चल्यो । इन्द्रजात्रा त्यतिबेला पूर्ण रुपमा राजकीय पर्व थियो । इन्द्रजात्राकै अवसर पारेर तत्कालीन राजा जयप्रकाश मल्लले श्री कुमारीको रथ जात्रा आरम्भ गरेको पनि भर्खर दस वर्ष पुग्दै थियो ।

राजा जयप्रकाश मल्लले वि.सं. १८१४ मा श्री कुमारीको स्थायी निवासका रूपमा हनुमानढोका दरबार परिसरमै कुमारी घर बनाई त्यसको एक वर्षपछि श्री कुमारीलाई पाँग्रासहितको रथमा राखी नगर परिक्रमा गराउने चलन सुरु गरेका थिए । कुमारीको उक्त रथयात्रामा राजा जयप्रकाश मल्ल आफैं पनि सहभागी हुने गर्थे । राजा आफैं कुमारी रथमा विराजमान भई यात्रा अघि बढाउने भएकोले टोल टोलमा मानिसहरू राम्रा राम्रा लुगा लगाएर श्री कुमारीलाई पूजा अर्पण गर्न आउने गर्थे ।

यसरी टोलटोलमै रथलाई रोक्दै पूजा ग्रहण गर्दै सुस्तरी अघि बढ्दा कुमारीको रथयात्रा सम्पन्न हुन करिब २२ घन्टा जति लाग्ने गर्थ्यो । साँझ आरम्भ भएको रथयात्रा आफ्नो क्षेत्र परिक्रमा गरी पुनः हनुमानढोका फर्कंदा बिहानीको झिसमिसे भइसकेको हुन्थ्यो । रातभरि लाखे, पुलुकिसि, दीप्याखं, महाकाली नाच, सवःभक्कु नाचको प्रदर्शन र त्यसमा बजाइने बाजागाजाको ध्वनीले सम्पूर्ण काठमाडौं नै उल्लासको समुद्रमा तैरिरहेको हुन्थ्यो ।

तर, वि.सं. १८२५ को इन्द्रजात्राचाहिँ उल्लासमय थिएन । नाकाबन्दीले पूरै कान्तिपुर थिलथिलो भएका कारण उक्त वर्षको इन्द्रजात्रा मनाउने वा नमनाउने भन्ने अन्यौलमा थियो । लामो छलफलपछि राजा जयप्रकाश मल्लले इन्द्रजात्रा मनाउने आदेश दिए । त्यस्तो अवस्थामा पनि इन्द्रजात्रा पर्व मनाउने उनको निर्णय दुइटा उद्देश्यमा आधारित थियो । पहिलो, शत्रुले नगर घेरे पनि आफूलाई त्यसले कुनै असर गरेको छैन भन्ने मनोवैज्ञानिक सन्देश प्रवाह गर्नु । अर्को, यदि शत्रु आइहाले पनि श्री कुमारीले रक्षा गर्ला नि भनेर विश्वास गर्नु ! तर, संकटबीच इन्द्रजात्रा मनाउने निर्णय भए पनि जनतामा उत्साह नभएका कारण नाचगान र बाजागाजा भने स्थगित गरिएको थियो । त्यसैले उक्त वर्षको इन्द्रजात्रा अत्यन्त सादा थियो । इतिहासकार आचार्यका अनुसार, जात्रा सामान्य भएकाले उक्त वर्षको जात्रामा मानिसहरू पनि खासै सहभागी भएका थिएनन् । धेरै त आ–आफ्नो घरमै सुतिरहेका थिए ।

वि.सं. १८२५ भाद्रशुक्ल चतुर्दशी आइतबार राति जात्रा चलिरहेकै बेला पृथ्वीनारायण शाहले तीन ठाउँबाट घेरी काठमाडौं आक्रमण गरे । गोर्खाली सेना नगर प्रवेश गर्दा श्री कुमारीको रथयात्रा नगरको तल्लो क्षेत्र (क्वःने लागा) को जैशीदेवल पुगिसकेको थियो । हनुमानढोका दरबारमा गोर्खाली सेना आइपुग्दा जयप्रकाश मल्लका केही सैनिकले प्रतिकार पनि गरेका थिए । तर, त्यो २/४ घडी (एक घडी बराबर २४ मिनेट) भन्दा बढी टिक्न सकेन । ‘युद्ध’का क्रममा कान्तिपुरका सैनिकले पड्काएको बारुदमा परी गोर्खाली सेनाका तुलाराम पाँडेको मृत्युसमेत भएको कुरा भाषा वंशावलीमा उल्लेख छ । लड्न नसकी भागेका सैनिकहरूले जैशी देवल पुगी राजा जयप्रकाश मल्ललाई गोर्खाली आक्रमणको जानकारी दिए ।

जयप्रकाश मल्ल श्री कुमारीको रथलाई त्यहीं छोडी केही सहयोगीहरूका साथ टेकूको बाटो हुँदै ललितपुर भागे । राजा भागेपछि जात्रा अलपत्र भयो । उता कुमारीघर छेवैको डबलीमा राखिएको सिंहासनमा गोर्खाली राजा पृथ्वीनारायण शाह बसिसकेका थिए । उनले आफ्ना भाइहरूलाई पठाई अवरुद्ध रथयात्रालाई पुनः सञ्चालन गरी हनुमानढोका दरबार परिसर भित्र्याए । त्यसपश्चात जयप्रकाश मल्लले जस्तै पृथ्वीनारायण शाहले पनि श्री कुमारीको खुट्टा ढोगी दरबार प्रवेश गरे । काठमाडौंका स्थानीयवासीको मन जित्न पनि श्री कुमारीप्रति आस्था प्रकट गर्न पृथ्वीनारायण शाह बाध्य थिए ।

यसरी देशमा शाहवंशीय राजतन्त्र सुरु भएको वर्ष इन्द्रजात्रा बिथोलिन पुगेको थियो । त्यसपछि देशबाट शाहवंशीय राजतन्त्र अन्त्य भएको वर्ष पनि इन्द्रजात्रा सामान्य बिथोलिएको थियो । २०६५ सालको भदौमा गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपतिका रूपमा डा. रामवरण यादवले पहिलोपटक इन्द्रजात्रामा सहभागिता जनाएका थिए । उक्त वर्ष भदौ ५ गते इन्द्रजात्राको अन्तिम दिन नानीचायाःको तयारी हुँदै थियो, अचानक संस्कृति मन्त्रालयबाट एउटा पत्र आयो, जसमा लेखिएको थियो– अब उप्रान्त राज्य कोषबाट कुनै पनि धार्मिक कार्यमा बलि दिन रोकिएको छ । उक्त निर्णय अनुसार इन्द्रजात्रामा सहभागी लाखे, पुलुकिसि, सवःभक्कु आदि नाचलाई परम्परागत रूपमा प्रदान गर्दै आइरहेको बलि पनि रोकिन पुग्यो । सांस्कृतिक कार्यमा प्रदान गरिँदै आइरहेको बलि रोकिएको खबरले इन्द्रजात्राका जात्रालुलाई आक्रोशित बनाइदियो । र, क्षणभरमै जात्रा भद्रगोल हुन पुग्यो ।

रथ तान्ने कि नतान्ने भन्नेमै विवाद उत्पन्न भयो । सरकारविरुद्ध नाराबाजी सुरु भयो । के भएको हो भक्तजनहरूले जान्न सकेनन् । अन्ततः नाराबाजी, प्रहरी हस्तक्षेप र अन्यौलपूर्ण उल्लासमा श्री कुमारीको रथयात्रा अघि बढ्यो । तर, त्यो गन्तव्यसम्म भने पुग्न सकेन । बीच बाटोमै रथहरूलाई अगाडि बढ्न दिइएन । राति अबेरसम्म पनि रथ अघि बढ्न नसकेपछि जीवित देवी एवं देवताहरू श्री कुमारी, श्री गणेश र श्री भैरवलाई बीच बाटोबाटै रथबाट निकाली आ–आफ्नो निवास फर्काउनुपर्‍यो ।

जात्रा सकिएपछि राष्ट्रप्रमुखले श्री कुमारीको हातबाट टीका ग्रहण गर्ने परम्परा पनि उक्त वर्ष तोडियो । उक्त आन्दोलनको बलमा सरकारले गठन गरेको कार्यदलले जात्राका लागि खर्च व्यवस्थापन गर्न नसक्ने, गुठी संस्थान खारेज गर्नुपर्ने सुझाव सरकारलाई दिएको थियो ।

इन्द्रजात्रा बिथोलिएको त्यो दोस्रो घटना थियो । त्यसपछि इन्द्रजात्रा रोकिएको तेस्रो घटना अहिले नै हो । यसअघि यो जात्रा दुईपटकसम्म आंशिक मात्रै रोकिएको थियो भने यसपालि पूर्ण रूपले स्थगित भयो । यो केवल रथ तान्ने र नाचगान मात्रै चल्ने जात्रा होइन । इन्द्र स्वर्गका समेत देवता हुन् । त्यसैले यस वर्ष स्वर्गवास भएका आफ्ना आफन्तको नाममा बाटोभरि काँचो माटोको दियो बाल्दै उपाकु परिक्रमा गर्ने, इन्द्रकी आमाको प्रतीक स्वरुप निकालिने दागींको सँगसँगै काठमाडौंको तल्लो भेग र माथिल्लो भेग घुम्दै जाने, श्री कुमारीको रथयात्रा सँगसँगै बत्ती राख्दै जाने जस्ता आम जनसमुदाय सहभागी हुनुपर्ने सांस्कृतिक कार्यहरू गर्ने परम्परा पनि रहँदै आएको छ ।

यसपाली इन्द्रजात्रा बिथोलिएको यो घटनाले काठमाडौंवासीलाई आफ्ना दिवंगत आफन्तका लागि स्वर्गको कामना गर्न नपाउनुको दुःखले मात्र होइन, इतिहासमा इन्द्रजात्रा बिथोलिएकै दिन आफ्नो स्वर्गजस्तो राज्य गुमेको त्रासदले पनि झस्काइदिएको छ ।

प्रकाशित : भाद्र १७, २०७७ १५:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×