कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजार बदलियो, बदलिएन असन

असनका भरिया भारी बोक्छन्, असन स्वयंचाहिँ इतिहास बोक्छ । यहाँ सामान किन्ने उपभोक्ता बदलिए, सामान बेच्ने पसले बदलिए, बेचिने सामान बदलिए, पसल रहने घर बदलिए । तर, स्वयं असन भने कहिल्यै फेरिएन ।
बजारले सहरको अर्थशास्त्र बोकेको हुन्छ । तर, असन एउटा यस्तो बजार हो, जसले काठमाडौंको अर्थतन्त्रभन्दा पनि काठमाडौंली जनजीवनको बजार–सभ्यता र उपभोग संस्कृतिको इतिहास बोकेको छ।
सुरेश किरण

पाकिस्तानको लाहोरमा एउटा भनाइ प्रचलित छ– जसले लाहोर देखेको छैन, त्यसले दुनियाँ देखेको छैन । लाहोरको यही भनाइ काठमाडौंमा फिट गर्ने हो भने त्यो असन बजारमा लागू हुन्छ होला– जसले असन देखेको छैन त्यसले काठमाडौं देखेको छैन ।

बजार बदलियो, बदलिएन असन

काठमाडौंलाई नेपालकै मुटु भनिन्छ । असन काठमाडौंको पनि मुटु हो । मुटुमा रक्तसञ्चार हुने चारवटा धमनी हुन्छन् । असनमा सातवटा धमनी छ । असन यस्तो मौलिक चोक हो, जहाँ सातवटा अलग–अलग ठाउँबाट प्रवेश गर्न मिल्ने सातवटै अलग–अलग बाटोहरू मिसिन आएका छन् । तीन हुन् ः भोटाहिटी, कमलाछी, बांगेमुढा, महाबौद्ध, ज्याठा, ठहिटी र इन्द्रचोक । यी सातवटा अलग–अलग मार्गहरूबाट विभिन्न स्थानका मानिसहरू असन छिर्न सक्छन् ।

धेरै बाटाहरू सम्मिश्रित चोक हुनु असनको मौलिकता मात्र होइन, असन ‘असन’ बन्न सक्नुको प्रमुख आधार पनि हो । धेरै ठाउँबाट मानिस आउजाउ गर्न सकिने साझा चोक भएकाले असन त्यसै पनि घुइँचो भइरहने ठाउँ हो । त्यसमाथि बजार जोडिएपछि असन भीडकै पर्याय बन्न पुग्यो ।

असन काठमाडौंको ठूलो बजार त हो, तर यो चोकमा बजार कहिलेदेखि सुरु भयो, त्यो इतिहास कसैलाई थाहा छैन । न त्यसमाथि कतै लेखिएकै पाइन्छ । असनमा अझै पनि तीन–चार पुस्ता अघिदेखि सञ्चालनमा रहेका पसलहरू धेरै बाँकी छन् । हाल पसल चलाइरहेका नाति पुस्तालाई पनि हजुरबाले पसल चलाएकोसम्म थाहा छ, त्यसअघि आफ्नो पसल थियो वा थिएन, थाहा छैन भन्छन् ।

हाल मसला र पूजा सामानको पसल चलाइरहेका स्थानीय विदेहवीर सिंह तुलाधर (४१) लाई आफ्ना हजुरबा दानवीर सिंह तुलाधर यो पसलमा बस्ने गरेकोसम्म थाहा छ, कसैकसैले दानवीरका बुबा बाबुकाजी तुलाधर पनि पसलमा बस्ने गर्थे भनेको सुनिन्छ । यसरी चार पुस्ता जोड्ने हो भने विदेहवीर सिंहकै पसललाई पनि १५० वर्ष जति पुरानो मान्न सकिन्छ ।

असनलाई नुनदेखि सुनसम्म किन्न पाइने बजार भनिन्छ, हो पनि । असनको पूरै चोक विभिन्न वस्तु बेच्ने पसलले भरिएको छ । पहिले पहिले सामानहरू थोकमा बेच्ने काठमाडौंकै एक मात्र बजार पनि असन नै थियो । यहाँ चामल, चिउरा, पिठो, दाल, गेडागुडीजस्ता खाद्यान्न थोकमा बिक्रीवितरण हुन्थ्यो । यहाँबाट किनेर लगेकै सामानहरू इन्द्रचोक, मरु टोलजस्ता बजारहरूमा खुद्रामा बेच्ने गरिन्थ्यो । ती खाद्यान्नहरू कतिमा बेच्ने भन्ने भाउ पनि असनमै तोकेर पठाइन्थ्यो । तसर्थ तत्कालीन काठमाडौंमा खाद्यान्नको भाउ निर्धारण गर्ने केन्द्र पनि असन नै थियो ।

असनमा त्यस्ता सामानहरू थोक–भाउमा बेच्न प्रायः भक्तपुर, ठिमी, टोखाबाट मानिस आउने गर्थे । त्यतिबेला यातायातको सुविधा थिएन । त्यसैले उनीहरू सामान बोकेर पैदलै असनसम्म पुग्ने गर्थे । बिहान झिसमिसेमै घरबाट हिँडेका उनीहरू असन पुग्दा अपराह्न १२ जति बजिसकेको हुन्थ्यो । त्यसैले असनमा अपराह्न १२ बजेपछि थोक बजारको चहलपहल सुरु हुन्थ्यो ।

स्थानीय सर्वज्ञरत्न तुलाधर (६५) लाई सम्झना भएअनुसार ठिमी, भक्तपुरबाट सामान बोकेर मानिसहरू आइपुगेपछि असनका पसलेहरू ‘वस्तु हेर्न जाने’ भन्दै अन्नपूर्ण मन्दिरतिर झुम्मिन पुग्थे । सामानको भाउ ठूलो आकारको बोरालाई नै एकाइ बनाएर खरिद बिक्री हुन्थ्यो । जोख्नुपर्ने सामान भए १६ किलोको एक एकाइ बनाएर भाउ राख्ने गरिन्थ्यो ।

चोकको बीचमा थोकबजार थियो भने चारैतिरका घरहरूमा नुन, तेल, घ्यू, चाकु, मरमसला, आयुर्वेदिक औषधि, तरकारीलगायत खाद्यान्नका खुद्रा पसलहरू थिए । आजभन्दा ७० वर्षअघिसम्म पनि काठमाडौंका घरहरूमा पसल कवल निकाल्ने चलन थिएन । न्युरोडमै पनि केही घरलाई छोडेर प्रायः घरहरूमा छिँडीको तल्ला दाउरा, पराल भण्डारण गर्ने र पानी सुरक्षित गर्नका लागि मात्रै प्रयोग हुने गर्थ्यो । तर, असनका जम्मै घरका छिँडी पसलकै रूपमा प्रयोग हुन्थ्यो ।

बजार भनेपछि सामान्यतः त्यसले सहरको अर्थशास्त्र बोकेको हुन्छ । तर, असन एउटा यस्तो बजार हो, जसले काठमाडौंको अर्थतन्त्रभन्दा पनि काठमाडौंली जनजीवनको बजार–सभ्यता र उपभोग संस्कृतिको इतिहास बोकेको छ । असनका भरियाहरू भारी बोक्छन्, असन स्वयंचाहिँ इतिहास बोक्छ । इतिहास पनि यस्तो जो कहिल्यै बदलिएको छैन । असनमा सामान किन्ने उपभोक्ताहरू बदलिए, सामान बेच्ने पसलेहरू बदलिए, बेचिने सामानहरू बदलिए, पसल रहने घरहरू बदलिए । तर, स्वयं असन भने कहिल्यै बदलिएन । यो अहिले पनि त्यही स्वरूपमा विद्यमान छ, जुन सयौं वर्ष पहिले थियो । यहाँको पसल बदलिनु, पसले बदलिनु वा ग्राहक बदलिनु त असनले कपडा बदलेजस्तो मात्रै हो, गुदीमा असन जो छ, त्यो अझै बदलिएको छैन ।

असनको भीड कम गर्न वा त्यसलाई व्यवस्थित गर्न अहिले पनि बेलाबेला विभिन्न काम हुने गर्छन्– कहिले सवारीसाधन निषेध, कहिले वान–वे ट्राफिक, कहिले फुटपाथ पसल हटाऊ अभियान । सायद अव्यवस्था नै असनको व्यवस्थित रूप हो क्यारे, यस्ता कुनै पनि अभियानले असनको भीडलाई व्यवस्थित गर्न सकेन । असनको भीडभाडलाई व्यवस्थित गर्ने पहिलो प्रयास राणा प्रधानमन्त्री जुद्धशमशेरले गरेका थिए । स्थानीय समाजसेवी स्व. तीर्थनारायण मानन्धरले आफ्नो संस्मरण पुस्तक ‘काठमाडौं ः उहिले र अहिले’ मा लेखेअनुसार, जुद्धशमशेरले असनका खुद्रा पसलहरू हटाएर भोटाहिटीमा सारेका थिए । भोटाहिटी नामको ढुंगेधारा पुरेर असनका जम्मै खुद्रा पसलहरू त्यहाँ सारिएको थियो । तर, भोटाहिटीको त्यो बजार आठ/दस वर्षभन्दा बढी चलेन । बजार बन्द भयो, पुनः असनमै भीड सुरु हुन थाल्यो ।

२००७ सालपछि भोटाहिटीको त्यही ठाउँमा साझा संस्थाको भवन निर्माण गरी नयाँ खाले ‘मार्केट’ सुरु गरियो । भोटाहिटी नामको ढुंगेधाराचाहिँ अहिले त्यही साझा संस्थाको भवनमुनि पुरिएको छ । सायद सम्पदा अभियन्ताहरूले भविष्यमा यसबारे पनि मुद्दा उठाउलान् । काठमाडौंबाट तिब्बत (भोट) मा व्यापार गर्न जाने तत्कालीन मूल मार्ग असन नै थियो । उनीहरू महिनौं लगाएर काठमाडौंबाट भोट पुग्थे र महिनौं लगाएर भोटबाट काठमाडौं आइपुग्थे । काठमाडौं आइपुग्दा उनीहरू सीधै घर जाँदैनथे । पहिले त्यही ढुंगेधारामा नुहाइधुवाइ गर्थे । अनि असनमा बनाइएको ‘यिताचपाः’ नामक सार्वजनिक घरमा गएर १४ दिनसम्म क्वारेन्टाइनमा बस्थे । १४ दिनपछि आवश्यक सरसफाइसहित सानो भोज गरेर उनीहरू घर फर्किन्थे । यसरी क्वारेन्टाइन बस्ने कार्यलाई स्थानीय नेपालभाषामा ‘नी च्वनेगु’ भनिन्थ्यो । भोटबाट फर्केर आउने व्यापारीले प्रयोग गर्ने ढुंगेधारो भएकाले त्यसको नामै ‘भोटाहिटी’ रहन गएको थियो । अहिले भोटाहिटीको अस्तित्व बाँकी नरहे पनि ‘नी च्वनेगु’ कार्यका लागि प्रयोग हुने यिताचपाः भने त्यही ठाउँमा जीर्ण अवस्थामा विद्यमान छ ।

असन पहिलेजत्तिकै भीडभाड र पहिलेजत्तिकै गुलजार भए पनि असन बजारको स्वरूप भने परिवर्तन हुँदै आइरहेको पाइन्छ । असनमा किनमेल गर्न आउने ग्राहक, बेचिने सामान, पसल र पसलेहरू अहिले धेरै बदलिइसकेका छन् । असनमा आएको परिवर्तनको यो स्वरूपले काठमाडौंली समाजको रहनसहन, जीवनशैली, लवाइखवाइ र उपभोक्ता चरित्रमा आइरहेको बदलावलाई पनि चित्रित गरिरहेको छ । काठमाडौं पहिले के खान्थ्यो ? अहिले के खाइरहेको छ ? काठमाडौं पहिले के लाउँथ्यो ? अहिले के लगाइरहेको छ ? त्यसको आँखीझ्याले इतिहास पनि असन बजारको स्वरूपमा आइरहेको यो परिवर्तनले खुलस्त बताइरहेको छ ।

असन चोक व्यापारिक दृष्टिले मात्रै होइन, सांस्कृतिक हिसाबले पनि उतिकै महत्त्वपूर्ण छ । काठमाडौंमा मनाइने जत्ति पनि महत्त्वपूर्ण जात्राहरू छन्, ती सबै असनमा प्रवेश नगरी अन्त्य हुँदैन । काठमाडौंको सबैभन्दा ठूलो जात्रा इन्द्रजात्रा हो । इन्द्रजात्रामा तानिने श्री कुमारीको रथ असन भएरै तान्ने गरिन्छ । जनबहाःद्यः (सेतो मच्छिन्द्रनाथ) को रथयात्रा हुँदा त्यो रथ पनि एक दिन असनमै बास बस्नुपर्ने परम्परा छ । पाहाँचःर्‍हे (घोडेजात्रा) को समयमा आयोजना गरिने ‘द्यः ल्वाकेगु’ (अजिमाहरूको रथ परिक्रमा गर्ने) जात्रा असनमै सम्पन्न गर्नुपर्ने परम्परा छ । होली पर्वको भोलिपल्ट सञ्चालन गरिने ठमेलको प्रसिद्ध चकंद्यः (सिंहसार्थबाहु) को जात्रा असनसम्म ल्याउनैपर्ने चलन छ । चाँगुनारायण हनुमानमान जाँदा असन भएरै जाने गर्छ । दसैंमा गोरखाबाट ल्याइने फूलपाती असनको बाटो हुँदै हनुमानढोका पुर्‍याइन्छ । दसैं भनेपछि असनको एउटा अर्को विशेषता पनि उल्लेख गर्नुपर्ने हुन्छ । सबैतिर दसैं दस दिन मान्ने गरिन्छ । अन्तिम दिन विजयादशमी भनी टीका लगाउने गरिन्छ । स्थानीय नेवाः समुदायले दसैंभन्दा पनि ‘मोहनि’ मनाउने गर्छन् । मोहनिको अन्तिम दिन दशमीमै पर्ने भए पनि त्यसलाई टीका भनिँदैन, ‘चालं’ भनिन्छ । देशैभरि ‘चालं’ दशमीको दिन मनाइन्छ । असनमा भने ‘चालं’ एकादशीका दिन मनाइन्छ । दशमीका दिन असनमा कुनै पर्व हुँदैन । असनवासीहरूको निधार खाली नै रहन्छ । भोलिपल्ट मात्रै उनीहरू मोहनिको मुख्य दिन मनाउँछन्, टीका थाप्छन् । यो पर्वलाई ‘असं चालं’ भनी छुट्टै नाम दिइएको छ ।

असनमा अन्नपूर्ण, गणेश, हिफःद्यः आदि विभिन्न देवीदेवताका मन्दिर छन् । त्यो धेरैले देखेको हुनुपर्छ । चोकको बीचमै पर्ने ‘न्याल्वहं’ भने धेरैले नदेखेको हुनुपर्छ । ‘न्याल्वहं’ अर्थात् ढुंगाले बनाइएको त्यो माछो पहिले चोकको बीच सडकको खाल्डोमा थियो । सबैले कुल्चिने–नाघ्ने भएकाले अहिले ३ फिट जतिको खम्बा बनाएर त्यहाँ शिलाको माछो राखिएको छ । त्यो माछो त्यहाँ कसरी आइपुग्यो भन्ने विषयमा एउटा रोचक कथा छ । कथा सुन्दा लाग्छ, त्यो लिच्छविकालीन प्रसंग हो । तर, त्यसमा हावाको बेग, ध्वनिको गतिसम्बन्धी प्रसंग पनि आउने भएकाले आजभन्दा हजार वर्षअगाडि यस्ता वैज्ञानिक तथ्य मानिसलाई कसरी थाहा भयो भनी अचम्म मान्नुपर्ने हुन्छ ।

त्यसो त असन सांस्कृतिक मात्र होइन, राजनीतिक रूपले पनि उत्तिकै संवेदनशील थलो हो । राणाकालमा राणाविरोधी गतिविधिहरू धेरैजसो असनकै छेउछाउ सम्पन्न हुन्थ्यो । सहिद गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्रीको बासस्थान असनकै अगलबगल थियो । २००७ सालको कात्तिकमा जब राजा त्रिभुवन नेपाल छोडेर नयाँदिल्ली लागे, तब काठमाडौंमा राणाविरोधी प्रदर्शन चर्किन थाल्यो । त्यस्ता प्रदर्शन सञ्चालन गरिने मुख्य थलो पनि असन नै हुने गर्थ्यो । ००७ सालको मंसिर १० गते पनि त्यस्तै एउटा प्रदर्शन भएको थियो । त्यो प्रदर्शनमा ‘सी क्लास’ का राणाहरू पनि सम्मिलित थिए । त्यसैले त्यो प्रदर्शनलाई कुनै पनि हालतमा सफल पार्नुहुँदैन भनी प्रहरीले व्यापक दमन गर्दा लाठी खाएर असन–भोटाहिटीकै एक स्थानीय व्यक्तिको मृत्यु भयो । उनी थिए स्थानीय न्हुछेरत्न तुलाधर । विसं. १९९७ सालको काण्डपछि प्रहरीको लाठी खाएर मृत्युवरण गर्ने पहिलो सहिद न्हुछेरत्न तुलाधर नै थिए । उनको मृत्युपछि काठमाडौंमा जति मानिस उर्ले, त्यति पहिले कहिल्यै नभएको वर्णन स्व. भुवनलाल प्रधानले आफ्नो पुस्तक ‘असं’ मा उल्लेख गरेका छन् ।

असनमा भएको यो घटनासँग नाट्यसम्राट् बालकृष्ण समको एउटा ऐतिहासिक प्रसंग पनि जोडिन आउँछ । भुवनलाल प्रधानको ‘असं’ मा वर्णन गरिएअनुसार, मंसिर १० गते असनमा भएको प्रदर्शनमा सहभागी भएका ‘सी क्लास’ का राणाहरूको नेतृत्व–पंक्तिमा बालकृष्ण सम पनि सामेल थिए । त्यतिबेला उनलाई बालकृष्णशमशेर जबरा नै भन्ने गरिन्थ्यो । प्रहरीको लाठी लागेर मृत्यु भएका न्हुछेरत्न तुलाधरलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न बालकृष्णशमशेर पनि आएका थिए । त्यही ठाउँमा आफ्नो मनको भाव पोख्दै बालकृष्णशमशेरले अबउप्रान्त आफूले ‘शमशेर जबरा’ भन्ने उपाधि त्याग गरी सर्वसाधारण जनतासँग समान भाव जनाउने ‘सम’ उपनाम राख्ने घोषणा गरेका थिए । कालान्तरमा बालकृष्णशमशेर ‘सम’ कै उपनामबाट साहित्यमा प्रख्यात भए ।

यसरी असन जाने–आउने विविध मार्गहरू भएजस्तै यसको महत्त्वलाई उजागर गर्ने विषय पनि विविध नै छन् । यति धेरै महत्त्व बोकेको यो चोकको नाम ‘असन’ किन रहन गयो र यसको महत्त्व के हो ? यो अर्को महत्त्वपूर्ण प्रश्न हो । काठमाडौंका अधिकांश टोलहरूको नाममा कुनै न कुनै अर्थ जोडिएर आएकै हुन्छ । तर, ‘असन’ नामको अर्थ के हो भन्ने विषयमा भने एउटै मत रहेको पाइँदैन । असन (असं) को अर्थ के हो र यो नाम किन रहन गयो भन्ने विषयमा कहीं उल्लेख पनि छैन । एकथरिको मत छ, बुद्धधर्म प्रचार गर्ने क्रममा सम्राट् अशोकका दूतहरू नेपाल आउँदा उनीहरूले यही ठाउँमा एउटा अशोकस्तम्भ निर्माण गरी त्यसलाई घुम्ने ‘अशोक मण्डप’ बनाएका थिए । त्यही अशोक मण्डप पछि अपभ्रंश भई ‘असंमदु’ वा ‘असं (असन)’ हुन भएको हो । सम्राट् अशोकका दूतहरू नेपाल आउँदा यहाँ किरातवंशको शासन चलिरहेको थियो ।

असनमा ‘अशोकचैत्य महाविहार’ नामक एउटा विहार अझै पनि विद्यमान छ । यो विहार सम्राट् अशोककै दूतहरूले बनाएको विश्वास गरिन्छ । यही अशोकचैत्य महाविहार पछि अपभ्रंश भई ‘असंबहाः’ हुँदै ‘असं (असन)’ हुन गएको भन्ने पनि जनविश्वास छ ।

त्यस्तै एउटा किंवदन्ती पनि प्रचलित छ । कुनै बेला यो ठाउँमा एउटा ठूलो अशोकको रूख थियो । त्यो रूख यति अग्लो थियो कि त्यसको फूल हालको मरुटोल (काष्ठमण्डप) सम्म पुग्थ्यो । त्यसको फूल काष्ठमण्डपमा अवस्थित गणेशलाई चढाउने गरिन्थ्यो । त्यही अशोकको रूखमा फुल्ने फूल चढाउने भएकाले मरुटोलको गणेशलाई ‘अशोक विनायक’ भनिएको हो । मरुटोलको अशोक विनायक र असनटोलको अन्नपूर्णदेवीलाई आमा–छोरा पनि भनिन्छ । त्यही कारण हरेक वर्ष दसैंताका एकै दिन यी दुई देवताको जात्रा चलाउने गरिन्छ । काठमाडौंमा रैथाने ज्यापू समुदायको ३२ वटा परम्परागत टोलहरू छन् । सबै टोलका ज्यापूहरू आफूलाई ‘ज्यापू’ नै भन्छन्, तर मरु र असनका ज्यापूहरू आफूलाई ज्यापू भन्दैनन्, किसान भन्छन् । त्यहाँका ज्यापूहरूलाई ‘मरु किसान’ र ‘असं किसान’ भनी सम्बोधन गरिन्छ ।

एकथरि अर्को दाबीअनुसार, काठमाडौं उपत्यका दहकै अवस्थामा रहेका बेला महामञ्जुश्रीले यो दहको गहिराइ नाप्न छेउछाउको पहाडमा बसी तीनपटक वाण प्रहार गरेका थिए । तीमध्ये एउटा वाण यही असन भएको क्षेत्रमा धसिएको थियो । त्यो वाणको प्रहारबाट यस ठाउँमा सहनै नसकिने ‘अशनि वज्रपात’ भएको थियो । यही ‘अशनि’ शब्दबाट ‘असन’ बन्न गएको तर्क यो पक्षको छ ।

त्यसो त अहिलेसम्म पनि असनमाथि हुँदै गरेको वज्रपात गनिसाध्य छैन । जथाभावी गाडी सवारी, जथाभावी पार्किङ, जथाभावी पसल कवल र जथाभावी ऐतिहासिक बहालसमेत कब्जा ! यस्ता ठूला वज्रपात असनले सहँदै आइरहेको छ । सायद, जस्तोसुकै वज्रपात पर्दा पनि चुपचाप सहनुको अर्को नाम पो ‘असन’ हो कि ?

प्रकाशित : चैत्र ७, २०७७ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?