झलो ताचीको बुख्याँचा- कोसेली - कान्तिपुर समाचार

झलो ताचीको बुख्याँचा

ठुल्दाइले झलोको सल बुख्याँचाको घाँटीमा बेर्न थाले । झलोका कपडाले बेरिएको बुख्याँचामा एकाएक आगो सल्किन थाल्यो । यो देख्न नसकेर हामी थचक्क भुइँमा बस्यौं ।
संगीता उराँव

दादाबोहे (हजुरबुबा) बिहान सधैं रेडियोमा समाचार सुन्थिन् । त्यस दिन भने समाचार होइन हजुआमाको गाली सुन्नुपर्‍यो । म भने लगलग काँपिरहेकी थिएँ । आँगनबाट मुसोको चालमा निस्किएँ, साथी बसोलाई भेट्न ।

दुवै कुद्यौं फुपू झलो ताचीको घरतिर । हामी सास लिन पनि डराइडराई टाटीको प्वालबाट नियालिरहेका थियौं । आँगनभरि मान्छेको भीड थियो । भीडमा फुपू चुपचाप बसेकी थिइन्, उनको शरीरमा काँचो बाँसको करची बर्सिंदै थियो । सायद मनमा भएको पीडा र शरीरको दुखाइलाई आँखाबाट आँसुमार्फत झारिरहेकी थिइन् फुपू । सबैले प्रश्नमा सोधिरहे तर आँसुको जवाफ कसैले बुझ्न सकेन ।

ठुलीआमा ठूलो स्वरमा कराइन्, ‘अरू कोही भेटिनस् तैंले ? दाइसँगै पोइल जाने हिम्मत कसरी गरिस् ?’

फुपूलाई पिट्ने क्रम जारी थियो । भीडका मान्छेहरू बेलाबेला जुर्मॅराउँदै उफ्रीउफ्री कराइरहेका थिए, ‘त्यहाँ...नुन खुर्सानी दल्ने अनि आफैं चेत्छे । बडा चुमचुम भाछ यसलाई ।’

झलो ताचीकी आमा पिँढीको कुनामा टोलाएर बसिरहेकी थिइन् । ताचीको ठूलोदाइ सबैलाई बिन्ती गरिरहेका थिए, ‘यो मेरो घरको मामला हो । मै मिलाउँछु ।’ यति भनेर उहाँले ताचीलाई

कोठामा थुनिदिनुभयो ।

आँगनका मान्छेहरू खुसुरफुसुर गर्दै बाहिरिन थाले । बसो र म पनि एकअर्काको मुख हेराहेर गर्दै लसुक्क नहरतिर लाग्यौं ।

...

एक दिन फुपू झलोको अनुहार उदास थियो ।

‘एसएलसी फेल भएपछि घरमा सबैको मुखबाट गाली मात्र सुन्नु परिरहेको छ । ठूलोदाइको कस्तो ठूलो इच्छा थियो, मलाई क्याम्पस पढाउने तर फेल भएको थाहा पाएदेखि कुरै गर्नुभएको छैन । सानो दाइ भन्दै थियो– म आठ कक्षामा फेल हुँदा अगाडि पढ्न दिएनन्, झलो त कम्तीमा दससम्म पढ्न पाई । अब जति पढे पनि हामीलाई काम दिँदैन । आखिरमा ससुराल गएर सासुसासुरा, आफ्नो लोग्नेको रेखदेख गर्ने हो ।’ यति भन्दै फुपु ग्वाँग्वाँ रुन थालिन् । हामीले सम्झाउने कोसिस गर्यौं तर उनको आँसु रोकिएन । ‘म पढ्न चाहन्छु तर घरमा बिहेको कुरा...!’ वाक्य नटुंग्याई जुरुक्क उठेर रुँदै घरतिर लागिन् । तर, हामी त खुसी पो भयौं फुपूको बिहेमा के लगाउने होला भनेर !

हाम्रो घरभन्दा पश्चिम नहरपारि पर्छ, सुर्जे काकुको घर । नहरको पानी एकतमासले दक्षिण दिशामा बगिरहेको थियो । नहरको डिलमा अशोकको रूख स्थिर थियो तर पात आफ्नै लयमा सल्बलाइरहेका ।

एकाएक गाउँका दर्जनजति लोग्नेमान्छे देखापरे । सबैका आ–आफ्नै झोला, बोरा, पोका थिए । सबै दिल्ली या पञ्जाब जान हिँडेका रहेछन् तर सुर्जे काकुलाई देखिनँ । काकु त घरमै रहेछन् । बसोले आत्तिँदै झलो ताचीमाथि भएको अत्याचार सुनाउन थाली । काकु चुपचाप बसिरहे, केही बोलेनन् ।

तातो चार ओटा आलुचप दिँदै दासिनी ताचीले भनिन्, ‘कुक्को–कुके (केटाकेटी) एकै ठाउँ नबस, तिमीहरूलाई पनि झलोजस्तै पिट्छन् अनि थाहा पाउँछौ । केटालाई त केही भन्दैनन् तर भएभरको दोषी केटीलाई बनाउँछन् ।’

मैले पनि कत्तिपटक दासिनी ताचीबारे नराम्रो सुनेको थिएँ । पसल खोलेदेखि उनको जीवनयापन अरू महिलाको भन्दा फरक थियो । सायद दुःखले धेरै कुरा सिकाएको थियो उनलाई । र, त भन्थिन्, ‘छोरीलाई आफ्नै घरमा हेप्छन्, अरूको घरको के कुरा गर्नु ।’

दासिनी ताचीको खास नाम रजो हो । उनलाई जन्मघरकाले बस्ने ठाउँ दिएनन् । तर, जन्मगाउँमा त बस्न मिल्छ भनेर नहरको छेउमा सानो झुपडी बनाएर आलुचप, ढुंगरी बेचेर गुजारा गर्न थालिन् । बुबाआमा स्वर्गवास भएपछि दाइभाउजू, भाइबुहारी र तिनका नानीहरूको परिवारमा रजो ताची अटाइनन् ।

उनी पसलको काममा व्यस्त भए पनि समय निकालेर हामीसँग कुरा गर्थिन् । ‘पढ, काम सिक तर सानैमा बिहे नगर’ भनेर सम्झाउँथिन् ।

एक दिन रजो हाम्रो घरमा आएको बेला मेरो आयो (आमा) सँग कुरा गर्दा उनको थप जीवनबारे बुझेको थिएँ । उनको बिहे एउटा दास परिवारमा भएको थियो । सानैदेखि माछा–मासु खाएर हुर्केकी ताची घरमा खान पाउँदिनथिन् । परिवार पनि ठूलो, चार गोत्नी (जेठानी देवरानी) मध्ये साइँली थिइन् उनी । सबैका छोराछोरी थिए तर उनको बच्चा नहुँदा सबैको नजरबाट तिरष्कृत हुन थालिन् । खास गरी आफ्नै श्रीमान्बाट ।

बच्चा नपाएको कारण जहिल्यै कुटपिट र झगडा हुन्थ्यो । बिहे भएको पाँच वर्ष भएको थियो । उनका श्रीमान्ले एक दिन ताचीको हातखुट्टा र अनुहार सुन्निने गरी कुटपिट गरेर घरबाट निस्के । तर, कहिल्यै फर्किएनन् । त्यहाँको अत्याचार सहन नसकेर उनी जन्मघर फर्किएकी हुन् । तर, जन्मघर पनि उनका लागि पराई बन्यो । त्यसपछि पेटका लागि पसल खोलिन् तर दासिनीको धब्बालाई उनले हटाउन सकेकी छैनन् ।

कतिपय भन्छन्, ‘दासिनी भट्टी खोलेर अबेर रातसम्म लोग्नेहरूसँग मस्कीमस्की बोल्दै बस्छे । शरम भन्ने एक पैसाको पनि छैन ।’ तर, कसैले सोध्दैन्, ‘रजो के छ तिम्रो हालखबर ? अप्ठ्यारो पर्‍यो भने भन, हामी सहयोग गर्छौं ।’

एक दिन सुर्जे काकुको ब्याग देखें । सोधें, ‘तपाईं पनि जाँदै हुनुहुन्छ पन्जाब ?’

काकुले टाउको मात्र हल्लाए । त्यसपछि मेरो आँखा रजो ताचीसँग ठोक्कियो । जहिल्यै पनि गाउँको कोही मान्छे दिल्ली या पन्जाब जान लागे हामी बिदा गर्न नहरसम्म जान्थ्यौं । तर, त्यस दिन नहरमै मन निरास भयो । रजो ताचीले सुर्जे काकुलाई सोधिन्, ‘तिमी र झलोसँगै थियौ भन्ने सुनें । यस्तो हल्ला भएको बेला तिमीचाहिँ पन्जाब जाँदै छौ ? दुवैलाई सँगै देखेपछि झलोलाई मात्र किन पिटियो ? तिमीचाहिँ फुक्काफाल भएर बाहिर जाँदै छौ ?’

...

िदादाबोहेको रेडियोले समाचार भनेन । स्याँस्याँ गर्दै थियो । सायद टावर समातेन कि ! दादीआयो (हजुरआमा) को कुरा सुनें, ‘हाम्रो पनि घरमा छोरीहरू छन्, उनीहरू पनि भोलि भागे भने ?’ दादाबोहेको आवाज एक्कासि चर्कियो, ‘त्यसो गरे भने बाँचुन्जेल यो घरमा बास हुँदैन । तिनीहरू मर्छन् सदाका लागि । भेटे भनो जिउँदै जलाइदिन्छु ।’ मलाई त्यहाँ बसिरहन मन लागेन । बाँसको झ्याङतिर जाँदा बसोसँग भेट भयो । नहरको पानी उसैगरी दक्षिण दिशामा बग्दै थियो । अशोकका बोट स्थिर थिए तर पातहरू आफ्नै लयमा चलिरहेका थिए । पूर्वकुशहामाथिको घाम निकै रापिलो बनिसकेको थियो । बसोलाई सोधें, ‘नहरमा के बाली लगाउन थाले र यत्रो ठूलो पुत्ला (बुख्याँचा) बनाउँदै छन् ?’

त्यति नै बेला झलो ताचीका ठूलोदाइले झलोको सल बुख्याँचा घाँटीमा बेर्न थाले । मान्छेहरू पनि फाट्टफुट्ट जम्मा हुन थाले । झलोको सानोदाइ झलोका अरू लुगाको पोको बोकेर निस्किए । हेर्दाहेदै झलो ताचीका सबै लुगा बुख्याँचालाई लगाइयो । एकैछिनमा बुख्याँचामा आगो सल्किन थाल्यो । हामी थच्चक भुइामा बस्यौं ।

बाटोमा झलो ताचीकी आमा निराश अनुहारमा चुपचाप टोलाएर बसिरहेकी थिइन् । हामीलाई चेतावानी दिँदै भनिन्, ‘आजबाट तिमीहरूले पनि झलोलाई भेट्यौ भने हाम्रो घर कहिल्यै नआउनू । मरिसकी त्यो यो घरको लागि ।’

त्यस घटनापछि हामी झलो ताचीको घरमा जान छाड्यौं । एक दिन बसो र म दरबज्जामा बसेर मन्डी (भात) खाइरहेका थियौं । अचानक बसोले भनी, ‘आज जाऔं न ताचीलाई भेट्न ।’ उसको कुरा सुन्नेबित्तिकै डरले काँप्न थाले । कसैले थाहा पाए भने त रामधुलाइ हुन्छ !

हामी बिस्तारै गयौं । झलो ताची हामीलाई देखेर खुसी भइन् । उनको पेट डम्म थियो । सायद चाँडै नै नयाँ मान्छेको आगमन हुने समय चलिरहेको थियो । हँसिली ताचीको अनुहारमा निराशको बादल छोपिँदा कस्तो नमज्जा लाग्यो ! उनले आफ्ना आमा, दाइ, भाउजूबारे सन्चो–बिसन्चो सोधिन् । आमा बिरामी भएको खबर सुन्दा आँखा टिल्पिल पार्न थालिहालिन् ।

‘मैले गर्दा मेरो घरमा सबैलाई दुःखले छोएको छ । अहिले न म खुसी छु, न मलाई जन्म दिने आमा,’ उनी बर्बराउन थालिन्, ‘तर मेरो गल्ती के थियो ? ठूलोबुबा बिरामी भएको बेला, आमाले भनेर नै खाना पकाउन जान्थें । हामीबीच हँसिमजाक हुन्थ्यो । हाटबजार सँगै जानेआउने देखेर गाउँलेले बढाईचढाई घरमा कुरा लगाएछन् । गाउँभरि हल्ला भइसकेको रहेछ, लभ परेको छ भन्ने ।’

सुर्जे दाइसँग हँसिमजाक गरे पनि शरीरले कहिल्यै नजिक नभएको झलो बताइरहेकी थिइन् । ‘मलाई सुर्जे दाइको साइकल खुब मनपर्थ्यो । त्यही माग्न जानुपर्‍यो भनेर आमालाई नसोधी कैलीसँग गएको थिएँ । तर दाइ घरमा थिएन,’ उनी भन्दै थिइन्, ‘हामी फर्किनै लाग्दा सुर्जे दाइ पनि आइपुग्यो, त्यही बेला आमा र काकीलाई हातमा बाँसको भाटा बोकेर आउँदै गरेको देखें । घिसार्दै मलाई निकाले, त्यतिन्जेल वरिपरि हल्ला भसकेको रहेछ– झलो पोइला गई भनेर । मैले हामीबीच केही छैन भनेर सम्झाउन नपाउँदै घिसार्दै घर लगे । सारा गाउँलेका अगाडि कुटपिट गरे । यो सम्झिँदा विरक्त लागेर आउँछ ।’ त्यसपछि उनी सुर्जेसँगै गइन् । बिरामी ससुराको रेखदेख, बुबाको औषधि खर्च उनैले गरिरहेकी रहिछन् ।

मनमा डर भए पनि भोलिपल्ट झलो ताचीकी आयोलाई भन्न गएँ । मलाई देखेर उहाँले भन्नुभो, ‘सही समयमा आयौ । एक लोटा पानी ल्याइदेऊ, औषधि खान्छु ।’ त्यही बेला मैले झलो ताचीको अवस्थाबारे सुनाएँ । केहीबेरमै उनी परिवारबाट लुकीछिपी निस्किइन्, पोको बोकेर । पोकोमा झलोको बिहेका लागिराखेका साडी रहेछन् ।

आमाको मन न हो । आफू बिरामी भएर पनि उनी दुई जिउकी छोरी लिएर अस्पतालतिर लागिन् ।

प्रकाशित : फाल्गुन २२, २०७७ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्

सुश्री आमा सुन्दरी

अभय श्रेष्ठ

१.मैले आफ्नो सौन्दर्यमा त्यतिखेरै पाएकी हुँ निखारजब गुराँसजस्तो निख्खर मेरो प्रेमको नासोसंगीत भएर ओर्लियो सुनौलो धरतीमा ।

उसले मच्चाएको थियो

एउटा खतरनाक भूकम्प मेरो शरीरभित्र

जब धरती चिहाउन गरिरहेको थियो ऊ संघर्ष

निस्कँदा निमेषभर ऊ शान्त थियो ध्यानमग्न बुद्धजस्तै

र, छिनमै उसले मच्चाएको कोकोहोलो

कुनै निपुण संगीतकारले दिएको

संगीतजस्तै सुमधुर थियो ।

ऊ जन्मिएपछि नै

नित्य उसकै आँखामा हेर्न थालेकी हुँ

मैले आफ्नो अनुहार ।

फक्रेको सूर्यमुखीझैं

मैले आफूलाई संसार सुन्दरी पाएको

त्यतिखेरै हो

जब सम्पूर्ण फूलबारीझैं

भएँ म सम्पूर्ण नारी ।

२.

केवल एउटा ताज पहिरिँदा

अर्बौं मानिसहरुले भन्न थाले मलाई

संसार–सुन्दरी

तिनीहरुलाई थाहा थिएन–

धेरैअघि नै म भइसकेकी थिएँ

सम्पूर्ण सुन्दरी

जसको सामु यो ताज थियो निष्तेज–निष्तेज ।

जब खोलिदिएँ

मैले एउटा शान्त र सुन्दर सत्य

कि म गर्वोन्नत आमा हुँ

संसार आश्चर्यचकित भयो तब

मानौं भर्खरै एउटा महाभूकम्प गयो

बलात्कार माफ र प्रेम पाप हुने

यो झिलीमिली अन्धकारमा

मुनाफाखोरहरू एक्कासि राख्न थाले पुर्पुरोमा हात

बन्द भयो प्रेम र बलात्कारबीच भेदहरुजस्तो

निरन्तर गुन्जिरहेको संगीत

मानौं यो संसार एउटा भव्य चिहानघारी हो

जहाँ ज्युँदा आवाजहरूको हुन्छ अन्त्येष्टि

र, एक्कासि खोसियो

संसार–सुन्दरीको मेरो ताज ।

सृष्टिको बगैंचामा एउटा अर्को फूल फुलेको

खबर दिँदा

विश्व–सुन्दरीबाट एकाएक

म कसरी कुरुप भएँ, महाजन ?

वसन्तको बतासमा झुल्ने हरियालीजस्तो

यो मुलायम मातृत्वको मूल्यमा

त्याग्न सक्छु म संसारको जुनसुकै ताज ।

म नदीझैं बगूँ वा पहराझैं गीत गाऊँ

म चराझैं उडूँ वा आफ्नै रफ्तारमा दौडूँ

म अप्सराझैं नाचूँ वा भिक्षुणी भई बाँचूँ

म कसैलाई प्यार गरुँ वा अस्वीकार गरुँ

म कसैसँग सुतूँ वा उसैसँग उठूँ

म अक्षत कन्या बसूँ वा अविवाहित आमा बनूँ

हो, मेरै मर्जी

मनमग्न छु,

म स्वाधीन छु ।

३.

आन्दोलनमा उठ्ने ज्युँदा हातहरुजस्तो

मेरो मातृत्व यदि कसुर हो भने

संसारमा जुनसुकै कुनाका

जुनसुकै प्राणी किन ओर्लिन्छन् धरतीमा

आमाकै देह र चित्तको अंश भएर ?

एकपल्ट आमाको आँखाको ऐनामा

आफ्नै आँखालाई नियालेर हेर !

हेर, अझै राम्ररी हेर !

मुहारका अवयवलाई हेर

प्याजजस्तो मनको पत्रपत्र केलाएर

चेतनाका आँखाले हेर

बैंसको लहरमा बगिरहेको देहको वासनालाई

एकछिन बिसाएर हेर

पातमा हरियाली मिसिएझैं

तिम्रो देह र चित्तको कुन–कुनामा

मिसिएको छैन आमाको अंश ?

बायाँतिर छातीको ढुकढुकीलाई

स्पर्श गरेर हेर

देहका हरेक अंगलाई हृदयका आँखाले

नियालेर हेर ।

(मिस वर्ल्ड–१९७४ हेलेन मोर्गनको जीवन–प्रसंगबाट प्रेरित, जसको ताज अविवाहित आमा भएको खुलेपछि खोसिएको थियो ।)

प्रकाशित : फाल्गुन २२, २०७७ १३:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×