सुश्री आमा सुन्दरी- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुश्री आमा सुन्दरी

अभय श्रेष्ठ

१.
मैले आफ्नो सौन्दर्यमा त्यतिखेरै 
पाएकी हुँ निखार
जब गुराँसजस्तो निख्खर 
मेरो प्रेमको नासो
संगीत भएर ओर्लियो सुनौलो धरतीमा ।

उसले मच्चाएको थियो

एउटा खतरनाक भूकम्प मेरो शरीरभित्र

जब धरती चिहाउन गरिरहेको थियो ऊ संघर्ष

निस्कँदा निमेषभर ऊ शान्त थियो ध्यानमग्न बुद्धजस्तै

र, छिनमै उसले मच्चाएको कोकोहोलो

कुनै निपुण संगीतकारले दिएको

संगीतजस्तै सुमधुर थियो ।

ऊ जन्मिएपछि नै

नित्य उसकै आँखामा हेर्न थालेकी हुँ

मैले आफ्नो अनुहार ।

फक्रेको सूर्यमुखीझैं

मैले आफूलाई संसार सुन्दरी पाएको

त्यतिखेरै हो

जब सम्पूर्ण फूलबारीझैं

भएँ म सम्पूर्ण नारी ।

२.

केवल एउटा ताज पहिरिँदा

अर्बौं मानिसहरुले भन्न थाले मलाई

संसार–सुन्दरी

तिनीहरुलाई थाहा थिएन–

धेरैअघि नै म भइसकेकी थिएँ

सम्पूर्ण सुन्दरी

जसको सामु यो ताज थियो निष्तेज–निष्तेज ।

जब खोलिदिएँ

मैले एउटा शान्त र सुन्दर सत्य

कि म गर्वोन्नत आमा हुँ

संसार आश्चर्यचकित भयो तब

मानौं भर्खरै एउटा महाभूकम्प गयो

बलात्कार माफ र प्रेम पाप हुने

यो झिलीमिली अन्धकारमा

मुनाफाखोरहरू एक्कासि राख्न थाले पुर्पुरोमा हात

बन्द भयो प्रेम र बलात्कारबीच भेदहरुजस्तो

निरन्तर गुन्जिरहेको संगीत

मानौं यो संसार एउटा भव्य चिहानघारी हो

जहाँ ज्युँदा आवाजहरूको हुन्छ अन्त्येष्टि

र, एक्कासि खोसियो

संसार–सुन्दरीको मेरो ताज ।

सृष्टिको बगैंचामा एउटा अर्को फूल फुलेको

खबर दिँदा

विश्व–सुन्दरीबाट एकाएक

म कसरी कुरुप भएँ, महाजन ?

वसन्तको बतासमा झुल्ने हरियालीजस्तो

यो मुलायम मातृत्वको मूल्यमा

त्याग्न सक्छु म संसारको जुनसुकै ताज ।

म नदीझैं बगूँ वा पहराझैं गीत गाऊँ

म चराझैं उडूँ वा आफ्नै रफ्तारमा दौडूँ

म अप्सराझैं नाचूँ वा भिक्षुणी भई बाँचूँ

म कसैलाई प्यार गरुँ वा अस्वीकार गरुँ

म कसैसँग सुतूँ वा उसैसँग उठूँ

म अक्षत कन्या बसूँ वा अविवाहित आमा बनूँ

हो, मेरै मर्जी

मनमग्न छु,

म स्वाधीन छु ।

३.

आन्दोलनमा उठ्ने ज्युँदा हातहरुजस्तो

मेरो मातृत्व यदि कसुर हो भने

संसारमा जुनसुकै कुनाका

जुनसुकै प्राणी किन ओर्लिन्छन् धरतीमा

आमाकै देह र चित्तको अंश भएर ?

एकपल्ट आमाको आँखाको ऐनामा

आफ्नै आँखालाई नियालेर हेर !

हेर, अझै राम्ररी हेर !

मुहारका अवयवलाई हेर

प्याजजस्तो मनको पत्रपत्र केलाएर

चेतनाका आँखाले हेर

बैंसको लहरमा बगिरहेको देहको वासनालाई

एकछिन बिसाएर हेर

पातमा हरियाली मिसिएझैं

तिम्रो देह र चित्तको कुन–कुनामा

मिसिएको छैन आमाको अंश ?

बायाँतिर छातीको ढुकढुकीलाई

स्पर्श गरेर हेर

देहका हरेक अंगलाई हृदयका आँखाले

नियालेर हेर ।

(मिस वर्ल्ड–१९७४ हेलेन मोर्गनको जीवन–प्रसंगबाट प्रेरित, जसको ताज अविवाहित आमा भएको खुलेपछि खोसिएको थियो ।)

प्रकाशित : फाल्गुन २२, २०७७ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्

नजलेको मुस्कान

मुस्कान दुखेर बस्दिनन् । बरु दुःखलाई शक्तिमा बदल्न लाग्छिन् । मुस्कानले त्यस्तो मुस्कान आर्जन गरेकी छन्, जसलाई दुनियाँको कुनै पनि तेजावले खुइल्याउन सक्दैन, न सक्छ त्यसलाई खोस्न संसारको कुनै पनि क्रूर अपराधीले ।
हीरादेवी लामा

काठमाडौँ — ‘मेरो ठम्याइ छ कि तपाईं बलियो किशोरी हो । मेरो  शुभकामना छ– तपाईंलाई । चाँडोभन्दा चाँडो निको हुनुहोस्, सधैंभरि यसरी नै मुस्कुराउनुहोस्,’ बलिउडका महानायक अमिताभ बच्चनले मुस्कान खातुनका लागि मुस्कानको कामना गरेका वाक्य हुन् यी ।

यी वाक्य, वाक्य मात्रै होइनन्, मुस्कानका दुवै ओठका लागि मन्द मुस्कान हुन् । तेजावले चहर्‍याइरहेको अनुहारमा चम्केका मुस्कान हुन्, जसलाई लाखौंले मायाले सुम्सुम्याइदिए । ती लाखौंमध्ये एक थिए, अमिताभ ।

मुस्कान खातुनले भर्खरै मात्र अमेरिकी विदेश मन्त्रालयले दिने अन्तर्राष्ट्रिय साहसी महिला ‘आईडब्लूओसी’ अवार्ड पाइन् । यो अर्वाड पाउने उनी नेपालबाट पहिलो महिला हुन् । र, अहिलेसम्मकै कान्छी पनि । पुरस्कार पाएपछि भनिन्, ‘असाध्यै खुसी छु । अझै दायित्व थपिएका छन् ।’

प्रत्येक मानिसले उमेर अनुसारको जीवन जिउँछ, जसरी मुस्कानले जिइरहेकी थिइन् । अन्जानमै मीठा स्मृति बाँच्छ मानिस, जसरी मुस्कान बाँच्ने गर्थिन् । तर, कहिलेकाहीँ मैले पढाउने बोर्डिङ स्कुलका विद्यार्थीलाई हेर्छु– होमवर्क, क्लास, ट्युसन, जाँच अनि पास र फेल ! दश कक्षासम्म उनीहरूको जीवन यसरी नै बित्छ । बाहिरी दुनियाँसँग अन्जान उनीहरू पुस्तक र कापीका तौलले थिचिन्छन् । जब एसएलसी पास गर्छन्, सोच्छु– एउटा पिँजडाबाट मुक्त भए उनीहरू । पिँजडाको सकसमय आँखीझ्यालबाट होइन, खुला आकाशबाट जीवनलाई नियाल्न सुरु गर्नेछन् । तर, परिबन्धहरूको शृंखला सुरु भइजान्छ । उनीहरूका लागि अर्को पिँजडाको ढोका खुलिसकेको हुन्छ । फेरि पिँजडाका सस्याना झ्यालबाट दुनियाँ नियाल्न सुरु गरिसक्नुपर्छ– यो आममानिसको कथा हो, आमनियति हो ।

तर, मुस्कानले अर्थ्याउनुपर्ने दुनियाँ अब आम छैन । हिजोको त्यस्तै मुस्कान फेरि भेटिनेवाला छैन । कतै मोबाइलको ग्यालरीमा होला हिजोको मुस्कान, जो सेल्फीमा हाँसिरहेकी हुन सक्छिन् । हिजो नै कतै छुटिन् मुस्कान, जो थोरै केही भइहाले रोइहाल्थिन् । बा–आमालाई थोरै घुर्की लाइहाल्थिन् । स्कुल जान्थिन्, साथीभाइसँग जिस्किन्थिन्, पढ्थिन् । प्रत्येक साता शनिबार कुर्थिन् । एउटा जीवन थियो, जो चञ्चल थियो, निश्चल थियो । जो बेफिक्री थियो ।

अहिलेकी मुस्कानसँग यी सबै–सबै छन् । मुस्कानको दैनिकी त्यही हो । मुस्कानको सपना त्यही हो । मुस्कानको उज्यालो त्यही हो । मुस्कानको राप र रबाफ त्यही हो । तर, हिजोजस्तै पिन्चे रुँदिनन् । हिजोजस्तै चाँडै दुख्दिनन् । हिजोजस्तै कमजोर छैनन् । मुस्कानकै शब्दमा, ‘हिजो जे–जे कुराले दुख्थेँ, आज ती कुराको मतलबै लाग्दैन । सानोतिनो कुराले दुख्न छाडिसकेँ । खासमा दुख्नै छाडिसकेँ ।’

हुन पनि मुस्कान दुखेर बस्दिनन् । बरु दुःखलाई शक्तिमा बदल्न लाग्छिन् । मुस्कानले त्यस्तो मुस्कान आर्जन गरेकी छन्, जसलाई दुनियाँको कुनै पनि तेजावले खुइल्याउन सक्दैन, न सक्छ त्यसलाई खोस्न संसारको कुनै पनि क्रूर अपराधीले । कसैलाई लाग्न सक्छ, मुस्कानको एक खालको जीवनलाई तेजावले त्यसरी जलाइदिएको छ, तर कसरी यत्ति धेरै हिम्मत आउँछ ? मलाई पनि लाग्छ, मुस्कानबारे लेख्दै गर्दा किन यसरी हात काँपिरहेका छन् ?

विश्व स्वास्थ्य संगठनले गत जनवरीमा सार्वजनिक गरेको एक रिपोर्टअनुसार, संसारभर २ सय ६४ मिलियन मानिस डिप्रेसनको सिकार भएका छन् । त्यही रिपोर्टले भन्छ– वार्षिक ८ लाख मानिसले आत्महत्याको बाटो रोज्छन् । १५ देखि २९ वर्षबीचका मानिसको मृत्युको कारकमध्ये दोस्रो नम्बरमा आत्महत्या नै छ । यस्ता समस्यालाई पर्गेल्न के चाहिन्छ ? सम्भवतः यसको एउटा उत्तर हुन्, मुस्कान । हिजोको मुस्कान र आजको मुस्कान हेर्दा कुनै स्वैरकल्पनाजस्तो लाग्छ, उनको जीवनकथा । सोच्नुस् त, तपाईंले देखिरहेको सपना र बाँचिरहेको जीवन अचानक ध्वस्त भयो भने के होला ? एउटा भरिइसकेको डायरीबाट अचानक कसैले शब्दहरू गायब पारिदिए र फेरि लेख्न सुरु गर्नुपर्‍यो भने के होला ? मिहिनेतले आधा हिँडिसकेको बाटो अचानक कसैले बदलिदियो र फेरी यात्राको सुरुवात गर्नुर्पर्‍यो भने के होला ? हो, मुस्कान त्यही हुन्, जसले एक खालको जीवनलाई उतै छाडिदइन्, त्यो डायरी फेरि लेख्न सुरु गरिसकेकी छन्, नयाँ यात्राको सुरुवात गरिसकेकी छन् ।

०००

कलंकीमा बस्छिन् मुस्कान । ब्राइट फ्युचर सेकेन्डरी स्कुल पढ्छिन् । बिहानै साढे ६ बजे स्कुल जान्छिन् । दिउँसो चार बजेपछि मात्रै फर्किन्छिन् । म मुस्कानको डेरा पुग्दा भर्खरै विद्यालयबाट फिरेकी थिइन् । उनको अनुहारको दागहरूले भनिरहेथ्यो, त्यो दर्दनाक घटनाको भौतिक साक्षी हो– दाग । झनै आत्मिक दागहरू त गनिसाध्ये छैन । त्यही दाग छेवैमा मुस्काइरहेका दुई ओठले भनिरहेथे, ‘तपाईं भ्रममा नपर्नुस्, सम्भावनाका ढोकाहरू अझै धेरै खुलेका हुन् ।’ र, नै त मुस्कानले हाकाहाकी बोलिदिइन्, ‘मैले सपना मर्न दिएकी छैन । यति जाबो सानो दागले मेरो सपना र मुस्कानलाई असर गर्दैन !’

हो, सानो दागले मुस्कानलाई असर गर्दैन । अहिले नौ कक्षामा पढिरहेकी मुस्कानलाई एक वर्षअघि सन् २०१९ मा प्रेम–प्रस्ताव अस्वीकार गरेकोमा सम्साद मियाँ र साजिद मियाँले वीरगन्जमा तेजाव छ्यापिदिएका थिए । विद्यालाय जाँदै गर्दा बिहान ६ बजे तेजाव छ्यापिएकी मुस्कानको अनुहारमा मात्रै सानो दाग लाग्यो । मुस्कानको मुस्कान भने यथावतै छ । झनै चम्केको छ ।

भनिन्छ, महिलाहरू शृंगारमा धेरै समय खर्चिन्छन् । उनीहरूको कोठामा मेकअपका सामान, ऐना सधैं भइदिन्छन् । राम्रो लगाउने चाहनाले भरिएका हुन्छन् । तर, यस्तो भाष्य बनाउने को हो ? तपाईंहरूको पुरुषवादी दृष्टिकोण हो कि पितृसत्तात्मक समाज ? महिलाकै आँखाबाट महिलामाथिको परिभाषाहरू खोतल्ने कोसिस गर्नुभा’छ ? पक्कै छैन । एकपटक कोसिस गरी हेर्नुस् । मुस्कानलाई लाग्छ, ‘शृंगारको नाममा समय खेर नफालूँ । पढाइमै समय लगाऊँ । अरूलाई उत्प्रेरित गरौँ ।’ एउटा कथन छ नि, आवरणलाई लिएर पुस्तकको मूल्यांकन नगरौँ । ‘आवरणले केही अर्थ राख्दैन । एक दिन चाउरिनेछ । आवरणलाई लिएर गफ गर्नु नै समय खेर फाल्नु हो,’ सेन्सर नगरिएको मुस्कानका भनाइ हुन् यी ।

केही समयअघि सरकारले फौजदारी कसुर तथा फौजदारी कार्याविधिसम्बन्धी ऐन संशोधन गर्न बनेको अध्यादेश पारित गरेको थियो । राष्ट्रिपतिबाट उक्त अध्यादेश प्रमाणीकरण पनि भएको छ । उक्त कानुनमा तेजाव आक्रमण गर्नेलाई २० वर्षसम्म जेल सजाय र १० लाख जरिवाना हुनेछ भने पीडितलाई क्षतिपूर्ति दिइनुपर्नेछ । तेजावको खुला बिक्री वितरण बन्द गर्ने, आक्रमण गर्नेलाई कडा सजाय, पीडितलाई निःशुल्क शिक्षा र रोजगारी उपलब्ध गराउने कानुन राज्यले ल्याइसकेको छ । तर, यतिले मात्रै नपुग्ने, जनचेतनामा बढी लगानी गर्नुपर्ने मुस्कानको धारणा छ । यस्ता घटना र हिंसालाई बाहिर ल्याउनुपर्छ, लुकाउनुहुन्न भन्ने अडान हो उनको । ‘कति जना त यस्ता घटनापछि पछाडि बस्नुहुन्छ । लुकेर बस्नुहुन्छ । त्यसरी बस्दा अपराधीलाई सहज हुन्छ,’ मुस्कानको मुस्कानसहितको भनाइ छ, ‘जसले मलाई तेजाव छ्यापेको थियो, उसले सोचेको थियो होला– अब मुस्कान कोठामा लुकेर बस्छे, बाहिर निस्किन्न । मैले त्यस्तो के गल्ती गरेको छु र बाहिर ननिस्कनका लागि ? हदै भए यही अनुहारको चाउरी हो, बूढो भएपछि त सबैलाई पर्छ । तर, मेरो सपना त मरेको छैन नि ! यसकारण पनि हामी लुकेर बस्नुहुन्न, बाहिर निस्कनुपर्छ ।’

तेजाव छ्यापिएपछि मुस्कान अस्पताल भर्ना भइन् । त्यसबेला उनले पाएको माया र हौसलाको वर्णन गर्न सक्दिनन् । यति मात्रै भन्छिन्, ‘त्यही माया र हौसलाका कारण म यहाँ छु ।’ त्यही बेडमा पढिन् मलाला युसाफजाईलाई । त्यहीँ पढिन् झमक घिमिरेलाई । यसपछि नै हो मुस्कानलाई लागेको– जीवनमा सम्भावनाको दियो पक्कै निभेको हुँदैन । बस्, निद्राबाट बौरिने सानो प्रयत्न काफी छ ।

०००

तेजाव हानिएको मुस्कान एक्ली होइनन् । धेरै मुस्कान छन्, जो झनै बलियो गरी उठेका छन् । गएको सात वर्षमा १९ युवतीमाथि तेजाव छ्यापिए । तर, सबै आ–आफ्नै क्षेत्रमा झनै बलियो गरी उभिएका छन् । आफूमा तेजाव छ्यापिनुअघि यस्ता घटना सुन्थिन् मुस्कान पनि, उनलाई दुःख लाग्थ्यो । उनलाई लाग्थ्यो, यस्ता अपराधले धेरैको सपना भत्किन्छ, कसैलाई पनि फेरि नहोस् । तर, घटना मुस्कानमाथि नै भइदियो ।

उनको डाक्टर बन्ने सपना थियो । सानैमा बुवा विरामी भएर अस्पताल गएकी थिइन् । अस्पतालमा आमा रोइरहेकी थिइन् । दस वर्षीया मुस्कानले सोधिन्, ‘किन रुनुभएको आमा ?’

‘बुबा बिरामी हुनुहुन्छ,’ आमाको जवाफ थियो ।

आमा रोइरहेकी थिइन्, डाक्टर आए ।

डाक्टरले भने, ‘आत्तिनुस्, हामीले राम्रोसँग उपचार गर्छौं भनेकै छौँ ।’ यसपछि मुस्कानकी आमाको आँखामा आँसु थामियो । बुबा पनि ठीक भए ।

‘त्यसपछि मैले डक्टर हुने सपना देखेकी थिएा । बीचमा तेजाव आक्रमणले केही समय रोक्यो । तर, अहिले पनि त्यो सपना मरेको छैन, झनै फक्रिएको छ ।’

जब मुस्कानको अनुहारमा तेजाव पर्‍यो, अस्पताल पुगिन् उनी । तर, अस्पतालमा मुस्कानको शरीर मात्रै थियो, दुनियाँको मनमनमा मुस्कान पुगिसकेकी थिइन् । तेजावको चर्को पोलाइ बिर्सिएकी थिइन् । मुस्कान जब मिडियामा बोल्न थालिन्, उत्प्रेरणा बनिन् । अहिले त मुस्कानलाई लाग्छ, ‘मैले अगाडि बाँचिरहेको जीवनभन्दा यो जीवन गर्व गर्नलायक छ ।’ अस्पतालबाट उठेर स्कुल गइन् । विद्यालयमा उनको भव्य स्वागत गरियो । कसरी पढ्ने, के गर्ने अब भन्ने दोधारमा परिरहेका बेला विद्यालयको त्यस्तो स्वागतले फुरुंग भएकी थिइन् । हतार–हतार घर आएर बा–आमालाई सुनाएकी थिइन् । यस्तैयस्तै मायाले आफूले दर्दलाई ऊर्जामा परिणत गरेको मुस्कानको भनाइ छ ।

अहिले त सेल्फ डिफेन्सका लागि तेक्वान्दो प्रशिक्षण पनि लिइरहेकी छन् । पुस्तकहरू पढ्छिन् । पेन्टिङ पनि गर्छन् । पेन्टिङतिर आफूलाई समेट्छिन् । दुखाइका अनुभूतिलाई त्यतै क्यानभासतिरै बिसाउँछिन् । हो, मुस्कान जीवनका ती आँध्यारो क्षेत्रलाई छाडेर नयाँ जीवनको उडानमा निस्किसकेकी छन् । ‘त्यो उडान उचाइ नछोएसम्म कहिल्यै रोकिने छैन किनभने उड्नु मैले मात्रै छैन, मजस्ता हजारौंले उड्नु छ ,’ मुस्कान यस्तै भन्छिन् ।

-यसअघि यस सामग्रीमा नेपालस्थित अमेरिकी राजदूतावासले जारी गरेको प्रेस विज्ञप्तिअनुसार अन्तर्राष्ट्रिय साहसी महिला ‘आईडब्लूओसी’ अवार्ड पाकिस्तानी बालशिक्षा अभियानकर्ता तथा नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले पनि प्राप्त गरेको हुन गएकोमा सच्याइएको छ ।

प्रकाशित : फाल्गुन २१, २०७७ १९:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×