कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आए, सबै याद आए

अम्बर गुरुङ भन्थे– ‘संगीत रचनाको पहिलो र सबैभन्दा ठूलो पुरस्कार साङ्गेले दिएको दुई मुक्का थियो’
देवेन्द्र भट्टराई

सन् १९७५, २४ नोभेम्बर
‘यो केके भयो र कसरी भयो
सबै कुरा यहाँ मुस्किल भयो 
हामी भेटिनु त मुस्किल भयो

आए, सबै याद आए

तर छुट्टिनु पनि मुस्किल भयो

तिमीबिना म धेरै रोएँ

तर एक्लै रुन झनै मुस्किल भयो—

रुमाल त हात राखेकै थिएँ

तर आँसु पुछ्न झन् मुस्किल भयो

तिमी आउन पनि मुस्किल भयो

त्यहाँ पुग्न मलाई झनै मुस्किल भयो

सुल्झाउन यत्ति मुस्किल भयो

कि मुस्किल अति नै मुस्किल भयो ।’


***

यो एउटा पत्रको सुरुवात थियो ।

अल्लारे वयका किशोर गुरुङ ज्याज म्युजिक सिक्न र लुइस बेंक्सलाई भेट्न काठमाडौंमा रत्नराज्य कलेजको पढाइ हापेर कलकत्ता पुगेका थिए । खास नाम डम्बरबहादुर बूढाप्रिथी रहे पनि भारतीय ज्याज संगीतको दुनियाँमा लुइस आज ‘गडफादर’ कहलिन्छन् । बुबा अम्बर गुरुङसँग बेंक्स परिवारको पुरानो चिनारीको नाता लिएर कलकत्ता पुगेका किशोरले लुइसलाई भेटे पनि । भेटपछि उनले किशोरलाई अर्का प्रखर ज्याज गिटारिस्ट कार्ल्टन किट्टोसँग म्युजिक सिक्ने प्रबन्ध पनि गराइदिए ।

किशोर ज्याज सिक्नमा तल्लीन थिए, एयरपोर्ट छेवैको दमदम होटलमा म्युजिक बजाएर खानाको जोहो गर्थे । तर, सुत्ने कोठाको समस्या परेर थुप्रैपटक सडकपेटी वा कतै प्लेटमफार्ममै रात बिताउनुपर्थ्यो । अत्यास–अत्यासलाग्दो यो क्षणमा बाबु–छोराबीच टेलिप्याथीजस्तो हुँदो रहेछ– बाबुले छोरालाई र छोराले बाबुलाई सपनीमा देख्ने ! त्यसबेला अम्बर भने नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा संगीत विभाग प्रमुख थिए, आफ्नो संघर्षको चौघेराभित्र । त्यही चक्रावातमाझ अम्बर गुरुङले छोरा किशोरको नाममा एउटा पत्र लेखे, पत्रको सुरुवातमा सम्बोधनलगत्तै उपरोक्त मुस्किल भावको गीत लेखिएको थियो । बाँकी पत्रमा लेखिएको थियो–

प्यारो छोरा किशोर,

तिम्रो पत्र पाएँ । तिम्रो पत्र हेर्दा तिमी अलिक निराश भएको भान हुन्छ, त्यसो नहुनु । आज तिमीलाई एक–दुई कुरा लेख्न मन लाग्यो, सपनामा पनि तिमीलाई देखें, यी कुराहरू जे म लेख्दै छु, त्यसलाई कोरा भावुकता नभन्नू । यी कुराहरू एउटा कलाकारको जीवनमा उठेको तुफान र संघर्षबीचमा परेको अनुभवबाट खारिएर झरेका कुरा हुन् भनी बुझ्नू ।

नित्से भन्छन्– पर्खालमै तिम्रो द्वार छ । यसको अर्थ अहिले बुझ्दै छु । संघर्ष र अभावग्रसित भएर गरेको अभिव्यक्तिजस्तो महान् कुनै पनि अभिव्यक्ति हुँदैन । त्यसैले छोरा, निरुत्साह नहुनु । मैले तिमीहरूलाई ऐसआराम दिन कहिल्यै सकिनँ तर, माया–प्यार जो तिमीहरूलाई दिइरहेछु, त्यसको खण्डन कुनै पनि कुरोले गर्न सक्दैन । छोरा, अभावग्रसित भएरै पनि आफ्नो लक्ष्यदेखि विमुख नहुनु । संघर्षको तलावमा नै सफलताको कमल फुलेको हुन्छ । तिमी सोचेर हेर द्दत— ब्राक, मोर्जाट, बिथोवेन, फ्रान्ज सुबर्ट— कुन चैं कलाकार अभावग्रसित थिएनन् । ज्याजकै इतिहासमा पनि तिमीले साच्मो (लुइस डेनियल), ड्युक एलिङ्टन आदिलाई लिन सक्छौ । यसो भनेको तिमी संघर्षमा आत्मसमर्पण गर भनेको होइन तर, यसबाट तिमीले अझ बढेर उत्साह लिनुपर्छ ।

तिमी सफल अवश्य हुन सक्छौ । प्रथमतः तिमीमा मेरोजस्तो सर्टकमिङ्सहरू छैन । तिमीलाई रक्सी र गाँजाभाङको आवश्यकता छैन र, यसले तिमीलाई कहिल्यै छेकारो हाल्न सक्तैन भनेर आमा र मलाई पूरा विश्वास छ । तिमी चिन्ता नगर्नू । खुब परिश्रम गर्नू । एकचोटिमा एक घण्टाभन्दा बढी फिङ्गर्स (औंलाहरू) लाई ‘स्ट्रेन’ नगर्नू । छोरा, दश/पन्ध्र मिनेट बिसाएर मात्र सुरु गर्नू । (गिटारवादकलाई हुन सक्ने ‘फोकल डिस्टोनिया’ रोगबाट बच्नका लागि औंला प्रयोगमा यो उपाय अपनाउनू ।)

— तिम्रो बाबा

यो पत्र पाएपछि किशोर एक प्रकारले स्तब्ध भए, दमदम होटलको लवीमा यताउता गर्दै किशोरले दर्जनौंपटक यो पत्र पढे । दुःख र संघर्ष सही, बुबा अम्बरकै सानिध्यमा बसेर केही काम गर्ने ध्याउन्न उनमा पलाएको थियो । अनि झिटीगुन्टा बोकेर सरासर फर्किए काठमाडौं ।

तर अझै पनि– भनौं न, यतिका वर्षपछि र बुबा अम्बर बितेर गएको वर्षौं बितिसक्दा पनि छोरा किशोरले भेउ पाइसकेका छैनन्, नित्सेले भनेको कुरा– पर्खालमै तिम्रो द्वार छ । ‘यो द्वार मैले अझै भेटेकै छैन,’ उमेरमा ६५ छेकका किशोर अहिले पनि भनिरहेका छन्, ‘म द्वार खोजेको खोज्यै छु ।’

२०७१, फागुन १४

संगीतज्ञ अम्बर गुरुङसँग जोडिएका उनका शिष्य र शुभेच्छुकहरू कम्तीमा वर्षको दुईपटक अम्बर निवास पुगेकै हुन्थे– अम्बर जन्मदिन (फागुन १४) र सरस्वतीपूजा ।

त्यस दिनको माहोल भने निकै भिन्न, अनौपचारिक र मिसमास हुन्थ्यो । देवीदेवताको प्रार्थना–बन्दनादेखि अन्तरंग अनौपचारिक वार्तालापसम्म । मनपरेका गीतको फर्माइसदेखि रागरागिनी व्याख्यानसम्म । ‘मैले फेरि दोहोर्‍याउँदै कलाकार भ्यानगोगको जीवनी–कृति पढिसिध्याएँ– लस्ट फर लाइफ,’ अम्बरले जन्मोत्सवको एउटा साँझ जीवन–जगत्का बारेमा बोल्न चाहेजस्तो लाग्यो, ‘यो किताब पढेर म फेरि रोएँ । धन्य, म भने भ्यानगोगजस्तो दुःख र सास्तीको त्यो चरणमा पुगेको छैन, किनभने वरपरमा तिमीहरू जस्ता चेलाचेली मसँग छन् । यो किताब तिमेरुले नि पढ्नू...।’

त्यसपछि सुरु भयो एउटा माहोल । अनि कहिल्यै नसुनेको र नसोचेको गीतको लय सुरु भयो किनभने यसको धुन, ट्युन, संगीत के होला भन्ने पत्तै थिएन । छेवैमा बसेका शिष्यहरू आभाष, गोविन्द थापा, राजकुमार श्रेष्ठ, झुमा लिम्बू, शेखर श्रेष्ठ आदि–इत्यादि अलमलमै हुन्थे । अनि अम्बर सर हार्मोनियम नोटका भरमा एक्लैले सुनाउँथे–

‘एक लाल सुन छैन,

निस्तो भात नुन छैन

तैपनि त बाँचेकै छौं,

हामी नेपाली...

स्कुलका ढोकासम्म गाई चराउन गयौं

सहरमा काम खोज्दा भोकभोकै रह्यौं

पेटीमाथि सुत्यौं

नेताहरू भाषण गर्छन्—हिम्मत नहार

भोकै बस तर देशलाई गाल नपार...’

सन् २००८, माघ

‘हिमाली पाखा दार्जिलिङ

चियाको पसल थापेर

पसिनाबाट सुगन्ध फुल्ने

कामना गर्छ दार्जिलिङ...’

अम्बर टर्नबुलमा कक्षा ८ मा पढ्दाको कुरा हो, उनले देउसी वा पिकनिक भेला अथवा कुनै सामाजिक उत्सवमा सुहाउने गरी संगीत रचेका थिए । त्यसमा शब्द, संगीत र स्वर कुन बान्कीको थियो भनेर फ्याट्टै सम्झन नसके पनि सिंगो रचनाको प्रभाव भने बिर्सिनसक्नुको छ ।

त्यही सांगीतिक रचना स्कुलका केही शिक्षकसमेतले सुनेका रहेछन् । त्यही रचना (उपरोक्त गीत) स्कुलको वार्षिक पुरस्कार समारोहमा गाउने निधो भयो । त्यसपछि गीतको रिहर्सलमा २०/२५ विद्यार्थीको हुल भेला भएको थियो । त्यो हुलमा साङ्गे नामको एउटा भोटे केटो पनि थियो, जसको स्वर धोद्रे मात्रै होइन, ‘अति धोद्रे’ नै थियो र एकदमै पिच–आउट पनि ! कुनै कलर–ब्लाइन्ड व्यक्तिले रंगको भेद छुट्ट्याउन नसकेजस्तो उसले स्वर र नोट छुट्ट्याउन सक्दैनथ्यो । रिहर्सल सुन्न आएका शिक्षकले पनि यो तथ्य एक दिन पहिल्याए ।

अम्बरले एक–दुईपटक त्यसलाई गीत गाउन लगाइहेरे । जतिचोटि उसले गाउँथ्यो, त्यति नै चोटि हाँसोको फोहरा उठ्थ्यो । त्यसपछि ऊ गायन समूहबाटै निकालियो । यो निकालालाई साङ्गेले आफ्नो ठूलो अपमान ठानेको रहेछ, र यसको बदला लिइछाड्ने अठोट गरेको रहेछ । एक बेलुकी अम्बरलाई उनका बाले केही किन्न पसलमा पठाएका थिए । त्यो साङ्गे त बाटो ढुकेर बसेको रहेछ । उसले एकाएक झम्टिँदै अम्बरलाई सोध्यो, ‘तैंले त्यस्तो अप्ठेरो संगीत किन बनाइस् ? मलाई इन्सल्ट गर्न ?’

अलिक पछि सर्दै अम्बरले डराएको स्वरमा भने, ‘त्यो त एकदम सजिलो गीत हो । तैंले नै गाउन नसकेको...!’

यो वाक्य पनि टुंगिन नपाउँदै साङ्गेले अम्बरको मुखमा दुई मुक्का हान्यो । उनी रुँदै घर फर्किए । घरमा बाहिर आँगनमै भेटिए बा उजिरसिंह । उनले सोधे, ‘किन रोएको ?’

‘साङ्गेले मलाई कुट्यो ।’

‘अन्ता तैंले कुटिनस् ?’

‘त्यो मभन्दा बलियो छ ।’

‘थुक्क छ तँलाई ! त्यो भोटे हो, हामी गोर्खाली ! त्यसलाई गोर्खालीकै छोरा भएर जवाफ दिन सकिनस् ? अब फेरि रुँदै आइस् भने तैंले मेरो नाकै काट्नेछस् ।’

यो सानो तर सम्झनलायकको घटना भएका बेला घरमा आमा रेनुका थिइनन् । बुबाको भनाइले अम्बरलाई मनैमनमा अझ कठोर बनाएको थियो । आफूले कुटाइ खाएको क्षण र बाबुको कठोरतालाई सम्झेरै उनी त्यो साँझ भुसुक्क निदाए । भोलि बिहान उठ्नेबित्तिकै साङ्गेलाई हान्न भनेर उनले ढुंगा–इँटाका टुक्रा भेला पारेका थिए, एउटा लौरो पनि राखेका थिए । तर, साङ्गेलाई उनले अहिलेसम्म फेरि कहिल्यै भेटेनन् । ‘संगीत रचनाको पहिलो र सबैभन्दा ठूलो पुरस्कार साङ्गेले दिएको दुई मुक्का थियो,’ यो कुरा एकदमै सम्झन र भन्न आफ्नो मुख चिलाइरहेको थियो भन्थे अम्बर ।

केही दिनमा आमा रेनुका घर फिरेर आएकी थिइन् । उनले पनि आमालाई सबै इतिवृत्तान्त सुनाए । सबै सुनेर आमाले पनि संयमी स्वरमा भनिन्, ‘बुबाले तँलाई भनेको कुरा तँलाई अहिले ठीक नलाग्ला तर उहाँले भनेको कुरा एकदम ठीक हो, तिमारुले अहिलेदेखि नै आफूलाई बचाउन सिक्नुपर्छ । म र तेरो बा जो अघिपछि मरे पनि तिमारुलाई हामी साथै लैजान त सक्दैनौं नि ! अहिलेको दार्जिलिङ कति बिग्रेको छ र कति भर नपर्दो भएको छ, त्यो कुरा हामीले जस्तो तिमारले बुझेका छैनौ र बुझ्न सक्दैनौ पनि । हामी आमा–बा छोराछोरीलाई कत्तिको माया गर्दा रहेछौं, त्यो ता पछि समय आएपछि बुझ्नेछस् ।’

फागुन २७, २०६१ शुक्रबार

आज अम्बर गुरुङ र म ‘ब्ल्याक’ हेर्न गयौं । १२ वर्षपछि हलमा फिल्म हेर्न आएको इतिवृत्ति सुनाए अम्बरले । ‘थ्यांक्यु’ भने उनले अन्त्यमा । ‘हिन्दीमा पनि यत्तिका बेजोड चलचित्र’ भन्दै उनको गहभरि आँसु देखिन्थ्यो । उनी मोनोलग शैलीमै बोलिरहेका थिए ।

तर, ‘ब्ल्याक’ भन्दा चर्को स्मृतिमा आउने गरी त्यसबेलाको जय नेपाल यात्राको बुहार्तन मेरो मनमा गढेको थियो, छ । सर्वश्री अम्बर गुरुङ र म जय नेपाल हलको फिल्म प्रवेशद्वारमा थियौं । स्वभावतः नियमअनुसारको छामछुम भयो नै । अम्बर सरको कोटको खल्तीमा बलवान् छाप खैनी भेटियो । यो एजी सरको वर्षौंवर्षदेखिको अम्मल थियो । अनि हलभित्र प्रवेश पाइएन, खैनीसहित । अब के गर्ने ? हामी बाहिरै बस्यौं । अम्बर सर स्वयंले आइडिया ल्याउनुभयो– तपाईं पछि यो खैनी मोजाभित्र लुकाएर ल्याउनुहोस्, म अहिले भित्र छिर्छु ।

त्यसै गरियो । गेटपालेले पत्तै पाएन । भित्र हलमा ‘ब्ल्याक’ सिनेमामा अमिताभ बच्चनले जतिजति बेहोसी र भुलक्कड टाइपका संवाद अघि बढाउँछन्, उतिउति नै बलवान् छाप खैनीको खिल्ली ओठमा च्याप्नुहुन्थ्यो अम्बर गुरुङ । अनि यसो ओठको कापबाट

दोबारेर खैनीको पुरानो खिल्ली निकाल्नुहुन्थ्यो– कतै कुर्सी कुनोमा हुत्याउन । साथैमा बसेको मलाई भने हुन्थ्यो– कि मुस्किल अति नै मुस्किल भयो !

प्रकाशित : फाल्गुन १५, २०७७ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?