कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्दिर, तर हेर्ने सिनेमाको !

सिनेमाले सपना देख्न सिकायो । क्रान्तिकारी र प्रगतिशील भनाउँदाहरूको दृष्टिमा सिनेमा हेर्ने बानी हेयपूर्ण क्रियाकलाप थियो । कागजमा छापिएको भन्दा पर्दाको पुस्तक मैले धेरै पढेको छु सायद ।
वसन्त थापा

बम्बई सहरको केन्द्र भागमा मराठा मन्दिर नामको एउटा ख्यातनामा भवन छ । बम्बईबारे जानकार कसैले पनि मराठा मन्दिरको नाम नसुनेका होवोइन । धेरैजना त त्यहाँ गएका पनि हुन सक्छन् । नामले यसलाई मराठाहरू अथवा महाराष्ट्रका मूल निवासी मराठाहरूको मन्दिर या उपासना स्थल भन्ने जनाउँछ । तर, यो त्यस्तो खालको मन्दिर विल्कुल होइन । यदि यो मन्दिर हो भने फिल्मकलाको प्रदर्शन गरिने मन्दिर हो । अर्थात् यो फिल्म देखाइने सिनेमाघर हो, सिनेमाहल हो ।

मन्दिर, तर हेर्ने सिनेमाको !

धरानमा पनि यस्तै मन्दिर बन्यो ‘शिव सिनेमा हल’ को नाममा देशमा पहिलो आमनिर्वाचन भएको सालतिर वा त्यसको एक सालअघि । खुलेको साल यकिनसाथ भन्न नसके पनि चतरालाइनमा बनेको त्यस हलमा पहिलो प्रदर्शन गरिएको फिल्मको नाम भने मलाई याद छ र त्यो फिल्म मैले हेरेको पनि थिएँ । त्यो थियो ‘छु मन्तर’ जुन फिल्मका हिरो थिए जोनी वाकर, जो उसबेलाका कहलिएका जोकर या कमेडियन थिए । कुनै नामी हिरोको फिल्म प्रदर्शनबाट उद्घाटन नगरेर किन एक कमेडियनको फिल्मबाट हलको शुभारम्भ गरिएको थियो त्यो त थाहा भएन । एक–दुई वर्षअघि बनेको फिल्म सस्तोमा पाएर हलमालिकले त्यसो गरेको हुन सक्छ । फिल्म हल भन्नु के थियो धान चामल राख्ने एउटा गोदामजस्तो थियो— एक तले, ठूलो र लाम्चो । आधासरो इँटा र सिमेन्ट, आधासरो काठका बाकलबाट बनेको त्यस हलको छाना जस्तापाताका थिए । त्यसले गर्दा दर्के पानी परेको बेला टिनको छानाबाट आउने आवाजले हलभित्रको साउन्डलाई खाइदिन्थ्यो । भेन्टिलेसनको राम्रो बन्दोबस्त नभएकाले गर्मीमा दर्शकहरू उसिनेका अण्डाजस्ता हुन्थे । जे होस्, शिव सिनेमा आइदिएर धरान नगरका बासिन्दाको जीवनमा ठूलो बहार ल्याइदिएको थियो । नत्र सिनेमा हेर्नलाई धरानका हामीले कि त हिउँदको बेला पाल या तम्बु गाडेर चल्ने ‘टुरिङ टाकिज’ लाई पर्खनुपर्थ्यो वा फुस्रेमुन्तिर स्थापित इन्डियन ‘कोलोनी’ को विश्वकर्मा पूजा वा स्वतन्त्रता दिवसजस्ता अवसरलाई कुर्नुपर्थ्यो ।

भीमनगरमा बाँध या कोसी ब्यारेज निर्माण गर्ने सिलसिलामा भारत सरकारले धरानमा खडा गरेको आधारशिविर थियो ‘कोलोनी’ । त्यसलाई ‘इन्डियन कोलोनी’ पनि भनिन्थ्यो, तर छोटकरीमा त्यो ‘कोलोनी’ भनेरै चिनिन्थ्यो । भारतीय कर्मचारीहरू बस्नलाई एक तले आवासहरू बनाइएका थिए र प्रशासनिक कार्यालय भवनहरू पनि थिए त्यहाँ । त्यसबाहेक ट्र्याक्टर, बुलडोजर, ट्रिपर, ट्रक, लरी, डम्पर, जिप आदि अनेकथरीका वाहनहरूको ग्यारेज र मरम्मत केन्द्र पनि कोलोनीभित्र थियो । त्यसैले विश्वकर्मा पूजाले विशेष महत्त्व राख्थ्यो र त्यसलाई धुमधामसित मनाइन्थ्यो । यद्यपि भारतीय स्वतन्त्रता या गणतन्त्र दिवसमा पनि सानातिना कार्यक्रम हुन्थे । विश्वकर्मा पूजाको केही दिन अघिदेखि नै त्यहाँ चहलपहल हुन्थ्यो, रंगीबिरंगी ध्वजापताका टाँगिन्थे, पूजाको पन्डाल खडा गरिन्थ्यो, माइकमा हिन्दी फिल्मका गाना बजाइन्थ्यो । पूजाको दिन प्रसाद वितरण हुन्थ्यो र हाम्रा लागि सबभन्दा रमाइलो कुराचाहिँ पूजा भएको साँझ हिन्दी फिल्म पनि मुफतमा हेर्न पाइन्थ्यो । कुनै बेला तके भएर हो दुई–चार साँझ नै लगालग फिल्म देखाइन्थ्यो । फिल्महरू धेरैजसो ‘गणेश विवाह’, ‘हर हर महादेव’ जस्ता खालका वा भारतीय फिल्म डिभिजनद्वारा निर्मित स्वास्थ्य शिक्षासम्बन्धी सन्देशमूलक कार्टुनहरू र एज्रा मीरले बनाएका डकुमेन्ट्रीहरू हुन्थे । तर, भन्नु उसो होइन, मैले दिलीप कुमारको ‘देवदास’ त्यही कोलोनीमा हेरेको थिएँ ।

यसरी बिनाटिकट फिल्म हेर्न पाइने अर्को ठाउँ कोलोनी मास्तिर फुस्रेबजारको सिरानमा रहेको ब्रिटिस क्याम्प थियो । चारकोसे झाडी मुखैको घोपामा विशाल एरिया ओगटेर पक्की र स्थायी क्याम्प बनाउने काम अघि बढिरहेको थियो । त्यसनिम्ति फुस्रेमा अस्थायी क्याम्प खडा गरिएको थियो । अस्थायी भने पनि गोरा साहेब र तिनका परिवार तथा सैनिक–गैरसैनिक स्टाफ बस्ने आवासदेखि सानोतिनो अस्पताल र खेल मैदानसमेत क्याम्पभित्र बनेका थिए । बेला मौकामा, खासगरी गर्मी याममा खुला आकाशमुनि क्याम्पको हाताभित्रको सानो मैदानमा क्याम्पमा बस्ने गोरा साहब र तिनका परिवार तथा अन्य स्टाफका लागि बेलाबखत फिल्म देखाउने गरिन्थ्यो । फिल्म देखाइने दिन त पहिलेबाटै तोकिएको हुँदो हो । गोराका छोराले त्यसै त कहाँ गर्थे । तर, त्यसबारे हाम्रो टोलसम्म अर्थात् साबिकको माथ्लो छाता वा माथ्लो खहरे र हालको लक्ष्मी चोकसम्म खबर सधैं आइपुग्दैन थियो या ढिलो आइपुग्थ्यो जतिन्जेलमा फिल्म सुरु भइसकेको हुन्थ्यो । थाहा पाएको दिनमा भने सुझी न बुझी इङ्लिस फिल्म हेर्नलाई हामी धावा बोल्थ्यौं फुस्रेको ब्रिटिस क्याम्पमा । साहेब र मीमहरू काउच या कुर्सीमा बसेका हुन्थे । हामी स्थानीय र अनाहुत दर्शकहरू चाहिँ गेगरयुक्त मैदानमा थचक्क बस्थ्यौं । फिल्म हेर्ने क्रममा गोरा साहेब र मिमहरू कहिले हाँस्थे, कहिले खासखुस गर्थे, कहिले सुक्सुकाएजस्तो पनि गर्थे । हामीलाई भने माने त मतलब ! पर्दामा मान्छे चले पुग्यो ! तर, पर्दामा देखापर्ने सबै पुरुष उस्तै लाग्थे भने नारी पात्र पनि छुट्ट्याउन हामी असमर्थ थियौं । उनीहरूले बोलेका बुझ्नु त आकाशको फल भइहाल्यो । त्यो दिक्दारीलाई मेटाउन ढुंगाका ससाना गिर्खा प्रोजेक्टरले फ्याँकेको प्रकाशपथमा पर्नेगरी उफार्थ्यौं र पर्दामा त्यसको छायाँ देखेर दंग पर्थ्यौं । अनि हामी हल्ला र छुकछुक पनि बढ्तै गर्थ्यौं । यस्तै बदमासीले गर्दा होला पछि क्याम्प बाहिरकालाई त्यहाँ गएर फिल्म हेर्न पूर्ण निषेध गरियो । हामी उसबेलाका गँवार बासिन्दाहरूको पानी नपरेको जीउ र मैलो लुगामा गर्मीको बेला परेको पसिनाको मिश्रित गन्धले उनीहरूको घ्राणशक्तिलाई बढ्तै चुनौती दिएकाले पनि हुन सक्छ त्यो प्रतिबन्ध लागेको ।

सिनेमा हेर्ने अर्को सम्भावना भनेको विराटनगर गएको खण्डमा हुन्थ्यो । त्यहाँ हिमालय टाकिज धेरै वर्षअघिदेखि नै सञ्चालनमा रहेको थियो । तर, उसबखत विराटनगर भनेको अर्कै संसार, अर्कै विश्व र अर्कै दुनियाँ थियो धरानवासीका लागि । अहिले जसरी बसमा सरर डेढ–दुई घण्टामै पुग्न सकिने भए पो !

तर, मैले भने विराटनगरमा हिमालय टाकिजको ठूलो पर्दामा फिल्म हेरिसकेको थिएँ र सिनेमाको स्वाद चाखिसकेको थिएँ । धरानमा हाम्रो घरको खाँबा गाडिनुअघि हामी केही काल विराटनगरमा बसेका थियौं । मेरा बाले आमाको साथै ट्याउँ ट्याउँ बोल्ने मलाई धनकुटाबाट लिएर जानुभएको थियो । पछि उहाँले आफ्नो कान्छा भाइलाई पनि बोलाउनुभयो । नाताले काका भए पनि उमेरमा धेरै फरक नभएकाले हामी दुई साथीजस्ता थियौं र काकाभतिजा मिलेर सिनेमा पनि हेरेका थियौं । पान दोकान, चिया दोकान या अर्काको घरमा रेडियोमा बज्ने हिन्दी गीतहरू सुनेर तिनबारे म धेरै हदसम्म परिचित भइसकेको थिएँ । यसैले निजी रूपमा म अलिक बढ्तै पुलकित भएको थिएँ धरानमा सिनेमा हल बनेकोमा । मेरा दावलका अरूलाई पनि यस्तै अनुभूति भएको हुनुपर्छ । बिजुली नआएको ठाउँमा सिनेमाहल आउनु निकै ठूलो कुरा थियो । सुषुप्त र गतिहीन अवस्थामा रहेको नगरमा केही प्रगति भइरहेको आभास त्यसले दिएको थियो । त्यसबाट वयस्क र पाकाहरूलाई पनि खुसी नै लागेको हुनुपर्छ ।

सिनेमाको टिकटका लागि चाहिने पैसा जोरजाम गर्ने समस्या बेग्लै कुरा थियो । आफूभन्दा ठूलाको हात समातेर होस् या हुनेखाने घरका साथीहरूलाई उचालेर होस् या आमाको सानो खुत्रुके बट्टामा लुकीछिपी हात हालेर होस् सिनेमा हल पुगिहाल्ने । तीन आना, पाँच आना, नौ आना, बाह्र आना यस्तै थियो थर्ड क्लास, सेकेन्ड क्लास, फर्स्ट क्लास र स्पेसल क्लासको टिकटको दररेट । सोह्र आनाको एक रुपैयाँ हुन्थ्यो उसबेला ।

पर्दा नजिक सबभन्दा अगाडिका केही सिट लहरको खण्डलाई थर्ड क्लास भनिन्थ्यो । त्यहाँ दर्शकले अडेसो नभएको सपाट बेन्चमा खाँदाखाद गरेर बस्नुपर्थ्यो । पाँच आना टिकटको सेकेन्ड क्लासमा भने बेन्चमा अडेसो लागेको हुन्थ्यो र एउटा बेन्चमा पाँच जना बस्न सकिन्थ्यो । नौ आनाको फर्स्ट क्लासमा भने हथेलो भएका कुर्सी हुन्थे र तिनमा नम्बर पनि राखिएका हुन्थे । बाह्र आनाको स्पेसल क्लासका कुर्सीमा नम्बर लागेका हुन्थे र कुर्सीमा बस्नलाई र अडेस लगाउनलाई पातलो गद्दा पनि लागेको हुन्थ्यो । आफ्नो निजी हैसियत भने पर्दाको नजिक तीनआने बिनाअडेसोको बेन्चमा बसी ठाडो घाँटी लगाएर फिल्म हेर्ने थियो ।

यो फिल्म हेर्ने र यो नहेर्ने भनेर छानिरहने सुविधा नै थिएन, कम से कम मेरा लागि । फिल्म हेर्न पाए पुग्यो । भोकोलाई खान पाए पुगिहाल्छ, बासी भात–सासी भातको के मतलब ? पैसाले गर्दा नै मन लागेको फिल्म हेर्न नपाई फेरिन्थ्यो र त्यसको ठाउँमा अर्को आउँथ्यो । उसबेला फिल्म पनि धेरै दिन नटिक्ने । खुबै चले दस–बाह्र दिन चल्थ्यो र हप्ता नपुग्दै फेरिइहाल्ने । सरदर एक हप्ता हुँदो हो फिल्म चल्ने समय । फिल्म आउँथे बम्बईमा रिलिज भएको लगभग दुई वर्षपछाडि मात्र, दुनियाँ ठाउँको चक्कर लगाएर । उसबेलाको फिल्म वितरण प्रणालीको चक्र त्यस्तै हुँदो हो ।

फेरिएको फिल्मको बजारभरि पोस्टर टाँसिन्थे र जीपमा रोज माइकिङ गरिन्थ्यो । जिपबाट फिल्मको पर्चा पनि छरिन्थ्यो जसमा फिल्मका कलाकार, संगीतकार, गीतकार, निर्देशक आदिको नाम दिइएको हुन्थ्यो । साना भुराहरू ज्यान फालेर ती छरिएका पर्चा बटुल्न जिपको पछिपछि दौडन्थे । जिप कच्ची सडकमा धूलो र धूवाँ उडाउँदै अघि बढ्थ्यो । माइकमा उद्घोषकले भन्थ्यो, ‘दाजुभाइ तथा दिदी बहिनी, शिव सिनेमाको रुपौलो पर्दामा अपार भीडका साथ चलिरहेछ फलाना फलानाद्वारा अभिनीत फलाना फिल्म । मौका नगुमाउनोस्, फिल्म प्रदर्शन हुने समय दिउँसो ३ बजे र साँझ ६ बजे ।’ कहिलेकाहीँ उद्घोषकले फिल्मका हिरो हिरोइनको नामबाहेक संगीतकारको नाम पनि उल्लेख गर्थ्यो । किनभने त्यतिबेला सचिनदेव वर्मन, रवि, शंकर जयकिसन र ओपी नय्यरजस्ता संगीतकारको नाम फैलिसकेको थियो । खुला जिपको दुई साइडमा फिल्मको पोस्टर टाँसेको काठको ठूलो फ्रेम झुन्ड्याइएको हुन्थ्यो र जिपमा उभिएको उद्घोषक एक हातमा माइक समातेर नयाँ सिनेमा आएको सन्देश दिन्थ्यो ।

त्यस्तो सन्देशबाहक उद्घोषकको आफ्नै अदाकारी हुन्थ्यो र प्रस्तुतीकरणको शैली पनि आफ्नै । एक जना थिए बिफरले हल्का छाप छाडेको अनुहार र श्याम वर्णका महेश पलिखे नामका सिनेमा उद्घोषक । तिनी अक्सर छातीको माथिल्लो भाग देखिने गरी जानाजान टाँक खोलिएको आधा बाहुलाको सेतो रङको बुससर्टमा हुन्थे र माइकमा सिनेमाको खबर यसरी फैलाउँथे सबै काम छाडेर अहिल्यै सिनेमा हलतिर कुदौं जस्तो लाग्ने । आवाज पनि तिनको भरिलो र वजनदार थियो, मानिसले टाढैबाट तिनको स्वर चिन्ने । प्रस्तुतीकरणको आफ्नै मौलिक तरिका थियो तिनको । हामीलाई लाग्थ्यो, ती महेश दाइ क्या भाग्यमानी ! जिपमा सरर चढेर नगर परिक्रमा गर्न पाइने, दिनहुँ सिनेमा हेर्न पाइने र नगरवासी सबैले चिन्ने कस्तो काइदाको नोकरी ! हाम्रा लागि ती लोकल अमिन सयानी थिए र एकप्रकारको रोल मोडल । तिनको यही आकर्षक अदाकारी र अल्फाजले धेरै अरूझैँ तानिएर घरको बार्दलीमा आउँथिन् चतरालाइनकी एउटी नवयौवना । तिनीसित महेश दाइका आँखा जुधे, उनीहरूबीच प्रीति बस्यो र कालान्तरमा उनीहरूको बिहे पनि भयो । मलाई लाग्छ, उनको यो प्रेमकहानी सारा धरान नगरलाई थाहा थियो ।

एक मिनेटको अन्तरालमा तीनपटक बिजुलीको घण्टी बजेपछि हलभित्रको बत्ती निभ्थ्यो र सिनेमा सुरु हुन्थ्यो । कोही बिनाटिकट बलजफ्ती भित्र नपसून् र हूलमूल नगरून् भनेर ढोकामा टिकट चेक गर्न प्रायः मुस्तैद व्यक्ति खटिएका हुन्थे ।

‘इन्टरभल’ अर्थात् मध्यान्तर भएको जानकारी दिन त्यस्तै घण्टी एकपटक बज्थ्यो । बाहिर जाँदा फेरि भित्र पस्नलाई गेटकिपरले हरेकलाई पास दिन्थ्यो । मध्यान्तरको समयमा मानिसहरू भित्रबाहिर गरिरहँदा चटपटेवालाहरूले ‘चना जोर गरम’ या ‘मुंगफली’ भनेर हलभित्र कराउँदै कागजको सोलीमा चटपटे वा बदम बेच्थे । त्यसरी चना र बदम बेच्नेले शिरमा पनि कागजकै टोपी लगाएका हुन्थे ।

मध्यान्तरको समयबाहेक अघिपछि पनि चलिरहेको फिल्म कहिलेकाहीँ हठात् रोकिन्थ्यो र हलमा बत्ती झलमल्ल बल्थे । त्यस्तोमा दर्शकहरू ‘रिल काट्यो’ भनेर कराउँथे । धेरैको भनाइमा फिल्म चलेको सुरुको एक–दुई दिनमा हेर्नु र फिल्म फेरिने बेला पछि हेर्नुमा फरक हुन्थ्यो । त्यतिन्जेलमा फिल्मको रिल काटेर धेरै छोटो पारिसकिएको हुन्थ्यो उनीहरूको भनाइमा । त्यसरी रील काट्नुपर्ने कारण मेरो समझदेखि बाहिरको कुरा थियो । तर, नभन्दै अरू समयमा घुम्दै जाँदा सिनेमाहलको प्रोजेक्टर रुम बाहिर फिल्मका लामाछोटा टुक्राटाक्री फालिएका भेट्थ्यौं, जसलाई हामी टिपेर ल्याउँथ्यौं के–के न फेला पारेजस्तो गरेर । त्यो देख्दा रिल काटिने कुरा साँचो हो कि जस्तो पनि लाग्थ्यो ।

अनि सिनेमा सकिएर बाहिर निस्कँदा सस्ता न्युजप्रिन्ट कागजमा चलिरहेको र पहिले चलेर गइसकेका फिल्मी गाना छापिएका पर्चा बेच्न ल्याउँथे । आधा आना पर्ने भए पनि त्यस्ता पर्चा सधैँ त किन्न सकिन्न थियो । तर, दुःखजिलो गरी किनेका त्यस्ता पर्चाहरूलाई म किताबहरू सँगै जतनसाथ राख्ने गर्थेँ ।

शिव सिनेमाहल खुलेको तीन या चार वर्षपछि धरानको रत्नरोडमा अर्को सिनेमाहल खुल्यो— गणेश टाकिज नामको । यी दुई सिनेमा हलका नाम शिव र गणेश राखिएको भए तापनि ती नाम भगवान्लाई समर्पित गरेर राखिएका थिएनन् । शिव सिनेमाका मालिक भूमिपति सेठ शिवप्रसाद आचार्य थिए, त्यसैले हलको नाम शिव राखिन गएको थियो । उता गणेश टाकिजका मालिक धनाढ्य व्यापारी लक्ष्मीप्रसाद श्रेष्ठले आफ्ना दिवंगत जेठा छोरा गणेशको सम्झनामा त्यो नाम राखेका थिए ।

ढाँचा र ढबमा यो नयाँ सिनेमा हल पुरानोभन्दा धेरै फरक थिएन । अंग्रेजीमा ‘इट्स डिफरेन्ट बट सेम’ (फरक तर उस्तै) भनेझैं उस्तै चारवटा क्लास, उस्तै कालो पर्दा झुन्डिएका चारवटा ढोका । सिट संख्या पनि उस्तै उस्तै— चार–पाँच सय । बेन्च र कुर्सीका स्तर पनि उस्तै । जनाना मर्दानाको दुर्गन्धित ‘पेसाबखाना’ उस्तै । सिनेमा सुरु हुने समयभन्दा आधा घण्टाअघि दर्शक आकर्षित गर्नलाई छानामा जोडिएको लाउडस्पिकरमा फिल्मको गीत बजाउने तरिका उस्तै । डेढ–दुई वर्षअगाडिका फिल्म ल्याउने चलन उस्तै । हलबाहिरको खुला ठाउँमा पान दोकान उस्तै । हो, नयाँ हलको बाहिरको बरन्डा अलिक फराकिलो र सुबिस्ताको थियो । त्यहाँ भित्तामा फलामको मसिनो जालीभित्रको फ्रेममा हाल चलिरहेको र आउनेवाला फिल्मका तस्बिरहरू प्रदर्शन गरिएका हुन्थे । मानिसहरू फिल्म नचलेको बेला बिहान या दिउँसो तिनै तस्बिरहरू हेर्नलाई पनि हलमा पुग्थे ।

उसबेला कुनै स्कुल खोल्नलाई भवन मात्र होइन विद्यार्थी खेल्नलाई भरसक फुटबल मैदानको ठाउँ समेत हुनुपर्छ भन्ने मान्यता थियो । धरान पब्लिक हाइस्कुल र भगवती मिडिल स्कुल (हाल माध्यमिक स्कुल) त्यसका उदाहरण हुन् । त्यसैगरी सिनेमा हललाई पनि प्रशस्त खुला ठाउँ (अहिलेको भाषामा भन्ने हो भने पार्किङ लट) आवश्यक हुन्छ भन्ने ठानिन्थ्यो । त्यसैले दुवै सिनेमाहल बाहिरको ठाउँ फराकिलो थियो । यद्यापि मोटरसाइकल त सारा धरान बजारमा रामकृष्ण डेन्टिस्टको एउटा भएको उसबेला निजी कार चढेर सिनेमा हेर्न आउने कोही थिएनन् ।

तर, त्यही खुलापनले गर्दा मानिसहरू अरू बेला पनि टहल्न वा मटरगस्ती गर्न सिनेमाहलतिर पुग्थे, पान या चिया खान्थे, फिल्मको पोस्टर र तस्बिरहरू हेर्थे अनि फर्कन्थे ।

गणेश टाकिज खुलेपछि फिल्मको त बौछार नै भए जस्तो भयो । पहिले एउटा हल हुँदा महिनामा आउने तीन–चारवटा फिल्म भ्याउन त हम्मे थियो, अब त त्यो संख्या डबलिएको थियो । म पनि मिडिल स्कुलबाट हाईस्कुल पुगिसकेको हुनाले मेरो स्तर पनि पाँच आने क्लासतिर बढिसकेको थियो । समयभन्दा पनि पैसाकै अभावका कारण धेरै फिल्मलाई मन मारेर नहेरीकनै जान दिनुबाहेक अर्को उपाय थिएन । दुइटा हल भएपछि यो या त्यो कुन हेर्ने भनेर छान्न पाउने मौका भने मिलेको थियो ।

उसबेला धरानका लाइब्रेरीमा बनारसबाट छापिने हिन्दीको दैनिक खबरकागज ‘आज’ आउने गर्थ्यो । त्यसबाहेक ‘फिल्मी दुनियाँ’, ‘रंगभूमि’ (र पछिपछि ‘सुषमा’) भन्ने हिन्दी भाषाका सिनेपत्रिका पनि आउँथे, जसको माध्यमबाट नयाँ–नयाँ फिल्म र फिल्मी सिताराहरूबारे जानकारी मिल्थ्यो । ‘धर्मयुग’ र ‘साप्ताहिक हिन्दुस्थान’ गम्भीर खालका पत्रिकाहरू थिए, तर तिनले पनि फिल्मबारेका लेख र तस्बिरहरू छासछुस् छाप्ने गर्थे । ती हिन्दी पत्रिकाहरूले सिनेमाको मेरो भोकलाई झनै जगाइदिन्थे । हलमा पुराना फिल्महरू चले पनि रेडियो सिलोनको ‘आप ही के गीत’ को फर्माइस कार्यक्रम र अमिन सयानीले चलाउने ‘बिनाका गीतमाला’ को माध्यमबाट नयाँ–नयाँ फिल्म र तिनका गीतहरूबारे जानकारी हुन्थ्यो । सिनेमाको डाइलग सुन्दा–सुन्दा हिन्दी पढ्न र बुझ्नलाई केही गाह्रो थिएन । उसबेला फिल्ममा प्रयुक्त हिन्दी भाषामा उर्दूको प्रभाव बढी थियो— गानामा पनि डायलगमा पनि । त्यसले गर्दा देवनागरीमा लेखिएको उर्दूको व्यावहारिक ज्ञान पनि मिलिसकेको थियो ।

एसएलसी परीक्षा दिने बेलासम्ममा आफूलाई मन पर्ने, नपर्ने हिरो–हिरोइन मात्र होइन, कथानक वा विषयवस्तुको पनि छ्यानब्यान गर्ने थोरबहुत बुद्धि ममा पलाइसकेको थियो । मन नपर्ने सिनेमा जानाजान नहेर्ने र मन पर्नेचाहिँ जसरी पनि हेर्ने अनि फिल्मका कलाकारबाहेक त्यसका संगीतकार, गीतकार र निर्देशकका नाम र काम चिन्ने अकिल पनि एक प्रकारले ममा आइसकेको थियो । गायक गायिकाको स्वर खुट्याउने क्षमता पनि विकसित भइसकेको थियो । फिल्मका मन पर्ने गीतहरू त पूरै कण्ठाग्र हुन्थे । उसबेला सिनेमाको कथा, डायलग, गीत, पात्रहरूको चरित्र पनि चिरकालसम्म मनमा गढिरहन्थ्यो ।

सिनेमा हेर्न जानु उसबेलाको सामाजिक जीवनको एउटा महत्त्वपूर्ण हिस्सा बनेको थियो । कुनै खुसियाली मनाउन पर्‍यो या कुनै रमाइलो गर्न पर्‍यो, सिनेमा हेर्न गयो । जाँचमा पास भयो, सिनेमा गयो । साथीभाइलाई ‘ट्रिट’ गर्न पर्‍यो, सिनेमा हेर्न लग्यो । कसैलाई फकाउन वा फुल्याउन पर्‍यो, सिनेमा देखाउने लोभ दियो । कसैलाई भेट्न पर्‍यो, सिनेमाहलमा गयो । शनिबारको ‘म्याटिनी सो’ त चिनेजानेका धेरै जना भेटिने थलो नै हुन्थ्यो । कुनै समारोहमा गएजस्तो हुन्थ्यो सिनेमा हेर्न जाने काम । मानिसहरू सकेसम्म राम्रो परिधानमा ठाँटिएर हलमा आउँथे ।

म्याट्रिक पास गरेर मैले धरान महेन्द्र कलेजको प्रांगणमा कदम के राखें सिनेमा हेर्ने सम्भावनाको अर्को नयाँ ढोका खुल्यो मेरा लागि । भयो के भने आईए क्लासमा मसँगै भर्ना भएर खरसाङका मेरै दाँवलका एक जना विद्यार्थी मेरो बेन्चमा बस्न आइपुग्यो । ऊसित मेरो दोस्ती गाँसिन धेरै समय लागेन । ऊ ब्रिटिस घोपा क्याम्पभित्र बस्थ्यो, त्यहाँको ‘सिभिल लाइन’ मा । उसको पिता क्याम्पमा नोकरी गर्ने बाबुजी वा क्लर्क थिए । उसको साथ लागेर अब म घोपा क्याम्प जान लागें— घुम्न, हल्लिन र रमिता गर्न ।

घोपाको ब्रिटिस क्याम्प सबैथोकले भरिपूर्ण आफैंमा एउटा पूर्ण संसार थियो । पानी र बिजुलीको आफ्नै स्रोत, आफ्नै अस्पताल, आफ्नै पाले पहरा र सुरक्षा, फुटबल मैदान नै तीनवटा, आफ्नै चर्च र मन्दिर, किनमेल गर्ने पल्टनबजार, आफ्नै हुलाक र बैंक, फोहोर र मलमूत्र तह लगाउने आफ्नै प्रणाली, आफ्नै स्कुल, बास्केटबल, भलिबल अनि टेनिस कोर्ट, आफ्नै गेस्टहाउस, बदमासलाई सजाय दिने आफ्नै क्वाटर गार्ड, स्विमिङ पुल, अफिसर्स मेस र सिभिलियन क्लब, आफ्नै ड्युटी फ्री दोकान इत्यादि त्यहाँभित्र थिए । त्यसबाहेक त्यहाँ प्रत्येक हप्ता सिनेमा पनि देखाइन्थ्यो, त्यहाँका सिभिलियन स्टाफ र तिनका परिवारका लागि भनेर । सिनेमा हेर्न टिकट लाग्दैन थियो, तर त्यसका लागि क्याम्पभित्रै बस्ने मानिस हुनुपर्थ्यो वा उसको पाहुना । म मेरो साथीको परिवारको पाहुना बनेर त्यहाँ सिनेमा हेर्न जान थालें ।

आउँदो महिना देखाइने फिल्मको नाम, कलाकार र कुन किसिमको फिल्म हो त्यो खुलाएर समय र तिथिमितिसहितको लिस्ट एक महिनाअगाडि नै क्याम्पवासीहरूलाई उपलब्ध गराइन्थ्यो । त्यसको पीर एउटै थियो— सिनेमा देखाइने साँझ क्याम्पभित्र छिर्न खोजे मूल गेटमा गार्ड बस्ने मामाहरूले रोक्थे । उनीहरूले ‘जान सक्तैन’ भनेपछि सकियो । उनीहरूलाई थाहा थियो, साँझको बखत त्यसरी हूल बाँधेर आउने तरुना तन्देरीहरू क्याम्पभित्रका बासिन्दा होइनन् सिनेमा हेर्नलाई आएका हुन् भनेर । त्यसरी सुरक्षा गार्डहरूबाट रोकिएर उल्टै खुट्टा फर्कन नपरोस् भनेर म बेलुकाको भात माया मार्दै क्याम्पभित्र दिउँसै पस्थें र साथीहरूसित समय कटाउँथे । मेरो साथीले त्यहाँ बस्ने अरूसित पनि चिनजान गराएको थियो र यसप्रकार चिनारुहरूको सर्कल फराकिलो हुँदै गएको थियो । त्यसैले मलाई समय कटाउन कुनै समस्या थिएन ।

त्यहाँ देखाइने सबै फिल्महरू यतिन्जेल मैले हेर्दै आएको हिन्दी सिनेमाभन्दा बेग्लै थिए, त्यसको दुनियाँ नै अर्को थियो । अंग्रेजी भाषाका भएकाले मात्र होइन विषय, कथावस्तु, प्रस्तुति, प्रविधि हरेक कुराले ती फरक थिए र उम्दा पनि थिए । त्यतिन्जेल ब्लाक एन्ड ह्वाइटको युग पनि लगभग समाप्त भइसहेको थियो । गीत, संगीत र नृत्यप्रधान थिए हिन्दी फिल्महरू । नायक नायिकको भूमिका एउटा खास साँचोमा ढालिएका हुन्थे । नायक आदर्शवान् र सद्गुणी हुन्थ्यो, धिरोदात्त नायकका यावत् गुणहरूले युक्त । ऊ अन्याय र अत्याचारका विरुद्ध लड्थ्यो र असहाय, कमजोर एवं अबलाको रक्षा गर्थ्यो । उता नायिका एउटी आदर्श नारीका गुणहरूले युक्त हुनुपर्थ्यो, हर्ष विशादमा गीत गाएर आफ्नो मनको बह पोख्ने । फेरि सन् १९५० को दशक भनेको जवाहरलाल नेहरूको समाजवादी बयार चलेको बेला थियो । त्यस बयारबाट उसबेला बनेका फिल्महरू पनि अछुता थिएनन् । त्यसैले धेरैजसो फिल्ममा नयाँ संसार निर्माण गर्ने सन्देश हुन्थे । अमीर र गरिब, मिलमालिक र मजदुर, जमिनदार र किसानबीचको संघर्ष अनि असल र खराबबीचको द्वन्द्व देखाइन्थ्यो, जहाँ अन्त्यमा असलको जित हुन्थ्यो ।

यता इङ्लिस फिल्महरूको कुरै अर्को थियो । ड्रामा, वार, वेस्टर्न, स्पाई थ्रिलर, क्राइम एन्ड सस्पेन्स, हिस्टोरिकल, हरर, साइफाई यी अनेक विधा वा ‘जनर’का फिल्महरू आउँथे घोपा क्याम्पमा । फोटोग्राफी, म्युजिक, अभिनयको क्लास नै छुट्टै । देखाइएका हरेक कुरा वास्तविक लाग्ने । सुरुसुरुमा सिनेमाका पात्रहरूले बोल्ने अंग्रेजीको छेउटुप्पो बुझ्दिनथें । अभिनेता अभिनेत्रीहरूको अनुहार छुट्याउन पनि केही समय लाग्यो । तर, बिस्तारै रस भिज्न थाल्यो । ती फिल्मका माध्यमबाट सात समुद्रपारिका दुनियाँको सयर गर्न सकियो । बाइबलका अदभुत कथा र सेक्सपियरका नाटकका स्वाद पाइयो । हिटलर र मुसोलिनीका दुर्दान्त किस्सा थाहा भयो । सर्लक होम्स र जेम्स बोन्डको चिनारी मिल्यो । हलिउड र ब्रिटिस सिने संसारका महान् हस्तीहरूको कलाकारिता हेर्न पाइयो ।

त्यसो भन्दैमा मैले इंग्लिस फिल्महरूसित लहसिएर हिन्दी सिनेमा हेर्न चटक्कै बिर्सें भन्ने होइन । मेरा लागि हिन्दी सिनेमा ‘देशीय’ थिए भने इङ्लिस फिल्म ‘अन्तरदेशीय’ । सन् १९५० र ६० को दशकलाई हिन्दी फिल्मको स्वर्णयुग भन्ने गरिन्छ । उता हलिउडले पनि त्यसबेला आफ्नो कायामा गुणात्मक परिवर्तन गरिरहेको थियो । दुवै फिल्म संसारका आफ्नै स्वाद र मजा थिए अनि मैले कलेज जीवनको पाँच वर्ष पढाइको साथसाथै सिनेमन्दिरको उपासना र अर्चनामा बिताएँ ।

सिनेमाप्रतिको मेरो यस असीम लगावले म जुन नयाँ ठाउँमा गए पनि सिनेमा हेर्नु मेरो प्राथमिकता हुन्थ्यो । सानो गाउँ र कस्बादेखि ठूला सहरहरूमा मैले नबिराई हलमा गएर सिनेमा हेरेको छु । एकै दिनमा तीन तीनवटा फिल्म हेरी भ्याएको छु, त्यो पनि गोरखपुरमा र आजभन्दा ५० वर्षअघि ।

अंग्रेजीमा भनिने मेरा ‘फर्म्याटिभ इयर्स’ मा सिनेमाले मेरो मनमस्तिष्कमा के प्रभाव पार्‍यो र मेरो जीवन दर्शनमा के परिवर्तन ल्यायो त्यो म किटेर भन्न सक्तिनँ । तर, एउटा कविले जसरी काव्यात्मक ढाँचामा भन्ने हो सायद सिनेमाले सपना देख्न सिकायो । त्यसमा रंग र संगीत भर्न सिकायो । जीवन र जगत्लाई हेर्ने एउटा दृष्टि दिलायो । जीवनलाई आफ्नै सर्त बाँच्ने बाटो देखायो । नशा पो हो कि जस्तो मलाई लागेको थियो सिनेमा हेर्ने आफ्नो बानी आफैंलाई । किनभने धेरै जना सिनेमाप्रतिको मेरो अनुराग देखेर नाक खुम्च्याउँथे र मेरो खिसीट्युरी गर्थे । क्रान्तिकारी र प्रगतिशील भनाउँदाहरूको दृष्टिमा त यो हेयपूर्ण क्रियाकलाप थियो । यसै पनि हिन्दी फिल्म उनीहरूका लागि भारतीय विस्तारवादको औजार थियो । तर, सन् १९७३ तिर म ‘समीक्षा’ साप्ताहिकमा काम गर्दा मदनमणि मास्टरसाबले ‘एउटा राम्रो फिल्म हेर्नु भनेको राम्रो पुस्तक पढ्नुजस्तै हो’ भनेको सुनेदेखि बल्ल लाग्यो सिनेमा हेरेर मैले गलत काम गरेको रहेनछु । मास्टरसाब आफैं फिल्मको भोगी हुनुहुन्थ्यो । उहाँको भनाइलाई मान्ने हो भने कागतमा छापिएको भन्दा पर्दाको पुस्तक मैले धेरै पढेको छु सायद ।

सन् १९८० को दशकमा भिडियोको प्रादुर्भाव भएपछि सिनेमा हलले महत्त्व गुमायो । एकताकाको मन्दिरमा उपासकहरू जान छाडे । समयको चक्रले फेरि तानेर दर्शकलाई सिनेमा हलमा फर्कायो । तर, अहिलेका ‘मल्टिप्लेक्स’ मा सिनेमा हेर्दा पहिलेको जस्तो मज्जा र रोमाञ्च कहाँ ?

संयोग भनौं या प्रारब्धको खेल । बितेका बीस–बाइस वर्षदेखि म काठमान्डु इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिभलको आयोजनासित जोडिँदै आएको छु । पछाडि फर्केर हेर्दा लाग्छ, सिनेमन्दिर जाने त्यही पुरानो बानीले पो मलाई यस कामसित यस प्रकार अहिलेसम्म जोडिराखेको हो कि !

प्रकाशित : फाल्गुन ८, २०७७ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?