ढुंगेधारा केवल पँधेरो होइन- कोसेली - कान्तिपुर समाचार

ढुंगेधारा केवल पँधेरो होइन

नेपालमण्डल सभ्यतामाझ विकसित लोहँहिति–ढुंगेधारा खानेपानी उपलब्ध गराउने माध्यम मात्र नभई बहुआयाम बोध गराउने एउटा मूर्त भौतिक संरचना हो । ढुंगेधाराहरु केवल पानी थाप्ने पँधेरा होइनन्, यिनमा बहुविधाका अभिव्यक्ति प्रतिविम्बित छन् ।
मल्ल के. सुन्दर

मानव जीवन, सभ्यता र समुन्नतिको आधार पानी नै हो । प्रागऐतिहासिक कालतिर नियाल्दा नाइल नदीको वरपर विकसित मिश्र सभ्यता, सिन्धु घाँटीको हरप्पा, मोहनजोदारो, ह्वांग हो नदी किनाराको चिनियाँ सामाजिक विकास, गंगा नदीको उर्वरभूमिका प्राचीन भारतीय सभ्यता यस्ता दृष्टान्तमध्ये हुन् । वाग्मतीको पानी सिञ्चनबाट व्यवस्थित भएको उपत्यकाभित्रको नेपालमण्डल सभ्यता पनि यस्तै प्रकारको एक हो ।

जल–व्यवस्थापनसम्बन्धी शिल्पको विकास र मानव सभ्यताको उन्नति अन्तरसम्बन्धित छन् । जुनजुन मानव समुदायले जल–व्यवस्थापनमा निपुणता देखाए, कालान्तरमा तिनीहरूले नै विविध विधामा प्रगति गरे । जल–व्यवस्थापन अर्थात् बाढी नियन्त्रण र सिँचाइ, जलाधार क्षेत्रको संरक्षण, जल शुद्धीकरण, जल परिवहनको विकासका अतिरिक्त जीवन निर्वाहका लागि पिउने पानीको व्यवस्था प्रमुख हुन् ।

नेपालमण्डल सभ्यतामाझ विकसित लोहँहिति–ढुंगेधारा खानेपानी उपलब्ध गराउने माध्यम मात्र नभई बहुआयाम बोध गराउने एउटा मूर्त भौतिक संरचना हो । ढुंगेधाराहरू केवल पानी थाप्ने पँधेरा होइनन्, यिनमा बहुविधाका अभिव्यक्ति प्रतिविम्बित छन् ।

इतिहास

गोपालराज वंशावलीअनुसार, सबैभन्दा जेठो ढुंगेधारा इसं ४६४ मा निर्मित नारायणहिटी हो । लिच्छवि राजा धर्मदेवले बनाउन लगाएको धारामा पानी नआउँदा तान्त्रिकहरूको सल्लाहमा राजा आफैँ बलिका लागि तयार भए । छोरा मानदेवकै हातबाट बलि चढाउने काम भएको थियो भन्ने प्रचलित कथन छ । यता इतिहासकार योगी नरहरिनाथले भने वंशावलीको उद्धरण गर्दै लेखेका छन्, ‘कलिगत संवत् १९११ मा राजा विक्रमसेनद्वारा त्यस ढुंगेधारा बनाउन लगाएकामा पानी नआएपछि नासत भूपकेशरीले आफ्नै पिता विक्रमकेशरीलाई बलिमा चढाए... ।’ राजा प्रताप मल्लले त्यसैको उत्तरतर्फ नारायण मन्दिर स्थापना गरेपछि त्यो ढुंगेधारा नारायणहिटीको रूपमा जनजिब्रोमा रहन गयो ।

लेलेमा भेटिएको वसन्तदेवको शिलालेखअनुसार, त्यसै कालखण्डमा ढुंगेधारा समाजको एक अभिन्न संरचनाका रूपमा विकसित भइसकेको र सामूहिक व्यवस्थापनका लागि गुठीले जिम्मेवारी वहन गरिसकेको थाहा हुन्छ । सामान्यतः काठमाडौं उपत्यकाभित्र एकल ढुंगेधाराको बाहुल्य छ । तर, तान्त्रिक–धार्मिक आस्थाका आधारमा र वास्तुकलाको दृष्टिकोणबाट बहुल ढुंगेधारा पनि धेरै अस्तित्वमा छन् । तीमध्ये फर्पिङ शेषनारायणको सहस्रधारा धार्मिक रूपमा निकै महत्त्वको मानिन्छ । सडक विस्तारका क्रममा अहिले सहस्रधाराहरू लुप्त भए ।

जयप्रकाश मल्लले बनाउन लगाएको बालाजुको एक्काइस धारा, जसको बीचमा रणबहादुर शाहले ठूलो एक धारा थपेर बाइस धारा बनाए । चैत्र पूर्णिमाका दिन ती धारामा नुहाएर मेला भर्ने प्रचलन अहिले पनि छ । बाह्र वर्षमा मेला लाग्ने ललितपुरको गोदावरी कुण्डको नौ धारा पनि धार्मिक दृष्टिकोणबाट महत्त्वपूर्ण मानिन्छ । लिच्छविकालीन सामन्त विभु बर्माद्वारा निर्मित सात धारा काठमाडौंको भोटाहिटीमा थियो । ती धाराहरूबाटै त्यस स्थानको भोटाहिटीका रूपमा पहिचान रह्यो । त्यसैको माथि हाल साझा पसल–बजार छ ।

हाँडीगाउँको पञ्चधारा वा न्याधाःहिति समकालीन समाजमा प्रख्यात धारामध्ये थिए । स्थानीय पूजा–पर्व प्रयोजनका लागि लिच्छवि शासक शिवदेवद्वारा निर्माण गरिएको मानिने त्यस धाराको पानीको स्रोत सँगैको धनडोल च्याद्वं थियो । तर, निजी घरहरू बन्न थालेपछि पानीका मूल सुके, धाराहरू पुरिए ।

काठमाडौं संस्कृत पाठशालाको उत्तरतिर हाल शेर्पामलको पछाडिको तीन धारा उपत्यकाभित्रका चर्चित धाराहरूमध्ये हुन् । अनधिकृत रूपमा जग्गा मिचेर, धारामा पानी आउने कुलोमाथि संरचना बनाउन थालेपछि तीन धारामा पानी आउन बन्द भयो । हाँडीगाउँ नारायण मन्दिरको उत्तरमा रहेको लिच्छविकालीन दुई धारामा भने अहिलेसम्म पानी आइरहेको छ ।

ऐतिहासिक रूपमा सबैभन्दा पछि बनाइएको ढुंगेधारा टुँडिखेलको सुन्धारा हो । भीमसेन थापाले ललित त्रिपुरासुन्दरीको सम्झनामा यो धारा बनाउन लगाएका हुन् । काठमाडौं मल बनाउँदा यसको मूल मासियो र अहिले धारा सुक्यो । सहरका सीमान्त इलाकामा बनाइएका धोबीधाराहरूबाहेक अन्य ढुंगेधारा मूलतः खानेपानीका अतिरिक्त पूजा पाठ, सांस्कृतिक गतिविधि, तन्त्र साधनादेखि औषधि उपचारसमेतको प्रयोजनमा रहेका देखिन्छन् ।

काठमाडौं उपत्यका खानेपानी वितरण बोर्डले पछिल्लोपटक उपत्यकाका दस नगरपालिकाभित्र गरेको एक सर्वेक्षणअनुसार, त्यहाँ तीन सय उनानब्बे ढुंगेधारा थिए । तीमध्ये उनहत्तर धारा सुकिसके, पैंतालीस धारा लोप भए ।

प्रविधिमा विशिष्टपना

ढुंगेधाराहरू प्रविधिका कारण पनि अत्यन्त मौलिक र विशिष्टताले भरिएका छन् । ती धारा निर्माणका लागि हजारौं वर्षअघि प्रयोग गरिएका प्रविधिको अध्ययनबाट पूर्वजहरूमा रहेको ज्ञान, शिल्प र क्षमताबारे हामी गौरव गर्न सक्छौं ।

विश्वमा अन्यत्र पनि पानी व्यवस्थापनका अनेकन प्रविधि प्रयोगमा छन् । पर्सिया, मेसोपोटामिया, अर्मेनिया, अफगानिस्तानमा इसापूर्व हजार वर्षअघिदेखि कन्नातको व्यवस्था गरिन्थ्यो । भूमि सतहमुनिबाट पानी–बहावको प्रबन्ध मिलाइएको त्यो प्रविधि मूलतः सिँचाइ सुविधाका लागि थियो । भनिन्छ, त्यसै ‘कन्नात’ शब्दबाट अंग्रेजी ‘क्यानल’ शब्दको उत्पत्ति भएको हो ।

यता मध्यएसियामा तिनासान हिमशृंखलादेखि हजारौं किलोमिटरपरको मानव बस्तीसम्म करजाई प्रणालीबाट पानी वितरण गरिन्थ्यो । जमिनको सतहभन्दा सयौं फिट तल भूमिगत रूपमा लामा–लामा नहरबाट पानी वितरण गरिनु त्यस प्रणालीको विशेषता हो । चीनको सिन्जयाङ प्रान्त, तुर्फानमा अद्यापि करजाई प्रणाली कायम छ ।

प्रविधिगत दृष्टिकोणबाट हाम्रा ढुंगेधारामा पनि स्रोतदेखि पानी ल्याउने भूमिगत शैलीे करजाई प्रणालीसँग मिल्दोजुल्दो देखिन्छ । फेरि पनि खानेपानी उपलब्ध गराउने हाम्रो विधि, संरचना र शैली उक्त प्रणालीभन्दा उन्नत, व्यवस्थित तथा सुसंस्कृत छ । नेपालमण्डलका बासिन्दाले खानेपानी सेवनका साधनका रूपमा ढुंगेधाराको परिकल्पना गरेर अन्यत्रको भन्दा आफ्नो चिन्तन र शिल्प अग्रगामी रहेको पुष्टि गरे ।

स्रोतबाट ढुंगेधारासम्म पानी झार्नुपूर्व नजिकै कतै जलासयमा पानी जम्मा गरी त्यहाँ पात–पतिंगर, फोहोर, कसिंगर आदि थिि्रगन दिइन्छ । अनि कंक्रिटका टुक्रा, गोल, बालुवा तथा चुना राखेर शुद्धीकरण भइसकेपछि मात्रै धाराबाट पानी झर्छ । ढुंगेधारा त्यस अर्थमा अद्वितीय र मौलिक छ । स्रोंतबाट सहज पानी बहावका लागि जमिनको सतह छनोट तथा निकासका लागि मंगाल र ढल निर्माणसम्बन्धी प्रविधि पनि बेग्लै छ ।

उसबेला आवधिक मर्मत, सरसफाइ, हेरचाहका लागि धःपाः हुने व्यक्ति चयन गरेर उसैलाई ढुंगेधाराको जिम्मा दिइन्थ्यो । गुठीको नेतृत्वमा पानी मुहान, ढल, कुवा, पोखरी तथा ढुंगेधाराको सरसफाइ गरिन्थ्यो ।

वास्तु विशिष्टता

निश्चय पनि ढुंगेधारा पिउने पानी प्रयोजनका लागि हो । तर, यसका लागि बनाइएका जुन भौतिक संरचना छन् ती नेपाली वास्तुविधा तथा रैथाने कलाका विशिष्ट सृजना हुन् । ढुंगेधाराका लागि व्यवस्थित गरिएका परिसर शास्त्रीय मान्यताअनुसार गोलाकार, वर्गाकार, मण्डलाकार, यन्त्राकारका छन् । सोहीअनुसार, परिसरको आकार कस्तो अनि ती कति तह सडकमुनि वा माथि भन्ने निर्धारण गरिन्छ ।

आस्थाअनुसार, धारामाथि एक वा एकभन्दा धेरै मूर्ति सजाइए पनि धाराको मुन्तिर दुवै हातमा शंखसहित उभिएको एक तपस्यारत

ऋषिको आकृति अनिवार्य रूपमा राखिन्छ । आर्यावर्तमा हिमालयबाट गंगाको पानी बगाउन भगीरथले कठोर तपस्या गरेको विवरण पाइन्छ । हरेक धारामुनि तिनकै सम्मानमा त्यस्ता मूर्ति स्थापना गरिन्छ । धारा वरपरका सिँढी, गाह्रो आदि नागबन्ध गरिएर प्रवेशद्वारा दायाँबायाँ नागको शीर्षभागले सजाइन्छ ।

अविरल पानी झर्ने धाराको भौतिक संरचना कतै पनि सपाट हुँदैन । त्यसमाथि कलात्मक मूर्ति कुँदिएका हुन्छन् । हात्तीको जस्तो मुख र सुँढ, अग्निज्वालाजस्तो आँखा, दायाँ–बायाँ तिखा दाँत, पछाडितिर फर्किएका सिङ, उड्ने पखेटा, चुस्से पुच्छरसहितको जलजीव हितिमंगः वा मकरको आकृति हो । ढुंगेधारामा वैदिक वर्णनका जलचर मकर मात्र होइन भ्यागुता, गाईको बाच्छा, माछा, सर्प आदि अंकित हुन्छन् ।

पाटन दरबार, सुन्दरीचोकभित्रको तुसाःहिति यस क्रममा एउटा अद्वितीय संरचना हो । तुसाः अर्थात् उखुजस्तै मिठो पानी झर्ने धारा, जहाँ प्रत्येक बिहान त्यसैको पानीमा स्नान गरेर राजा सिद्धिनरसिं मल्ल नित्यकर्म आरम्भ गर्थे । नारायण र गरुड माथिल्लो भागमा अनि सुनका मोलम्बा लगाइएका अनेकन जलप्राणीका आकृतिसहितको यो धारा मकर मुखाकृति हुने अन्य धाराभन्दा फरक तान्त्रिक मान्यतामा योनि आकारमा निर्मित छ ।

हनुमानढोका मोहनकाली चोकभित्रको सुन्धारा पनि यसैको अर्को प्रतिरूप हो । भक्तपुर दरबारभित्र पनि अति आकर्षक सुन्धारा यस्तै प्रतीकसहित निर्माण गरिएको छ ।

ढुंगेधारा पिउने पानीको साधन मात्र होइन सुसंस्कृत र विकसित सभ्यताको गौरव पनि हो । ढुंगेधाराले शास्त्र बोल्छ, सामाजिक आस्था प्रतिविम्ब गर्छ अनि वास्तुकला तथा मूर्तिकलाको शिल्पलाई जीवन्त राख्छ ।

प्रकाशित : माघ २४, २०७७ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्

जनतालाई पर्दा कहाँ थिए यिनीहरू !

‘हामी यहाँ छौं’ केवल कागजी लेखोट मात्रै होइन, अप्ठ्यारो पर्दा जनताका दैला चहार्ने अनि सत्ता–शक्तिमा पुग्दा खोला तरेको लौरो बिर्सिने संस्कारको पुनरावृत्ति होइन भनेर पुष्टि गर्नुपर्छ ।
मल्ल के. सुन्दर

त्यस समय म काठमाडौंको जेपी हाइस्कुलमा पढ्दै थिएँ । एक दिउँसो कक्षा सञ्चालन हुँदाहुँदै एक्कासि हामी विद्यार्थीहरूलाई घर जान भनियो । साँझ घरमा ठूलाबडाको कुराबाट मैले थाहा पाएँ– राष्ट्रिय रंगशालामा तरुण दलको कार्यक्रमबाटै प्रधानमन्त्री बीपी कोइराला गिरफ्तारीमा परेछन् । राजाको रेडियो सम्बोधन सुनेपछि जानकारी भयो– निर्वाचित संसद् भंग गरिएछ, संविधान निलम्बन गरिएछ ।

सत्र साल पुस १ गतेको त्यो घटनाको झल्को आजसम्म उस्तै छ । त्योभन्दा पनि बिर्सिनै नसकिने भनेको त्यसै साँझका परिदृश्य हुन् । निर्वाचित संसद्को विघटन, लोकतान्त्रिक अधिकारमाथि निषेध तथा जनप्रतिनिधिहरूको गैरकानुनी गिरफ्तारीको सर्वत्र निन्दा भइरहेको थियो । यता हाम्रो टोलमा भने एक थरी मानिस अत्यन्त उत्साहित मुडमा दीपावलीका लागि व्यस्त थिए । भोलिपल्ट मैले थाहा पाएँ– अन्यत्र पनि यस्तै दीपावली गरिएको रहेछ । दीपावली गर्नेहरू भन्दै थिए, ‘कांग्रेसको सेखी झारियो । राजाले ठीकै गरे ।’ तिनमा प्रतिगमनकारी शाही कदमप्रति कुनै गुनासो थिएन, लोकतन्त्रको अवसानमा चिन्ता देखिएन । खुच्चिङको शैलीमा चुरीफुरी गर्नेहरूमध्ये अधिकांश आफूलाई कम्युनिस्ट भन्न रुचाउनेहरू नै थिए ।

दियो बाल्नका लागि तेल किन्न त्यतिखेर पाँच–पाँच रुपैयाँ लगानी गर्ने डा. केशरजंग रायमाझी, शैलेन्द्रकुमार उपाध्याय वा कमलराज रेग्मी प्रभृति समकालिक कम्युनिस्टहरूले त्यसको बदलामा दरबारबाट पाँच पुस्ता भ्याउने पारितोषिक भेट्टाए । यद्यपि, ती सब ‘सत्पात्र’ कम्युनिस्ट चरित्र र आदर्शका दृष्टान्त थिएनन् । अर्कातिर, दशकौंसम्म नेपाली जनता राजाको निरंकुश शासन–सत्तामुनि गुम्सिएर बाँच्न बाध्य भए । छ दशक बितेपछि नेपालको राजनीतिक वृत्तमा समान खाले तिक्ततापूर्ण स्थितिको पुनरावृत्ति भएको छ । अहिले दीपावलीको झिलीमिली नदेखिए पनि निर्वाचित संसद्को विघटनमा थपडी मार्दै सन्तोषको सास फेर्ने अधिकांशतः आफूलाई वामपन्थी दाबी गर्नेहरू नै छन् । दलभित्रको अन्तरसंघर्ष, द्वन्द्व, गुट–उपगुट कलहको पृष्ठभूमिमा आफूसँग असहमत पक्षलाई कज्याउने अर्को विकल्प छैन भनेर निर्धक्कसाथ संसद् विघटनको पक्षमा जोजो पंक्तिबद्ध छन्, ती सबै सत्तारूढ दलसँग आबद्ध कामरेडहरू हुन्, सत्र सालमा जस्तै ।

यद्यपि संसद्‌भित्रका अन्य राजनीतिक दलको बुझाइ छ— प्रधानमन्त्रीको यो कदम गैरसंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी तथा पश्चगामी हो । सिंगो प्रबुद्ध वर्ग, नागरिक समाज विरोधमा उभिएका छन् । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशदेखि नेपाल बार अनि विभिन्न पेसाकर्मी संघसंस्थाहरू विपक्षमा पंक्तिबद्ध भएका छन् । लोकतन्त्रप्रेमी तथा विवेकशील कुनै पनि सचेत नागरिक प्रधानमन्त्रीको कदममा ल्याप्चे लगाउन तयार छैन । एक अर्थमा सिंगो मुलुक नै संसद् विघटनको विरुद्धमा छ ।

संवैधानिक अदालतमा विचाराधीन बनिसकेको यस मुद्दाको कानुनी छिनोफिनो कसरी होला, त्यो हेर्नु नै छ । यसैबीच एकातिर सडक तातेको छ, दिनहुँ थरीथरीका सडक प्रदर्शनहरू भइरहेका छन् । संसद् पुनःस्थापनासम्मको माग उठिरहेको छ । यो क्रम कहाँ पुगेर टुंगिने हो, अहिले नै अनुमान लगाउन मुस्किल छ । कोरोनाबाट सुरक्षित हुन पालना गर्नुपर्ने भौतिक दूरी तथा अनिवार्य मास्कको स्वास्थ्य मापदण्ड बेवारिसे छ, जसले जनस्वास्थ्यमा पार्न सक्ने क्षति भयानक हुन सक्छ । तर नेता, कार्यकर्ता र दलविशेषका लागि अहिले स्वार्थपरक राजनीतिबाहेक अरू विषय गौण बनेका छन् ।

अर्कातिर, मुसा प्रवृत्तिका कतिपय नेता–कार्यकर्ताको दलीय छलाङ साह्रै उदेकलाग्दो प्रहसन बनेको छ । नीति, सिद्धान्त, पद्धति अनि विचार आदिको विसर्जन भएको छ । पद, अवसर अनि निजी प्राप्तिका लागि कतिपय नेता–कार्यकर्ता निर्लज्जताका साथ रछ्यानमा लडीबुडी गर्न लामबद्ध छन् । राजनीतिमा भ्रष्टीकरणले सीमा नाघेको छ । संसद् विघटनको विरोधकै क्रममा गएको बिहीबार नेकपाको एउटा गुट सडकमा भेटियो । काठमाडौंको माइतीघर मण्डलामा पंक्तिबद्ध भएर बसेकामा अधिकांश शीर्ष नेताहरू नै थिए ।

अध्यक्षद्वयदेखि अन्य केन्द्रीय नेतृत्व पंक्तिसहित थुप्रै कार्यकर्तासम्म । आयोजकबाट घोषणा गरिएअनुसार, त्यो उक्त पार्टीद्वारा क्रमबद्ध रूपमा गरिने सडक संघर्षको पहिलो चरणको कार्यक्रम थियो । विरोधशैलीमा कतिको मौलिकता र नयाँपन छ भन्ने कुरा अलग्गै प्रसंग होला, तर सार्वजनिक बाटामा पलेंटी कसेर बसेका सबै नेताले आ–आफ्ना छातीमा टाँसेका थिए आफ्नै परिचयस्वरूप नाम अनि ‘हामी यहाँ छौं’ लेखिएका प्लेकार्ड । सचेत जोकोहीले सहज रूपमा लगाउन सक्छ, ‘हामी यहाँ छौं’ वाक्यांशको अर्थ । अर्थात्– राष्ट्र, जनता, लोकतन्त्रका विरुद्ध कसैले केही गर्न पाउँदैन; त्यसको प्रतिरक्षाका लागि हामी यहाँ छौं ! संविधानको बर्खिलाफ हुन गइरहेको प्रतिगमनकारी कदम रोक्न–छेक्न सक्षम हामी यहाँ छौं ।

सरसर्ती बुझ्दा, ‘हामी यहाँ छौं’ को त्यो सार्वजनिक उद्घोष सत्ताको स्वेच्छाचारिताप्रति खबरदारी हो; राजनीतिक दलको नेतृत्व गरिरहेका व्यक्तिहरूको जिम्मेवारीबोध र दायित्वको सार्वजनिकीकरण हो । तसर्थ, नेतृत्व पंक्ति स्वयं यसरी सडकमा ओर्लिएर जनताबीच घुलमिल हुन आउनु प्रशंसनीय हो । तर जागरुक नेपाली जनतालाई के थाहा छ भने, आज राष्ट्रिय राजनीतिमा जुन परिदृश्य विकसित भएको छ, त्यो आकस्मिक र अप्रत्याशित होइन । बाह्रबुँदे सहमतिको धरातलमा विकसित पहिचानसहितको संघीयता, लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीय प्रणाली संस्थागत गर्ने जुन राजनीतिक धार थियो, त्यसलाई भुत्ते पार्ने काम एकै दिनमा भएको होइन । पहिलो संविधानसभा भंग हुने अवस्थासम्म ठेल्दै लग्ने खलपात्रको भूमिकामा कुनकुन दलका कोको थिए भन्ने यथार्थ जनताबाट लुकेको छैन । यसका अतिरिक्त हालको संविधान जारी गर्नुपूर्व शकुनिको भूमिकामा रहेका पात्रहरू मात्र होइन, त्यतिखेर दुर्योधनका अगाडि धृतराष्ट्र बनेकाहरूलाई पनि जनताले नचिनेका होइनन् ।

सन्तानब्बे सालदेखि नेपाली जनताले गरेका त्याग र बलिदान, लोकतान्त्रिक आन्दोलनहरूमा व्यक्त जनआकांक्षा अनि दसवर्षे सशस्त्र विद्रोहमा बगेको हजारौं मानिसको रातो रगतको मूल्य, मान्यता र मर्म जे छ, त्यसलाई क्रमशः अवमूल्यन गरेको पीडादायी अनुभूति पनि आलै छ । पछिल्लो आम निर्वाचन सम्पन्न भएपश्चात् विशेषतः सत्तारूढ दलको नेतृत्व पंक्ति जनभावनाको अवमूल्यन गर्दै केवल अन्तर्कलह र द्वन्द्वमा रुमलिएर समय बरबादीमा लागेको वास्तविकता पनि जनताको मनमस्तिष्कमा ताजै छ ।

जगजाहेर छ, आजको स्थितिसम्म आइपुग्न थुप्रै राजनीतिक मोड पार गरिएको थियो । तर त्यस कालखण्डमा सत्तारूढ दल एउटै थियो, आज सडकमा पुगेकाहरू पनि सत्तारूढ दलका अन्तरंग थिए । कुनैकुनै रूपमा सत्तापक्षीय हैसियतमा सुख, सुविधा र पदीय भागबन्डामा रमाएका थिए । सत्ताका अंशियार थिए । स्थायी सरकार, समृद्धि, सुख र देश विकासका सपनाको मोहमा जनता यसरी तानिएका थिए, दुईतिहाइको छाप लगाएर सत्ता सुम्पिएका थिए । मतदाताहरूले बिर्सेका छैनन्– तपाईंहरू त्यतिखेर कहाँ हुनुहुन्थ्यो । आज यस्तो समयविन्दु आयो, तपाईंहरूले सडकमा ओर्लेर भन्नुपर्ने भयो– हामी यहाँ छौं । तर, जनताको सामान्य जिज्ञासा हो– निर्मला पन्तका हत्यारा को हुन् ? तेत्तीस किलो सुनका अवैध कारोबारी अभियुक्त कता गए वा सनम शाक्यको ज्यान कसले लिए ? यती समूहलाई किन विशेष अधिकार दिइयो ? ओम्नी समूहको कारोबारको पारदर्शिता खोइ ? सुमार्गीको स्रोत नखुलेको वैदेशिक कारोबार के हो ? कसरी पायो एनसेलले राजस्वबाट उन्मुक्ति ? सेक्युरिटी प्रेस खरिदसम्बन्धी चलखेलमा ढाकछोप किन ? ललिता निवास काण्डमा संलग्नहरूलाई पार्टी संरक्षण किन ? अनि, कोरोनाबाट लाखौं जनता पीडित बन्दै गर्दा, हजारौंको संख्यामा मृत्युको मुखमा पर्दा आम जनताको स्वास्थ्य सुरक्षाका सम्बन्धमा राज्यबाट निर्वाह हुनुपर्ने गम्भीर दायित्वबाट विमुख भएका प्रकरणहरू । थुप्रै छन्, राज्यको अनुपस्थितिका यस्ता दृष्टान्त ।

आज, यतिखेर ‘हामी यहाँ छौं’ भन्दै सडकबीच उद्घोष गरिरहँदा स्वाभाविक हो, आम नेपालीको मनमस्तिष्कमा प्रश्न उठ्छ– यति विघ्न समय घर्किंदै गर्दा आखिर ‘कता थिए यिनीहरू ?’आजको यो विषम राजनीतिक परिस्थिति सत्तारूढ दलभित्र लामो समयदेखि चुलिँदै गरेका आन्तरिक कलह, विवाद, अहंको परिणति हो । गुम्सिएको, छोपछाप गरिएको र टालटुल पारिएको राजनीतिक संस्कार अनि राजनीतिको गलत व्यवस्थापनको उपज हो । यसका पछाडि व्यक्ति वा गुटविशेषको भूमिका मात्र जिम्मेवार छैन । होला, अहिले शिखण्डीका रूपमा कोही एक जना प्रकट भए, तर यस जटिलतासम्म पुग्नु–पुर्‍याउनुमा तत्कालीन सत्तारूढ दलभित्रको सिंगो नेतृत्व पंक्ति जिम्मेवार छ । त्यस्तै, ‘भाग शान्ति जय नेपाल’ भन्दै किनारामा मौन तमासे बनेका प्रतिपक्षी दलहरू पनि यसका लागि कम जिम्मेवार छैनन् । ‘हामी यहाँ छौं’ केवल कागजी लेखोट मात्रै होइन, अप्ठ्यारो पर्दा जनताका दैला चहार्ने अनि सत्ता–शक्तिमा पुग्दा खोला तरेको लौरो बिर्सिने संस्कारको पुनरावृत्ति होइन भनेर पुष्टि गर्नुपर्छ । सबभन्दा पहिले नेताहरूले अहिलेसम्म आफूबाट भए–गरेका कमी–कमजोरीलाई लिएर जनतासामु धक फुकाएर आत्मालोचना गर्ने आँट देखाउनुपर्छ ।

दायित्व र भूमिका निर्वाहमा विगतमा आफू चुकेकामा सार्वजनिक क्षमायाचना गर्नुपर्छ । यस परिस्थितिका दोषभागी हामी पनि हौं भन्ने साहस देखाउनुपर्छ । अन्यथा स्वाभाविक हो, पटकपटक राजनीतिक दलहरू र तिनका नेताहरूका पछि लाग्दै ठगिएका, झुक्याइएका, बिचल्लीमा पारिएका नेपाली जनताले यक्षप्रश्न गर्ने नै छन्, ‘हामीलाई चाहिएका बेला कता थिए यिनीहरू ?’

प्रकाशित : पुस १४, २०७७ १२:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×