कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जातले जोगाएको फाँसी

प्रेमविवाह गरेबापत जातिच्यूत गरेर जेल हालिएका र प्रजातान्त्रिक आन्दोलनका लागि संघर्ष गर्दा जेल परेका योद्धाहरुलाई भगाउन जेलको पर्खाल भत्काउँदा पक्राउ गरी कुटीकुटी मारिएका गोपी च्यामे आजसम्म पनि सहिद सूचीबाट गयल छन् । हामी निबन्ध त लेख्छौं– आज जातपातको भेद छैन, सबै बराबर । तर, गोपी च्यामे सहिद सूचीमा अछुतै छन् ।
यादव देवकोटा

हलचल
बिसौं शताब्दीको आरम्भमै कोतपर्वपछि देश र जनतामाथि थोपरिएको राणाशाही मनोमानीको निरंकुश नंग्राले नेपाली समाजलाई कक्रक्कै पारेर अँठ्यायो । त्यही निरंकुशताको भट्टीमा हालेर नागरिकको चेतनालाई राणा सत्ताले डढाउने यत्न गरिरह्यो । राजा–सत्ताले दोहन गरेको निर्धा नागरिकमाथि राणा–सत्ताले निर्मम मनोमानीको जुवा भिरायो । तर, उज्यालोको खोजीमा प्रतिबद्ध चेतना–दूतहरूले नेपाली समाजलाई हमेसा अँध्यारोविरुद्ध जुधिरहन र उज्यालोको खोजीमा लागिरहन आफ्नो जीवनसमेत बलिदान गरेर उत्प्रेरित गरिरहे ।

जातले जोगाएको फाँसी

विचार र चेतनालाई हैकमको पैतालामुनि कुल्चिबस्ने सत्ताको चरित्र नै हुने गर्छ । त्यसविरुद्ध उभिने र स्वतन्त्रताको खोजीमा आफ्नो सामर्थ्य लगाउने चेतना–दूतहरूको अभावबाट गुज्रनुपरेन नेपाली समाजले जस्तै कठोर र अप्ठ्यारा दिनमा पनि । ढिलो चाँडो बेग्लै विषय हो ।

राणाकालमा समाजमा व्याप्त धार्मिक रुढिका विरुद्ध माधवलाल जोशीले सिंहदरबारभित्रै पसेर सत्तापोषित धार्मिक पण्डाहरूसँग शक्तिशाली विर्मशको आँट गरे । सुब्बा कृष्णलाल अधिकारीले ‘मकैको खेती’ लेखेर ‘मकै खाने रातो टाउको र कालो टाउको भएको किरा’ उल्लेख गरेका थिए । त्यसबखत चन्द्रशम्शेरले रातो र भीमशम्शेरले कालो टोपी लगाउने गरेका थिए । कृष्णलाललाई विसं १९७७ साउन ११ मा पक्राउ गरी थुनामा हालियो, जेलमै विसं १९८० मा उनको निधन भयो ।

पुस्तकालय खोल्न माग गरेको आरोपमा लक्ष्मीप्रसाद देवकोटा, चित्तधर हृदय, कृष्णप्रसाद कोइरालालगायत पक्राउ गरिए । राणाहरूको नश्लीय निरंकुशताविरुद्ध जुध्न विसं १९८८ मा प्रचण्ड गोर्खा गठनको तयारी गरेका खण्डमान सिंह, मैनाबहादुर खत्री, खड्गमान सिहं, रंगनाथ शर्माहरू पक्राउ परी आजीवन कारावासमा परे ।

त्यसरी पक्राउ परेका खण्डमानसिंह जेलभित्रै फलामको सिक्री, गलबन्दी र गोलाले रगत चुसेर क्षयरोग भई यातनाकै कारण विसं १९९२ चैत २५ मा र मैनाबहादुर खत्री जेलभित्रको यातना र पर्याप्त खानासमेत नपाई १९९५ भाद्र ५ गते सहिद भए (सिहं, खड्गमान– जेलमा बीस वर्ष, पृ. १३१) । यो बेग्लै विषय हो कि, पछिबाट राजा–सत्ता (महेन्द्र) ले बालकृष्ण समलाई अघि सारेर तयार गराएको सहिद सूचीमा बालकृष्ण समसमेतले बयान लिएर जेल हालिएका खण्डमान, मैनाबहादुरहरूको नाम अटाउन सकेन ।

असनका राजालाल कलवारको कोठामा शुक्रराज शास्त्री (जोशी), केदारमान व्यथितसहितले ‘नेपाली नागरिक अधिकार समिति’ गठन गरे । नेपाली भाषा प्रकाशिनी समितिको जागिर खोसिएपछि घरमै नजरबन्दमा रहेका शुक्रराज शास्त्रीले १९९५ साल मंसिरमा नजरबन्द तोड्दै इन्द्रचोकमा गीतामाथि प्रवचन दिए ।

राजा मुखिया, प्रधानमन्त्री जमदार

हतो वा प्राप्स्यसि स्वर्ग जित्वा वा मोक्ष्यसे महीम् ।

तस्मादुत्तिष्ठ कौन्तेय युद्धाय कृतनिश्चयः ।।

यस्ता श्लोक उच्चारण गर्दै शुक्रराज शास्त्रीले इन्द्रचोकमा गीतामाथि प्रवचन दिएपछि उनलाई पक्राउ गरियो । जुद्धशम्शेरकहाँ लगेर उभ्याइयो । गीता वाचनको अधिकार ब्राह्मणहरूलाई मात्रै भएको र कुजातले गीता पढेर जनता भड्काएको आरोपमा शुक्रराजलाई जेल सजाय सुनाए जुद्धशम्शेरले (शर्मा, बीएल– राष्ट्रपिता र म, पृ. ३८) ।

शुक्रराजले गीतामाथि प्रवचन दिएको त्यही इन्द्रचोकको सभामा गंगालालले राजनीतिक भाषण दिएका थिए । उनले नागरिकशास्त्रअनुसार जनताको मौलिक अधिकारबारे चेतनामूलक भाषण गरेका थिए । गंगालाल नेपालमा नागरिकको राजनीतिक अधिकारबारे सार्वजनिक भाषण गर्ने पहिलो नेपाली हुन्, जो त्यसबखत त्रिचन्द्र क्याम्पसमा पढ्ने अठार वर्षीय युवक थिए (शर्मा, जीवराज– नेपालको राजनीतिक हलचल, पृ. ६) ।

यसरी दमन र प्रतिरोधको सिलसिला जारी रहेकै बखत विसं १९९३ जेठमा झोंछे टोलमा रहेको धर्मभक्त माथेमाको डेरामा नेपाल प्रजापरिषद्को स्थापना भएको थियो, जसका संस्थापकहरू थिए– धर्मभक्त माथेमा, टंकप्रसाद आचार्य, दशरथ चन्द, जीवराज शर्मा र रामहरि शर्मा ।

त्यसमा पछिबाट (विसं १९९७ सालमा) गंगालाल श्रेष्ठ, गणेशमान सिंह, बलबहादुर पाँडे, हरिकृष्ण श्रेष्ठ आदि सदस्य थपिएका थिए ।

उनीहरूले संस्था र यसमा सामेलहरूको पोल नखुलोस् भनी सदस्यहरूको उपनाम राखेर कामकारबाही अघि बढाएका थिए । दशरथ चन्दको नाम ‘सेवा सिंह/सुशील’ राखिएको थियो । टंकप्रसादको ‘प्रकाश’, धर्मभक्तको ‘अजवबहादुर’, रामहरि शर्माको ‘हरेराम’ र जीवराज शर्माको ‘वसन्त’ । राजा त्रिभुवनलाई जनाउन ‘मुखिया’ र श्री ३ राणा प्रधानमन्त्रीलाई जनाउन ‘जमदार’ भनेर कोड नाम राखिएको थियो ।

बीभत्स यातना

विसं १९९७ मा प्रजापरिषद्ले काठमाडौंका विभिन्न स्थानमा चारपटकसम्म राणाविरोधी पर्चा छरेपछि अत्तालिएका राणाहरूको बैठकले पर्चा छर्नेहरूमाथि कठोरतापूर्वक दमन गर्ने मतो गर्‍यो । विसं १९९७ कात्तिक २ गते धर्मभक्त, गंगालाल, दशरथ चन्द, गणेशमान सिंह, जीवराज शर्मा, रामहरि शर्मा, बलबहादुर पाण्डे, चन्द्रमान सैंजूलगायत ५ सय हाराहारी नागरिकलाई प्रजापरिषद्मा लागेको आरोपमा पक्राउ गर्‍यो ।

दोषीहरूमाथि आवश्यक सजायको निर्णय गर्न पद्मशम्शेर, मोहन, बबर, बहादुर, आनन्दशम्शेर, हेमराज पाण्डेलगायत सम्मिलित विशेष अदालत गठन भयो । त्यही क्रममा १९९५ मै तीन वर्षका लागि जेल परेका नेपाल नागरिक समितिका शुक्रराज शास्त्रीलाई समेत सिंहदरबारमा पटक–पटक बयान लिन थालियो । बयान लिने क्रममा बन्दीहरूलाई आततायी र बीभत्स यातना दिइएको थियो । गंगालालको दुवै हात पछाडि लगेर बाँधिएको थियो । बाँधिएको हातको बिचबाट एउटा बाँस छिराएर त्यसलाई दुवैतिर दुई–दुईजना सिपाहीले उचालेर बोकेका थिए । त्यसरी उचालिएका गंगालालका खुट्टा पनि एकापसमा जोडेर बाँधिएका थिए । सिपाहीहरूले उनको खुट्टाको नलीहाडमा छालाको कोर्रा हानिरहेका थिए, जुन कोर्रा उनको खुट्टामा बेरिन्थ्यो, सिहपाहीहरू त्यसलाई एकै झड्कामा तान्दथे । त्यसरी तान्दा खुट्टाको मासु खुट्टाको हाडबाट छुटी फुट्दथ्यो । त्यसमा राणाहरू आइडिन खन्याउन लगाउँथे । उनको सुरुवाल धुजाधुजा भएर घाउभित्र पसेको थियो (गौतम, राजेश– नेपालको प्रजातान्त्रिक इतिहासमा नेपाल प्रजापरिषद्को भूमिका, पृ. १३५) ।

बाँसमा बाँधिएका उनलाई उचाल्नेहरू थाकेर केही बेरपछि बाँसै छाडिदिन्थे । त्यसरी छाड्दा बाँधेको डोरी छिनेर बाँस र मानिस छुट्टिन्थे । त्यसबेला गंगालालको हालत मट्यांग्रा लागेर भुइँमा झरेको चराको जस्तो हुन्थ्यो । उनको ज्यानभरि रगतैरगत थियो । मुख फुलेको, एउटा आँखा सुन्निएको थियो– सिंह, गणेशमान– मेरो कथाका पानाहरू, भाग १, पृ. ८१) ।

धर्मभक्त, दशरथ, गंगालाल र पूर्णनारायण प्रधानलाई अंश सर्वस्वसहित फाँसीको सजाय तोकियो । पछि पूर्णनारायणको ज्यान सजाय घटाएर १८ वर्ष कैद तोकियो । उता १९९५ मै इन्द्रचोकमा सार्वजनिक स्थलमा गीता पाठ गरी नेपाल नागरिक समितिको तर्फबाट सार्वजनिक भाषण गरेको आरोपमा गिरफ्तार भई तीन वर्षको जेल सजाय व्यतीत गरिरहेका शुक्रराज शास्त्रीलाई सम्बन्ध नै नभएको प्रजापरिषद्को पर्चा काण्डमा दोषी देखाई अंश सर्वस्वसहित ज्यान सजाय तोकियो ।

बलिदानी दृढता

गंगालाल श्रेष्ठलाई अंश सर्वस्वसहित फाँसीको सजाय सुनाएपछि भनियो, ‘उमेर कलिलै भएकाले माफी मागे आजन्म कारावास ।’ गंगालालले तुरुन्तै हाँक दिए, ‘कसैले बक्स दिएको ज्यानलाई स्वीकार गरेर बाॅच्दिनँ ।’ तुरुन्तै उनलाई फाँसीकै सजाय सुनाइयो । दशरथ चन्दलाई अंश सर्वस्वसहित फाॅसीको सजाय सुनाइएपछि ठूलो–ठूलो स्वरले हाँस्दै दशरथ चन्द गर्जिए– ‘फाँसी क्या चीज है ?’ (तुलाधर, दमनराज– दमनराज तुलाधर, पृ. ७८) ।’

शुक्रराजलाई फाँसी दिनुअघि उनको परिवार भेटघाटका लागि जेलमा गएको थियो । त्यसरी भेट्न गएका परिवारका केही सदस्यले शुक्रराजलाई राणा सरकारसँग माफी माग्ने सल्लाह दिए । त्यसरी सल्लाह दिनेलाई शुक्रराजले भनिदिए – ‘मैले किन माफी माग्ने ? मैले के अपराध गरेको छु ? माफी मागेर म सदा अमर रहने भए म माफी माग्छु । एक दिन मर्नु नै छ भने किन माफी माग्ने ?’ (मल्ल, चन्द्राकान्ता –मेरो आत्मकथा, पृ. १०७) ।’

जातमा बाँचेको सत्ता

त्यसरी शुक्रराजलाई पहिले नै जेल सजाय तोकी दुई वर्ष जेलजीवन कटाइसकेको अवस्थामा मृत्युदण्ड दिनुको खास कारण राणा दरबारमा क्रियाशील हिन्दु धर्माधिकारी पुरोहितहरूको पूर्वाग्रह थियो । परम्परागत हिन्दु रूढि समाजमा धर्मको आडमा मानिसमाथि जातीय तवरले लादिएको विभेदको सोपान क्रियाशील छ । जातका आधारमा मानिसलाई लगाइने कर्म बनिबनाउ तवरले आरोपित छ । पहिले कर्मका आधारमा तय हुने जात विक्रमको छैटौं शताब्दीको आसपासपछि जातका आधारमा कर्म तय हुने परिपाटीमा विघटित छ । चेतनाको विकास र वितरण सोहीअनुरूप गरिएको छ ।

ठूलो–सानो जातको चेतनामा विभाजित जातीय समाजमा जात सबैभन्दा संवेदनशील विषयका रूपमा मानिसहरूको मनमा गढेर बसेको छ । कसैलाई बक्सिस दिनुपर्‍यो, जात उठाउने । कसैको हुर्मत लिनुपर्‍यो, जात खसाल्ने । जस्तो कि धीमशम्शेरले आफ्नी कान्छी पत्नी दिलकुमारी तामाङ (सीता महारानी) को माइतीलाई तामाङबाट उठाएर पाण्डे बनाइदिएका थिए । जुद्धशम्शेरले प्रजापरिषद्का संस्थापक अध्यक्ष टंकप्रसाद आचार्यलाई ब्राह्मणबाट जात खोसेर कथित अछुतमा खसालेका थिए ।

कथित उपल्ला जातका मानिसलाई कथित तल्लो जातका मानिसका लागि भनिएको कर्म निषेधित गरिएको छ, हिन्दु समाजको व्यावहारमा । कथित तल्ला जातका मानिसले कथित उपल्ला जातका मानिसका लागि भनेर तय गरिएका कर्म गर्नु दण्डनीय अपराधका रूपमा व्यवहार गरिने गरेको छ ।

शुक्रराज नेवार थिए । धर्मशास्त्रहरूको अध्ययन, व्याख्या ब्राह्मणहरूको एकलौटी कर्मका रूपमा आरक्षित गरिएको छ । आजै पनि छुवाछुत जारी छ । उचनिच जारी छ । त्यसो गर्नेहरूमा धर्मलाई सिरानी हालेर बसेको प्रभुत्वशाली जातीय समूह छ । शास्त्रको व्याख्या र बयानको एकलौटी ठेकेदारी सन्दुकमा राखेर बसेको यो समूह कसैले शास्त्रमा लिखित विषयमा आफ्नो बुझाइअनुसार विमर्श थालेमा आक्रमणमा उत्रिन्छ । शास्त्रको व्याख्या कसले गर्न पाउने, कसले नपाउने भनि अखबारमा लेखै लेखेर सार्वजनिक उर्दी जारी गर्न हतारिन्छ । तर, त्यही शास्त्रको व्याख्या र आड लिएर किनारीकृत दलितमाथि भइरहेका तमाम यातना, प्रताडना, विभेद र हमलाबारे भने मौनताको शीतनिद्रा घुरिबस्छ ।

दलितलाई वेद पढाउन आँटेका आफ्नै जातीय समूदायका पण्डितमाथि सांघातिक हमलाको स्तरमा ब्राह्मण समुदाय जाइलाग्दा वैदिक ग्रन्थमा कुनै जातले वेद पढ्न नहुने उल्लेख भएको छैन, शास्त्रमा त्यस्तो व्याख्या छैन भनेर शास्त्र व्याख्याको ठेकेदारी तोकिबस्ने यो जत्था मौन बस्छ । महिलामाथि युगीन समयदेखि चरम विभेद हुँदा, दलितलाई मन्दिर प्रवेशमा रोक लगाउँदा या अन्तरजातीय विवाह गरेकै कारण हत्याको तहमा कथित उपल्ला जातकाहरू उत्रँदा कहिल्यै मुखसम्म खोल्दैन । तर, उत्पीडनको आधार बनाइएको धार्मिक शास्त्रमाथि विमर्शको प्रयाससम्म पनि गर्‍यो कसैले भने अखबारको विचार पृष्ठ कब्जा गर्दै आफ्नो ठेकेदारीको फारम सार्वजनिक गर्न आइपुग्छ ।

लिच्छविकालको आरम्भिक समयदेखि नै सत्ता र समाज कज्याउने ऐन, नियम धार्मिक शास्त्र र तिनका संहिताहरू थिए । जय (स्थिति) मल्लको पालामा बसेको थितिले नेपाली समाजलाई वर्णव्यवस्थाको जातीय सोपानमा ढालिदियो । काठमाडौं उपत्यकामा कट्टर तवरले क्रियाशील वर्णव्यवस्थाको नीलडाम पृथ्वीनारायणले गोर्खा राज्यलाई काठमाडौंमा सारेपछि र त्यसपछि विस्तारित हुँदै फैलिएपछि उपत्यका र गोर्खामा प्रचलित जयस्थिति मल्ल र राम शाहद्वारा पोषित वर्णव्यवस्थाको जालोले विस्तारित हुने मौका छोप्यो । कतिसम्म फैलियो भने जातीय उचनिच नहुने जनजाति समुदायभित्र समेत जातीय उचनिच र छुवाछुतको चेतना आरोपित, विकसित र विस्तारित भएर आयो ।

राणाकालको शासन व्यवस्था जंगबहादुरद्वारा जारी मुलुकी ऐनका आधारमा जति निर्दिष्ट हुन्थ्यो, त्योभन्दा बढी धार्मिक संहिताहरूका आधारमा । त्यसका लागि शास्त्रको व्याख्या गर्न राज्यसभामा धर्माधिकारीहरूलाई जनताको तिरो खुवाएर पालिएको हुन्थ्यो । आफ्नो स्वार्थ र सत्तालाई दखल दिनेहरूमाथि ऐन नियमले होइन, यिनै धर्माधिकारीहरूको व्याख्या र उक्साहटको आधारमा सजाय तोकिन्थ्यो । १९९७ सालमा पक्राउ परेकाहरूमाथि पनि त्यही भएको थियो । भीमशम्शेरकै पालामा मृत्युदण्ड नदिने व्यवस्था गरिए पनि जुद्धशम्शेरले प्रजापरिषद्मा लागेकाहरूमाथि ज्यान सजाय दिँदा यस्तै धर्माधिकारीका रूपमा जनताको तिरो खाएर बसेका हेमराज पाँडेहरूले गरेको हिन्दु धार्मिक शास्त्रको व्याख्यालाई आधार बनाइएको थियो ।

...

त्यसरी ज्यान सजाय तोकिएका चार जनालाई झुन्ड्याएर र गोली ठोकेर मारेपछि त्यसले नेपाली समाजमा गहिरो हलचल पैदा गर्‍यो । चार सहिदहरूको हत्या भएको माघ १० देखि १५ सम्मको समयलाई विसं १९९८ मा जेलभित्रै सजाय भोगिरहेका प्रजापरिषद्का सदस्यहरूले सहिद दिवसका रूपमा स्मरण गरी मनाउन थालेका थिए । विसं २००५ माघ १० र १६ गते जेलभित्रै दीपावली गरेर सहिदहरूको सम्मान र सम्झनामा सहिद दिवस मनाइएको थियो । प्रजातन्त्र आएको केही वर्षपछि विसं २०१२ बाट काठमाडौं नगरपालिकाको संयोजकत्वमा सहिद सप्ताह मनाउने परम्परा अझै पनि जारी छ ।

कथाकार गंगालाल

सहिद गंगालाल श्रेष्ठ साहित्यकार पनि थिए भन्ने कुरा गणेशमान सिंहको संस्मरण पढ्दा थाहा हुन्छ । उनले कथासंग्रह नै तयार पारेका थिए । तर, दुःखद कुरा, राणा सरकारले गंगालालको ज्यान मात्रै लिएन, उनको अप्रकाशित कथासंग्रहको पाण्डुलिपिसमेत गिरफ्तार गर्‍यो र बेपत्ता बनायो । सार्वजनिक भएर त्यो प्रकाशित हुन पाएन । गणेशमान सिंहले उल्लेख गरेका छन् – पक्राउ गरिँदा मसँग एउटा कथासंग्रहको पाण्डुलिपि पनि थियो । त्यो कथासंग्रह गंगालालको थियो । तिनताका धेरैले कविता लेख्थे । तर, गंगालालचाँहि छोटा कथा लेख्थे । उनको त्यो कथासंग्रहको पाण्डुलिपि अध्ययनका निम्ति मैले ल्याएर राखेको थिएँ । त्यो पनि पुलिसले बरामद गर्‍यो (उही, पृ. ७७) ।

जात र फाँसी

राणाहरूको मुटुमा ढ्यांग्रो ठोक्ने गरी पर्चा छरेर हलचल निम्त्याउने प्रजापरिषद्का अध्यक्ष थिए– टंकप्रसाद आचार्य । उनी जातीय सोपानको रूढि परम्परामा अधीनस्थ समाजले सबैभन्दा माथिल्लो स्थानमा राखेको ब्राह्मण थिए । त्यस बखतको हिन्दु समाजमा ब्राह्मण हत्यालाई गौहत्या सरह ‘पाप कर्म’ का रूपमा लिने गर्थे हिन्दु मतालम्वी शासकहरू ।

बयानका क्रममा जुद्धशमशेर–पुत्र बहादुरशम्शेरले गालीगलौज गरेपछि टंकप्रसाद र बहादुरशम्शेरबिचको सवाल जवाफ टंकप्रसादले आफूलाई सुनाएको भन्दै गणेशमान सिंहले उल्लेख गरेका छन्– ‘खबरदार दुनियाँदारका छोराहरूलाई गाली गर्न पाइँदैन । गाली नै गर्ने हो भने त्यसको उचित जवाफ हामी पनि दिन्छौं । त्यसरी म कड्केर बोलेपछि बहादुरशम्शेर रिसको आवेगले काम्दै मुर्मुरिए– बाहुन भएर बाँचिस् । नत्र हेर्, तेरो छाला काडेर चौटाचौटा पारेर कौवा, चील र गिद्धलाई खुवाउँथे । तर बाहुन भएर बाँचिस् । बाहुन भएर बाँचिस् भन्ने सुनेपछि मैले मनमनै सोचें, ए, यिनीहरूले मलाई मार्ने त रहेनछन् (उही, पृ. ९२) !’

नभन्दै प्रजापरिषद्को अध्यक्ष भएर पनि ब्राह्मण भएकै कारण उनले फाँसी चढ्नुपरेन । शुक्रराज प्रजापरिषद्सँग संलग्न नभए पनि जेलबाट घिसारेर ल्याएर हत्या गरियो ब्राह्मण नभएकाले । गैह्र ब्राह्मण भएर पनि वेद, गीता सार्वजनिक तवरले वाचन गरेकाले ।

दशरथ, गंगालाल, धर्मभक्त टंकप्रसादभन्दा तल्लो वरीयताका सदस्य भएर पनि मारिए, उनीहरू ब्राह्मण नभएकाले । यसरी टंकप्रसादलाई जातले फाँसीबाट जोगायो । उनलाई मात्रै होइन, प्रजापरिषद्मै लागेका अन्य ब्राह्मण रामहरि शर्मा र जीवराज शर्मासमेत जातकै कारण फाँसीबाट जोगिए । उनीहरूले जन्मँदै प्राप्त गरेको जातले उनीहरूलाई जोगायो ।

टंकप्रसाद र रामहरि शर्मालाई टाउकोको कपाल मुडी, जात दामल गरी सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएको थियो । सोहीबमोजिम टकंप्रसाद र रामहरिलाई दामल गरेर जातिच्यूत गरिएको थियो । त्यसका लागि उनीहरूलाई सजाय सुनाइएको स्थानबाट सिंहदरबारको ढोकाअघि लगेर कपाल चारैतिर मुडिएको थियो । दुवैलाई सुँगुरको पाठो पिठ्युँमा बोकाएर टुँडिखेल घुमाइएको थियो । त्यसपछि जेलमा लगेर जेलको चारैतिर यिनीहरू जातिच्यूत गरिएका कैदीहरू हुन् भन्ने जानकारी दिन घुमाइएको थियो (गौतम, उही, पृ. १७१) ।

जातिबाट खस्नु जातीय चेतना बोकेको समाजमा समन गर्न नसकिने सन्दर्भ हुने नै भयो । बरु ज्यान दिन मञ्जुर हुने तर जात खोसिन तयार नहुने चिन्तनले समाजलाई गाँजेको जात जोगाउन टंकप्रसादले जुद्धशम्शेरको सत्तासँग याचनापूर्ण गिडगिडाहट प्रदर्शन गरेबाट देखिन्छ । जातच्यूत गरिएपछि टंकप्रसाद पतियाका लागि किरिया बसे । जुद्धशम्शेरलाई निवेदन दिए । त्यसको केही दिनमै जुद्धशम्शेरको हुकुम आयो– छोइछिटा हाल्नु नपर्ने मतवाली जातमा मिलाइदिनू (सिंह, गणेशमान, उही, पृ. ९७) ।

समाजलाई जातीय चेतनाले कतिसम्म संक्रमित पारेको थियो भने, वीर योद्धा गंगालालले मृत्युपछि पनि जातीय विभेदको सामना गर्नुपर्‍यो । माघ १५ गते बिहान गंगालाल र दशरथलाई गोली ठोकी मारिएको खबर उनीहरूको परिवारले पाए । गंगालालको परिवारले गंगालालको अन्तिम कार्य गर्नका लागि आफ्ना नातेदार र गुठीलाई भन्दा सबैले पोडेले मारेको भनी लास छुनसम्म अस्वीकार गरी शवदाह गर्न अस्वीकार गरे (गौतम, उही, पृ. १८५) ।

सहिद लगतबाट गायब गोपी च्यामे

गोपी शर्मा एक जना ब्राह्मण थिए, जसले प्रेमविवाह गरेका थिए एक जना च्यामिनीसँग । त्यही अपराधमा जातिच्यूत गरी उनलाई ६ वर्षका लागि जेल हालिएको थियो र उनको जात हटक गरेर गोपी च्यामे बनाइएको थियो । त्यसैले गोपी शर्मा जेलमा ‘गोपी चा’ का रूपमा सम्बोधित गरिन्थे ।

जंगबहादुरद्वारा जारी १९१० को मुलुकी ऐनमा उपाध्याय ब्राह्मणले आफूभन्दा कथित तल्लो जातको केटासँग राजीखुसीले नै छोरीको बिहे गरिदिए पनि अंश सर्वस्वको सजाय तोकिएको थियो । कथित तल्ला जातकाले ब्राह्मणको छोरी राजीखुसीले नै बिहे गरेमा पनि कन्या करणीको ऐन लगाई श्रीमान्–श्रीमती छुटाइदिने व्यवस्था गरेको देखिन्छ । एउटै अपराधमा पनि जातका आधारमा विभेदपूर्ण कारबाहीको व्यवस्था गरिएको थियो । जस्तै ‘....कसैले जार काट्यो भने ब्राह्मण भए अंश सर्वस्व गरी डामल गर्नु, अरू जातको भए ज्यानको बदला ज्यान लिनू ।’

...

जुद्धशम्शेरको पालामा पूर्वी नेपालको संखुवासभामा (तत्कालीन पूर्व ६ नं चैनपुर) की बुद्धिमाता अधिकारीसँग बिहे गरेका मोतीलाल रोका (सार्की) ले पनि त्यस्तै सजाय व्यहोरेका थिए । आफुभन्दा कथित तल्लो जातकी महिलासँग बिहे गर्दा मात्रै होइन, कथित माथिल्लो जातकी महिलासँग बिहे गर्दा झन् बढी सजाय व्यहोर्नुपर्थ्यो । बुद्धिमाता दाहाल थरका केटासँग बिहे गरेर बालविधवा बनेकी थिइन् । त्यसपछि उनी तुङशम्शेरको दरबारमा भान्सेको रूपमा काम गर्न लगिइन् र त्यहाँ १० वर्षजति भान्से बसेर चैनपुर नै फर्किइन्, जहाँ रहँदाबस्दा उनको प्रेम भयो, एक जना दलित मजदुर मोतीलाल रोकासँग । बुद्धिमाता गर्भवती भएपछि उनीहरूको प्रेम सार्वजनिक भयो र उनीहरू दुवैलाई पक्राउ गरियो ।

मोतीलाललाई १४ वर्ष जेल ठोकियो, बुद्धिमातालाई दुई वर्ष । उनले जेलमै बच्चा जन्माएकी थिइन् । त्यसरी जेलमा विसं १९९० असोजमा जन्मिएका व्यक्ति थिए, नेपाल दलित साहित्य एकेडेमीका संस्थापक उपकुलपति जवाहर रोका– विश्वकर्मा, उर्मिलादेवी– दलित साहित्यकार जवाहर रोका, पृ. १/२) ।

...

रणबहादुरकी कान्छी पत्नीको मृत्यु भएपछि रणबहादुरले पत्नीको उपचारमा संलग्न साँढे वैद्य लक्ष्मीनारायण दाहाललाई मानिसको मासु, गाईको मासु, छत्तीस थरी गुहु, जाँड खुवाई, चारपाटा मुडी, आँखामा सिउँडीको दूध हालेर जात काढेर देश निकाला गरेका थिए । उनकी पत्नीलाई जबर्जस्ती दमाईलाई सुम्पेर घिस्याउन लगाएका थिए । उपचारमा सामेल अर्का वैद्य मिलहमकी पत्नी पोडेलाई सुम्पिदिएका थिए (नेपाल, ज्ञानमणि –नेपालको महाभारत, पृ. ४१) ।

पृथ्वीनारायण शाहकालीन गोर्खा राज्य विस्तारकालमा पराजितहरूलाई बिसे नगर्चीको धोती टाँगी त्यसमुनि छिर्न लगाएर उनीहरूको जातको हुर्मत लिने काम पटकपटक भएको विवरण गोर्खा राज्य विस्तारकालका घटनाहरू अध्ययन गर्दा थाहा हुन्छ । मानिसको जात खोस्नु र दिनु सर्वाधिक ठूलो यातना र पुरस्कार थियो, त्यसबखत ।

...

यसरी माथिल्लो जातिको लोग्नेमान्छेले तल्लो जातकी महिलालाई बिहे गरेर ल्याएमा उसको जात पनि स्वास्नीकै सरह बनाइन्थ्यो । त्यस्तो विजातीय संसर्ग गर्नेले दोहोरो सजाय भोग्नुपर्थ्यो– जातिच्यूत र कैद । गोपी तिनैमध्ये एक थिए । जन्मले ब्राह्मण भए पनि च्यामेको रूपमा जेलमा प्रवेश गरेकाले जेलको चर्पी, नाला सफा गर्ने काम उनैलाई लगाइएको थियो । किनभने जातीय सोपानले डामिएको समाजमा जातिच्यूत गरिएको ब्राह्मणलाई कथित तल्ला जातकाले गर्ने भनेर तोकिएको काम लगाई ऊ तल्लो जातमा झरेको प्रमाणित गर्नु थियो धार्मिक विधि–विधानको जोरजाम गरेर अडिएको सत्तालाई । तिनै गोपी हुन्, जसले गणेशमानसित मिलेर जेल तोडेर भाग्नका लागि जेलको पर्खाल भत्काउने काम गरेका थिए । त्यही क्रममा पक्राउ परी उनी जेल प्रशासनबाट कुटीकुटी मारिएका थिए (सिंह, गणेशमान, उही, पृ. ११०) ।

त्यसरी प्रेमविवाह गरेबापत जातिच्यूत गरेर जेल हालिएका र प्रजातान्त्रिक आन्दोलनका लागि संघर्ष गर्दा जेल परेका योद्धाहरूलाई जेलबाट भगाउन जेलको पर्खाल भत्काउँदा पक्राउ गरी कुटीकुटी मारिएका गोपी च्यामे आजसम्म पनि सहिद सूचीबाट गयल छन् । हामी निबन्ध त लेख्छौं– आज जातपातको भेद छैन, सबै बराबर । तर, अछुत बनाइएका गोपी च्यामे आजसम्म पनि सहिद सूचीमा अछुतै छन् । समय बदलिए पनि हाम्रो चेतनाचाहिँ अझै गोपी च्यामे कुटीकुटी मारिएको समयकै भद्रगोल जेलमा बन्दी छ भन्ने उदाहरण त होइन यो ? नत्र यस्ता अनेकन् सहिदहरूप्रति हामी किन छोइछिटो बारिरहेछौं अझै ?

...

गंगालालको चिठी पितालाई

अब मेरो माया मारिदिनोस् !

बा !

तपाईंको आज्ञापालन गरेर शान्तिसित बसूँला भन्ने लागेको थियो, सक्तै सकिनँ, म सक्तिनँ । आज रातभर निद्रा परेन । बिर्से पनि हुने पाठ म घोकिरहेछु, सम्झनुपर्ने पाठचाहिँ मैले बिर्सन आँटेछु ! आफ्नो पेटको अग्निलाई आफ्नै रगतले निभाइरहेका भोका अगणित भाइहरूका पहेँला मुखसित डराएर आँखा चिम्लन आँटेछु । अन्तस्करणबाट आगो रुमल्लिएर आयो ! के के असह्य भयो, अब म सहन असमर्थ छु ! जताततै कोलाहलको ज्वाला देख्छु– आफैं सल्कन लागेको छु ! मलाई त्यो निभाएर मर्न दिनोस् ! तपाईं मेरा पिता हुनुहुन्छ तर हामी सबै जनाको जन्मभूमि माताप्रतिको हाम्रो कर्तव्यमा तपाईंको आज्ञाले म पछि हट्न सक्तिनँ– म तपाईंको आज्ञाले चुपचाप राष्ट्रको पाप बोक्न सक्तिनँ । अब मेरो माया मारिदिनोस् ! मेरा अरू भाइहरू छँदै छन्, एउटा छोरालाई नेपाल आमाका निम्ति बलिदान दिनुहोला भन्ने देशभक्त पुत्र गंगालालको निवेदन छ । अत्याचार र अन्यायको विरुद्ध लड्दै म देशलाई छातीको ढाल थापेर बचाउँछु ।

– बालक पुत्र गंगालालको दण्डवत् सेवा

(सिद्धिचरण श्रेष्ठको किताब ‘कारागारका सम्झना’, पृष्ठ.४३ बाट साभार । किताबअनुसार, यो चिठी १९९७ सालमा गंगालाल पक्राउ परेपछि उनको घरमा खानतलासी भएर सिंहदरबारमा थुपारेको कागजबाट बालकृष्ण समले पाएका हुन् ।)

प्रकाशित : माघ १७, २०७७ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?