एकादेशमा एउटा साथी थियो- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकादेशमा एउटा साथी थियो

आहुति

संसारमा सबै मानिसहरू खराब छन् तर खराब मानिसहरूभित्र धेरै वा थोरै असल चीज छन् । तिनै असल चीजहरूलाई जोड्नु, अगाडि ल्याउनु र त्यसमार्फत सारा खराबीका विरुद्ध लड्नु नै क्रान्तिकारीहरूको काम हो ।–स्वनाम साथी

बितेको महिनाको एक साँझ करिब सत्तरी वर्षको उमेरमा खसेको एउटा साथीको तत्कालमा परिचयको नाम थियो– स्वनाम साथी । श्रमिक वर्ग, उत्पीडितहरू र सारा मानवताको मुक्तिका पक्षमा आफ्नो अध्ययन, भोगाइ र सिकाइबाट सँगालिएका असाधारण महत्त्वका निष्कर्षहरू लगातार साथीहरूलाई बोलीचालीमा उसले बाँडिरहन्थ्यो । विद्रोही र दार्शनिक रूपचन्द्र विष्टले आफ्नो अन्त्येष्टिमा अन्तिम आफन्त तोकेको यो साथी रूपचन्द्र जति पनि आफ्ना कुराहरू लेख्दैनथ्यो । अल्छी ठान्न नमिल्ने, बाटो छेकिएपछि भौंतारिएको कमिलाझैँ सधैँ सक्रिय । भाषा र ज्ञानको समस्या मान्न नमिल्ने, कम्तीमा आधा दर्जन भाषा बोल्ने र विज्ञानका धेरै शाखाका सूचनाहरूको भण्डारण गर्ने । तैपनि नलेख्ने प्रवृत्ति किन थियो ? साथीको यो प्रवृत्तिबारे कुनै साथीसँग सम्भवतः यसको सही जवाफ छैन । नेपालको कम्युनिस्ट तथा धेरैखाले उत्पीडितहरूका विभिन्न ससाना जमातभित्र सीमित रहन उसले चाहेकाले सायद लोकतान्त्रिक ट्रेडमार्कअन्तर्गतका व्यापक मानिसहरूबीच उसको ठोस परिचय गुमनाम थियो । तर, साथीको चिन्तन र व्यवहारको आयाम भने कुनै पनि वैचारिकीअन्तर्गतको किन नहोस्, त्यसभित्र झिंगाको पित्त बराबरको मात्र पनि सत्य र उज्यालो लुकेको छ भने, त्यसलाई आम जीवनमा जोड्न लागिपर्ने खालको थियो । रूपचन्द्र विष्टजस्तै स्वनाम साथी आज धेरै वास्ता नगरिएको नाम हो । यो बेवास्ता गलत राजनीति र रैथाने चिन्तन प्रक्रियालाई डस्ने आयातित चिन्तनका कारण होइन, बरु आयातकर्ता बन्नुमा मात्र मख्ख पर्ने प्रवृत्तिका कारण संस्थागत भइरहेको हो । रैथाने वा आयातित सही वैचारकीलाई जीवनकरण गर्ने प्रक्रिया जब तीव्र हुनेछ, तब कम्युनिस्ट वा लोकतान्त्रिक धाराको प्रत्येक सच्चा मानवताको मुक्तिको पक्षधरले रूपचन्द्र विष्ट र स्वनाम साथीलाई खोज्ने र बुझ्ने सिलसिला पनि अवश्य अगाडि आउनेछ ।

मानिसलाई थाहा छ— मृत्यु स्वाभाविक वैज्ञानिक प्रक्रिया हो तर मानिसले कहिल्यै पनि मृत्युलाई सामयिक मान्न सकेन । जीवनको आनन्द र जीवितको सत्कर्मले नै मृत्युलाई सामयिक स्वीकार गर्न समाजलाई सधैँ गाह्रो हुँदै आयो । आजसम्म मारिएकाहरू वा मरेकाहरू सबै नै कसै न कसैका साथी थिए, स्वनाम साथी भने सबैभित्रको असल चीजको साथी थियो । उसको समीपमा एकाध पल बिताएका प्रत्येक मानिसले उसका निम्ति कम्तीमा एक कुरुवा आँसु बगाइदिन सक्छ तर ऊ भावुकताको व्यापारी थिएन । उसको सम्झनामा भावनात्मक उच्छवास भरिएका सयौँ पानाहरू पनि भरिँदै छन् आजभोलि तर ऊ भावनामाथि खेलबाड गरेर विजय रोज्ने खेलाडी थिएन । उसका निम्ति ‘महानता’ ठट्टाको विषय थियो, ‘त्याग’ निजी स्वार्थकै कालभैरवको भयानक अवतार अनि ‘योगदान’ चाहिँ ब्याजखोरको लालसा । साथीका निम्ति जीवन केवल एक सच्चा सरल साथी थियो । आफ्नो भागमा परेको दायित्व सधैँ पूरा गर्न तम्सिनु र प्राप्त चीजहरू सम्पूर्ण रूपमा भोग गर्नु नै जीवनको परिभाषा थियो । के त्यस्तो मानिसको सम्झना भावनामा बगेर आँसुमय बनाउनु सही होला ? मरेका मानिसका निम्ति उसको चर्चा शतप्रतिशत व्यर्थको कुरा हो । स्वनाम साथीकै तरिकामा मलाई पनि भन्न मन लाग्छ— मरेपछि मेरो लासलाई दुनियाँभरिको मानिसले थुके पनि वा लात्तीले गुल्ट्याए पनि केही फरक पर्दैन किनकि मेरो लास त म होइन । साथीको थोरै संगतले त यसरी सोच्न सिकाएको थियो भने उसकै बारेमा केवल भावनामा बगेर मात्र किन बोल्नु हामी साथीहरूले ? चिसोका विरुद्ध ऊ सधैँ न्यानो त थियो तर आगोमय अनिष्टका विरुद्ध नाइनलझैं पग्लिने होइन, कपासजस्तै अटेरी दृढ थियो किनभने ऊ मूलतः सैद्धान्तिक मान्छे थियो । त्यसैले जरुरी छ— अपरिचित र नयाँ पुस्ताका निम्ति उसको सम्झना उसैले नै अँगालेको सिद्धन्तकै कसीमा घोटेर उसलाई बुझ्ने र बुझाउने कोसिस गर्नु । हो, उसको बारेमा यही सिलसिलाको सुरुआत नै सही हुनेछ । श्रमजीवी र मानवताको सच्चा साथी बन्न असाधारण रूपमा कठोर थियो स्वनाम साथी, तब त्यही उद्देश्यका निम्ति उसमाथि पनि कठोर हुनु नै साथी बन्ने सच्चा प्रयत्न ठहरिनेछ ।

विसं २०४६ को परिवर्तनपछि, पाटनढोकाको गोप्य कोठामा पहिलोपटक भेट हुँदा पञ्चायतकालमा पार्टीमा सुमन नामले चर्चित व्यक्ति त्यही मानिस थियो जसले, नागरिकता मैत्रेयी बुद्ध लामाको नाममा बनाएको थियो । इन्जिनियरिङको पढाइ छाडेर पूर्णकालीन राजनीतिक जीवनमा छिटो हाम्फाल्नु नै शंकाको विषय बनाएर अनावश्यक पार्टीबाट सताइएको मसँग हात मिलाउँदै उसले भनेको थियो, ‘तपाईंमाथि हामीले अन्याय गरेका छौं साथी, गल्ती भाछ ।’ जिल्लास्तरीय साधारण कार्यकर्ता म तर ऊ त्यति बेलाको तिलस्मी केन्द्रीय नेता तर उसलाई विनम्रतापूर्वक गल्तीमा माफी माग्न आउँथ्यो । जब हामीसँगै सुतेथ्यौँ, म रातभरि सुत्न सकिनँ किनभने ऊ निदाउँदा यसरी घुर्ने र श्वास फेर्ने गर्थ्यो कि डर लाग्थ्यो । अरू साथीबाट थाहा भयो कि साथी त मेरुदण्ड सुक्दै जाने अनि दमको रोगबाट ग्रस्त हो, डाक्टरहरूले अब बढीमा दस वर्षको आयु बाँकी छ भनेको पनि सात वर्ष भयो । त्यो बेला पाँच कम्युनिस्ट पार्टीबीच एकता भएर नेकपा (एकता केन्द्र) बनाउने माहोलमा ऊ गज्जबले प्रफुल्ल भएर सक्रिय थियो । उसबारेको उत्सुकतासँगै थाहा भयो— त्यो मान्छेको वास्तविक नागरिकताको नाम शशी शेरचन हो । उसको प्रेमिकासँग विछोड हुँदा कलंकीका राजथला साथीको घरमा रगतको टीका लगाइदिएर प्रेमिकालाई उसले बिदा गरेको थियो । धेरैलाई आज पनि राजनीतिक वृत्तमा मतलब छैन कि उसले पहिलोपटक इतिहासमा आफूभन्दा जात र औपचारिक डिग्रीमा धेरै पछि रहेका रूपलाल विश्वकर्मालाई कामको आधारमा २०३८ सालमा सर्वहारावादी श्रमिक संगठन, नेपाल बनाउँदा नेता स्वीकार गरेको थियो । आज पनि पार्टीमा दलित कार्यकर्ताको नेतृत्व असम्भव लाग्ने अवस्था छ भने, चालीस वर्षअघि दलित नेतृत्वलाई स्वीकार गर्नु साथी सुमनको अकल्पनीय सामाजिक दिशाबोध थियो । आफ्नो ठोस सोचसहितको दिशाबोधबारे आफैँले कहिले जिकिर नगर्ने साथीको स्वभाव बुझ्न अझै कति समय लाग्ने हो भन्न गाह्रो छ ।

जब कम्युनिस्ट पार्टीहरू एकताबद्ध हुन्थे, उसको संगठित सक्रियता प्रफुल्ल देखिन्थ्यो । विसं २०४७ मा नेकपा (एकता केन्द्र) बन्दा या पछि नेकपा (एकता केन्द्र –मसाल) बन्दा होस् । तर, पार्टीहरूबीच फुट हुँदा उसको सक्रियता जरा उखेलेको फर्सीको लहराजस्तै बन्थ्यो । विचार र कार्यदिशामा क्रान्तिकारी कित्तामा समर्थन गरे पनि ऊ नियमित पार्टीको कार्ययोजनामा होइन, बरु आफ्नै सक्रियताको मनलाग्दी कार्यमा सक्रिय बन्न पुग्थ्यो । ऊ कहिले समलिंगी अधिकारको वकालतमा व्यस्त हुन्थ्यो, कहिले यौन व्यवसायी महिलाहरूको घाउमा मल्हम लगाइरहेको हुन्थ्यो । कम्युनिस्ट पार्टीका निम्ति कुनै सूचीमा नपरेका ती विषयमा काम गर्दै पार्टीको नियमित कार्ययोजनाबाट अलग भइरहँदा पनि पार्टीले उसको अलग कर्ममाथि कहिल्यै एउटा प्रश्नसम्म उठाउँन सक्तैनथ्यो । नेपाली समाजको सबैभन्दा पिँधको दलित र वनमान्छे ठानिने चेपाङका बीच कम्युनिस्ट कर्म एकाकार गराउने क्रममा कमरेड शब्दलाई ‘साथी’ मा ऊ हितका साथीहरूले रूपान्तरण गरेका थिए । पञ्चायतकालमा कमरेडको सट्टा पार्टीमा उनीहरूले सहयोद्धालाई साथी सम्बोधन गरेका थिए । कमरेडको सट्टा साथी शब्द गज्जब सुहाउँदो थियो नेपालीपनका लागि तर कसैले ध्यान दिएनन्, त्यसैले सायद आफ्नो नाम नै उसले स्वनाम साथी बनायो । उसका प्रयत्नहरू रैथाने जीवन व्यवहार र क्रान्तिका निम्ति थिए तर उसले बुझाउन सकेन, साथीहरूले बुझ्न पनि सकेनन् । यस क्रममा क्रमशः पार्टीको कार्ययोजना लागू नगर्ने नेता बन्दै गयो । अचम्मको कुरा त पार्टीको कार्ययोजना लागू नगरे पनि, पार्टीभित्र कुनै ठोस जिम्मेवारी नलिए पनि पार्टीमा सम्मानित नेता वा कमिटीमा समेत रहिरहने व्यक्तित्व बनिरह्यो । पार्टी योजनामा जिम्मेवारी वहन नगरे पनि बिनाप्रश्न सम्मानित नेता बनिरहने स्थिति यसकारण बनिरह्यो कि उसले उठाउने जायज प्रश्नहरूको उत्तर दिने ल्याकत पार्टीको कुनै नेतासँग थिएन । आन्दोलनको यसप्रकारको हविगतले गर्दा शशी शेरचन उर्फ सुमन उर्फ स्वनाम साथी तत्कालीन कार्यनीति र कार्यदिशाको नेता कम बरु सिद्धान्त एवं आदर्शको नेता मात्र साबित हुने वातावरण बन्दै गयो ।

भारतमा बसेर नेपालमा राजनीति गर्ने विसं २०४० वरपरको समयमा क्रान्तिका निम्ति रूपलाल विश्वकर्मा र स्वनाम साथीहरूले गुल्मीको पुर्तीघाटको बैंक कब्जा गरेका थिए तर पूर्ण रूपमा सफल हुन सकेन । त्यसपछिको पञ्चायतको दमन अनि रोगी शरीर स्वनाम साथीका निम्ति डरलाग्दो समय साबित भयो । उसको नेता रूपलाल विश्वकर्मा त पिँधमै खेलेर हुर्केकाले पिँधमै घुलमिल भएर टिक्यो । स्वनाम साथी त माओले चीनबाट गरेको सर्वहारा सांस्कृतिक क्रान्तिको आह्वानबाट विश्वविद्यालय च्यातेर निस्केको थियो । ऊसँगै विश्वविद्यालय छाड्नेहरू कोही लेख्ने बहानामा काठमाडौंमा घडेरी खोज्न त कोही अन्य बहानामा क्रान्तिको कष्टकर मोर्चाबाट भागिसकेका थिए । जो बाँकी थिए, उनीहरू पनि पैतृक सम्पत्तिसहित थिए । एक्लो त केवल स्वनाम साथी थियो, जोसँग न निजी सम्पत्ति थियो, न स्वस्थ शरीर, न नै हार मान्न तयार क्रान्तिकारी जिन्दगी । भन्ने गरिन्छ— शरीर खास केही होइन, तर भौतिकवादी भएर भोग्दा शरीर छैन भने अरू केही पनि होइन । भौतिक शरीर जर्जर, परिवारसँग सम्बन्धविच्छेद, प्रिय साथीहरूको क्रान्तिकारी जीवनबाट पलायन, पार्टी संकटग्रस्त तर श्रमजीवी वर्ग र मानवताका निम्ति निरन्तर लड्ने चाहना । यही भयानक यथार्थका बीचबाट नै जन्मिन पुग्यो— असाधारण विनम्र स्वनाम साथी । उसको विनम्रता बाँचेर अगाडि बढ्न बेइमानी दुनियाँका अगाडि रचिएको विवश एक कलाबाट उत्पन्न थियो वा अरू नै केही थियो ? किटेर भन्न निकै गाह्रो छ ।

चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिको आदर्शलाई पछ्याएर स्वनाम साथीहरूले निजी सम्पत्ति क्रान्तिका निम्ति अर्पेर सम्पूर्ण रूपमा सर्वहाराकरण हुने निर्णयलाई लागू गरेका थिए । तर, निर्णयमा सहीछाप गर्ने अरू सबैजसो निजी जोगाडतिरै अन्ततः फर्किए तर ऊ फर्केन । निजी जीवनलाई भत्काएपछि सामाजिक जीवनको ठोस ढाँचा के हुने भन्ने प्रश्नको उत्तरबिना नै गरिएको सर्वहाराकरण यो साथीका निम्ति सबैभन्दा महँगो साबित भएको थियो । निर्णय र निष्ठामा अडिक रहेको उसको व्यक्तित्वले सम्मान त आर्जन गरिरहेको हुन्थ्यो तर द्वैनन्दिनको भौतिक अभावको जाँतोले उसलाई हरेक पल रेटिरहन्थ्यो । बडा बडा नेता विद्वान्हरू दिनभरि ऊसँग गफिन्थे तर साँझ परेसँगै ऊ कहिले पार्टी अफिसकै एउटा कुनामा या कुनै व्यापारी साथीको कम्प्युटर कोठामा लम्पसार पर्न बाध्य हुन्थ्यो । यो एक महिना, एक वर्षको कुरा थिएन बरु लगातार दर्जनौं वर्षको कहर थियो । निजी सम्पत्ति र निजी पद प्राप्तिको घीनलाग्दो रछ्यानजस्तो बन्न पुगेको कम्युनिस्ट आन्दोलनमा सोनाम साथी भीषण अभावका बीचमा पनि एउटा निरीह पात्र बन्न पुगेन बरु सधैं अरूलाई केही न केही दिइरहन सक्ने अनौठो दृष्टान्त बन्न सफल भयो । यस अर्थमा स्वनाम एउटा साथी मात्र होइन सन्त थियो ।

माओवादी पार्टीको नेतृत्वमण्डलीमा सैद्धान्तिक र सांस्कृतिक रूपमा आएको तीव्र स्खलनको रापले त्यो सन्त साथीलाई पनि लपेट्न खोज्यो । कहिले कतैबाट आएको ठूलो धनराशिको सेयर उसको नाममा जम्मा गरिन्थ्यो । यस्तो समयमा धेरैजसो बैठकमा पछाडि बस्न रुचाउने उसलाई नेताहरू ‘अगाडि आउनुस्, अगाडि...’ भनेर बोलाइरहन्थे । साथीका निम्ति जति पैसाको मामला भए पनि कुनै वास्ताको विषय थिएन तर कतै हडप्ने पो हो कि ठानेर उसलाई अरू नै बहानामा देशबाहिर लगेर जबरजस्ती धम्क्याएर ऊबाट सेयर अर्को व्यक्तिको नाममा नामसारी गर्नेसम्मका काम भए । आन्दोलनमा आएको भयानक विसंगतिबाट के एउटा व्यक्ति सम्पूर्ण रूपमा बच्न सम्भव थियो ? कदापि थिएन । भन्न त ठट्टाकै भाषामा उसले भनेको थियो— विवाहको नाटक गरियो । तर, विवाह संस्थाकै विरोधमा रहेको सन्तको जीवनमा विवाह एउटा तिखो विसंगतिको प्रवेशबाहेक अरू केही थिएन । पुँजीवादमा लिप्त आफ्नो पार्टीका नेताहरूलाई उसले ‘साहु कम्युनिस्ट’ नामकरण गरी कित्ता प्रस्ट त पार्‍यो तर साहु कम्युनिस्टहरूसँग सम्पूर्ण रूपमा सम्बन्धविच्छेद गर्न सकेन । सन्त जीवनको यो अर्को टिठलाग्दो विसंगति थियो । इन्जिनियर प्रेमिका किरण गौतमसँग सँगै बस्न थालेपछि र पुरानो परिवारको पनि आर्थिक हालत हल्का सुध्रिएपछि धेरैले आशा गरेका थिए— सन्त फेरि नयाँ युगको क्रान्तिको रणनीतिमा संगठित हुन सबैलाई आह्वान गर्दै अगाडि आउनेछ तर त्यसो हुन सकेन । उसलाई त्यसो गर्न केले अल्झायो, पत्तै भएन । माओवादी पार्टीको बैठक सकिएपछि सबै नेताहरू आ–आफ्ना गाडीहरू स्टार्ट गर्न थाल्थे तर सर्वहाराकृत स्वनाम साथी भने एउटा सानो झोला हातमा झुन्ड्याएर तर्सिएको साङ्लोजस्तै आज कता जाने भन्ने ध्याउन्नामा पार्टीको आँगनमा पैदल सल्बलाइरहेको हुन्थ्यो । स्वनाम साथी व्यक्तिको त मृत्यु भयो तर उसले भीषण आँधीको बीचमा पनि आफ्नो प्रवृत्ति जोगाएर क्रान्तिकारीहरूका हातमा थमाइदिन सफल भयो । निश्चय पनि व्यापक श्रमजीवी र मानवताको मुक्तिका निम्ति सम्पूर्ण रूपमा समर्पित रहने त्यो प्रवृत्ति व्यक्ति स्वनामजस्तै आज मधुरो साँझमा कम्युनिस्ट गन्तव्य खोजेर सल्बलाइरहेको छ ।

प्रकाशित : माघ ३, २०७७ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्

रामापिथेकश : आदिमानवको उत्थान र पतनको आख्यान

जब अन्यत्र रामापिथेकश मानव वंशजको आदिपुर्खाको लाइनबाट ओर्लेर आफ्नो समूहमा (ओराङ्ओटान) फिर्ता हुँदै थियो, नेपालमा बल्ल रामापिथेकसको जीवाश्मा भेटिएको थियो । र, उसलाई आधुनिक मानव र अपुच्छ बाँदरलाई जोड्ने ‘सेतु प्राणी’ को रूपमा स्थापित गरिँदै थियो ।
विकास बस्नेत

सन् १८६० को जुनमा चार्ल्स डार्बिनको ‘ओरिजिन अफ स्पेसिस’ बजारमा आएको सात महिना मात्रै बितेको थियो । भिक्टोरियन समाजका उपल्ला तहका करिब पाँच सय भद्र–भलाद्मी ब्रिटिस एसोसिएसनको भेलामा पछिल्लो वैज्ञानिक उपलब्धिबारे विमर्श सुन्न भेला भएका थिए । भेलाको चौथो सत्रमा पोडियममा विशप स्यामुयल विल्वरफोर्स पुगे । माइकमा बोल्न सुरु नगर्दै उनले डार्बिनको विकासवादविरुद्ध धाराप्रवाह बोल्न थाले । हलभित्रको भीडको ठूलो हिस्सा डार्बिनविरुद्ध थियो । 


भीडले मुग्ध भएर विशपको तर्क सुन्यो । आफ्नो तर्कमा श्रोता मुग्ध भएको देखेर हौसिँदै अन्त्यमा विशपले थोमस हक्स्ले (आरम्भदेखि नै डार्बिनका कट्टर समर्थक र प्रवक्ताका रूपमा उनलाई डार्बिनको बुलडगसमेत भनिन्छ) तर्फ हेर्दै ब्यङ्ग्यात्मक शैलीमा सोधे, ‘साँच्चै उनका घरतिर कि मावलीतिरका पुर्खाचाहिँ बाँदरबाट जन्मेका रे ?’

त्यसपछि सभा स्तब्ध भयो । हक्स्लेले आफ्नो तिघ्रामा हत्केला बजारे र छेउमा बसेका अर्का वैज्ञानिकतर्फ हेर्दै भने, ‘धन्न भगवान्ले यो बूढोलाई जोरी खोज्न मैकहाँ पठाएछन् !’

सभा तालीको कर्तल ध्वनिले गुन्जिरहेकै थियो । उनको समर्थनमा सेता रुमाल हावामा हल्लिरहेका थिए । मञ्चमा हक्स्लेको नाम उद्घोष भयो । कालो लङ्कोटमा सजिएका, अग्ला र भव्य व्यक्तित्व भएका उनले पोडिएममा पुगेर माइक समाते । आफू केवल विज्ञानका खातिर मात्रै उपस्थित भएको बताउँदै उनले प्राणी र वनस्पतिको यो विविधताको व्याख्या डार्बिनको सिद्धान्तले मात्रै गर्न सक्ने दाबी गरे । साथै विज्ञानबारे विशपको अज्ञानताको आलोचना गरे । तर्कको अन्तिममा गहिरो आवाज र गम्भीर टोनमा विशपलाई उनले मुखभरिको जवाफ फर्काए, ‘मलाई बाँदरको सन्तति हुनुमा लाज छैन बरु आफ्नो ज्ञानलाई अफवाह फैलाउन प्रयोग गर्ने मान्छेसँग नाता छ भन्नु लाजमर्दो कुरो हो ।’ (एप्स, एन्जेल्स एन्ड भिक्टोरियनस्, विलियम इरभाइन) ।

ईश्वरको ‘विशिष्ट’ रचनाबाट मानवलाई उद्विकासकै शृंखलाको एक संयोगको रूपमा जोड्नु नै विशपको माथिको आक्रोशको कारण थियो । अपमानकै रूपमा सही मानवसँग व्यवहार र संरचना मिल्ने बाँदरबीच पहिलोपटक सम्बन्धको साइनो गाँसिएको थियो ।

यद्यपि डार्बिनले ‘ओरिजिन अफ स्पेसिस’ मा मानव उद्विकास र उसको इतिहासबारे जम्मा एक लाइन मात्रै लेखेका छन्, ‘मानव जातिको जन्म र उसको इतिहासबारे बिस्तारै प्रकाश पारिनेछ ।’ आफ्नो ‘म्याग्नम ओपस’ कृतिको छैटौं संस्करणसम्म पुग्दा यो विषयमा डार्बिनले जम्मा एक शब्द मात्रै थप्ने हिम्मत जुटाएका थिए, ‘मानव जातिको जन्म र उसको इतिहासबारे थप प्रकाश पारिनेछ ।’

मानव पुर्खामाथि डार्बिनको मौनता बुझ्न कठिन छैन । भिक्टोरियन धार्मिक र रूढी समाजले मान्छेलाई ईश्वरको विशिष्ट रचना ठान्थ्यो । त्यो समाज (साथमा आफ्नी असाध्यै धार्मिक भावनाकी पत्नी) लाई चिढ्याउन नचाहेकाले डार्बिन यस विषयमा चुप बसेको ठान्छन् विज्ञहरू । (द ग्रेटेस्ट सो अन अर्थ, रिचार्ड डकिन्स) ।

तर, टीएच हक्सले हठी र आँटिला थिए । उनले कुरो चपाउन सकेनन् र सन् १८६३ मा ‘एभिडेन्स एज टु म्यान्स् प्लेस इन नेचर’ प्रकाशित गरे । पहिलोपटक यसै किताबमार्फत मान्छेको नजिकको नातेदार प्राणी अपुच्छ बाँदर हुन सक्छ भन्ने वकालत गरे ।

डार्बिन आफैँले चाहिँ बल्ल सन् १८७१ मा आएर हिम्मत जुटाए । त्यस साल उनको किताब ‘द डिसेन्ट अफ म्यान एन्ड सेलेक्सन इन रिलेसन टु सेक्स’ प्रकाशित भयो । विषयको गाम्भीर्यता बुझेका डार्बिनले बल्ल आएर आफ्नो पुस्तकको अन्तिम परिच्छेदमा घोषणा गरे, ‘यसरी चार हात–पाउ टेकेर हिँड्ने अपुच्छ बाँदरबाट मान्छेको जन्म भएको हो ।’ त्यसबेला जर्मनीको नियान्डर उपत्यकामा नियान्डरथल मानवको मात्रै जीवाश्मा फेला परेको थियो । उनले हाल अस्तित्वमा रहेका अपुच्छ बाँदरहरूको अवलोकनको आधारमा अफ्रिकी अपुच्छ बाँदर (अफ्रिकन एप परिवारका चिम्पान्जी र गोरिल्ला) नै अहिलेका मान्छेको सबैभन्दा नजिकका नातेदार हुन् भन्ने तर्क गरे । डार्बिनले भविष्यवाणी नै गरिदिए, ‘यदि आदिम मानवको जीवाश्मा खोज्ने हो भने अफ्रिका महादेश नै उपयुक्त स्थान हुन सक्छ ।’ (ह्युमानिमल, आदम रुदमफोर्ड) ।

तर, डार्बिनले जति नै जोड गरे पनि उनका शिष्यहरूले भने मानव पुर्खाको खोजीमा एसिया र युरोपलाई प्राथमिकता दिए । डार्बिनकै समकक्षी अर्का विख्यात जीव वैज्ञानिक अर्नेस्ट ह्याकलले पनि यसमा प्रभाव पारे । अफ्रिकीभन्दा पनि एसियाली अपुच्छ बाँदर (ओराङ्उटान र गिब्बन) नै मानिसका सबैभन्दा नजिकका नातेदर हुन सक्छन् भन्ने उनको विश्वास थियो । (लोन सर्भाइभर, क्रिस स्ट्रिङ्गर) ।

नभन्दै आदिम मानव पुर्खा र अपुच्छ बाँदरलाई जोड्न सक्ने सेतु जीवाश्मा भेटिने पहिलो थलो हुन पुग्यो– एसिया । अगस्ट १८९१ मा युजेन डुब्बा र उनको समूहले जाभा प्रायद्वीपको ट्रिनिल गाउँ भएर बहने सोलो नदीले कटान गरेको बगरमा आदिमानव स्वरूपको बँगारा भेट्यो । उनले यसको नामकरण गरे– ‘पिथेकान्थ्रोपस इरेक्टस ।’ जाभा म्यान नामले समेत चर्चित यो जीवाश्मा पछि मानवकै अर्कै प्रजाति ‘होमो इरेक्ट्स’ को प्राप्त पहिलो जीवाश्माको रूपमा प्रमाणित भयो । तर, १८९० को दशकमा यस विषयमाथि व्यापक विरोध भयो । धेरैले यसलाई कुनै अपुच्छ बाँदरको जीवाश्मा ठाने । डुब्बा निराश भए । पछि उनी चिढिन थाले । आफ्नो काम र जीवाश्माको नमुनालाई उनले गोप्य राख्न थाले । (आवर ह्युमन स्टोरी, क्रिस स्ट्रिङ्गर) ।

सन् १९२४ मा अस्ट्रेलियन एनाटोमिस्ट रेमन्ड डार्ट अफ्रिकामा रहेका बेला उनको ढोकामा कसैले एउटा काठको बाकस ल्याएर छाडिदियो । बाकसभित्र चुनढुङ्गामा खिपिएको मानव खप्परको जीवाश्मा थियो । सन् १९२५ मा डार्टले उक्त जीवाश्माको नामकरण गरे– ‘अस्ट्रालोपिथेकस अफ्रिकानस ।’ जाभा मानवभन्दा यो जीवाश्मा प्राचीन थियो । सन् १९२९ मा क्यानेडेली युवा डेभिड्सन ब्ल्याकले चीनमा एक खप्परको जीवाश्मा फेला पारे । पेकिङ मानवको नामले चर्चित यो जीवाश्मा जाभा मानवसँग मिल्दोजुल्दो भए पनि उनले यसको फरक न्वारान गरे– ‘सिनाथ्रोपस पेकिनेन्सिस ।’ तुलनात्मक रूपमा डार्टको दक्षिण अफ्रिकी जीवाश्माभन्दा यसले चर्चा पायो । रंगभेदी नजरले अफ्रिकाभन्दा एसिया मानव वंशलाई आरम्भको थलो स्विकार्न सहज मान्यो । पहिलो अन्योल आदिम मानव उद्विकासको स्थानलाई लिएर थियो ।

यस्तैमा सन् १९६७ मा ब्रायन प्याटरसनले पनि मानव पुर्खाको नयाँ जीवाश्मा फेला पारेको घोषणा गरे । जनवरी– १४ को ‘द न्युयोर्क टाइम्स’ को कभर पेजमा छापियो– ‘मान्छेजस्तै प्राणीको अहिलेसम्म प्राप्त सबैभन्दा पुरानो जीवाश्मा ।’ पोटासियम आर्गन डेटिङको आधारमा यो जीवाश्मा २५ लाख वर्ष पुरानो ठहर्‍याइएको थियो । ठीक त्यही दिन ‘लिजेन्ड फोसिल हन्टर’ ६३ वर्षीय लुइस लिकीले आफूले फेला पारेको जीवाश्माबारे जानकारी दिन उता नैरोवी नेसनल म्युजियममा पत्रकार सम्मलेन गर्दै थिए । ८ थान प्राणीका केही दाँत र बंगाराको प्रमाणसहित उनले सम्मेलनमा घोषणा गरे, ‘यो सम्भवतः मानव पुर्खाको सबैभन्दा पुरानो प्रमाण हो ।’ उनको दाबीअनुसार, उक्त जीवाश्मालाई लोप भएको कुनै अपुच्छ बाँदरको नभएर मानवतर्फकै वंश मान्ने हो भने मानिस र अपुच्छ बाँदरका पुर्खा एकआपसमा छुट्टिएको समयकाल कम्तीमा २ करोड वर्षअगाडि हुने देखियो । लिकीको दाबीलाई थप पुष्टि नगरी भोलिपल्टै सन् १९६७ जनवरी १५ मा ‘द न्युयोर्क टाइम्स’ ले घोषणा गर्‍यो, ‘मान्छेको पुर्खा करिब १ करोड ९० लाख वर्ष पुरानो ।’ (द फोसिल ट्रेल, इयान टाटरसल) ।

रोचक त के थियो भने अघिल्लो दिन र त्यसकै भोलिपल्टको समाचारले सबैभन्दा आदिम मानव भनेर दाबी गरिएका जीवाश्माबीचको अन्तर एक करोड ६५ लाख वर्षको थियो ।

सन् १९६० को पूरै दशक र ७० को दशकको आरम्भमा मानव उद्विकासको इतिहासको अन्वेषणमा लागेका जीवाश्माशास्त्रीहरूले झेलेको यो उल्झनलाई त्यो दुई दिनको समाचारको शीर्षकले प्रतिविम्बित गर्छ ।

अपुच्छ बाँदरसँग मानव पुर्खा छुट्टिएको समय करोडौं वर्षअगाडि हो या केही लाख वर्षअगाडि हो भन्ने दोस्रो अन्योलको विषय थियो । उद्विकासको अध्ययनमा लागेका विज्ञहरूमा आदिम मानव र ग्रेट एप (अपुच्छ बाँदर) साझा पुर्खाबाट छुट्टिएको करिब २ करोड वर्षअगाडि हो भन्ने पढेर विश्वास व्याप्त थियो । (द रियल प्लानेट अफ द एप्स, डेभिड आर बिगन) ।

उता मान्छे र अपुच्छ बाँदरको समेत, पुर्खा अर्थात् प्राचीन अपुच्छ बाँदरको जीवाश्मा भने अफ्रिकामा २ करोड ३० लाख वर्षदेखि देखि १ करोड १७ लाख वर्षअगाडिसम्मका फेला परे । १ करोड १७ लाख वर्षयता भने आजभन्दा न्यानो मौसम भएको एसिया र युरोपभरि तिनका जीवाश्मा भेटिए । १९६० को दशकमा एसिया र युरोपमा समेत अपुच्छ बाँदरका पुर्खाहरूको पर्याप्त जीवाश्मा भेटिन थाले । अपुच्छ बाँदरका दर्जनौं प्रजातिमध्ये कुनचाहिँ एक प्रजातिबाट आदिम मानवको उद्विकासको लाइन सुरु भयो त ? तेस्रो अन्योल यही थियो ।

रामापिथेकसको प्रवेश

यिनै अन्योल र उल्झनको पृष्ठभूमिमा मानव उद्विकासको रंगमञ्चमा रामापिथेकस सम्भावित पहिलो मानव प्रजातिको रूपमा प्रवेश गरेको थियो । माथि उल्लिखित अन्योल सुल्झाउन १९६० को दशकमा युवा अमेरिकी इल्विन साइमनस अगाडि बढे । फिल्ड वर्करका रूपमा भयंकर ख्याति कमाएका उनी जीवित प्राइमेटहरूको अध्ययन र जीवाश्मा खोजीका लागि इजिप्ट, मडागास्कर, भारत, इरान र नेपालमा करिब ९० भन्दा बढी अन्वेषणमा हिँडिसकेका थिए । रिसर्चरको रूपमा याले विश्वविद्यालयमा अध्ययन आरम्भ गर्दा पहिलोपटक रामापिथेकसको जीवाश्मा सम्पर्कमा आएका हुन् ।

त्यसो त साइमनसले रामापिथेकशलाई पुनर्जीवन दिएका थिए भने पनि हुन्छ । किनभने यो जीवाश्मालाई ३० वर्षपहिले सन् १९३२ मा जी. एडवार्ड लेविसले भारतको शिवालिक पर्वतमा भेटेका थिए । उनले त्यसको नामकरण हिन्दु देवता रामको नाममा ‘रामापिथेकस ब्रेभिरोस्ट्रिस’ गरेका हुन् । प्रजाति नामका लागि उनले ल्याटिन शब्दचाहिँ अझ अर्थपूर्ण रोजेका थिए । यसको अर्थ हो– छोटो थुतुनो । अपुच्छ बाँदरको अगाडि उछिट्टिएको थुतुनोको तुलनामा यो जीवाश्माको थुतुनो मान्छेको झैँ अलि छोटो थियो । सन् १९३४ को आफ्नो डक्टरल थेसिसमा उनले रामापिथेकसलाई आदिम मानव ठहर्‍याउँदै होमो स्यापियन्स उसको एक मात्र जीवित सन्तति हो भन्ने दाबी गरे । (इल्विन साइमनस, साइन्टिफिक अमेरिकन, सन् १९७७ मे) ।

यसले एकखाले हलचल ल्याइदियो । रेमन्ड डार्ट र युजेनको जीवाश्माझैं उनको यो दाबी ठाडै अस्वीकार भयो । उनी पनि निराश बने र याले विश्वविद्यालय छोडे । उनले रामापिथेकसतर्फ फर्केर पनि हेरेनन् ।

साइमनस यालेमा प्रवेश गर्दा रामापिथेकसको जीवाश्मा मान्छेको स्मृतिबाट हराइसकेको थियो । लेविसका उपकरण र अन्य सामग्री अझै विश्वविद्यालयमै थिए । लेविसले तयार पारेको शोधपत्र र रामापिथेकसको जीवाश्मा अध्ययन गर्नेबित्तिकै साइमनसले लेविसको परख बुझिहाले । उनका अगाडि एउटै यक्षप्रश्न थियो– ८० देखि ९० लाख वर्ष पुरानो यो जीवाश्मा मानव पुर्खाको हो या लोप भइसकेको कुनै अपुच्छ बाँदर पुर्खाको हो ?

प्रिन्सटन र अक्सफोर्डबाट जीवाश्माशास्त्र र मानव एनाटमीमा दुई थान पीएचडी हासिल गरेका साइमनस यो उल्झन सुल्झाउन उपयुक्त पात्र थिए । अक्सफोर्डमा रहँदा त्यसबेलाका स्टार जीवाश्माशास्त्रीले ग्रोस क्लार्कको छाप उनमा परेको थियो । त्यसबेलाका धेरै अध्येताझैँ उनी पनि दुई खुट्टाले टेकेर हिँड्नु मानव प्रजातितर्फको यात्राको सुरुआत हो भन्ने विश्वास गर्थे । तर, कम्मर र त्यसभन्दा तलको शरीरको भागको प्राचीन जीवाश्मा फेला परेको थिएन । त्यसैले उनले अपुच्छ बाँदरबाट आदिम मान्छे छुट्टिएको समयकालमा आदिम मानवको दाँत र खप्परको बनावटमा देखिन सक्ने सम्भावित गुणहरूको सूची बनाए ।

मुख बन्द गर्दा तल्लो तल्लोपट्टिको दाँतमा नजुध्ने गरी माथिल्लोपट्टिको सानो कुकुर दाँतलाई ले ग्रास क्लार्कले आदिम मानवको दाँतको विशेषतामा राखे । अहिले पनि जीवाश्मा मानवशास्त्रीहरू सानो र तल्लो समानान्तर दाँतसँग नजुध्ने कुकुर दाँतलाई नै मानव प्रजाति छुट्याउने आधार मान्छन् । साथै दाँतको लहरको बनोट मान्छेमा पछाडि फराकिलो हुँदै अगाडि अंग्रेजी भी आकारको हुन्छ भने अपुच्छ बाँदरको अंग्रजी अक्षर यु आकारको हुन्छ । यसलाई पनि मानव पुर्खा र अपुच्छ बाँदरको पुर्खा छुट्ट्याउने आधार बनाइयो । (फोसिल मेन, केरमिट प्याटिसन) ।

उनै क्लार्कको मापदण्डलाई आधार मानेर साइमनसले रामापिथेकस जीवाश्माको अध्ययन आरम्भ गरे । सबै मापदण्डको आधारमा लेखाजोखा गर्न मुस्किल थियो । उनीसँग जीवाश्माको नाममा च्यापु र माथिल्लो बँगाराको दुई टुक्रा मात्रै थियो । उपलब्ध जीवाश्माको आधारमा अध्ययन गर्दा उनले रामापिथेकसको कुकुर दाँत तुलनात्मक रूपमा सानो पाए, दाँतको इनामेल बाक्लो र बंगारा अपुच्छ बाँदरको भन्दा पृथक् र वर्गाकार थियो । च्यापुको पूरै भाग थिएन । साइमनसले उपलब्ध सानो भागको आधारमा च्यापुको सम्भावित आकारको पुनर्निर्माण गरे । उनको निर्माणमा च्यापु धनुषाकार र दाँतको लहर अपुच्छ बाँदरको जस्तो अंग्रजी यु आकार नभएर मान्छेको झैँ अंग्रजी भी आकारको देखियो ।

यही आधारमा सन् १९६१ मा उनले रामापिथेकस मानव लाइनको हालसम्म उपलब्ध सबैभन्दा प्राचीन प्रजाति भनेर घोषणा गरे । यसले तरंग ल्याइदियो । यही लाइनको तर्कमा क्याम्ब्रिज विश्वविद्यालयका डेभिड पिलविम पनि उत्रिए । त्यसपछिका एक दशकसम्म दुवैले यही पुष्टि गर्न दर्जनौं शोधपत्र प्रकाशित गरे ।

वैज्ञानिक समुदायले रामापिथेकस मानव वंशकै शृंखलाको प्राणी हो भन्ने स्विकार्‍यो । संसारका अन्य भागमा पनि रामापिथेकसको जीवाश्मा भेटिन थालेपछि साइमनस र पिलविमले रामापिथेकसका थप सम्भावित गुण/चरित्रहरूको व्याख्या गरे– रामापिथेकस औजार प्रयोग गरी आहारा जुटाउँथ्यो । औजार प्रयोगका कारण उसको कुकुर दाँत बिस्तारै सानो हुन थाल्यो, औजार प्रयोगमा हातको प्रयोग भएपछि रामापिथेकस दुई खुट्टाले मात्रै टेकेर हिँड्न थाल्यो र बिस्तारै आधुनिक मानवको गुणको उद्विकास भयो । (बोन्स अफ कन्टेन्सन, रोजर लेविन) ।

यसरी रामापिथेकस सर्वप्राचीन आदिम मानवको रूपमा सेलिब्रटी बनेर लाइमलाइटमा उदायो । सन् १९६० को दशकमा आदिमानवको रूपमा रामापिथेकसको उचाइमा पुग्यो । लगभग गुमनाम भएको जीवाश्मामा पिलबिम र साइमनसले भएभरका मानव गुण– सानो कुकुर दाँत, छोटो थुतुनो, धनुषाकार दाँतको लहर, बंगारामा बाक्लो इनामेल आरोपित गरे । रामापिथेकसलाई औजार प्रयोग गर्ने र सामाजिक प्राणीको रूपमा उचाइमा चढाए । (उही रोजर लेविन) ।

फ्रान्सिस क्लार्क हावेलको ‘अर्ली म्यान’ पुस्तकको पेजहरूमा रामापिथेकस दुई खुट्टा टेकेर उभियो । सन् १९६६ मा प्रकाशित चर्चित पाठ्यपुस्तक ‘ह्युमन इभोलुसन’ ले रामापिथेकसको तत्कालीन हैसियतको प्रचलित सार खिच्दै लेख्यो, ‘यो जीवाश्माको नमुनालाई दूरदराजबाट सुरुआत भएको मानव प्रजातिको आरम्भ विन्दुमा बिनाहिचकिचाहट राख्न सकिन्छ ।’ यसैको आधारमा मानववंशको आरम्भ कम्तीमा पनि एक करोड पचास लाख वर्षपहिले भएको हो भन्ने ढुक्कले भन्न सकिन्छ ।

रामापिथेकशको अवरोह

कुनै स्टार कलाकारको अधोगतिझैं रामापिथेकसलाई पनि लाइमलाइटबाट ओर्लिन समय लागेन । सन् १९६४ को एउटा सेमिनारमै त्यसबेलाका चर्चित मानवशास्त्री सेरवुड वासबर्नले रामापिथेकसको मानव पुर्खाको हैसियतबारे प्रश्न उठाइसकेका थिए । सेमिनारमा वर्कले विश्वविद्यालयका अपुच्छ बाँदर र मानव पुर्खाको अध्ययन गरिरहेका विद्यार्थी भिन्सेन्ट सारिक पनि थिए । अपुच्छ बाँदरबाट मान्छेको पुर्खा छुट्टिएको कालखण्ड १ करोड ५० लाख वर्षअगाडि नै हो भन्ने मान्न वासबर्न तयार थिएनन् । अपुच्छ बाँदरको शारीरिक संरचना–व्यवहारको गहन अध्ययन गरेका उनले मान्छे र अफ्रिकी अपुच्छहरूको व्यवहार– शारीरिक संरचनामा धेरै समानता भेटेका थिए । मान्छेमा आएको भिन्नता केवल पछिल्लो २० लाख वर्षभित्रमा मात्रै आएको हो र मानव पुर्खा अपुच्छ बाँदरको पुर्खाबाट करिब ४० लाख वर्षअगाडि मात्रै छुट्टिएको हुनुपर्छ भन्ने उनको तर्क थियो । साथै वासबर्न नै पहिलो बायोलोजिस्ट हुन्, जसले बिस्तारै विकास हुँदै गरेको आनुवंशिक अध्ययनको प्रविधि प्रयोग गरेर मान्छे र अपुच्छ बाँदरको विविध प्रजातिबीचको सम्बन्ध कति नजिक या टाढा छ भनेर अध्ययन गर्न सकिन्छ भनेर सुझाए ।

सारिक त्यो सेमिनारमा हुनु एक सुखद संयोग बनिदियो । रसायनशास्त्रमा समेत दीक्षित सारिक मानव र अपुच्छ बाँदरको उद्विकासको अलग–अलग बाटो कहिले छुट्टियो भनेर आनुवंशिक अध्ययन गर्न तयार भए ।

बायोकेमिस्ट मोरिस गडम्यान यस क्षेत्रमा काममा लागिसकेका थिए । बीसौं शताब्दीको आरम्भमै उनले दुई प्रजातिमा निकटता जति कम हुन्छ ती दुईको ब्लड प्रोटिनमा त्यति नै असमानता हुने प्रमाण जुटाइसकेका थिए । सन् १९५७ मा सिकागो जुलोजिकल पार्कमा गएर उनले चिम्पान्जी, गोरिल्ला, ओराङ्ओटान र गिब्बनको रगतको नमुना लिएर आए । उनले अल्बुमिन भन्ने ब्लड प्रोटिन निकालेर कुखुरामा इन्जेक्ट गरे र कुखुराको इम्युन सिस्टको प्रतिरोध गर्ने शैलीको अवलोकन गरे । उनले गरेका थुप्रै प्रयोगले ओराङ्ओटान र गिब्बनभन्दा चिम्पान्जी र गोरिल्लासँग मानिसको नजिकको सम्बन्ध देखायो ।

गडम्यानको प्रस्ताव धेरैले अस्वीकार गरे । भिन्सेन्ट सारिक अब मानिस, चिम्पान्जी, गोरिल्ला र ओराङ्ओटानका पुर्खाहरू छुट्टिएको समय पत्ता लगाउन सक्रिय भए । यसका लागि उनी ‘मोलिक्युलर क्लक’ अर्थात् यी सबै प्राणीको डीएनएमा भएको म्युटेसनको दर हिसाब गर्ने विधिमा भर पर्न खोजे । कुनै प्रजाति साझा पुर्खाबाट छुट्टिएर आ–आफ्नो ‘इभोलुसनरी पाथवे’ मा लागेपछि लामो कालखण्डमा उनीहरूको डीएनएमा एक निश्चित दरमा उत्परिवर्तन हुन्छ । जति समय बित्दै जान्छ उनीहरूको डीएनए उति नै फरक हुँदै जान्छ । मोलिक्युलर क्लकमार्फत डीएनएमा जम्मा हुने यही उत्परिवर्तनको कुल पृथकताको आधारमा प्राणीहरूबीच आनुवंशिक निकटता/पृथकता र पृथक् प्रजाति आरम्भको समयकाल नापिन्छ ।

यसका लागि सारिकले नोबेल पुरस्कार विजेता लिनस पाउलिङ र इमिली जुकरन्डलको अध्ययन विधिको उपयोग गर्ने निर्णय गरे । उनले यसका लागि बायोकेमिस्ट्रीका युवा विद्यार्थी एलन विल्सनको सहयोग लिए । उनी मानिस र अन्य अपुच्छ बाँदरहरूको ‘ब्रान्चिङ ट्री’ अर्थात् आ–आफ्नो वंश छुट्टिएको समयकाल पत्ता लगाउन तयार भए ।

सन् १९६७ को अन्त्यमा सारिक र विल्सनले मान्छे र अपुच्छ बाँदरका पुर्खा १ करोड ५० लाख वर्षपहिले नभई करिब ५० लाख वर्षअगाडि मात्रै छुट्टिएको हो भनी घोषणा गरे । सन् १९६७ को साइन्स जर्नलमा उनीहरूको दाबी थियो– मानिस र अफ्रिकन अपुच्छ बाँदरको साझा पुर्खा करिब ५० लाख वर्षअगाडिको हो । मानव उद्विकासको अध्ययनमा यो ठूलै विस्फोटक पदार्थ खसाइएको थियो । खासगरी जीवाश्मा–मानवशास्त्रीहरू यो ‘प्याराडाइम सिफ्ट’ स्विकार्न तयार थिएनन् । फेरि सन् १९७१ मा डीएनएमा आधारित अर्को अध्ययनले पनि मान्छे र अपुच्छ बाँदरको साझा पुर्खा धेरै पुरानो होइन भन्ने देखाएपछि उनले भने– ८० लाख वर्षभन्दा पुरानो जीवाश्मा हेर्दा जतिसुकै मानव पुर्खासँग मेल खाए पनि त्यसलाई मानव पुर्खा मान्ने छुट अब छैन । (द फोसिल मेन, केरमिट प्याटिसन) ।

यसरी विल्सन र सारिकको तर्कले पोटासियम आर्गन डेटिङबाट करिब एक करोड वर्षभन्दा अगाडिको समयसीमा तोकिएको युरोप, एसिया र अफ्रिकामा फेला परेको रामापिथेकसको जीवाश्मालाई मानव परिवारको सदस्यको आरम्भ भएको विन्दुभन्दा निकै सुदूर कालखण्डमा पुर्‍याइदियो । र, रामापिथेकसको पजनी भयो ।

त्यति मात्रै होइन, मानव स्वरूपसँग जतिसुकै सान्निध्यता भए पनि अत्यधिक प्राचीन कुनै पनि जीवाश्मा मानव पुर्खा हुन सक्दैनन् भन्ने उनीहरूले ठोकुवा गरिदिए । त्यसपछिका निरन्तर अध्ययनले अपुच्छ बाँदरहरूको परिवारबाट सबैभन्दा अन्तिममा चिम्पान्जी र मान्छेका पुर्खा छुट्टिएको प्रमाणित गरिरह्यो । अन्तिममा सन् २००५ मा चिम्पान्जीको सम्पूर्ण डीएनएको ड्राफ्ट सिक्वेन्स प्रकाशित भएपछि यो निर्विवाद तथ्य बन्यो । आधुनिक मानव र चिम्पान्जी साझा पुर्खाबाट करिब ५५ देखि ७० लाख वर्षपहिले मात्रै छुट्टिएको हो ।

यही विन्दुबाट आधुनिक मानवसम्मका देखिएका मानवका विविध प्रजातिलाई मात्रै अहिले ‘होमिनिन’ भनिन्छ । रामापिथेकस होमिननभित्र परेन । करिब १ करोड ६० लाख वर्षपहिले अपुच्छ बाँदरको पुर्खाबाट छुट्टिएको एक हाँगो रामापिथेकस हुँदै आधुनिक ओराङ्ओटानको उद्विकास भएको हो । (अ पकेट हिस्ट्री अफ ह्युमन इभोलुसन) ।

तर, रामापिथेकसलाई आनुवंशिक प्रमाणले मात्रै हल्लाउन सकेन । पिलविम र साइमनसलगायतलाई अझै एक दशक लाग्यो यो तथ्य स्विकार्न । जीवाश्माको ‘कडा प्रमाण’ जुटेपछि बल्ल उनीहरूले पत्याए ।

जी. एडवार्ड लेविसले रामापिथेकसको पहिलो जीवाश्मा भेटेको शिवालिक पर्वतमा डेभिड पिलबिमले सन् १९७३ मा अन्तर्राष्ट्रिय टिम लिएर गए । उनले शिवालिक पर्वतको पाकिस्तानी, भारत र अफ्गानिस्थानदेखि बर्मामा समेत खोजी गरे । अन्त्यमा सन् १९७५ र १९७६ मा उनीहरूको समूहले रामापिथेकसको बंगारा र दाँतका टुक्राहरू फेला पारे ।

उपलब्ध सबै जीवाश्मा भेला पारेर मिलाउँदा दाँतको लहर अंग्रेजी अक्षर ‘भी’ आकारको नबनेर ‘यु’ आकारको बन्यो । यही समूहले अपुच्छ बाँदरको अर्को प्रजाति ‘शिवापिथेकस’ को पनि खप्पर र केही हड्डी भेट्टायो । पिलबिमको पारखी आँखाले देख्नेबित्तिकै चाल पायो– खासमा ‘शिवापिथेकस’ भन्नु नै ‘रामापिथेकस’ को भाले मात्रै हो । दुईबीचको आकारको भिन्न्ता ‘सेक्सुअल डाइमोर्फिजम’ अर्थात् एकै प्रजातिका भाले–पोथीबीच रहने शारीरिक संरचनागत भिन्नता मात्रै हो । त्यति मात्रै होइन, यी दुवै जीवाश्माको अनुहारको मोहडा, आँखाको भाग, नाक र च्यापु सबै अहिले अस्तित्वमा रहेको ओराङ्ओटानसँग मिल्दोजुल्दो देखियो ।

बल्ल १९७९ मा आएर पिलबिम र साइमनसले रामापिथेकस शिवापिथेकस नामक अपुच्छ बाँदरको पोथी मात्रै हो भन्ने स्वीकार गरे । खोजकर्ताहरूले गलत समयमा गलत शारीरिक संरचनासहितको गलत पुर्खाको खोजी, त्यो पनि गलत भूगोलमा गरिरहेका थिए ।

(एलबिन साइमन्स, साइन्स २४५, १९८७) ।

जब अन्यत्र रामापिथेकस मानव वंशजको आदिपुर्खाको लाइनबाट ओर्लेर आफ्नो समूहमा (ओराङ्ओटान) फिर्ता हुँदै थियो, नेपालमा बल्ल रामापिथेकसको जीवाश्मा भेटिएको थियो । र, उसलाई आधुनिक मानव र अपुच्छ बाँदरलाई जोड्ने ‘सेतु प्राणी’ को रूपमा स्थापित गरिँदै थियो ।

‘प्राचीन नेपाल’ जर्नलको पुस २०३७/०३८ अंकमा ‘नेपालमा मानव जातिको पुर्खा’ मा जनकलाल शर्मा लेख्छन्, ‘नेपाल र संयुक्त राज्य अमेरिकाको संयुक्त अन्वेषण दलले १९८० को डिसेम्बर महिनामा तिनाउ खोलाको किनारमा बुटवलभन्दा केही माइल पर पहरामा टाँसिएको रामापिथेकसको माथिल्लोपट्टिको बंगाराको दाँत प्राप्त गरेको हो । यसलाई पाउने पहिलो श्रेय डा. जेएच हटचिसनलाई छ ।’ सारांशमा उनी लेख्छन्, ‘१ करोड ४० लाख वर्षअगाडि रहने/बस्ने रामापिथेकस मानव वंशको शृंखलाको पहिलो कडी भएको पुष्टि भएको छ ।’

त्यसयता मानव सभ्यताको प्राचीनता पुष्टि गर्न आजपर्यन्त हामी रामापिथेकसको सहारा लिइरहेका छौं । भर्खरै एक टेलिभिजन कार्यक्रममा आध्यात्मिक गुरु चैतन्य कृष्णले नेपाल र यहाँको सभ्यताको प्राचीनता पुष्टि गर्न थुप्रै गलत सूचनाको शृंखला जोडेका छन् । एक ठाउँ उनी भन्छन्, ‘रामापिथेकसको बंगारा त्यही गण्डकी क्षेत्रमा भेटिनुले यो आदिसृष्टिको भूमि भन्ने प्रमाण भएन त ?’

उता सूचना विभागको ‘नेपाल परिचय’ (२०७७) को संस्करणले भन्छ, ‘पश्चिम नेपालको बुटवल क्षेत्रमा पाइएको रामापिथेकस मानवको अवशेषले एक करोड वर्षभन्दा अगाडिदेखि नै मानवको बसोबास सुरु भइसकेको तथ्य स्पष्ट हुन्छ ।’

तर, मानव उद्विकासको इतिहासमा रामापिथेकसको उत्थान र पतनको बिर्सनलायक कथा हो । करिब दुई दशक दुई थान विज्ञले जीवाश्मामा ‘आफूले देख्न चाहेको’ गुण/चरित्र आरोपित गरिदिँदा मानव उद्विकासको अध्ययन लामो समय बन्धक बन्यो । (रोजर लेविन) । सभ्यताको आदि आरम्भकर्ताका रूपमा भने रामापिथेकसले अझै हाम्रो सामूहिक रुमानी चेतनालाई बन्धक बनाइरहेको छ ।

जीवनसँग हाम्रो अविच्छिन्न शृंखला चार अर्ब वर्ष पुरानो हो । यस धरतीमा अस्तित्वमा रहेका, आएर लोप भएका र अब आउने हरेक प्रजाति हाम्रा पुर्खा/सम्बन्धी/सन्तति हुन् । जीवन–वृक्षमा फैलिएको हाँगामा मात्रै को कति नजिक र को कति टाढा भन्ने मात्रै हो । यही वृक्षमा रामापिथेकस अर्को हाँगोमा स्थानान्तरण भएको मात्रै हो । रामापिथेकसको कडी समातेर गरिने हाम्रो सभ्यताको विशिष्टता र प्राचीनताको गफ–आधार भत्केको नै जुग बितेको मात्रै हो ।

(शनिबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करण ‘शनिबार विशेष’बाट ।)

प्रकाशित : माघ २, २०७७ १७:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×