‘धोतिनी’ को पकौडा

‘५० रूपैयाँको पकौडा देऊ न,’ होची केटीले जमुना भाउजूलाई ‘तिमी’ सम्बोधन गर्दै भनिन् । ‘तिमी’ सम्बोधनमाथि भाउजू न केही बोलिन्,न त उनको आपत्ति नै थियो । तर, अनुहार भने उदास–उदास थियो ।
मुना चौधरी

२०७६ वैशाख १ । घाम चर्को थियो । सुक्खा खडेरीले खेतका मसिना दरार फाटेका थिए । लहानभन्दा तीन किलोमिटर पश्चिम भोटियाटोल चोकछेउ सलहेश फूलबारी छ, जहाँ प्रत्येक नयाँ वर्षको दिन मेला लाग्ने गर्छ । फूलबारीमा हारम फूलका बोट छन् । हारममा चैतको अन्तिम दिन कोपिला टुँसाउँछ, वैशाख १ गते फुल्छ । त्यही एकै रातमा ढकमक्क हारम हेर्न नेपाल र भारतका हजारौँ मानिस आइपुग्छन् ।

त्यस दिन मेलामा घुइँचो थियो । सुक्खा खेतहरूबाट धूलो उडिरहेको थियो ।

खाली खेतमा व्यापारीहरूले टेन्ट टाँगेर मिठाई, लुगा, खेलौनाहरूको दोकान थापेका थिए । गाउँकी अधबैँसे जमुना भाउजूको पनि टेन्ट टाँगिएको दोकान थियो । पकौडा, आलुचप र चिया थिए । हातभरि चुरा, सिउँदोभरि सिन्दूर, निधारमा गोलो रातो बिन्दिया, घाँटीमा पहेँलो पोते– यी सबै सबैले श्याम वर्णकी उनी ढकमक्क फुलेको हारमजस्ती देखिएकी थिइन् । मसिना पहेँला बुट्टावाला हरियो सीधा (आँचलअगाडि राख्ने गरी) सारी लगाएकी थिइन् ।

म दिदीहरूसँग मेला हेर्न गएकी थिएँ । टेन्टअगाडि लहरै बेन्चहरू थिए । ग्राहक बसून् भनेर राखिएका थिए । हामी थियौँ जमुना भाउजूको दोकानअगाडि । भाउजूले हामीलाई बेन्चमा बस्न इसारा गरिन् । उनी हपहपी गर्मीमा पनि निधार छोपिने गरी घुम्टोमा थिइन् । पकौडा तार्न व्यस्त थिइन् । टेन्ट छेडेर भित्र पसेको सूर्यको ताप र चुलोबाट निस्केको रापले उनको अनुहार पसिनाले चिपचिप भिजेको थियो । बायाँ हत्केला र सारीको आँचलले निधारको पसिना पुछिरहेकी थिइन् । सिउँदोको सिन्दूर पग्लेर निधार ओरालै ओरालो झरिरहेको थियो । तैपनि उनले घुम्टो हटाउने चेष्टा गरेकी थिइनन् ।

खासमा ससुरा, जेठाजूजस्ता आफूभन्दा ठूलाअघि सम्मान दर्साउन घुम्टो ओढिन्छ । मेला हो, मेलामा गाउँका मान्छे पनि आउँछन् । ती मान्छेको हूलमा आफूभन्दा ठूला मान्छे पनि हुन्छन् । त्यही ठूला मान्छेको सम्मान खातिर उनको टाउकोबाट घुम्टो हटेको थिएन ।

हामी बेन्चमा बसिरहेकै थियौँ । एउटी अग्ली र एउटी होची गहुँगोरो वर्णका पहाडे केटीहरू आए । पकौडा किन्न आएका रहेछन् । उनीहरूले जिन्स, भेस्ट र कालो चस्मा लगाएका थिए ।

‘५० रुपैयाँको पकौडा देऊ न,’ होची केटीले जमुना भाउजूलाई ‘तिमी’ सम्बोधन गर्दै भनिन् ।

हाइट मात्र होचो होइन, उमेर पनि सानै थियो उनको । तर, जमुना भाउजूमाथिको सम्बोधन भने ‘तिमी’ थियो । ‘तिमी’ सम्बोधनमाथि भाउजू न केही बोलिन्, न त उनको आपत्ति नै थियो । तर, अनुहार भने उदास–उदास थियो । बरु उनले नम्रता पस्किइन् । ‘हस्’ को इसारा गरिन् । चुलोबाट उठिन्, आरीको पकौडा प्याक गरिन् । ती केटीलाई दिइन् ।

केटीहरू बेन्चमा बसे । कपाकप पकौडा खान थाले । खुसी हुँदै होचीले अग्लीलाई खुसुक्क भनिन्, ‘धोतिनीले पकौडा साह्रै मिठो पकाउने रहिछे !’

केटीहरूको खुसखुस कुराकानी भाउजूको कानमा पनि पर्‍यो । भाउजूले त्यो केटीको अनुहारमा पुलुक्क हेरिन् । तर, केही बोलिनन् । उनको अनुहार शान्त थियो । दुईवटा गिलासमा पानी ल्याइन् र केटीहरूलाई दिइन् ।

जमुना भाउजू नेपाली भाषा बुझ्थिन्, तर बोल्न जान्दिन थिइन् । तर, केटीहरूलाई लाग्यो– उनी नेपाली बुझ्दिनन्, जे बोले पनि भयो ! भाउजू उमेरले साना ती केटीहरूलाई सम्मान गरेरै बोलिरहेकी थिइन् । केटीहरूले नेपालीमा बोले पनि उनी आफ्नै भाषामा जवाफ फर्काइरहेकी थिइन् । साथमा उनको अनुहारमा मुस्कान पनि थियो ।

जमुना भाउजूको पहिरन (खासमा घुम्टो) देखेर केटीहरूले ‘तिमी’ सम्बोधन गरे, ‘धोतिनी’ भने । भाउजूको अनुहारमा एक प्रकारको सङ्कोच, असजिलोपना जरुर देखिन्थ्यो । सायद उनलाई नरमाइलो लागिरहेको हुनुपर्छ । सामान्य काम गरी गुजारा चलाउने मान्छेलाई पढे–लेखेका केटीहरूले किन होच्याएर बोलिरहेका थिए ? स्कुल नपढेकी भाउजू बेलाबेला केटीहरूतिर हेर्थिन् । बेलाबेला मेरो अनुहारतिर । सायद उनको अनुहारले प्रश्न गरिरहेथ्यो, संस्कार भनेको यस्तै हुन्छ ?

घुम्टो ओढ्दैमा, सिन्दूर हाल्दैमा कोही ‘धोतिनी’ र ‘गँवार’ कसरी हुन्छ ? मनमा प्रश्न उठिरह्यो । चर्को घाममा घुम्टोले घाम छेक्छ । तरतरी पसिना घुम्टोले पुच्छ । झरी परेको बेला घुम्टो छाता बन्छ ।

मानिस टिप्पणी गर्छन्, ‘अहिलेको समयमा पनि घुम्टो ओढेर बस्ने ? कति पिछडिएको मान्छे !’ खासमा पिछडिएको घुम्टो ओढ्ने मान्छे हो वा सोचाइ हो ? घुम्टो एक संस्कृति हो । तर, घुम्टो ओढ्नैपर्ने बाध्यता पनि छैन । घुम्टोसँग अरूलाई चाहिँ किन समस्या ?

केटीहरू त्यहाँबाट निस्के । तर, केटीको मुखबाट निस्किएको ‘धोतिनी’ शब्दले उनको छाती चहर्‍याएकाले होला, भाउजूका आँखा उनीहरूतिर तेर्सिरहेका थिए । उदास ती आँखा उनीहरू ओझेल परेपछि मात्र दोकानभित्र छिर्‍यो ।

प्रकाशित : पुस २५, २०७७ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्

द्वन्द्वको पानीफोटो

लेखकले ‘फ्ल्यासब्याक’ मा गएर उधिनेका घटना र पात्रहरु अहिले पढ्दा नेपालले भोगेको माओवादी ‘जनयुद्ध’ नामको सबैभन्दा त्रासद कालखण्ड हो ।
शेखर खरेल

घुर्मैलो तस्बिर’ अध्यायबाट आरम्भित श्रीभक्त खनालको ‘जोर बन्दुकको छाया’ वास्तवमा उनको समकालीन सञ्चारकर्मीको नाताले यस पंक्तिकारका लागि पनि घुर्मैलो तस्बिर नै हो । पुस्तक लेखकले ‘फ्ल्यासब्याक’ मा गएर उधिनेका घटना र पात्रहरू अहिले पढ्दा नेपालले भोगेको माओवादी जनयुद्ध नामको सबैभन्दा त्रासद कालखण्ड हो ।

खनालले त्यस समयमा आफैं साक्षी बनेर भोगेका घटना र भेटेका पात्र उधिनेर तयार गरेको ‘जोर बन्दुकको छाया’ नेपालको आन्तरिक द्वन्द्वको पानीफोटो हो ।

एकातिर द्वन्द्वले पैदा गरेको असुरक्षा र अनिश्चितता त थियो नै । तर, अर्कोतिर प्रत्येक सञ्चारकर्मीमा केही ‘स्कुप’ मार्ने हुटहुटी रहन्थ्यो, माओवादी द्वन्द्वकालभरि । त्यस समयतिर खनालले ‘स्कुप’ मारिरहे, आफ्ना सहकर्मी, समवयीलाई आरिस लाग्नेगरी ।

खनालको स्कुपको अध्याय हो, ‘त्यो तस्बिर’, जुन तस्बिर यथार्थमा माओवादी ‘जनयुद्ध’मा अनाहकमा पिसिएका आमजनको मानक तस्बिर हो । ‘हिमाल’ खबरपत्रिकाको २९ जनवरी– १२ फेब्रुअरी, २००२ अंकको ‘के हेरिरहेका छन् पार्टीहरू ?’ शीर्षकको श्रीभक्त खनाल बाइलाइनको आवरण कथाले तिनताक राष्ट्रियदेखि अन्तर्राष्ट्रिय मञ्च र मिडियामा ठूलो आँधी ल्याएको थियो । लमजुङ दुराडाँडास्थित पाणिनि संस्कृत माविका शिक्षक मुक्तिनाथ अधिकारी सुराकी र चन्दा नदिएको आरोपमा माओवादीबाट विद्यालय समयमै मारिएका थिए ।

पत्रिकाको आवरणमा प्रकाशित अधिकारीको तस्बिरले माओवादीको हिंस्रक अनुहारलाई उदांगो गरिदिएको थियो । आखिर त्यो तस्बिर कसले खिचेको थियो ? त्यो कौतूहलको पटाक्षेप अद्यापि हुन सकेको छैन । ती फोटोग्राफर लेखकको पहुँचमा त छन्, तर द्वन्द्व सकिएको डेढ दशक बितिसक्दा पनि ती व्यक्ति ‘हिजो माओवादीको बन्दुकका डर र आज सत्ताका डर’ का कारण आफ्नो परिचय खुलाउन तयार छैनन् । परिचय लुकाउनु वा खोल्नु सम्बन्धित व्यक्तिको इच्छाको कुरा हो । तर, द्वन्द्वकालमा माओवादीले धुइँपड्ताल खोज्दा र त्यसउप्रान्त पनि उनको परिचय गुपचुप राख्नुमा खनालले जुन गोपनीयता अपनाउँदै आएका छन्, त्यो व्यावसायिक र जिम्मेवार पत्रकारिताको एक अनुपम उदाहरण हो ।

काभ्रेपलाञ्चोक खरेलथोककी किशोरी मैना सुनारको पाँचखाल सैनिक हिरासतमा रहेको बेला यातनापूर्वक भएको हत्या, माओवादी गठबन्धनको किराँत राष्ट्रिय मोर्चाद्वारा खोटाङ चिसापानीका शिक्षक हर्कबहादुरको हत्याको खोजमूलक रिपोर्टिङ पुस्तकमा छन् । त्यसैगरी ‘सिमलको आडमा’ चितवन बाँदरमुढेमा माओवादीद्वारा भएको ‘ट्रिगर ब्लास्ट’ को रिपोर्टिंङ हो । ६ जुन २००६ मा बाँदरमुढेमा सैनिक जवान सवार भएको आशंकामा माओवादीद्वारा सार्वजनिक बसलक्षित ट्रिगर ब्लास्ट गरिँदा ३८ जनाले ज्यान गुमाएका थिए । त्यस आततायी घटनाको अन्तर्यसम्म पुग्दै लेखकले मुख्य योजनाकार साहस (चण्डिका पौडेल) र सुजन (रामबहादुर कुमाल) बारेका रहस्य उद्घाटित गरेका छन् ।

पुस्तकले समेटेको अर्को महत्त्वपूर्ण घटना हो ‘दोरम्बा’ शीर्षकको रामेछापको दोरम्बा हत्याकाण्ड । युद्धविरामका बेला श्रीदल गण रामेछापका मेजर राममणि पोखरेलको नेतृत्वको टोलीले २१ माओवादी नेता–कार्यकर्तालाई नियन्त्रणमा लिई गरेको हत्याले शान्ति वार्ता भंग गरेको थियो । अन्तर्राष्ट्रिय दबाबका कारण गाडिएका शव उत्खनन् गरिएको त्यो घटनाबारेको विवरण समेटेर भए मात्रै पनि लेखकले यस महत्त्वपूर्ण घटनाको अभिलेख राखेका छन् ।

लन्डनमा कुमार लामा पछ्याउँदै नेपालका द्वन्द्वग्रस्त स्थल एवं गैरन्यायिक हिंसाका घटनाउपर रिपोर्टिङ गरेका खनाललाई द्वन्द्वकालीन एउटा महत्त्वपूर्ण घटना पछ्याउने संयोग पनि जुरेको छ । कामको सिलसिलामा अहिले लन्डनमा बसोबास गरिरहेका खनालले नेपाली सेनाका तत्कालीन कर्णेल कुमार लामामाथि बेलायती सरकारद्वारा चलाइएको युद्ध अपराध मुद्दाको नालीबेली मिहिन ढंगले उधिनेका छन् । सन् २००५ मा कपिलवस्तुका जनकबहादुर राउत र करम हुसैनलाई गैरन्यायिक हिरासतमा लिई गोरुसिंगेस्थित शिवदल गणमा यातना दिइएको आरोपमा मानवअधिकार उल्लंघनको ‘इन्टरनेसनल जुरिस्टिक्सन’ अन्तर्गत बेलायतमा रहेको बेला लामामाथि मुद्दा चलाइन्छ ।

‘महँगो मुद्दा’ शीर्षकमा अदालती सुनुवाइको पाठ हात पार्न उनले ४ सय ४० पाउन्ड (करिब ६५ हजार रुपैयाँ) बुझाएको बयान छ । तर, भारी रकम तिरेर हात परेका सुनुवाइका कागजात अपेक्षा गरिएझैं उपयोगी भेटिँदैनन् । त्यसैले लेखक दोस्रो उपाय अपनाउँछन्, बहसका बेला अदालत गएका पत्रकार, अनुवादक र सर्वसाधारणको कथन समेट्ने । बेलायतको विल्कुलै फरक न्यायिक प्रणालीको इतिवृत्तको यो अध्याय अत्यन्तै रुचिपूर्ण छ । नेपालको द्वन्द्वलाई लिएर बाह्य अदालतमा चलेको र संसारै आकर्षित भएको यस मुद्दामा अन्ततः लामा पर्याप्त आधार नपाइएको भन्दै निर्दोष साबित हुन्छन् । नेपालमा कानुनलाई झन्झटिलो मान्ने र ‘न्यायको नौ सिङ’ भन्नेहरूले लामामाथिको सुनुवाइ र कानुनी जटिलता पढ्ने हो भने बेलायती न्याय प्रणालीलाई के भन्दा हुन् ? प्रश्न उठ्छ ।

मुद्दाका स–साना प्रमाण र सम्बन्धित व्यक्तिका भनाइ उधिन्दा–उधिन्दै लेखक तथ्य प्रमाणीकरणमा कहीं कतै चिप्लेका देखिन्छन् । जस्तै, उनी अन्तर्राष्ट्रिय कानुनका ज्ञाता नेपाली मूलका प्राध्यापक सूर्य सुवेदीलाई असावधानीवश सूर्य ढुंगेल लेखिरहेका देखिन्छन् । त्यसैगरी, लन्डनमा बसोबास गरेका उनी आम नेपालीले झैं ‘वेस्टमिन्स्टर’ लाई ‘वेस्टमिनिस्टर’ लेख्छन् ।

लेखकले पुस्तकको बिट भने ‘कृष्णहरि सैंजूको डायरी’ बाट मारेका छन् । सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेको बखत माओवादीद्वारा १२ माघ २०५९ को बिहान प्रातः भ्रमणमा निस्किएका सशस्त्र प्रहरी बलका तत्कालीन महानिरीक्षक कृष्ममोहन श्रेष्ठ र उनकी पत्नी नुडुपको सानेपा चक्रपथमा भएको हत्या प्रकरणमा गिरफ्तार कृष्णहरि सैंजूले नख्खु जेलमा रहँदा लेखेका डायरी पुस्तकको एउट रोचक खण्ड हो । माओवादी जनसेनाको विशेष कमान्डअन्तर्गतको भ्याली स्पेसल टास्क फोर्सले कसरी ‘कोल्ड ब्लडेड’ व्यक्तिहत्या गर्थे भन्ने कुराको रहस्योद्घाटन सैंजूको डायरीले गर्छ । टास्क फोर्सका जुजुभाइ महर्जन (अहिले बेपत्ता) ले पछाडिको बायाँ खल्तीमा राखिएको पेस्तोलबाट श्रेष्ठमाथि गोली प्रहार गर्नु र सैंजूको बायाँ खुट्टा एकैपटक अघि सर्नुसँगै सैंजूको देब्रे तिघ्रामा लाग्न पुग्छ र खुट्टा भाँचिन्छ ।

यसरी रगतपच्छे भएर बीच बाटोमा लडेका उनी प्रहरीको फन्दामा पर्दै जेल चलान हुन्छन् । सैंजूको डायरीले कस्तो मनोबलका साथ उनीहरू सशस्त्र द्वन्द्वमा होमिएका थिए भन्ने कुरा एकातिर उजागर गर्छ भने अर्कोतिर तिनै सैंजू लेखकसँगको यसै वर्षको कुराकानीमा विरक्तिँदै भनिरहेका हुन्छन्, ‘नयाँ जनवादी क्रान्ति सफल बनाई समाजवाद र साम्यवादमा जानका लागि युद्धमा होमिएका थियौं । अहिले फर्केर हेर्दा सीमित व्यक्तिलाई सत्तामा पुर्‍याउन लडेजस्तो भान हुन्छ । जनयुद्धले राजतन्त्र नामको सामन्ती सत्ता त फाल्यो तर नवसामन्तको उदय भयो ।’

सैंजूका झैं द्वन्द्वका कैयौं प्रश्न अद्यावधि अनुत्तरित छन् । त्यसैगरी युद्धका घाउ र खाटाहरू पुरिएका छैनन् । नेपाली जनमानसलाई सधैं तर्साइरहने त्यस कालखण्डको पीडा र क्रन्दनलाई श्रीभक्त खनालले तटस्थका साथ लिपिबद्ध गरेर आउने पुस्ताका लागि एउटा संग्रहणीय किताब तयार गरिदिएका छन् ।

प्रकाशित : पुस २५, २०७७ १३:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×