कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि भाइरस फेला

– टुकुचा–वाग्मती संगम नजिकबाट संकलित ढलको नमुनामा ‘भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३’ भेटिएपछि ललितपुर र भक्तपुर क्षेत्रमा समेत सर्भेलेन्स सुरु
– साउन ९ देखि १२ सम्म उपत्यकामा पोलियोविरुद्धको खोप अभियान पनि सञ्चालन गरिँदै
स्वरूप आचार्य

काठमाडौँ — काठमाडौंको टुकुचा र वाग्मती नदीको संगम क्षेत्रबाट संकलित ढलको नमुना परीक्षण गर्दा पोलियोको भाइरस भेटिएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार उक्त नमुनामा ‘पोलियो भाइरस टाइप ३’ पुष्टि भएको हो ।

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि भाइरस फेला

नेपालमा अन्तिम पटक सन् २०१० मा पोलियोको बिरामी फेला परेका थिए । त्यसयता भने पोलियो संक्रमित फेला नपरेका कारण विश्व स्वास्थ्य संगठनको दक्षिण एसिया क्षेत्रले २०१४ मा नेपाललाई पोलियो मुक्त राष्ट्र घोषणा गरेको थियो ।

डा. गौतमले खोप प्राप्त बालबालिकाको दिसाबाट उक्त भाइरस ढलमा गएको हुन सक्ने अनुमान गरे । ‘लाइभ एटिन्युएटेड (जीवित तर निष्क्रिय) पोलियो खोप प्राप्त गरेका करोडौं बालबालिकामध्ये एक जनाको आन्द्रामा उक्त भाइरस उत्परिवर्तित हुन सक्ने सम्भावना हुन्छ । यो भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३ हो । त्यसले उक्त बच्चामा लक्षण देखाएको पनि हुन सक्छ,’ उनले भने, ‘यदि बच्चालाई संक्रमित बनाएको छ भने उक्त बच्चाबाट अन्यलाई सर्ने जोखिम पनि रहन्छ, त्यसैले हामी अहिले त्यसको सर्भेलेन्स गरिरहेका छौं ।’

उनका अनुसार १५ वर्षभन्दा कम उमेर भएका बालबालिका जसमा केही समययता अति शीघ्र लुलो पक्षघात देखिएको छ कि भनेर महाशाखाको सर्भेलेन्स टोलीले खोजी गरिरहेको छ । ‘हामीले सम्भावित स्थानको पहिचान गरेर घरघरमै पुगेर सोधपुछसम्म गरिरहेका छौं । अस्पतालहरूमा पनि बुझिरहेका छौं,’ उनले भने, ‘यसलाई नियन्त्रण गर्नका लागि काठमाडौं उपत्यकामा साउन ९ देखि १२ सम्म पोलियोविरुद्ध खोप अभियान पनि सञ्चालन गर्दै छौं ।’ उनका अनुसार टुकुचा र वाग्मतीको संगम क्षेत्रबाट संकलन गरिएको नमुनामा भाइरस भेटिएकाले ललितपुर र भक्तपुर क्षेत्रलाई पनि समेटेर सूक्ष्म रूपमा निरीक्षण सुरु गरिएको छ ।

‘जेठ १३ मा संकलन गरिएको नमुनामा भाइरस भेटिएको हो, त्यसको परीक्षण गर्न हामीले बैंककको प्रयोगशालामा पठाएका थियौं, जसको रिपोर्ट असार २९ मा प्राप्त भएको हो,’ उनले भने, ‘त्यसपछि हामीले गर्नुपर्ने सर्भेलेन्सको काम सुरु गरिसकेका छौं ।’ त्यसपछि संकलन गरिएका नमुनामा भने भाइरस देखिएको छैन । उनका अनुसार यस प्रकारको भाइरसले संक्रमण गराउन पनि सक्छ र नगराएको पनि हुन सक्छ ।

स्वास्थ्य प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सरकारले २०१७ देखि काठमाडौंका विभिन्न स्थानबाट महिनाको दुई पटक र २०२२ बाट उपत्यका बाहिर विराटनगर, पोखरा र जनकपुरबाट महिनाको एक पटक नमुना संकलन गरेर नियमित परीक्षण गर्दै आएको छ । उनका अनुसार पोलियोको पी १, पी २ र पी ३ गरी तीन प्रकारका भाइरस देखिने गरेकामा ‘भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३’ भेटिएको हो ।

‘पोलियो रोग उन्मूलन भएको देश घोषणा हुनका लागि निरन्तर १० वर्षसम्म व्यक्ति र वातावरणमा भाइरस नदेखिएको हुनुपर्छ । अहिलेसम्म व्यक्तिमा देखिएको छैन,’ उनले भने, ‘हामी थप सर्भेलेन्स गरिरहेका छौं ।’ उनका अनुसार भाइरस देखापरेसँगै राष्ट्रिय खोप सल्लाहकार समिति र पोलियो रोग उन्मूलनसम्बन्धी राष्ट्रिय प्रमाणीकरण समितिसँग पनि परामर्श गरेर अनुसन्धान भइरहेको छ ।

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीका अनुसार काठमाडौंको ढलको नमुनामा भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस देखिएको हो भने त्यो जोखिमयुक्त हुन सक्छ । उनका अनुसार खोप प्राप्त गरेको व्यक्तिमा उत्परिवर्तित भएको भाइरस पुनः फैलने जोखिम रहन्छ ।

पोलियो भाइरसका कारण हुने रोगलाई पोलियोमाइलिटिस भनिन्छ । यो भाइरसको संक्रमणले धेरैमा सामान्य वा कुनै पनि लक्षण नदेखाए पनि केहीलाई पक्षघात वा मृत्यु पनि हुने जोखिम रहन्छ । पोलियो भाइरसका कारण मुख्य गरेर ५ वर्षभन्दा मुनिका बालबालिका अति जोखिममा हुन्छन् । पोलियो भाइरस निकै संक्रामक रोगको सूचीमा पर्छ । यो भाइरस मान्छेबाट मान्छेमा सर्न सक्छ ।

प्रकाशित : श्रावण ४, २०८१ २२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×