कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

विश्व स्वास्थ्य सुरक्षा कार्यक्रमको सुरुआत

काठमाडौँ — अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) र नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आइतबार विश्व स्वास्थ्य सुरक्षा कार्यक्रमको संयुक्त रूपमा सुरु भएको छ ।

विश्व स्वास्थ्य सुरक्षा कार्यक्रमको सुरुआत

‘यो कार्यक्रम नयाँ संक्रामक रोगहरू रोकथाम गर्ने, पत्ता लगाउने र तीविरुद्ध द्रूतरूपमा प्रतिकार्य गर्ने नेपाल सरकारको क्षमतालाई सुदृढ बनाउनका लागि गरिएको साझेदारी हो,’ अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रमको कार्यान्वयन पारिस्थितिक प्रणालीको, वन्यजन्तु तथा घरपालुवा जनावरको र मानिसको स्वास्थ्यबीचको अन्तरनिर्भरता स्वीकार गर्ने सहकार्यात्मक र अन्तर्विधागत विधि ‘वान हेल्थ’ मार्फत गरिने उल्लेख छ ।

स्वास्थ्य सुरक्षा र महामारीको पूर्वतयारीलाई विश्वव्यापी रूपमै सुदृढ पार्ने बाइडेन प्रशासनको लक्ष्यको एक हिस्सा स्वरूप यस साझेदारीले सन् २०२५ सम्म ५० वटा देशमा प्राविधिक क्षमता अभिवृद्धि गर्ने अमेरिकी प्रयासहरूलाई अघि बढाउने दूतावासले जनाएको छ ।

‘कोभिड–१९ को महामारी कुनै नयाँ पशुजन्य रोगको जीवाणुले मानव स्वास्थ्य र विश्वका अर्थतन्त्रहरूमा पुर्‍याउन सक्ने हानिका बारेमा कडा चेतावनी थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त महामारीले स्वास्थ्यसम्बन्धी खतराहरू अझ राम्ररी पहिचान तथा नियन्त्रण गर्न र विश्व स्वास्थ्य सुरक्षालाई पूर्णतः साकार पार्न हाम्रा विश्व स्वास्थ्य प्रणालीहरू कहाँ र कसरी सुधार हुनु आवश्यक छ भन्ने उजागर गरेको छ ।’

यूएसएआईडीको विश्व स्वास्थ्य सुरक्षा कार्यले रोगजन्य खतराहरूले महामारीको रूप लिनु अगावै तिनलाई रोक्ने, पत्ता लगाउने र तीविरुद्ध लड्ने देशहरूको क्षमतालाई सुदृढ गरी उक्त कमी पूरा गर्न मद्दत गर्नुका साथै देशहरूले राष्ट्रिय तहमा रहेका कमी तथा प्राथमिकताहरूलाई सम्बोधन गर्न सकुन् भन्ने ध्येयले विश्व स्वास्थ्य संगठनका अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीसम्बद्ध लक्ष्यहरूलाई अघि बढाउँदै पनि आएको जनाइएको छ ।

विश्व स्वास्थ्य सुरक्षा कार्यक्रममार्फत नेपालमा ‘वान हेल्थ’ प्लेटफर्म र निगरानी प्रणालीहरूलाई सुदृढ बनाउन यूएसएआईडीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोष उपलब्ध गराउने उल्लेख छ । यूएसएआईडीले संयुक्त राष्ट्र संघीय विश्व स्वास्थ्य संगठन र खाद्य तथा कृषि संगठनमार्फत पनि काम गर्ने बताइएको छ ।

विश्व स्वास्थ्य सुरक्षा कार्यक्रमको लागि आगामी तीन वर्षमा यूएसएआईडीले करिब ८९ करोड रुपैयाँसम्म उपलब्ध गराउने उल्लेख छ । दूतावासका अनुसार उक्त रकम कोषको उपलब्धतामा निर्भर हुने पनि बताइएको छ ।

नेपालमा यूएसएआईडी र ‘प्यान्डेमिक फन्ड’ (महामारी कोष) बाट सहायताप्राप्त क्रियाकलापलगायत विश्व स्वास्थ्य सुरक्षाअन्तर्गतका सम्पूर्ण क्रियाकलापहरू नेपालले नेतृत्व प्राप्त मौजुदा ‘वान हेल्थ’ समन्वय प्लेटफर्महरूमार्फत निकट रूपमा समन्वित हुनेछन् र तिनले सरकारका सबै तहमा काम गर्ने उल्लेख छ ।

नेपाल भ्रमणमा रहेका यूएसएआईडीको एसिया ब्युरो हेर्ने सहायक प्रशासक माइकल शिफरले यो कार्यक्रम नेपालीको स्वास्थ्य तथा सुरक्षा सुनिश्चित गर्ने दिशामा एउटा महत्त्वपूर्ण अग्रगामी कदम हो र यसले विश्व स्वास्थ्य तथा महामारीको पूर्वतयारीप्रति यूएसएआईडीको जारी प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताए । उनले नेपालको आवश्यकता र चाहनाअनुसार यूएसएआईडीले सहयोग गर्ने बताए ।

प्रकाशित : मंसिर १७, २०८० २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×