कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

‘बर्थिङ सेन्टर’ मा छैनन् पूर्वाधार

मेनुका ढुंगाना

अछाम — ग्रामीण भेगमा मापदण्ड अनुसारका बर्थिङ सेन्टर नहुँदा सेवा दिन समस्या भएको छ । पुराना र माटोका कच्ची घरबाट प्रसूति सेवा संचालन भइरहेको साँफेबगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्पबहादुर बुढाले बताए । साँफेबगरका १४ वडामा १० वटा बर्थिङ सेन्टर मध्ये मापदण्ड अनुसारका भवन ३ मात्र रहेको उनले बताए । 

‘बर्थिङ सेन्टर’ मा छैनन् पूर्वाधार

प्रसूति गर्ने तालिम प्राप्त कर्मचारीलाई आवासीय व्यवस्थादेखि उपकरणहरु सबै उपलब्ध हुनुपर्नेमा जस्तापाताले बनेका र कच्ची घरबाट सेवा दिनुपर्दा बर्थिङ सेन्टरनै असुरक्षित अवस्थामा रहेको उनले बताए ।

‘कच्ची घर छन्, गर्मीमा धेरै गर्मी भएर समस्या हुन्छ, हिउँदमा चिसो भएर समस्या हुन्छ,’ उनले भने,‘मापदण्डअनुसारको स्तरीय भवन बनाउनलाई एक करोडभन्दा बढी बजेट आवश्यक हुन्छ । यसका लागि स्थानीय तह र प्रदेश सरकारले चासो दिनुपर्ने हो । बर्थिङ सेन्टरनै गुजाराको भरमा चलिरहेका छन् ।’

बर्थिङ सेन्टरका लागि आवश्यक पर्ने भौतिक संरचना नहुँदा समस्या भएको साँफेबगर–१३ बाब्ला स्वास्थ्य चौकीकी सिनियर अनमि धनी केसीले बताइन् । ‘जस्तापाताले छाएको भवनबाट अहिले सेवा दिइरहेका छौं । आवश्यकता अनुसारको संरचना नहुँदा गाह्रो भएको छ,’ उनले भनिन्, ‘सुत्केरी भइसेपछिको समयमा अप्ठेरो भएका महिलालाई केही समय हाम्रो निगरानीमा राख्नुपर्ने हुन्छ । त्यसको लागि बेड छैन प्रसूति गराउने स्वास्थ्यकर्मीलाई पनि बर्थिङ सेन्टरमा आवासीय व्यवस्था हुनुपर्ने हो, त्यो पनि छैन ।’ रातिको समयमा व्यथा लागेर बर्थिङ सेन्टरसम्म पुग्ने र त्यसपछि आफूहरुलाई बोलाउने गरेको उनले बताइन् ।

जिल्लाको दुर्गम भेगमा रहेको तुर्माखाँद गाउँपालिकामा ११ वटा बर्थिङ सेन्टर रहेकोमा ४ मात्रै मापदण्डअनुसार संचालन भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख एकेन्द्र बयकले बताए । ‘भैरवस्थान, भुलु र रानीवनमा रहेका बर्थिङ सेन्टर कच्ची घरमा छन् । यी सेन्टरमा त न्यूनतम मापदण्ड पनि छैन । भौगलिक विकटता छ । जसरी भए पनि सेवा दिनु पर्ने बाध्यता छ,’ उनले भने,‘कतिपय ठाउँमा पानी, शौचालयको समस्या पनि देखिन्छ । विकट ठाउँमा झन् धेरै गाह्रो छ ।’

तुर्माखाँद–६ रानीवन रहेको बर्थिङ सेन्टरमा स्वास्थ्य संस्थाको भवननै नभएको स्वास्थ्य चौकी इञ्चार्ज तेजबहादुर माझीले बताए । ‘यहाँका महिला बाटोमा, जंगलमा असुरक्षित सुत्केरी हुन थालेपछि अन्तिम अवस्थामा यो बर्थिङ सेन्टर स्थापना गरिएको हो,’ उनले भने, ‘स्वास्थ्य संस्था संचालन त मापदण्ड अनुसार भएको छैन । बर्थिङ सेन्टरमा आवश्यकता अनुसारका उपकरण पनि छैनन् । भएका सामग्री पनि सुरक्षित राख्न सक्ने अवस्था छैन । कतिपय उपकरण सुरक्षित राख्नुपर्ने हुन्छ । कच्ची घर भएकाले वर्षामा चुहिने, उपकरणमा खिया लाग्ने हुन्छ ।’ जटिल प्रकृतिका सुत्केरीलाई रक्तस्राव भएको अवस्थामा पनि राख्न सक्न ठाउँ नभएको उनले बताए ।

भौगलिक रुपमा विकट रहेको ढकारी गाउँपालिकामा रहेका ९ बर्थिङ सेन्टरमध्ये ४ मात्रै मापदण्डअनुसार संचालन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साहले बताए । आव ०७८/७९ मा सुदूरपश्चिम प्रदेश सरकारले ढकारीमा ४ वटा जस्तापाताले छाएका बर्थिङ सेन्टर बनाउन बजेट उपलब्ध गराएको र ती सेन्टरबाट सेवा दिन समस्या भएको उनले बताए ।

‘बर्थिङ सेन्टर कस्तो बनाउनु पर्ने, संरचना कस्तो चाहिन्छ भन्ने नबुझेर जस्तापाताले बनाउनु भनेर बजेट आयो । सोही अनुसार बने पनि तर सेवा दिन भने सकिएन,’ उनले भने,‘गाउँपालिकाले ती ४ वटा बर्थिङ सेन्टरलाई सेवा दिन मिल्नेसम्मको अवस्थामा पुर्‍याएको उनले बताए । स्वास्थ्य कार्यालय अछामकाअनुसार जिल्लामा रहेका ९२ बर्थिङ सेन्टरमध्ये अधिकांशमा भौतिक संरचना र उपकरणको अभाव रहेको छ ।

प्रकाशित : फाल्गुन १४, २०८० १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?