सिम्रौनगढमा सञ्चालित शिविरमा १ हजार २५ जनाको स्वास्थ्य परीक्षण

बारा — जिल्लाको ग्रामीण क्षेत्र सिम्रौनगढमा नेपाली सेनाले शनिबार सञ्चालन गरेको नि:शुल्क स्वास्थ्य शिविरमा १ हजारभन्दा बढीले सेवा लिएका छन् ।

ज्वालादल गण कलैयाले सञ्चालन गरेको शिविरमा महिला, पुरूषसँगै बालबालिका र वृद्धवृद्धा गरी १ हजार २५ जनाले उपचार गराएका छन् । सहरी क्षेत्रको अस्पताल र चिकित्सकसँग पहुँच नभएकाहरूले शिविरमा उपचार सेवा लिएको मध्यपूर्वी पृतना हेडक्वाटर बर्दीवासका पृतनापति उपरथी प्रेमध्वज अधिकारीले बताए ।
विभिन्न संस्थाहरुको सहयोगमा राखिएको शिविरमा निःशुल्क भिडियो ऐक्स-रे तथा ईसीजी, मिर्गौला तथा मुत्ररोग, रक्तचाप तथा मधुमेह, छाला, हाडजोर्नी तथा नसाको परीक्षण गराइएको थियो । यस्तै स्त्री तथा प्रसूति रोग, आँखा, कान, घाँटी, बालरोग, दाँत, मानसिक रोगको उपचार गरिनुका साथै विभिन्न दीर्घ रोगीले उपचार सेवा लिएका थिए । शल्यक्रिया गर्नुपर्ने रोगको लागि उपचार हुन सक्ने स्वास्थ्य संस्थामा रिफर गरिएको थियो ।
भारतीय दक्षिणी सीमासित जोडिएको यस क्षेत्रका सर्वसाधारण उपचार सेवा पाएपछि खुसी भएका थिए । स्वास्थ्य जाँचपछि निःशुल्क औषधि पनि वितरण गरिएको कलैयास्थित ज्वाला दल गुल्मका सेनानी कृष्ण श्रेष्ठले बताए ।
शिविरमा सिम्रौनगढ नगरपालिका, प्रादेशिक अस्पताल कलैया, स्वास्थ्य कार्यालय कलैया, सिम्रौनगढ नगर अस्पताल, यूनिक फर्मासुटिकल, एलएस न्युरो एन्ड जेनेरल अस्पताल, एभरग्रीन तराई सिमरा अस्पताल, किरण आँखा अस्पताल, समाज प्रसूति एन्ड जेनेरल क्लिनिक तथा म्यागनस फर्मा प्रालिले सहयोग गरेको सेनाले जनायो ।
प्रकाशित : वैशाख ३०, २०८० २२:४४