कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कोरोनाको नयाँ सबभेरिएन्ट बढी संक्रामक तर कम घातक

संक्रमण पहिलेजस्तो कडा र बढी मृत्यु नभए पनि सर्ने दर हालसम्मकै उच्च
अतुल मिश्र

काठमाडौँ — कोभिडको नयाँ सबभेरिएन्ट ‘एक्सबीबी.१.१६’ को संक्रमण बढ्न थालेको छ । विज्ञहरूका अनुसार यो सबभेरिएन्टले हुने संक्रमण पहिलेजस्तो घातक र मृत्यु बढी नभए पनि सर्ने दर हालसम्मकै उच्च छ ।

कोरोनाको नयाँ सबभेरिएन्ट बढी संक्रामक तर कम घातक

पछिल्लो लहरबाट मंगलबारसम्म १० जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा ६ पुरुष र ४ महिला छन् । त्यसरी ज्यान गुमाउने सबैजसो जटिल र दीर्घरोगी छन् । मुलुकको कुल जनसंख्याको ८५ प्रतिशतभन्दा बढीले कोभिडविरुद्धको खोप पूर्ण मात्रा लिइसकेकाले पनि नयाँ सबभेरिएन्ट बढी घातक नदेखिएको विज्ञहरू बताउँछन् ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. चुमनलाल दासले एक्सबीबी.१.१६ भेरिएन्ट संक्रमण तीव्र रूपमा विस्तार भइरहे पनि अस्पताल भर्नादर र संक्रमण कम घातक देखिएको बताए । उनका अनुसार पछिल्लो लहरमा सामान्य अवस्थाका संक्रमितको मृत्यु भएको छैन । ‘ज्यान गुमाएका १० जना नै बढी उमेरका र क्यान्सरलगायत जटिल रोग भएकाहरू हुन्,’ डा. दासले भने, ‘अघिल्ला लहरमा उच्च रक्तचापलगायत नियमित औषधिले नियन्त्रणमा राख्न सकिने स्वास्थ्य समस्या भएकामा समेत उच्च मृत्युदर देखिएको थियो, हाल त्यस्तो छैन ।’

हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार ३० जनाले ज्यान गुमाइसकेका छन् । मृत्युदर १.२ प्रतिशत देखिएको छ । सरकारी तथ्यांकअनुसार संक्रमितहरूको निको हुने दर ९८.७ प्रतिशत छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७ सय १८ नमुना परीक्षण गर्दा ५५ जनामा संक्रमण देखिएको छ । हाल २ सय ५२ जना सक्रिय संक्रमित छन् । अस्पताल भर्ना भएकामध्ये ११ जना आईसीयू र ३ जना जनरल वार्डमा छन् भने २५ जना संस्थागत आइसोलेसनमा छन् ।

संक्रमितहरूको अवस्था र मृत्युदर हेर्दा पछिल्लो लहरले ठूलो क्षति नपुर्‍याउने स्वास्थ्य विज्ञको भनाइ छ । ‘यसपटक सामान्य व्यक्तिमा संक्रमणको समस्या देखिएन,’ वीर अस्पताल कोभिड म्यानेजमेन्ट समितिका अध्यक्ष एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा. प्रज्वल श्रेष्ठले भने, ‘प्रायः संक्रमित मिर्गौलाका जटिल रोगी, डायलसिस गराइरहेका, क्यान्सर रोगी, वृद्धवृद्धा, दीर्घकालीन कडा रोग भएका, रोग प्रतिरोधक क्षमता अत्यन्त कम भएका छन् ।’ कोभिड भाइरसको उत्परिवर्तन (म्युटेसन) ले भयानक रूप नलिएकाले हालको संक्रमण मौसमी रुघाखोकी जस्तै देखिएको उनले बताए ।

नयाँ भेरिएन्टको संक्रमण कम घातक देखिए पनि रोग प्रतिरोधक क्षमता कम भएका, ज्येष्ठ नागरिकले अतिरिक्त खोप लगाउन ढिलो गर्न नहुने डा. दासको भनाइ छ । मास्क लगाउने, भीडभाडबाट टाढै बस्ने, साबुनपानीले हात धुनेजस्ता स्वास्थ्य मापदण्ड पालनामा समेत गम्भीर बन्न उनले सुझाव दिए । भारतमा मार्च पहिलो सातादेखि कोभिड विस्तार देखिए पनि नेपालमा मार्च अन्तिमदेखि संक्रमण बढ्न थालेको हो ।


प्रकाशित : वैशाख २०, २०८० १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?