थप ६९ जनामा कोरोना संक्रमण

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा पछिल्ला केही दिनमा कोरोना भाइरसको संक्रमण बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

७७८ एन्टिजेन परीक्षण गर्दा ४४ जनामा र ४८८ पीसीआर परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । उक्त विवरण गत ४ दिनमा प्राप्त भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले मुलुकमा सक्रिय संक्रमितको संख्या ६६ रहेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म नेपामलमा पीसीआरतर्फ १० लाख १ हजार २ सय ४८ र एन्टिजेनतर्फ १ लाख ५२ हजार २ सय ७७ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा कोरोनबाट मृत्यु हुनेको संख्या १३ हजार २० रहेको छ ।

यसअघि चैत ८ गते नेपालमा शून्य संक्रमण रहेको थियो । त्यसको भोलिपल्ट १७ जना, चैत १० गते २ जना, चैत ११ मा ३ जना र चैत १२ मा १६ जनामा कोरोना पुष्टि भएको थियो ।

पछिल्लो समय छिमेकी मुलुक भारतमा समेत कोरोना संक्रमण बढिरहेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार एकैदिन १ हजार ८ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतमा गत वर्षको अक्टोबर २८ पछि एकैदिन धेरैजनामा कोरोना पुष्टि भएको हो ।

प्रकाशित : चैत्र १३, २०७९ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्

सरकार मिटरब्याज पीडितका समस्या हेरेरै बसेको छ : मेयर शाह

'केही वर्षदेखि नेपाल सरकारले मिटरब्याजीहरुलाई कारबाहीको दायरामा ल्याउने कुरा आश्वासनमै सीमित रह्यो । सधैं काठमाडौं आएर आन्दोलन नै गर्नुपर्ने स्थिति सिर्जना हुँदा पनि सरकार हेरेर बस्ने अवस्था छ'
कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले मिटरब्याजीहरूलाई कारबाहीको दायरामा ल्याउने सरकारको प्रतिबद्धता आश्वासनमै सीमित भएको टिप्पणी गरेका छन् । उनले पीडितहरू सधैं काठमाडौंमा आएर आन्दोलन गर्नुपर्ने स्थिति सिर्जना हुँदा पनि सरकार हेरेर बसेको उनको भनाइ छ ।

सोमबार खुलामञ्चको गेट अगाडि मिटरब्याज पीडितहरूले प्रदर्शन गरिरहेका बेला मेयर शाहले समाजिक सञ्जालमा लेखेर सरकारको आलोचना गरेका हुन् ।

मेयर शाहले लेखेका छन्,'विगत केही वर्षदेखि नेपाल सरकारले मिटरब्याजीहरुलाई कारबाहीको दायरामा ल्याउने कुरा आश्वासनमै सीमित रह्यो । सधैं काठमाडौं आएर आन्दोलन नै गर्नुपर्ने स्थिति सिर्जना हुँदा पनि सरकार हेरेर बस्ने अवस्था छ ।'

उनले पीडितहरूको मागप्रति ऐक्यबद्धता जनाउँदै सरकार समक्ष समस्या समाधानका लागि माग गरेका छन् । उनले भनेका छन्, 'हामी चाहन्छौं यस्तो अवस्थामा काठमाडौं कोही आउन नपरोस्, गाउँगाउँमा सरकार पुगोस् ।'

यसैबीच ११ दिन हिँडेर न्यायका लागि काठमाडौं आएका पीडितहरुलाई मानवतको नाताले काठमाडौं महानगरपालिकाले पशुपति धर्मशालामा खाना र बासको व्यवस्था गर्ने मेयर शाहले घोषणा गरेका छन् ।

मेयर शाहले पीडितहरूसँग सोमबार बिहानै पशुपति जान पनि अग्रह गरेका छन् । यस्तै आन्दोलनका लागि रत्नपार्कको शान्तिबाटिकामा गर्न पनि प्रबन्ध गरेको उनले उल्लेख गरेका छन् ।

प्रकाशित : चैत्र १३, २०७९ १८:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×