औषधि प्रतिरोधी क्षयरोग संक्रमण बढ्दै

एक जना औषधि प्रतिरोधी क्षयरोगको उपचार गर्दा करिब १० लाख रुपैयाँसम्म औषधिमा खर्च
अतुल मिश्र

काठमाडौँ — नेपालमा क्षयरोगबाट प्रत्येक दिन झन्डै ४७ जनाको मृत्यु भइरहेको छ भने १ सय ९० जना नयाँ क्षयरोगी थपिने गरेका छन् । क्षयरोगका कारण जनस्वास्थ्यमा यस्तो प्रतिकूल असर पारिरहेकै बेला औषधि प्रतिरोधी क्षयरोगको गम्भीर चुनौतीसमेत थपिएको छ । 

विज्ञहरूका अनुसार औषधि प्रतिरोधी क्षयरोगबाट संक्रमित एक जना बिरामीको उपचारमा दस लाख रुपैयाँसम्मको औषधि खानुपर्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि सन् २०२१ देखि औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका विश्वका ३० मुलुकमा नेपाललाई समावेश गरेको छ । डब्लूएचओले बहुऔषधि प्रतिरोधी क्षयरोगलाई सार्वजनिक स्वास्थ्य संकट र स्वास्थ्य सुरक्षाका लागि खतरासमेत भनेको छ ।

‘मुलुकमा औषधि प्रतिरोधी क्षयरोगीको वार्षिक अनुमानित संख्या २ हजार ८ सय छ,’ राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निमित्त निर्देशक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा.नवीनप्रकाश शाह भन्छन्, ‘सबैभन्दा खतरनाक पक्ष के छ भने औषधि प्रतिरोधी क्षयरोगका करिब ७५ प्रतिशत (२ हजार १ सय) बिरामीलाई रोग पत्ता लगाई उपचारमा ल्याउन सकिएको छैन ।’

डा.शाहका अनुसार एक जनाको उपचारमा करिब १० लाख रुपैयाँको औषधि आवश्यक पर्छ । तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा ९ सय ४२ जनामा औषधि प्रतिरोधी क्षयरोग पहिचान गरिएकामा ६ सय ५९ जना मात्र उपचारका लागि पुगेका थिए ।

नेपालमा हाल क्षयरोगका १ लाख १७ हजार बिरामी छन् । यस्तै बर्सेनि क्षयरोगका ६९ हजार नयाँ बिरामी थपिने र १७ हजार जनाको यो रोगले गर्दा मृत्यु हुने गरेको अनुमान छ । डब्लूएचओका अनुसार बर्सेनि विश्वमा १ करोड व्यक्तिलाई क्षयरोगको संक्रमण हुन्छ भने हरेक वर्ष यो रोगले १५ लाख जनाले ज्यान गुमाउँछन् । विश्वभर क्षयरोगका कुल बिरामीमध्ये झन्डै ३० प्रतिशत अर्थात् ३० लाखजति भारतमा रहेकाले नेपालका लागि समेत टाउको दुखाइ भएको विज्ञहरू औंल्याउँछन् ।

क्षयरोग ब्याक्टेरियाको संक्रमणका कारण हुने सरुवा रोग हो । क्षयरोगका कारण सामान्यतया फोक्सोमा संक्रमण हुन्छ । फोक्सोबाहेक ढाडको हाड, मिर्गौला, मस्तिष्क, आन्द्रा र गर्भाशयमा पनि यसको संक्रमण हुन सक्छ । क्षयरोग लागेका बेला खोकीसँगै खकारमा रगत, छाती दुख्ने, तौल घट्ने, कमजोरी हुने, ज्वरो आउने र राति पसिना निस्किने लक्षण देखिन्छन् । औषधि प्रतिरोधी क्षयरोगको लक्षण पनि उस्तै हुन्छ । लक्षण सामान्य क्षयरोगजस्तै भए पनि औषधि प्रतिरोधी क्षयरोग संक्रमणको सबैभन्दा बढी गम्भीर र जटिल रूप हो । यो संक्रमण भएको खण्डमा क्षयरोगमा प्रयोग गरिने धेरैजसो औषधिले काम गर्दैन । क्षयरोगको यो अवस्था बिरामीका लागि बढी खतरनाक मानिन्छ । यस्तो संक्रमणका बेला पनि क्षयरोगकै जस्तो लक्षण देखिन्छ ।

डा. शाहका अनुसार नेपालमा औषधि प्रतिरोधी क्षयरोगको उपचार सफलताको दर ७५ प्रतिशत छ । यो दर अन्य मुलुकको तुलनामा राम्रो हो । विज्ञहरूका अनुसार अन्य मुलुकमा त्यस्ता बिरामीमध्ये ५० प्रतिशत मात्र पूर्णरूपमा निको हुने गरेका छन् । ‘औषधि प्रतिरोधी क्षयरोगकै कारण बढी मृत्यु देखिएको छ, बिरामीमा जसरी क्षयरोगको औषधिप्रति प्रतिरोध बढ्दै जान्छ, त्यही अनुपातमा मृत्यु दरसमेत बढ्दै जान्छ,’ उनले भने ।

नेपालमा औषधि प्रतिरोधी क्षयरोगको दुवै स्वरूप ‘मल्टी ड्र्रग रेसिस्टेन्ट टीबी’ र ‘एक्सटेन्सिभली ड्र्रग रेसिस्टेन्ट टीबी’ पहिचान भइसकेको छ । क्षयरोगको औषधि सेवनमा लापरबाही गर्दा बिरामीमा औषधि प्रतिरोधी क्षयरोग विकास हुने बढी जोखिम रहन्छ । औषधि प्रतिरोधी क्षयरोग भएकाबाट स्वस्थ व्यक्तिमा संक्रमण हुँदा औषधि प्रतिरोधी क्षयरोग नै सर्छ ।

औषधि प्रतिरोधी क्षयरोगको उपचार ९ महिनादेखि १८ महिनासम्म चिकित्सकको प्रत्यक्ष निगरानीमा गर्नुपर्छ । त्यस्ता बिरामीलाई उपचारमा जान प्रेरित गर्न सरकारले पोषण तथा यातायात खर्चका रूपमा ३ हजार रुपैयाँसमेत दिने गरेको छ ।

प्रकाशित : चैत्र १०, २०७९ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्

गणतन्त्रले बदलेको हात्तीको नामकरण

पहिले हात्तीका नाम हुन्थे– वीरेन्द्रगज, ज्ञानेन्द्रगज, कोमलकली, श्रुतिकली । व्यवस्था बदलिएसँगै हात्तीका नाम पनि फेरिए । २०६३ सालमा जन्मिएको एउटा पोथी हात्तीको नाम लोकतन्त्रकली राखिएको छ ।
प्रजनन केन्द्रमा जन्मिएका छावालाई तालिम दिँदै हुर्काएर अन्य निकुञ्जका हात्तीसारलाई हस्तान्तरण गरिन्छ । त्यस्ता हात्तीलाई बाघ गणना, जंगल सफारी र गस्तीका लागि प्रयोग गरिन्छ ।
गोविन्द पोखरेल

काठमाडौँ — चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रमा कुनै छावा जन्मियो कि लगत्तै दरबारमा खबर पुर्‍याउनुपर्थ्यो । ‘यो नाम राख्नू’ भनेर दरबारले स्वीकृति दिएपछि मात्रै न्वारान गरेर नाम राख्न पाइन्थ्यो । यो गणतन्त्रअघिको कुरा हो । 

व्यवस्था परिवर्तनसँगै मुलुकमा धेरै कुरा फेरिए । राजमार्गको नामै ‘लोकमार्ग’ राख्न थालिएको सन्दर्भमा हात्तीका नाम पनि अब राजतन्त्रकालीन छैनन् । पहिले राख्ने गरिएका वीरेन्द्रगज, ज्ञानेन्द्रगज, कोमलकली, श्रुतिकलीजस्ता नाम अब रहने छैनन् ।

प्रजनन केन्द्रका प्रमुख मनिपुरन चौधरीका अनुसार हात्तीसारमा जन्मिएका छावालाई न्वारान गर्ने चलन पहिल्यैदेखिको हो । ‘मानिसको बच्चा जन्मँदा ११ दिनसम्ममा न्वारान गरिन्छ, हात्ती अलिक ठूलो जीव भएकाले १२ औं दिनमा गर्ने चलन छ,’ उनले भने, ‘न्वारानका दिन निकुञ्जका प्रमुख संरक्षण अधिकृत, समाजका लब्धप्रतिष्ठित व्यक्ति, विभिन्न सरकारी निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी, एनटीएनसी प्रमुख सबैको सहभागिता हुने गर्छर्न् ।’

यस्तै समारोहका बीच फागुन २४ मा जन्मिएको छावाको नाम आइतबार राखियो– विजयगज । यो छावा ध्रुवे र गण्डकीकलीबाट जन्मिएको हो । प्रजनन केन्द्रमा हुर्काइने हात्तीको पहिचानका लागि नामकरण गर्ने चलन छ । यस्तो नामकरण राजतन्त्रकालमा राजपरिवारका सदस्यका नामबाट गरिन्थ्यो, राजनीतिक व्यवस्था परिवर्तनसँगै हात्तीका नाम पनि फेरिएका छन् । हिजोआज कुनै दिन विशेष, घटना वा स्थान विशेष नाम राख्न थालिएको छ । त्यसैले अचेल जन्मिने छावाको नाम वीरेन्द्रगज, ज्ञानेन्द्रगज, ऐश्वर्याकली, कोमलकली, श्रुतिकलीजस्ता छैनन् । व्यवस्था बदलिएपछि जन्मिएका छावाका नाम लोकतन्त्रकली, शेषचन्द्रगज, रमेशगज, खोरसोरकली, सीमसारगज जस्ता छन् ।


हात्ती प्रजनन केन्द्रमा राखिएको हात्ती । फाइल तस्बिरः चितवन राष्ट्रिय निकुञ्ज

आइतबार न्वारान गरिएको छावाको नाम विजयगज राख्नुका पछाडि जन्मिँदाको घटनासँग जोडिएको छ । १२ दिनअघि पशु चिकित्सक विजयकुमार श्रेष्ठको टोलीले शल्यक्रिया गरेर छावा निकालेका थिए । दुई दिनसम्म बेथा लाग्दा पनि आमा हात्तीले जन्म दिन नसकेपछि शल्यक्रिया गर्नुपरेको डा. श्रेष्ठ बताउँछन् । ‘मृत्युको मुखमा पुगेको हात्ती र छावालाई शल्यक्रियामार्फत सकुशल जीवित गराएका हौं,’ उनले भने । चिकित्सकहरूले जोखिम मोलेर छावालाई सकुशल जन्माइदिएकाले उनैको सम्मानका खातिर विजयगज राखिएको निकुञ्ज प्रशासनको भनाइ छ । प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य भन्छन्, ‘मृत्युसँग जुधेर नयाँ जीवन प्राप्त गरेको हात्ती पनि भयो । शल्यक्रिया गर्ने चिकित्सकको नाम पनि विजय भएकाले छावाको नाम विजयगज राखिएको हो ।’

गणतन्त्र घोषणापछि प्रजनन केन्द्रमा जन्मिएका धेरै छावाको नाम घटना र ठाउँ विशेषका आधारमा राखिने गरिएको आचार्य बताउँछन् । ‘न्वारान पण्डितले नै गराउँछन्, नामचाहिँ चिफ वार्डेनले दिने परम्परा छ,’ उनले भने, भने, ‘भाले छ भने गज, पोथी छ भने कली जोडिन्छ ।’ लोकतन्त्र घोषणा भएका बेला २०६३ सालमा जन्मिएको एउटा हात्तीको नाम लोकतन्त्रकली राखिएको छ । गत वैशाखमा हात्तीसारमा कार्यरत रमेशकुमार चौधरीको हात्ती चराउन गएका बेला बाघको आक्रमणमा परी मृत्यु भएपछि प्रजनन केन्द्रमै जन्मिएको छावाको नाम रमेशगज राखिएको थियो । यस्तै, २०७१ सालमा तस्करको गोली लागेर ज्यान गुमाएका निकुञ्जका गेमस्काउट शेषचन्द्र चौधरीको नाममा पनि हात्तीको नामकरण गरिएको छ । अघिल्लो वर्ष वैशाखमा जन्मिएको छावाले उनकै सम्झनमा नाम पायो– शेषचन्द्रगज ।

अधिकृत आचार्यका अनुसार ठाउँ विशेषको नाममा पनि हात्तीको नामकरण गरिएको छ । सिमसार दिवसमा जन्मिएको एउटा हात्तीको नाम नै सीमसारगज राखियो ।

‘नामकरण कुनै भाव जनाउन नाम राख्ने गरिएको हो,’ उनले कान्तिपुरसँग भने । खोरसोरमा जन्मिएको छावाको नाम भने खोरसोरगज राखिएको छ । राजाहरूको नाम राखिएका वीरेन्द्रगज, ज्ञानेन्द्रगज, दीपेन्द्रगजको मृत्यु भइसकेको छ । धीरेन्द्रगजको पनि मृत्यु भएको प्रजनन केन्द्रका प्रमुख चौधरीले जानकारी दिए । तत्कालीन रानी ऐश्वर्या, छोरी श्रुतिको नाममा राखिएको हात्तीको उमेर अहिले ३० वर्ष छ । पूर्व राजा ज्ञानेन्द्रकी श्रीमती कोमलको नाममा राखिएको कोमलकली हात्ती अहिले जीवित छ । उसको उमेर ५५ वर्ष रहेको चौधरीले बताए । ज्ञानेन्द्रका छोरा पारसको नाममा राखिएको पारसगजको उमेर त्यस्तै १५/१६ वर्ष भएको छ ।

जंगली हात्तीको भने औपचारिक नामकरण हुने गरेको छैन तर स्थानीयले कतिपय घटनामा केन्द्रित रहेर नाम राख्ने गरेको आचार्यले बताए । ‘धुव्र नाम गरेको व्यक्तिलाई मारेको भएर हात्तीको नाम धुव्रे राखेको हुन सक्छ,’ उनले भने, ‘गोविन्दे, रोनाल्डो पनि त्यस्तै कुनै घटनाबाट प्रभावित भएर स्थानीयले नाम राखिदिएको हुन सक्छ ।’

गत फागुन २४ गते जन्मिएको छावा, जसको नाम ‘विजयगज’ राखिएको छ ।

हात्तीको न्वारान गर्ने दिनमा माउलाई बिहानै नुहाइधुवाइ गराइन्छ । तोरीको तेलमा ज्वानो, मेथी, लसुन, राखेर पूरै शरीर मालिस गरेर रंगीबिरंगी बनाई फूलमाला लगाइन्छ । फलफूल र खीर खान दिइन्छ । त्यस दिन पण्डित बोलाएर नाम जुराइन्छ । सुत्केरी हात्तीलाई मालिस गरिदिने चलन पनि पहिल्यैदेखिको रहेको प्रजनन केन्द्र प्रमुख चौधरीले बताए । ‘सुत्केरी भएको १२ दिनसम्म मालिस गर्नुपर्छ,’ उनले भने, ‘एक पटक शरीरमा मालिस गर्दा दुई लिटर तेल खर्च हुन्छ ।’

मापदण्ड बनाउने तयारी

प्रजनन केन्द्रमा जन्मिएका हात्तीको नामकरणका लागि मापदण्ड बनाउने तयारी भइरहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । विभागका महानिर्देशक महेश्वर ढकालले हात्तीको नामकरणका लागि मापदण्ड बनाएर मन्त्रालयमा पेस गर्ने विषयमा छलफल चलिरहेको बताए । ‘यसका लागि तिथिमिति हेरेर, हात्तीको वंशका आधारमा पनि राख्न सकिन्छ भन्ने छ,’ उनले भने ।

नाममा एकरूपता ल्याउन मापदण्ड बनाउनका लागिएको उनले जानकारी दिए । उनका अनुसार एउटा हात्तीको रेखदेखका लागि ३ जना खटिने र सरकारको दरबन्दी नै हुने भएकाले कुन आधारमा भाले र पोथीको नाम राख्ने भन्ने विषयमा मापदण्ड बनाइनेछ । २०४४ सालमा ६ वटा भाले र १४ वटा पोथी हात्ती राखेर औपचारिक रूपमा हात्ती प्रजनन केन्द्रको स्थापना गरिएको थियो । तीमध्ये १६ वटा भारत र २/२ वटा थाइल्यान्ड र म्यान्मारबाट ल्याइएको थियो । प्रजनन केन्द्र स्थापना भएयता ६२ वटा छावा जन्मिएका चौधरीले जानकारी दिए । तीमध्ये हर्पिस भाइरसका कारण ६ वटा छावा मरेको निकुञ्जका चिकित्सक विजयकुमार श्रेष्ठले बताए ।

प्रजनन केन्द्रमा जन्मिएका छावालाई तालिम दिँदै हुर्काएर अन्य निकुञ्जका हात्तीसारमा दिने गरिन्छ । चालु आर्थिक वर्षमा शुक्लाफाँटालाई दुई र अघिल्लो आर्थिक वर्ष बाँकेलाई चारवटा हात्ती दिइएको थियो । त्यस्ता हात्तीलाई जंगल सफारी र गस्तीका लागि प्रयोग गरिन्छ । बाघ गणनामा पनि हात्तीको प्रयोग गरिन्छ ।

अन्य देशले कसरी गर्छन् न्वारान ?

एसियाली हात्तीको नामकरण सम्बन्धित देशको संस्कृतिअनुसार नै गरिन्छ । अमेरिका, अस्ट्रेलिया र बेलायतमा भने भोटिङका आधारमा नाम राख्ने गरिन्छ । अफ्रिकी मुलुक केन्यामा नामकरणका लागि विशेष समारोह नै आयोजना गरिन्छ ।

यो वर्षको मार्चमा अफ्रिकन वाइल्ड लाइफ फाउन्डेसनले एम्बोसेली नेसनल पार्कमा जन्मिएको छावाको नाम मसाई भाषामा आधारित भएर राखेको थियो । अमेरिकाको चिडियाघरमा जन्मिएका छावाको नामका लागि भने सर्वसाधारणलाई अपिल गरिन्छ । प्राप्त नाममध्ये उत्कृष्ट ५ छनोट गरेर अनलाइन भोटिङमार्फत नाम तय गरिन्छ । दुई वर्षअघि न्युयोर्कस्थित रोजामन्ड गिर्फ्ड चिडियाघरमा जन्मिएको छावाको नाम राख्न सार्वजनिक अपिल गरिएको थियो । ओरेगन चिडियाघरमा पनि नामकरणका लागि बेबसाइटमा सार्वजनिक आह्वान गर्दै ५ नाममध्ये एउटामा भोट गर्न भनिएको थियो । हडसनको फर्टवर्थ चिडियाखानाले चाहिँ टेक्सासका एक व्यक्तिले गरेको योगदानको कदर गर्दै नाम राखेको थियो ।

बेलायतको बेडफोर्डसाइरस्थित विप्स्नेड चिडियाखानामा जन्मिएको छावाको नाम बेलायती महारानी एलिजाबेथको जस्तै राखिएको थियो । यस्तै, ३ वर्षअघि बेल्जियमको प्लाङकेनडेलस्थित चिडियाघरमा जन्मिएको छावालाई भारतीय परम्पराअनुसार नाम दिइएको थियो । दक्षिण भारतको केरलामा भने जन्मिएको २८ दिनपछि छावाको कानमा नाम भनिदिने प्रचलन छ । सोहीअनुसार एक मन्दिरमा नामकरण गरिएको थियो । ३ वर्षअघि भारतको बेंग्लोरस्थित बन्नेरघटा बायोलिजकल पार्कमा जन्मिएको छावाको नाम इन्फोसिस फाउन्डेसनकी अध्यक्ष सुधा मूर्तिको सम्झनामा राखिएको थियो ।

जापानको युनो जुलोजिकल गार्डेनमा जन्मिएको छावाको नामकरण पनि पब्लिक भोटिङका आधारमा ‘अरुन’ राखिएको थियो । थाइल्यान्डका बुद्धिस्ट भिक्षुहरूले पनि हात्तीको नाम राख्ने गरेका छन् । थाई संस्कृतिका आधारमा तोरांगा कन्जर्भेसन सोइसाइटी अस्ट्रेलियामा पनि नाम राखिएको थियो । मेलबर्नमा जन्मिएको छावाको नामकरणका लागि भोटिङ नै गरिएको थियो । थाइल्यान्डको राष्ट्रिय जनावर रहेको हात्तीलाई रोयल परेडमा समेत सहभागी गराइन्छ । त्यहाँ संस्कृतिअनुसार हात्तीको नाम राख्ने गरिन्छ ।

प्रकाशित : चैत्र १०, २०७९ १०:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×