नेपालमा भेटिनेमध्ये धेरैलाई नसाको कुष्ठरोग- स्वास्थ्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
विश्व कुष्ठरोग दिवस

नेपालमा भेटिनेमध्ये धेरैलाई नसाको कुष्ठरोग

डा. प्रज्वल पुडासैनी

काठमाडौँ — हरेक वर्षझैं यो वर्ष पनि जनवरी महिनाको २९ तारिख कुष्ठरोग सचेतनाका लागि 'आजै जागौं, कुष्ठरोग निवारण गरौं' भन्ने नाराका साथ मनाइँदै छ । कुष्ठरोग अन्त्य गर्ने ध्येयले यो वर्ष मूलत: कुष्ठ रोगलाई निर्मुल गर्न सम्भव छ, केही गरौं, आजैदेखि जुटौं र पहुँच नपुगेकाहरुसम्म स्वास्थ्यकर्मीको पहुँच पुर्‍याउँ भन्ने उद्देश्य राखिएको छ । 

यस्ता सचेतना दिवसहरुले बिरामीको आत्माविश्वास बढाउन, पूर्ण उपचार लिन, जटिलता कम गर्न, रोग निर्मूल पार्न, सर्नबाट रोक्न र समाजमा हुने हेला तथा तिरस्कार र सामाजिक कुरीति र अन्धविश्वासको अन्त्य गर्न मद्दत गर्दछ । हाम्रो जस्तो स्रोत साधन सीमित भएको ठाउँमा कुष्ठ रोगलाई निर्मूल गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखे यसबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न सकिन्छ । अहिले पनि जनमानसमा कुष्ठरोगबारेमा त्रास र केही हदसम्म अल्पज्ञान रहेको देखिन्छ । जनमानसमा यस रोगबारे सचेतनाको कमी छ । साथै यस रोगबाट ग्रसित बिरामीलाई हेयको दृष्टिले हेरिनु तथा आर्थिक परिवेश यो रोगलाई निर्मूल गर्नका लागि मुख्य बाधक हुन् ।

संसारभरमा सन् २०२१ मा कुष्ठरोगका नयाँ बिरामी करिब १ लाख ४० हजार ५९४ जना देखिएका छन्, जसमध्ये करिब ६६ प्रतिशत बिरामी दक्षिण-पूर्वी एसियाका छन् । कुष्ठरोग निर्मूल र उन्मुलनका कार्यक्रमहरू चलिराख्दा अघिल्लो वर्षभन्दा यो वर्ष विश्वभर नै करिब १० प्रतिशतभन्दा बढी नयाँ बिरामीहरू पत्ता लागेका छन् । यस्तै नेपालमा पनि कुष्ठरोगका बिरामीहरूको संख्या शून्यमा झार्न सन् २०२१ देखि २०३० सम्मका लागि 'रोड म्याप फोर जेरो लेप्रोस' कार्यक्रम चलाइएको छ ।

सन् २०१० मा नेपालबाट कुष्ठरोग उन्मुलन भइसकेको घोषणा गरिए पनि यो पूर्णरुपमा हटिसकेको छैन । आर्थिक वर्ष २०७८/७९ मा नेपालमा कुष्ठरोगका २२८५ नयाँ बिरामी रहेको देखिएको छ । यो संख्या अघिल्लो वर्षभन्दा धेरै हो, अघिल्लो वर्ष कुष्ठरोगका नयाँ बिरामी २१७३ जना थिए । यस वर्ष नयाँ बिरामीमध्ये ९८९ जना महिला छन्, ७३ जना बालक छन् र तीमध्ये १७० जनालाई हातखुट्टा/नसामा देखिने शारीरिक दुर्बलता र आखाँमा देखिने संक्रमण/ अन्धोपना देखिएको छ । करिब २३७३ कुष्ठरोगका बिरामी कुष्ठरोगको उपचारको क्रममै छन् । यस्तै उक्त रोगका बिरामीमध्ये सबैभन्दा धेरै मधेस प्रदेशको बारा जिल्लामा देखिएका छन् भने सबैभन्दा कम वाग्मती प्रदेशमा छन् ।

माइक्रोब्याक्टेरियम लेप्री नामक किटाणुबाट सर्ने कुष्ठरोग दीर्घ संक्रामक रोग हो । लामो समयसम्म आफ्नो सान्निध्यमा रहेका व्यक्तिको श्वासप्रश्वासको माध्यमबाट यो अन्य मानिसहरूमा सर्दछ । तर‚ छुँदैमा, हात मिलाउँदैमा भने यो रोग सर्दैन । करिब ८० प्रतिशतमा यो रोग आफैं ठिक हुन्छ भने रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका करिब २० प्रतिशत मानिसहरूलाई उपचार आवश्यक पर्छ । उनीहरूमा यो रोग विभिन्न प्रकारबाट देखिन सक्छ ।

धेरै हदसम्म नेपाली समाजमा रहेको कुष्ठरोगको त्रास, यसले छालामा मात्र नभई, नसा, आँखा, हाडजोर्नी, अण्डकोष, कलेजो, मिर्गौला, मुटु र फोक्सोमा गर्न सक्ने जटिलतासँग सम्बन्धित छ । हातखुट्टा र अनुहारका स्न्यायु, मांसपेसी र हाडजोर्नीमा पर्ने असरले कुष्ठरोगका बिरामीमा ल्याउने विरुपण यस रोगको सामाजिक तिरस्कारको कारण बन्ने गरेको छ ।

कुष्ठरोगको लक्षण अनुहारमा, ढाडमा, बस्ने ठाउँमा, हात खुट्टामा सेतो वा रातो रंग भएको लाटो फुस्रो दाग देखिने, दागमा कपाल नउम्रिने, पसिना नआउने र अनुहार तथा हात खुट्टामा गिर्खा आउने, नाकको आकृति बिग्रिने, नाकबाट रगत बग्ने, नाक बन्द हुने आदि हुन्छ । यस्तै हात खुट्टाका नसा कमजोर हुने, तातो चिसो थाहा नपाउने, हात, खुट्टा पोलिरहने, झमझम गरिरहने, हिँड्दा चप्पल फुस्किरहने आदि पनि कुष्ठरोगका लक्षण हुन सक्छन् । आँखीभुइँ, परेलीका रौंहरू झर्ने, आँखा बन्द गर्न नसक्ने हुने, आँखामा संक्रमण हुने, मोतिबिन्दु, जलबिन्दु हुने र अन्धोपना आउनेसम्म हुन सक्छ ।

कुष्ठरोगले सामान्यतया दीर्घरुपमा बिस्तारै छाला, नसा लगायत अंगमा असर गरिरहेको हुन्छ । तर, गर्भवती महिला, शल्यक्रिया गरेका बिरामी, घाउचोट लागेका बिरामी, दीर्घरोगी, कोभिड-१९ संक्रमित बिरामीहरूमा कुष्ठरोगको रियाक्सन देखिन्छ ।

कुष्ठरोगको रियाक्सनका कारण पहिला नै भएका डाबरहरू झन् रातो हुने‚ सुन्निने, हाडजोर्नीको नसामा पिप जमेर पक्षघात हुने, हातगोडा सुन्निने, दुख्ने, घाउ हुने, फोका बिमिरा आउने, ज्वरो आउने, जिउ दुख्ने आदि लक्षण देखिन सक्छन् । रियाक्सनको समयमै पहिचान गरी उपचार गरेमा यसबाट हुने अपांगताको रोकथाम गर्न सकिन्छ । कुष्ठरोगका बिरामीमा मृत्युदर निकै कम भए पनि मृत्यु हुनेमा फोक्सोको संक्रमण, क्षयरोग, र मिर्गौला फेल हुने समस्या देखिने गरेको छ ।

नेपालमा सबैभन्दा धेरैमा देखिने नसाको कुष्ठरोग अर्थात प्योर न्यूरिटिक लेप्रोसी हो । यसमा हात खुट्टाका छालाका नसाहरूमा असर परी छालामा छोएको थाहा नहुने, घाउ हुने र पक्षघात हुने आदि जस्ता लक्षण देखिने गरेको छ । यसरी घाउ भइरहेमा पक्षघातका कारण हात खुट्टाका औंलाहरू झर्दै जान्छन् ।

कुष्ठरोग सामान्यतया यसमा देखिने लक्षणबाट पत्ता लगाउन सकिन्छ जसमध्ये तल उल्लेखित तीनमध्ये एक बुँदा पूरा भए हुन्छ:

  • छोएको वा तातो चिसो थाह नहुने र लाटो फुस्रो दाग देखिने
  • हात खुट्टा, घाँटी, अनुहारका नसा बाक्लो हुने
  • एसिड फास्ट स्टेनमा कुष्ठरोगका किटाणु देखिनु

उपचार र पुनःस्थापना जरुरी

कुष्ठरोगका कारण अपांगता भएका व्यक्तिमा पुनःस्थापनाका लागि आर्थिक र सामाजिक पुनःस्थापना गर्न जरुरी छ । जसका लागि व्यावसायिक तालिम प्रदान गरी समाजमा आत्मनिर्भर बन्न उत्प्रेरित गर्न सकिन्छ । आर्थिक सबलताले समाजमा कुष्ठरोगका बिरामीलाई गरिने हेलालाई कम गर्न सकिन्छ ।

कुष्ठरोगको उपचार समयमै गर्नाले आँखामा, नसा र हाडजोर्नीमा देखिने समस्याहरूको रोकथाम गर्न सकिन्छ । छिटो कुष्ठरोग/ कुष्ठरोगको रियाक्सन पत्ता लगाई कुष्ठरोग र रियाक्सनको उपचार गरेमा यसबाट हुने अपांगता र नसाका असरहरू कम हुन्छन् । यसरी घाउ र पक्षघात हुनबाट रोकेर कुष्ठरोगका बिरामीलाई सामाजिक कलंक र हेलाबाट बचाउन सकिन्छ ।

कुष्ठरोगका बिरामीलाई एमडीटी अर्थात् एन्टीलेप्रोसी औषधि दिनुपर्ने हुन्छ । यी औषधिहरू स्वास्थ्य केन्द्रबाट नि:शुल्क प्रदान गरिन्छ र रोगको प्रकृति हेरी कसैले ६ देखि ९ महिना र कसैले १२ देखि १८ महिनासम्म यी औषधिहरू नियमित सेवन गर्नुपर्ने हुन्छ ।

कुष्ठरोगका कारण हातखुट्टा पक्षघात भएका बिरामीलाई आफ्नो हेरचाह गर्ने विधि, हातखुट्टा आफैं चलाइरहने विधि, तेल मालिस गर्ने विधि, घाउचोटबाट बचाउने विधि र फिजियोथेरापीको विधिहरू सिकाउन जरुरी हुन्छ ।

प्रकाशित : माघ १५, २०७९ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्

छालाको स्याहार

डा. प्रज्वल पुडासैनी

काठमाडौँ — चिसो हावामा आर्द्रता र ओस अर्थात् ‘मोइस्चर’ कम हुन्छ । लामो समय हिटर वा आगोछेउ बस्दा छालाका कोषिकामा पानीको मात्रा कम भई विभिन्न समस्या देखिने गर्छन् ।

जाडोमा लगाइने ऊनीका लुगा र अत्यधिक प्रयोग गरिने तातोपानीले पनि छालालाई असर गर्छ । धेरै तातोपानीले छालामा भएका प्राकृतिक तेललाई नष्ट गर्छ र छाला थप सुक्खा बनाउँछ । प्राकृतिक तेल बनाउने ग्रन्थीहरू कम हुनाले हातको छाला फुट्ने समस्या बढी हुन्छ । जाडोमा छाला सुक्खा हुने, ओठ फुट्ने, छाला निस्किने र घाउ हुने सम्भावना बढी देखिन्छन् ।

एक्जेमा : एक्जेमा संसारका धेरै मानिसमा देखिने छालाको ‘इन्फ्लामेटोरी’ रोग हो । चिसो मौसममा छालामा पानीको मात्रा कम हुन्छ । यसले आफ्नो संरचना कायम राख्‍न नसक्ने र बाहिरी वातावरणका कारण कीटाणुले छालामा संक्रमण गर्ने हुँदा मुख्यत: सुक्खा छालामा यो रोग देखिन्छ ।

चिसोबाट बच्न हिटर वा आगो नजिक बसिरहने बानीले छालामा थप सुक्खापन निम्त्याउँछ । यसरी सुक्खा भएको छालामा ‘जेरोटिक एक्जेमा’ देखिन्छ । छाला चिलाउने, पोल्ने, बिझ्ने र फुस्रो भई छालाका पत्र निस्किने र घाउ हुने हुन्छ ।

सुक्खा हावा र ऊनीका लुगाले बालबालिका र वयस्कमा ‘एटोपिक एक्जेमा’ देखिन्छ । करिब ८० प्रतिशत बालबालिका ६ वर्षको उमेर पार गर्नुअघि नै यो रोगबाट पीडित हुने गर्छन् । वंशाणुगत रूपमै एटोपिक रोगको जोखिम भएका व्यक्तिमा रुघाखोकी लागिराख्ने, श्वासप्रश्वासमा समस्या भई दमको लक्षण देखिने र खानपिनको एलर्जी जस्ता समस्या देखिन्छन् ।

एटोपिक एक्जेमाका आउने–जाने लक्षण लामो समय चल्छ । तीव्र रूपमा छाला रातो हुने, पानीफोका आउने, पानी बगिरहने जस्ता लक्षण देखिन्छन् भने समयसँगै छाला बाक्लो र कालो हुने, धर्सा देखिने, कत्ला निस्किने, घाउ हुने र लामो समय रातोपना देखिइरहने हुन्छ । छाला ओसिलो पार्न र बाहिरी कीटाणुलाई छिर्न नदिन भ्यासलिन वा मोइस्चराइजर लगाइराख्नुपर्छ । कीटाणुको संक्रमण रोक्न एन्टिसेप्टिक प्रयोग गर्ने, चिलाउन कम गर्ने (एन्टी हिस्टमिन) औषधि र चिकित्सकको सल्लाहबमोजिम अन्य औषधि सेवन गर्नुपर्छ ।

जाडोयाममा कपालका तेल निकाल्ने ग्रन्थी बढी सक्रिय हुँदा चाया पर्छ । जसका कारण कपाल, आँखीभौँ, कान पछाडिको भाग, छाती, काखी र कास चिलाउने, रातो हुने, मसिना कत्ला निस्किने र फाट्ने हुन्छ । यसलाई ‘सेबोरिक एक्जेमा’ भनिन्छ । यसको समाधानका लागि नुहाउँदा एन्टिफंगल स्याम्पुको प्रयोग गर्नुपर्छ ।

चिलब्लेन्स : हातखुट्टाका औंला रातो हुनु, सुन्निनु, पानीफोका र पिपका फोका आउनु चिलब्लेन्सका लक्षण हुन् । कोभिड संक्रमणमा पनि यस्तै लक्षण देखिन्छन् । युवामा चिलब्लेन्स धेरै देखिन्छ । चुरोट सेवन गर्ने, दुब्लो मानिस, आरोही, चिसोमा काम गरिराख्नुपर्ने किसान, घरायसी काम गरिराख्नुपर्ने महिला, रक्तक्यान्सर र बाथ रोगका बिरामीलाई पनि यो रोग बढी देखिन्छन् ।

चिलब्लेन्स भएका व्यक्ति चिसोसँगको सम्पर्कमा पुग्नासाथ केही घण्टामै हातखुट्टाका औंला र कान चिलाउने, पोल्ने, सुन्निने, छाला रातो/प्याजी रंगको देखिन्छ । यस्तो लक्षण २४ घण्टाभन्दा बढी रहन्छ । संक्रमण गम्भीर हुँदा पानीफोका, पिपका फोका आउने र ती फुटेर घाउ हुने सम्भावना हुन्छ ।

छालालाई चिसो हावा, पानीबाट बचाउनुपर्छ । त्यसका लागि पूरा शरीर ढाक्ने गरी लुगा, पन्जा, मोजा लगाउने र बेलाबेला मोइस्चराइजर लगाइराख्ने गर्नुपर्छ । व्यायामले रक्तसञ्चार गराउँछ र शरीरको तापक्रम सन्तुलनमा राख्छ । नाइट्रोग्लिसरिन, स्टेरोइड मलम लगाउने र संक्रमण अलि जटिल भएमा रक्तनली फैलाउने औषधि चिकित्सकको सल्लाहबमोजिम खाने गर्नुपर्छ ।

सेराइसिस : शरीरमा रातो टाटा आउने र सेतो चाँदी जस्तो कत्ला निस्किने भएमा त्यो सेराइसिस वा कत्ले रोग हुन सक्छ । यो जाडो मौसममा विस्तार हुन्छ । दीर्घ रूपमा यसले छालाका साथै हाडजोर्नी र नङमा असर पुर्‍याउँछ । भ्यासलिन वा कुनै पनि तेल भएको मोइस्चराइजर लगाइराख्नुपर्छ । साथै स्टेरोइड मलम, क्याल्सिपोट्रिओल मलम, प्रकाशका माध्यमबाट गरिने थेरापी (फोटो थेरापी) र चिकित्सकको सल्लाहबमोजिम अन्य औषधि सेवन गर्नुपर्छ ।

जाबे रोग : चिसो हावापानी वा चिसो वातावरणको सम्पर्कले छालामा रातो डाबर आउने, सुन्निने र चिलाउने हुन्छ । यसमा कमिलाले टोकेजस्तो डाबर देखिन्छ । चिसोसँग छालाको सम्पर्क हटाएपछि १ देखि २ घण्टामा यो आफैं हराउँछ ।

विन्टर इच : जाडोमा छाला सुक्खा हुँदा चिलाउने र कन्याउँदा घाउ हुने हुन्छ । जाडो मौसममा लगाइने उलनको कपडा तथा आगो/हिटरका कारण पनि छाला सुक्खा भई चिलाउने समस्या बढी देखिन्छ ।

डन्डीफोर : छाला सुक्खा भएपछि छालामा तेलको पत्र बनाइराख्ने ग्रन्थी बढी सक्रिय हुन्छन् । तिनै ग्रन्थी बन्द हुँदा डन्डीफोर देखिन्छ । साथै, चिसो हावाले कपालको ओस सोसेर कपाललाई थप सुक्खा बनाउँछ र कपाल टुक्रिने र झर्ने समस्या हुन्छ । यस्तोमा कपालमा नियमित जैतुन/नरिवलको तेल प्रयोग गर्न सकिन्छ ।

रोकथाम गर्न

  • भ्यासलिन वा कुनै पनि तेल भएको मोइस्चराइजर लगाइराख्ने । यसले छालामा तेलको पत्र बनाई छालामा पानीको मात्रा बनाउन सघाउँछ ।
  • धेरै तातोपानीले छालामा भएका प्राकृतिक तेल नष्ट गर्ने भएकाले मनतातो पानीले थोरै समय लगाएर नुहाउने ।
  • सम्भव भएसम्म कोठाको हावा ओसिलो बनाउन ‘रूम ह्युमिडिटिफियर’ प्रयोग गर्ने । हावा ओसिलो भइराखेमा छाला सुक्खा हुन पाउँदैन र छाला फुट्ने सम्भावना कम हुन्छ ।
  • छालालाई सकेसम्म बाहिरी हावा र धूलोबाट बचाउने । प्रशस्त पानी पिउने ।

(छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डा. पुडासैनी निजामती कर्मचारी अस्पतालमा कार्यरत छन् ।)

प्रकाशित : पुस २७, २०७९ ०९:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×