२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

नेपालगन्जका महादानीहरू

एकाध धुर र इन्च जग्गाका लागि हिंसाको बाटो रोज्नसमेत तयार हुने समाजमा करोडौं मूल्यका जग्गा दान दिनेहरू पनि छन्, जसले समाजसेवाको बाटोबाट ख्याति कमाएका छन्
बाल सुधारगृह, फत्तेवाल आँखा अस्पताल, नारायण मावि, महेन्द्र बहुमुखी क्याम्पस र भेरी अस्पताल दाताले दिएको जग्गामा बनेका हुन्, जसले दान दिए उनीहरूलाई नेपालगन्ज सहरले सदाकाल स्मरण गरिरहेछ
जे पाण्डे

नेपालगन्ज — माघको पहिलो साता गृह मन्त्रालयका उपसचिव सूर्यबहादुर खत्री नेपालगन्ज सहरबाट झन्डै ७ किलोमिटर पूर्वको असमानपुरस्थित जयन्दु बालसुधारगृह निरीक्षणमा पुगेका थिए । चार बिघाभन्दा बढी क्षेत्रफलमा रहेको गृह एउटै व्यक्तिले दान दिएको जग्गामा बनेको थाहा पाएपछि उनले आश्चर्य माने ।

नेपालगन्जका महादानीहरू

एकाध आना र धुर जग्गाका लागि मारामार चल्ने समयमा यतिका धेरै जग्गा कसले दियो होला भनेर उनले सोधीखोजी गरे । दाताको वृत्तान्त सुनेपछि उनले भने, ‘महान रहेछन् ।’

यति धेरै जायजेथा दिन सक्ने दानवीर हुन्, नेपालगन्जका ५८ वर्षीय जयकेश सिंह । सीमावर्ती रुपैडिहाको नेहरू स्मारक इन्टरकलेजमा कक्षा १० मा पढ्दा जयकेशको परिवार आर्थिक संकटमा थियो । सन् १९८० मा स्कुल फी तिर्न सय रुपैयाँ नहुँदा आफूले हरेस खाएको उनी अझै पनि सम्झिराख्छन् । त्यतिबेला बाबु तप्तबहादुरले अनेकतिर हारगुहार गरेर ३५ रुपैयाँ खोजिदिए । बाँकी पैसा भने विद्यालयले बेहोर्‍यो । यही पुरानो घटनाले जयकेशलाई पैसाको महत्त्व मात्रै बुझाइदिएन, समाजका लागि केही गर्न जरुरी छ भन्ने पनि बुझाइदियो ।

उनले पढाइ रोकिन दिएनन् । सन् २०१२ मा शिक्षा शास्त्रमा एमए गरे । खोज्दै जाने हो भने सिंहका पुर्खाहरू भारतको आगरानजिक मैनपुर राज्यका राजारजौटा रहेको खुल्छ । झन्डै ५ सय वर्ष पहिले औरंगजेबको अत्याचार सहन नसक्दा शरण खोज्दै उनका पुर्खाहरू बाँके आएर घनघोर जंगली क्षेत्र रहेको असमानपुर, सूर्जपुर, सुन्दरपुर र परसनपुरका चार मौजामा बसे । यो त्यतिबेलाको कुरा हो, जतिबेला नेपालले बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसमेत प्राप्त गरिसकेको थिएन । पुर्खाहरूको यो संघर्षबारे जानकार सिंहले सुनाए, ‘कति बेला के हुन्छ ? जिन्दगी कुन मोडमा पुग्छ भन्ने टुंगो छैन । त्यसैले समाजप्रति समर्पित हुने बाटो रोज्नु नै उपयुक्त लाग्यो ।’

बालसुधार गृहलाई ४ बिघाभन्दा बढी जग्गा दान गरेका जयकेश सिंह ।

सेवा मार्गमा मिल्ने आनन्द बेग्लै रहेको बताउने जयकेशले २०६७ भदौ ६ मा १५ करोड मूल्यबराबरको ४ बिघा २ कट्ठा जमिन बालसुधार गृहलाई दान दिँदा निकै चर्चा भयो । धेरैले उनको निर्णयमा अचम्म मात्रै मानेनन्, कतिले त झट्टै विश्वास पनि गरेनन् । ‘मानव कल्याण नै सबैभन्दा ठूलो पुँजी हो, जुन कहिलै नासिँदैन, सकिँदैन’ भन्ने उच्च आदर्शलाई आफूले अनुसरण गरेको बताउने जयकेशले भने, ‘मृत्युपछि पनि मानिस जीवन्त रहन सक्नुपर्छ । त्यही सोचका साथ सबै दान दिएँ ।’

बालबिझाइँका घटनामा नाबालिगलाई कानुनले जेल पठाउँदैन । कसुरको अवस्थाअनुसार सुधारगृह पठाउँछ । नेपालगन्जमा सुधारगृह निर्माणको योजना बनेको थियो । तर, आवश्यक जग्गा व्यवस्थापन गरिएको थिएन । त्यही बेला जयकेश अघि सरेर दान दिने निर्णय गरे । उनी र पत्नी इन्दुको नाम जोडेर सरकारले डुडुवा गाउँपालिका–६ को असमानपुरमा जयेन्दु बालसुधार गृह निर्माण गरेको छ । जुन देशका अन्य ८ वटामध्ये सुधारगृहभन्दा व्यवस्थित र भव्य छ । २ सय ५० जना क्षमताको छ । सिंह सुधारगृहमा आइपुग्ने बालकहरू भविष्यका असल नागरिक बनेर फर्केको देख्न चाहन्छन् । उनी आफैं त्यहाँ रहेकाहरूले खानबस्न र पढ्न पाएका छन् कि छैनन् भनेर बारम्बार चासो राख्छन् । भन्छन्, ‘एक–दुई दिन बिराएर गइरहन्छु । सुधारगृहमा नपुगेसम्म उनलाई निद्रा लाग्दैन ।’ अहिले सामाजिक सेवामा खटिनेबाहेक सिहसँग कुनै पेसा, व्यवसाय छैन । उनले अहिलेसम्म दान दिएकोमध्ये ३ बिघा जमिन पनि पुर्खौली सम्पत्ति हो भने १ बिघा १२ कट्ठा बाबुछोराको कमाइ हो ।

जयकेशको दान यात्रा यतिमै रोकिएन । मृत्युपछि पनि समाजमा आफ्नो पहिचान छाडेर जाने चाहना राख्ने उनले २०७९ वैशाख १४ मा अलिकति बचेको १० कट्ठा जमिन र घर पनि वृद्धाश्रमका नाममा दान दिए । नेपालगन्ज–९ चारबाहिनी अड्डा अगाडिको पौने ७ धुर (११६ वर्गमिटर) जग्गामा बनेको पुरानो घरमा बस्दै आएका निःसन्तान सिंह दम्पती त्यहीँ बुढ्यौली गुजार्ने योजनामा छन् । सिंहको घरको भुइँतलामा मेडिकल छ । त्यसकै भाडाबापत आउने मासिक २० हजार रुपैयाँले जीवन धानिरहेका छन् । महादानको यात्राबाट खुसी मिलेको बताउने उनीहरू सामान्य जीवनयापन गर्छन् । समाजलाई कुनै सरसहयोग चाहिए खटिएर लागिहाल्छन् ।

समाजमा भ्रष्टाचार र अनुचित ढंगले अकुत सम्पत्ति कमाउने होडबाजी तीव्र छ । यस्तो दौडमा जयकेशले अंगालेको सतकर्मले मानवता जीवित रहेको संकेत गर्छ । ‘यस्ता मानिस विरलै भेटिन्छन्,’ उपसचिव खत्रीले भने, ‘आफू वृद्धाश्रममा बस्ने गरी भएको घरजग्गा र सम्पत्ति कसले दान दिन सक्छ ? मेरो कल्पनाभन्दा बाहिरको कुरा हो ।’

***

नेपालगन्जमा दानवीरको नाम लिँदा नछुट्ने नाममध्ये कप्तान फत्तेजंग शाह र उनकी पत्नी बालदिव्यश्वरी हुन् । २०३८/३९ सालतिर बालदिव्यश्वरीको आँखामा समस्या देखियो । त्यतिबेला आँखाका रोगको उपचार न नेपालगन्जमा सहज थियो, न त काठमाडौंमा । धेरै भौंतारिएपछि उनीहरूले भारतको सीतापुरस्थित अस्पताल पुगेर उपचार गराए । त्यो खर्च र दुःखले उनीहरूलाई भारतबाट फर्केपछि नेपालगन्जमा आँखा अस्पताल खोल्ने निर्णय पुर्‍यायो ।

श्रीजंग शाह र उनकी पत्नी रुद्रकुमारी बाबुआमा फत्तेजंग र बालदिव्यश्वरीको सालिक अगाडि ।

अनि २०४२ फागुन ११ मा नेपालगन्जको फुटेग्रास्थित २० कोठाको राणाकालीन भव्यमहल र एक बिघा ६ कट्ठा साढे ७ धुर जग्गा आँखा अस्पताललाई दिए । जसको अहिलेको चलनचल्तीको मूल्य १० करोडभन्दा बढी छ । जहाँ अहिले २ सय ५० शय्याको फत्तेवाल आँखा अस्पताल ठडिएको छ ।

यिनै दानवीर दम्पतीको बाटो पछ्याए छोराबुहारी श्रीजंग र रुद्रकुमारीले । बाबुको सत्मार्ग पछ्याउँदै श्रीजंग दम्पतीले २०७४ फागुन ३ मा काठमाडौं कान्तिपथको होटल एलो प्यागोडासँग जोडिएको कित्ता नम्बर ११२३ र ११२४ को ३ रोपनी ३ आना जग्गासँगै घर श्रीकुञ्ज फत्तेवाल आँखा अस्पताललाई नै दान दिए । अहिलेको चलनचल्तीको उक्त घर जग्गाको मूल्य करिब २ अर्ब रुपैयाँ पर्ने अस्पतालले जनाएको छ । राजनीतिशास्त्रअन्तर्गत कूटनीति र अन्तर्राष्ट्रिय कानुनमा स्नातकोत्तर श्रीजंगको समाज सेवाप्रतिको लगावमा सारथि थिइन् पत्नी रुद्रकुमारी । जसको २०३९ चैत २० मा निधन भयो ।

फत्तेवाल आँखा अस्पतालका प्रबन्ध निर्देशक डा. कौशलकुमार बर्मा श्रीजंग र रुद्रकुमारीलाई आँखाको ज्योतिभन्दा फरक नपर्ने बताउँछन् । उनले भने ‘श्रीजंगमा समाजलाई योगदान गर्नुपर्छ भन्ने पवित्र भावना छ । यस्ता मानिस कमै छन् ।’ एक अर्बभन्दा बढी मूल्यको घरजग्गा दान दिँदा श्रीजंगले आफ्नै सन्तानसँग कानुनी लडाइँ लडेका थिए । जग्गादान दिन लागेको थाहा पाएपछि श्रीजंगलाई ‘मानसिक सन्तुलन ठीक नभएको’ प्रमाणित गरी जग्गा हत्याउने दाउपेच चलेको थियो । त्यसका लागि २०७४ मा चिकित्सकबाट ‘नक्कली प्रमाण’ जुटाउँदै दान दिनबाट रोक्ने प्रयासमा उनकी छोरी ईश्वरी राणा अग्रसर भएकी थिइन् । जबकि अथाह सम्पत्तिका मालिक सुवर्णशमशेरका छोरा रुक्मशमशेरसँग विवाह गरेकी छोरीले तत्कालीन प्रमुख जिल्ला अधिकारी र गृहमन्त्रीका मुख्य सचिवलाई भनसुन गरेर मालपोत कार्यालयबाट घरजग्गा दान दिन नपाउने गरी २०७४ असोज ३० मा रोक्का गराएकी थिइन् ।

शाह परिवारले घरजग्गा दान दिएपछि खुलेको फत्तेवाल आँखा अस्पताल ।

श्रीजंगले यो घटनाबारे आफ्नो आत्मकथा ‘कथा मेरो जीवनको’ मा विस्तृत रूपमा उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘म त झसंग भए । कसले रोक्यो मेरो सम्पत्ति ? स्तब्ध भएँ । सीडीओलाई सोध्दा माथिको आदेश भने । त्यो बेला शेरबहादुर देउवा प्रधानमन्त्री थिए । उनलाई पनि भेट्न गएँ । भेट दिएनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगें । प्रमुख दीप बस्न्यातले प्रधानमन्त्रीको कार्यालयबाट आएको आदेश भने । पछि थाहा भयो सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले सारा सम्पत्ति रोक्का गरिदिनू भनेर आदेश गरेका रहेछन् ।’

यस्तो रहस्य चाल पाएका श्रीजंग वीर अस्पताल पुगे । स्वास्थ्य परीक्षण गराए । मानसिक र शारीरिक रूपमा स्वस्थ भएको प्रमाणपत्र वीर अस्पतालले दियो । त्यही प्रमाण लगेर अदालतमा जग्गा दान दिन पाउनुपर्ने भन्दै उभिए । प्रबन्ध निर्देशक कौशल कुमारले सुनाए, ‘२०७४ कात्तिकमा न्यायाधीशले निरोगी भएको फैसला सुनाए । त्यसपछि मात्रै अस्पताललाई जग्गा दान दिन सफल हुनुभएको थियो ।’ यसरी आफ्नै सन्तानसँग कानुनी लडाइँ लडेर महादानी भए श्रीजंग । नेपालगन्जले भव्य रूपमा नागरिक अभिनन्दन गरेको थियो । पछिल्ला ४/५ महिनादेखि श्रीजंगको स्वास्थ्यमा समस्या देखिन थालेको छ ।

श्रवण शक्ति कम हुँदै गएको छ । अस्पतालले उनको शेषपछि मात्र उक्त घरजग्गा भोग गर्न पाउने छ । बस्न अर्को घर नभएकाले ९९ वर्षीय श्रीजंग हाल दान दिएकै घरमा बस्दै आएका छन् । सारा सम्पत्ति दान दिएका उनलाई अहिले स्याहारसुसार गर्ने आफन्त छैनन् । अस्पतालका अनुसार दुई नर्स र दुई कामदारले उनको रेखदेख गर्दै आएका छन् ।

अहिले भारतको बहराइच, गोन्डा, गोरखपुर, सीतापुर, बाराबंकी, लखनउ, अयोध्या, फौजावाद, सुल्तानपुरजस्ता सहरबाट ठूलो सख्यामा बिरामीहरू उपचार खोज्दै फत्तेबाल आँखा अस्पताल आउँछन् ।

भारतमा भन्दा सस्तो र राम्रो उपचार हुने भएकाले फैजावादबाट मोतियाबिन्दुको शल्यक्रिया गर्न आएका छोटु खान घर फर्किने तरखरमा थिए । उनले सुनाए, ‘मैले त यो सरकारी अस्पताल होला भन्ने सोचेको थिएँ । तर एउटा व्यक्तिले दानको जगमा उठेको अस्पताल हो भन्ने थाहा पाउँदा पत्यारै लागेन । यस्तो काम त ठूलै दिलवालाले मात्र गर्न सक्छ ।’ गैरनाफामूलक तथा गैरसरकारी अस्पतालका रूपमा सञ्चालित यो अस्पतालबाट अहिले दैनिक ४/५ सयले सेवा प्राप्त गर्छन् भने वार्षिक १ लाख ४० हजारभन्दा बढीले आँखासम्बन्धी विभिन्न रोगको उपचारको सेवा पाइरहेका छन् ।

श्रीजंगका भान्जा डा. धवलशमशेर राणाले मामाको सम्मानमा नगरप्रमुख हुँदा त्रिवेणी मोडदेखि पूर्व फुलटेग्रा जाने मार्गलाई ‘फत्तेवाल आँखा अस्पताल मार्ग’ नामकरण गर्न चाहेका थिए । धवलको चाहना भने अधुरै छ ।

***

नेपालगन्जले सम्झिने अर्को दानवीर औतारदेइ कसौधन चौधराइन हुन् । विसं १९५४ मा भारतको गोन्डमा जन्मेकी चौधराइनको २०२८ भदौ ६ मा ७४ वर्षको उमेरमा निधन भएको थियो । तर दिवंगत भएको यतिका वर्षपछिसम्म पनि नेपालगन्जमा उनलाई सम्झिने धेरै छन् । चौधराइनले स्थानीय नारायण माविलाई झन्डै साढे ५ कट्ठा, २००७ मा महेन्द्र बहुमुखी क्याम्पसलाई १३ बिघा, भेरी अस्पताललाई ५ कट्ठा र जिल्ला जनस्वास्थ्य कार्यालयलाई ३ कट्ठा जग्गा दान गरेर शिक्षा, स्वास्थ्य र समाज सेवामा योगदान गरेकी थिइन् । ‘उनले स्कुललाई जग्गा दान दिएकाले नेपालगन्जमा शिक्षाको उज्यालो फैलन सघायो,’ नारायण माविका प्रधानाध्यापक तरुण गौतमले भने, ‘उनको दया र त्यागको जगमा ठडिएको स्कुलबाट सामाजिक र शैक्षिक क्रान्ति ल्याउन सघाएको छ ।’

शिक्षा र स्वास्थ्य क्षेत्रका लागि मूल्यवान जग्गा दान दिने औतारदेइ कसौधन चौधराइनको सालिक भेरी अस्पतालमा ।

नेपालगन्जका लक्ष्मीनारायण चौधरीसँग विवाह गरेर आएकी उनले समाजमा शिक्षा विकासका लागि कैयन् प्रयास गरेकी थिइन् । आफूले पढ्न पाएकी थिइनन्, तर उनले शिक्षाको महत्त्व बुझेकी थिइन् । ‘पुण्यकर्मले उनलाई समाजमा चीरकालसम्म स्मरणीय बनाएको छ,’ उनका बारेमा जानकारी राख्ने पत्रकार विजयकुमार बर्मा भन्छन्, ‘आफू पढन नपाए पनि नेपालगन्जमा शिक्षामा उनको योगदान अतुलनीय छ ।’

योगदानको सम्मानस्वरूप भेरी अस्पताल अगाडि औतारदेइको सालिक छ । सालिकको अनावरण २०७० असोज १३ मा तत्कालीन उपराष्ट्रपति परमानन्द झाले गरेका हुन् । निःसन्तान भएकाले औतारदेइ नेपालगन्जमा दान दिएकोबाहेक शेष केही छैन । जति छन् उनले दिएको योगदानको चर्चा र प्रशंसक मात्र । कसौधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्य भन्छन्, ‘धेरै सम्पत्ति दान दिनुभयो । केही बिक्री गर्नुभयो । अहिले उहाँको घरबाससमेत छैन ।’

प्रकाशित : चैत्र २५, २०७९ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?