कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२
लोक सेवा

महानगरकी महिला हाकिम

२०७४ सालमा शाखा अधिकृतबाट सरकारी सेवा प्रवेश गरेकी रेखा २०७८ मा सहसचिव भइन् । केही समय मुस्लिम आयोगमा काम गरेकी उनले छोटो समय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा योजना महाशाखाको जिम्मवारी पनि सम्हालेकी थिइन्, हाल उनी ललितपुर महानगरको प्रमुख प्रशासकीय अधिकृत छिन् ।
'घरपरिवारबाट तिमी छोरी हौ भनेर केही कुरामा रोकटोक गर्नु भएन, सानैदेखि बुबाआमाले राम्रो संस्कार दिनुभयो, उत्प्रेरित गर्नुभयो, त्यसैले कहिल्यै कुनै केटा मान्छेभन्दा कम छु भन्ने अनुभूति नै भएन ।'
विमल खतिवडा

काठमाडौँ — दाजुभाइले सरकारी क्षेत्रमा लाग्न प्रेरित नगरेका भए भक्तपुरकी ३७ वर्षीया रेखादास श्रेष्ठ आज सायद प्राध्यापन पेसामै सक्रिय भइरहेकी हुन्थिन् । दाइ (ठूलो बुबाका छोरा) रमानन्द र भाइ शैलेसले आफूहरू सरकारी सेवामा प्रवेश गरेपछि रेखालाई पनि लोक सेवा पढ्न सुल्झाउँथे । त्यस बेलासम्म उनी प्राध्यापनमै व्यस्त थिइन् ।

महानगरकी महिला हाकिम

बुबा श्यामदेव र आमा उषा श्रेष्ठ दास सरकारी विद्यालयमा पढाउँथे । उनीहरूले पनि रेखालाई बाल्यकालबाटै सरकारी सेवामा प्रवेश गर्न हौसला दिन्थे । जसका कारण उनी लोक सेवाको तयारीमा लागिन् र २०७४ सालमा अधिकृत भइन् । चार वर्षपछि २०७८ सालमा उनी खुल्ला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकाल्न सफल भइन् । तर यहाँसम्म आइपुग्न रेखाले निकै संघर्ष गरेकी छन् ।

रेखाका बुबा श्यामदेव दास कैलालीमा पढाउँथे । त्यहीं जन्मिइन् रेखा । पछि बुवाको झापा सरुवा भयो । बुबाआमासँगै उनी झापा पुगिन् । उतै हुर्किइन् । उतै बढिन् र विद्यालय तहको अध्ययन झापामै पूरा गरिन् । ‘बुबा सरकारी विद्यालयको प्रधानाध्यापक हुनुहुन्थ्यो, त्यसैले छोराछोरीलाई निजी विद्यालयमा पढाउँदिन भन्नुहुन्थ्यो,’ रेखा भन्छिन्, ‘अरूको विश्वास जित्न पनि भाइ, ठूलो बुबाको छोरा सबै जना सरकारी विद्यालयमै पढ्यौं ।’ अहिले सरकारी विद्यालयमा पढेका तीनै जना सरकारी सेवामै छन् ।

‘स्नातक तहसम्म मेची बहुमुखी क्याम्पसमा पढें, त्यसपछिको उच्च शिक्षाका लागि काठमाडौं आएँ,’ उनी भन्छिन्, ‘स्नातकमा अनिवार्य अंग्रेजी र समाजशास्त्र विषय लिएर पढेको थिएँ ।’ पछि उनले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नातकोत्तर गरिन् । ‘तुरुन्तै एमफिलमा भर्ना भइहालें । अंग्रेजी विषयमै एमफिल पूरा गरें,’ उनी भन्छिन्, ‘अब पीएचडी गर्ने सोचमा छु ।’ उनसँग अध्यापन क्षेत्रमा करिब ९ वर्षको अनुभव छ । गोल्डनगेट कलेजबाट सुरु भएको उनको अध्यापन यात्रा मदन भण्डारी कलेज हुँदै रत्नराज्यसम्म पुग्यो ।

सरकारी सेवामा भने २०७४ सालमा प्रवेश गरेकी हुन् रेखा । शाखा अधिकृतका लागि परराष्ट्र र प्रशासन दुवै समूहमा लिखितमा नाम निकालेकी थिइन् उनले । प्रशासन समूहतर्फ सिफारिस भइन् । ‘दाइ र भाइले सरकारी सेवामा लाग्दाको अनुभव सुनाउँथे,’ उनी भन्छिन्, ‘प्राध्यापनमा राम्रै छ । तर सरकारी सेवामा लागेर पाइने सन्तुष्टि नै फरक हुन्छ भन्दै दाइले सम्झाउनुहुन्थ्यो ।’ तर उनलाई सरकारी सेवामा आइहालौं जस्तो भने लागेको थिएन । उनले २०७२ सालमा व्यवसायी समीर श्रेष्ठसँग विवाह गरिन् । त्यसपछि भने श्रीमान्ले पनि लोक सेवा पढ्न हौसाउँथे । सुझाव दिने गर्थे ।

ललितपुर महानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ । तस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर

सबैतिरबाट दबाब र सुझाव आएपछि उनले लोक सेवाको तयारी गर्न थालिन् । तर पढाउने पेसा भने छाडिसकेकी थिइनन् । ‘लोक सेवाका लागि पूर्ण रूपमा एक वर्ष मिहिनेत गरें,’ उनी भन्छिन्, ‘लिखितमा प्रशासन र परराष्ट्र दुवैमा नाम निस्किएको थियो । सिफारिस प्रशासनतर्फ भएकाले गृहअन्तर्गत अध्यागमन विभागमा पदस्थापना भएँ ।’ दुई वर्षसम्म उनले गृहअन्तर्गत नै रहेर काम गरिन् । २०७७ मा छोरी जन्मिइन् । यही साल उनले उपसचिवतर्फ लिखितमा नाम निकालिन् । ‘तर मौखिकमा फालिएँ,’ उनले सुनाइन् ।

२०७८ मा उनले सहसचिव र उपसचिव दुवै पदका लागि परीक्षा दिएकी थिइन् । सहसचिवका लागि परराष्ट्र र प्रशासन दुवै समूहतर्फ लिखितमा नाम निस्कियो । ‘सहसचिव र उपसचिव दुवैतर्फ परीक्षा दिएकी थिएँ,’ उनी भन्छिन्, ‘सहसचिवको नतिजा अगाडि आउँथ्यो, त्यहीअनुसार लिखित र मौखिक दुवैमा सफल भएँ ।’ प्रशासनतर्फ सिफारिस पनि भइन् । सहसचिव भएपछि उनी केही समय मुस्लिम आयोगको नेतृत्व सम्हालेर बसिन् । त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेर काम गरिन् उनले ।

हाल उनी ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा नेतृत्व सम्हालिरहेकी छन् । गत वैशाख २५ मा उनी महानगर पुगेकी हुन् । महानगरको नेतृत्वमा पुग्ने सम्भवतः पहिलो महिला प्रशासक आफू भएको उनले सुनाइन् । ‘अहिलेसम्म महानगरको प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा महिला सरुवा भएर पुगेका छैनन्,’ उनले भनिन्, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहँदा संघ, प्रदेश र स्थानीय तीन तहबीचको समन्वय तथा योजना महाशाखामा रहेर पनि मैले जिम्मेवारी निर्वाह गरेकी छु ।’ त्यतिबेला संघीयता कार्यान्वयनका क्रममा देखिएको दोहोरोपना हटाउने सम्बन्धमा निकै महत्त्वपूर्ण निर्णयहरू गर्न/गराउन आफू सफल भएको पनि उनी बताउँछिन् ।

‘जनप्रतिनिधिहरू आएपछि पहिलो कार्यकाल पूरा गरेर दोस्रो कार्यकाल जारी छ, संघीयतामा देखिएको दोहोरोपना हटाउने सम्बन्धमा २०८० मा राष्ट्रिय समन्वय परिषद् बैठकले महत्त्वपूर्ण निर्णयहरू गर्‍यो,’ उनले भनिन्, ‘ती निर्णयहरू कार्यान्वयनमा कार्य विस्तृतीकरण परिमार्जन गर्ने भन्ने थियो । सातैवटा प्रदेशमा गएर अन्तर्क्रिया गर्‍यौं । अधिकारका विषयमा देखिएका दोहोरोपनाका सन्दर्भमा रायसुझाव लियौं ।’

उनका अनुसार त्यतिबेला विज्ञहरूसहितको टोलीबाट कार्य विस्तृतीकरण परिमार्जन गरिएको थियो । ‘त्यो मेरै नेतृत्वमा भएको थियो । कार्य विस्तृतीकरण परिमार्जन गरेर हामीले प्रधानमन्त्रीलाई पनि बुझाइसकेका छौं,’ उनले भनिन्, ‘यसरी अधिकारहरूको छिनोफानो गर्दै जाँदा मलाई एक प्रकारको रहर जाग्यो कि स्थानीय सरकारमै बसेर काम गरौं ।’ जनतासँग प्रत्यक्ष जोडिएर सेवा प्रवाह गर्ने र जनताका धेरै अपेक्षा जोडिएको स्थानीय सरकार भएको उनले बताइन् । ‘जनतालाई तल्लो तहमा बसेर सेवा प्रवाह गर्न सकिने र कतिपय अधिकारको पूर्ण उपयोग पनि भएको छैन, त्यसैले स्थानीय सरकारमा बसेर काम गर्ने हुटहुटी जागेको हो,’ उनी भन्छिन्, ‘प्रमुख जिल्ला अधिकारी (सीडीओ) का रूपमा कुनै जिल्ला जाने कि भनेर तीन महिनाको तालिम पनि लिएँ, तर स्थानीय तहमै काम गर्ने गरी आएँ ।’

गृह प्रशासन भएपछि स्थानीय प्रशासन पनि समेटिन्छ र त्यसभन्दा पहिला स्थानीय सरकारमा बसेर ग्रासरुटका समस्या बुझेर स्थानीय प्रशासन सम्हाल्न जाँदा उपयुक्त हुन्छ भनेर महानगरमा आएको उनले सुनाइन् । स्थानीय सरकारमा बस्दा धेरै कुराको ज्ञान हुने भएकाले यो क्षेत्र रोजेको उनी बताउँछिन् । ‘किन सीडीओ हुन छाडेर महानगरपालिका गएको भन्दै सोध्ने पनि धेरै थिए,’ उनी भन्छिन्, ‘यो ठाउँमा आफैंले मागेर आएकी हुँ ।’

लोक सेवा तयारीका सम्बन्धमा भने उनको फरक–फरक अनुभव छ । ‘हामी कुन उद्देश्य लिएर सरकारी सेवामा प्रवेश गर्न लागेका छौं, पहिला त्यो कुरामा प्रस्ट हुनुपर्छ,’ उनी भन्छिन्, ‘यो क्षेत्रमा सबै कुरा भनेजस्तो हुँदैन । गुनासा धेरै हुन सक्छन् । हतास मनस्थितिमा रहेर काम गर्न सकिँदैन ।’ त्यसैले राम्रोसँग सोचविचार गरेर मात्र यो क्षेत्रमा आउन नयाँ पुस्तालाई सुझाव दिन्छिन् रेखा । ‘सरकारी सेवामा प्रवेश गरिसकेपछि जनताले हामीसँग कस्तो अपेक्षा राखेका हुन्छन् ? राज्यले हामीबाट कस्तो अपेक्षा राखेको हुन्छ ?,’ उनी भन्छिन्, ‘धेरैले सरकारी जागिर हो । इज्जत कमाइन्छ, पैसा कमाइन्छ भन्ने गर्छन्, यो भन्नुभन्दा पहिला हामीले यो क्षेत्रमा कति योगदान गर्न सक्छौं, त्यहाँ सीमितता के छन् भन्ने बुझ्नुपर्छ ।’ यो क्षेत्रमा लागेर हतास मनस्थितिमा काम गर्नुभन्दा पहिल्यै राम्रोसँग बुझेर आउनुपर्ने उनको तर्क छ ।

‘सरकारको नीति कार्यान्वयनकर्ता नै हामी हो । अझ हामी त स्थायी सरकार हो,’ उनी भन्छिन्, ‘सरकारै नभएको अवस्थामा पनि हामीले काम गर्नुपर्ने हुन्छ । जनतालाई सेवा दिनुपर्ने हुन्छ ।’ यो क्षेत्रमा सेवाकै भावनाले प्रेरित भएर आउनुपर्ने उनको सुझाव छ । त्यस्तै लोक सेवा पढ्ने कुरामा विषयवस्तुमा प्रस्ट हुनैपर्ने उनको तर्क छ । ‘मुख्य कुरा विषयगत कुरामा मात्र आधारित हुनु भएन, सबै कुरा बुझ्ने प्रयास गर्नुपर्छ,’ उनले भनिन्, ‘किताबका कुरा घोक्ने मात्र होइन, एकोहोरो घोकेकै भरमा सफल भए पनि पछि आफूले कति काम गर्न सकिन्छ त्यो बुझ्न जरुरी छ ।’ त्यसैले तयारी गर्दादेखि नै सबै कुरा बुझ्ने प्रयास गर्ने र बाह्य ज्ञान लिनुपर्ने उनले बताइन् ।

‘बाह्य ज्ञान भने देशविदेशमा के भइरहेको छ, सबै बुझ्नुपर्छ, किताबका कुनै विषयवस्तु वा सन्दर्भसँग जोडेर बुझ्ने हो, बुझेर पढेको अर्कै हुन्छ,’ उनी भन्छिन्, ‘मैले आफूले जति अध्ययन गरें, बुझेर मात्र गरें ।’ नानी स्याहार्दै सहसचिवको तयारी गरेको रेखाको अनुभव छ, ‘सहसचिवको तयारी गर्दा मलाई धेरै समय थिएन । बुझेर पढ्ने प्रयास गरें, खुल्ला दिमागले परीक्षा दिएँ ।’ दबाबमा परीक्षा दिँदा आफूलाई थाहा भएको विषयमा पनि राम्रो गर्न नसकिने रेखा बताउँछिन् ।

‘उत्तर लेख्दा सिर्जनात्मक रूपमा आफूलाई कसरी प्रस्तुत गर्न सकिन्छ, त्यसमा बढी केन्द्रित हुनुपर्छ,’ उनले भनिन् । उत्तर लेख्दा समयको व्यवस्थापनलाई एकदमै ध्यान दिएको उनी सुनाउँछिन् । ‘समयको ख्याल गर्दै खुल्ला दिमाग बनाएर पढेको कुरालाई आनन्दले बिनातनाव उत्तरपुस्तिकामा लेखें,’ उनी भन्छिन्, ‘प्रश्नले सोध्न खोजेको उत्तर बढीभन्दा बढी लेखें, किताबका कुराभन्दा सिर्जनात्मक उत्तर लेख्ने प्रयास गरें ।’ अधिकृतको परीक्षा केही विषयपरक हुन्छ । उपसचिव, सहसचिवको परीक्षामा विषय फरक, कुरा कम हुने उनको अनुभव छ । जुन विश्लेषणात्मक पनि हुन्छ ।

आफू सफल हुनुमा परिवारको पनि ठूलो हात रहेको रेखा बताउँछिन् । ‘घरपरिवारबाट तिमी छोरी हौ भनेर केही कुरामा रोकटोक गर्नु भएन,’ उनी भन्छिन्, ‘सानैदेखि बुबाआमाले राम्रो संस्कार दिनुभयो, उत्प्रेरित गर्नुभयो, त्यसैले कहिल्यै कुनै केटा मान्छे भन्दा कम छु भन्ने अनुभूति नै भएन ।’ आफू आत्मविश्वासी बन्नमा भने मुख्य भूमिका बुबाकै रहेको उनले सुनाइन् । ‘सरकारी सेवामा प्रवेश गरेपछि खुसी हुँदै बुबाले तिम्रो जिम्मेवारी बढ्यो । जिम्मेवारी वहन गरेर काम गर्नुपर्छ भन्नुभयो,’ उनले भनिन् ।

महानगरमा पहिलो पटक प्रमुख प्रशासकीय अधिकृतका रूपमा महिला आउँदा मेयरदेखि सबै कर्मचारी खुसी भएको उनी बताउँछिन् । उनको नेतृत्वमा हाल महानगरमा करिब ९ सय कर्मचारी छन् । नगर प्रहरी महिला मात्र ४० जना छन् । ‘म आएपछि सबै उत्साहित हुनुभएको छ,’ उनी भन्छिन्, ‘सार्वजनिक प्रशासनमा महिला नेतृत्व सफल रहेको सुनिन्छ । त्यसका लागि प्रयास गर्नेछु । नगरवासीले प्रत्यक्ष अनुभूति हुने गरी सेवा प्रवाह भइरहेको महानगरमा केही इँटा थप्ने काम गर्नेछु ।’

स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिएको हुन्छ । ‘प्रत्यक्ष अनुभूति हुने गरी हामीले सेवा प्रवाह गर्न सक्नुपर्छ,’ उनी थप्छिन् । त्यसका लागि उनी बिहान ९ बजे नै कार्यालय पुग्छिन् । ‘छोरीलाई स्कुल पठाएर छिट्टै कार्यालय पुग्छु,’ उनी भन्छिन्, ‘अहिले यो कार्यालयका लागि म नयाँ नै छु । त्यसैले छिटो आएर के काम छन्, कसरी गर्ने भन्नेबारे बुझ्ने, सोध्ने र अध्ययन गर्ने गर्छु ।’ पछिल्ला दिनमा भने सबै काम महिलाले नै गर्नुपर्छ भन्ने मान्यता फेरिएको रेखाको अनुभव छ ।

‘पुरुष मात्र होइन, महिलाहरू पनि कामकाजी छन्,’ उनी भन्छिन्, ‘त्यसैले घरपरिवार चलाउन दुवैको बराबरी जिम्मेवारी हुन्छ ।’ त्यसैले उनले सकभर कार्यालयको काम कार्यालयमै टुंग्याउँछिन् । ‘कार्यालयको फाइल घरमा बोकेर जाने गर्दिनँ,’ उनी भन्छिन्, ‘बरु बेलुकासम्म नै किन नहोस्, कार्यालयमै बसेर काम गर्छु, घरमा परिवारलाई मात्र समय दिन्छु ।’

प्रकाशित : जेष्ठ ७, २०८१ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×