कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेचबिखनविरुद्धका पहरेदार

सन्जु पौडेल

लुम्बिनी — मुलुककै ठूलोमध्येको बेलहिया–सुनौली नाकामा दैनिक ६ हजार नागरिक ओहोरदोहोर गर्छन् । तीमध्ये केही किनमेल गर्न जान्छन् र फर्कन्छन् । केही रोजगारका लागि सीमा पार गर्छन् । त्यही भीडमा भारतमा राम्रो जागिरको प्रलोभन र माया देखाएर विवाह गर्न भनेर नाका कटाउने पनि भेटिन्छन् । 

बेचबिखनविरुद्धका पहरेदार

नेपाली चेलीलाई भारत वा तेस्रो मुलुकमा लगेर बिक्री गर्छन् कि ? कुनै महिलामाथि अन्याय हुन्छ कि ? कसैले उनीहरूको सोझोपनको दुरुपयोग गर्न पो खोजिरहेका छन् कि ? यस्ता घटनाको निगरानी र महिलालाई सतर्क गराउन सीमामा दिनहुँ महिला कर्मचारी खटिरहेका हुन्छन् । यिनैमध्येकी हुन्– सीता खत्री । सात वर्षअघि एक गैरसरकारी संस्थाको सिद्धार्थनगर शाखाले जागिरका आवेदन खुलाउँदा उनी पनि सहभागी भइन् । रूपन्देहीको सिद्धार्थनगर–१३, देवकोटा चोककी सीता छनोटकर्ताको आँखामा उम्दा जँचिन् । त्यहीबेलादेखि उनी मानव बेचबिखनविरुद्ध नाकामा खटिएर सयौं चेलीलाई बेचिनबाट जोगाइरहेकी छन् ।

सीता बिहानी र दिवा गरी दुई सिफ्टमा बेलहिया नाकामा काम गर्छिन् । बिहानी सिफ्ट परे ६ देखि १२ बजेसम्म र दिवामा १२ देखि साँझ ७/८ बजेसम्म उनी नाकामै हुन्छिन् । दुई छोरीमध्ये एउटीलाई विद्यालय पठाएर अर्की दुधेलाई परिवारको जिम्मा लगाएर आफू नाकामा पहरा दिन आउने गरेको उनले सुनाइन् । ‘सानो उमेरमै विवाह भयो,’ उनले भनिन्, ‘श्रीमान् र आफू उस्तै उमेरका भएकाले पढ्न र गुजाराका लागि काम गर्न थालियो, अहिले यो काम सन्तुष्टिको माध्यम बनेको छ ।’ उनलाई श्रीमान्सहित परिवारका सदस्यले पनि साथ दिएका छन् ।

नाकामा आउने मानिसमध्ये नेपाली चेलीलाई बिक्री गर्न लैजानेहरू सहजै चिनिने र रोक्न खोज्दा आफूलाई धम्क्याउने, मार्नेसम्मको धम्की दिने गरेको उनी बताउँछिन् । ‘तेजाब छरिदिन्छु’, ‘तँलाई मारिदिन्छु’ जस्ता अपशब्द प्रयोग गर्दा उनलाई काम छाडिदिऊँ जस्तो नलागेको होइन । तर, गलत काम रोक्न आफूले गरेको संघर्षले अघि बढ्न आँट दिएको उनले सुनाइन् । ‘एक पटक चेली लिएर भारत जान थालेकी महिलालाई सोधपुछ गर्दा धकेलेर लडाइदिए,’ उनले भनिन्, ‘त्यसबेला म गर्भवती थिएँ, बिरामी पनि परेँ ।’

सीताले आफ्नो कामबापत दुई पटकसम्म उत्कृष्ट ‘बोर्डर चेकर हिरो अवार्ड’ पाएकी छन् । यो सम्मानले काम गर्न थप हौसला मिल्यो । कोरोना महामारीका कारण अहिले त्यस्ता घटना कम भएका छन् । तर, खुला नाका भएकाले आफूहरू बस्ने मुख्य क्षेत्रबाहेकका अन्य बाटो हुँदै मानिस भारततर्फ जाने गरेको हुन सक्ने उनको भनाइ छ । त्यसका लागि संघसंस्थालाई थप विस्तार गर्न सरकारी निकायले समेत ध्यान दिनुपर्ने उनको सुझाव छ ।

सीताजस्तै रचना सुनारले नाकामा रहेर काम गर्न थालेको १९ वर्ष पुग्यो । उनी २०५९ सालदेखि माइती नेपालमा आबद्ध भएकी हुन् । माइतीमा छँदा उनले नवलपरासीको बर्दघाटमा खुलेको सीप विकास र परामर्श तालिम लिन पाइन् । कामको राम्रो नतिजास्वरूप पुरस्कृतसमेत भइरहेकी छन् । कामको सिलसिलामा पूर्वदेखि पश्चिमका धेरै जिल्लामा बसेकी उनले खुला नाका भएका सीमामा सहजै नेपालीलाई भारत लैजाने गरेका धेरै घटना देखेकी छन् । ‘पूर्वमा बस्दाको कुरा हो, एकै पटक १२ जनालाई लैजान खोज्दा बचाएका थियौं,’ उनले भनिन्, ‘त्यो यादगार घटनाले अहिले पनि नेपालीको सोझोपना र आर्थिक प्रलोभनले यस्ता घटना हुने गरेका छन् ।’ नबुझेका, नपढेका भन्दा जानेकै मानिस फस्ने गरेका र सोधपुछका क्रममा झर्किने, सत्य कुरा नबताउने गरेकामा उनलाई चिन्ता लाग्छ ।

रचना भैरहवाको बेलहिया नाकामा खट्छिन् । ‘बेलहियाबाट लुम्बिनी प्रदेशका १२ जिल्लाका साथै पूर्वका धेरै नानीहरू पार गराउन खोज्छन्,’ उनले सुनाइन्, ‘विवाह गरेको कागज बनाउने, चेलीलाई दाइ/भाइ भन्न लगाउने, कामको सिलसिला वा औषधि गर्ने बहानामा महिलाले समेत बालबालिकादेखि ठूलै मानिसलाई भारततर्फ लैजाने गर्छन् ।’ दैनिक १ सयदेखि १ सय ५० जनालाई परामर्श दिई परिवारको सम्पर्कमा ल्याउने र प्रहरी कार्यालयमा लगी बुझाउनेसमेत गरेको उनले बताइन् ।

माइती नेपालमै कार्यरत सिद्धार्थनगर–९, अञ्चलपुरकी जानुका अधिकारी स्नातक तहकी विद्यार्थी हुन् । पाँच वर्षदेखि उनी माइती नेपालको बेलहिया शाखामा कार्यरत छन् । ‘नाका हुँदै भारत जानेहरूका तीता बचनले मनमा चसक्क पस्दा यस्तो काम किन रोजेछु भन्ने लाग्छ,’ उनले भनिन्, ‘मार्ने, काट्ने र तस्बिर खिचेर पख् भन्नेहरू दिनहुँ भेटिन्छन् ।’ डर र जोखिम भए पनि आफूजस्तै अर्की महिलाको जीवन रक्षाको अभिभारा लिन पाउँदा सन्तुष्टि मिलेको अधिकारीको भनाइ छ ।

तीन वर्षअघि सिन्धुपाल्चोकका दुई बालिकालाई रूपन्देहीकै एक पुरुषले लैजाँदै गर्दा जानुकाले जोगाएकी थिइन् । त्यो घटनाले उनलाई थप काम गर्न प्रेरित गरिरहन्छ । दिनभर नाकामा बेहोरेका मुद्दा र दिनचर्या घरमा सुनाउने, अनुभव साट्ने र सुझाव लिने बानी रहेको उनले सुनाइन् ।

बेचिनबाट जोगिएपछि नाकामै

दाङ स्थायी ठेगाना रहेकी निमकला (नाम परिवर्तन) परिवारसित बुटवलमा बस्न थालेको १३ वर्ष भइसक्यो । उनका बुबा मजदुरी गर्छन् । आमा पेटको रोगी छिन् । २४ वर्षकी निमकलाले एसईई उत्तीर्ण गरेपछि बुटवलकै गार्मेन्टमा जागिर थालिन् । भर्खरै युवा अवस्था टेकेकी उनलाई आफूले कमाएर आमाबुबालाई दिने र

आफ्नो खर्च टार्ने गरी पैसाले पुगेन । त्यसपछि साथीको साथीमार्फत एक मानिससँग बेलहिया नाका हुँदै भारत जान थालिन् । नाकामा रहेको आफन्त नेपाल (तत्कालीन केआई नेपाल) का कर्मचारीले सोधपुछ गरी उनलाई रोके र फर्काए ।

त्यसपछि निमकलाले संस्थाकै सेल्टर होममा बसेर सीप सिक्ने निधो गरिन् । चितवन सेल्टर होममा गई आठ महिना सीप सिकेर बुटवलमा कुसन र गुडिया बनाउने व्यवसाय थालिन् । तीन महिना व्यवसाय गरेपछि आफन्त नेपालमै जागिर पाइन् । उनले काम गर्न थालेको तीन वर्ष भएको छ । ‘आमाको रोग निको गराउन पैसा कमाउँछु भनेर हिँडेकी थिएँ,’ उनले भनिन्, ‘धन्न रोकिएँ, अहिले सफल भएकी छु ।’ कक्षा ११ सम्म पढेकी उनले अब थप पढ्ने र संस्थामै निरन्तर काम गरिरहने बताइन् ।

चेलीहरू प्रलोभनमा परी भारत जान लागेको देख्दा कुनै दिन आफू पनि यसरी नै हिँडेको र अहिले आफ्नो कामबाट परिवार र समाजलाई नै सचेत गराउन सकेकामा उनी सन्तुष्ट छिन् । संस्था फरक भए पनि नाकामा बसेर उनीहरूले गर्ने काम समान छ । उनीहरू दिनैभरि आफ्ना संस्थाको प्रतिनिधित्व झल्कने क्याबिन बक्सको झ्यालबाट भारतीय गेटतर्फ हिँडेका मानिसलाई शंकाका आधारमा रोक्ने, सोधपुछ गर्ने, उनीहरूका कुरा अस्पष्ट लागे परिवारलाई फोन गर्ने गर्छन् ।

प्रहरीसँग समन्वय गरी उद्धार र कारबाहीको दायरामा ल्याउने, अदालत, प्रहरी कार्यालय धाउने, मुद्दामा आफूहरूले फेला पारेका प्रमाण पेस गर्ने काममा पनि उनीहरू खटिइरहेका हुन्छन् । उनीहरूको कामको प्रोत्साहन गर्न आबद्ध संस्थाले बेलाबेला सम्मान र पुरस्कार दिने गरे पनि सरकारीस्तरदेखि कुनै पनि प्रोत्साहन उनीहरूका नाममा पर्न सकेको छैन ।

प्रकाशित : पुस १, २०७८ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?