कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घरघरमा धारा जोडियो तर आएन पानी

विप्लव महर्जन

सल्यान — शारदा नगरपालिका ६ मधमकाँडाकी ४५ वर्षीया जयकली बुढाथोकीले टाकुरा मधमकाँडा लिफ्ट खानेपानी योजना सम्पन्न भएसँगै घरघरमा पानी आउने आशामा ६ महिनाअघि नै घरमा धारा जडान गरेकी थिइन् ।

घरघरमा धारा जोडियो तर आएन पानी

दसैंअघि नै नगरपालिकाले घरघरमा पानी वितरण गर्ने भनेपछि स्थानीय २५ वर्षीया लक्ष्मी बुढाथोकीले पनि भदौअघि नै घरछेउमा धारा जडान गरिन् । लक्ष्मी बारम्बार धारालाई सफा भने गरिरहन्छिन् ।

तर धारामा पानी कहिले आउँछ भन्ने यकिन नहुँदा उनी निराश छिन् । करिब एक घन्टा हिँडेर बस्तीभन्दा तल खोल्सामा धाउने उनको दैनिकी उस्तै छ । जयकली र लक्ष्मी जस्तै गाउँका अधिकांश स्थानीयले पानी आउने आशामा धारा जडान गरेका छन् । तैपनि धारामा कहिले पानी आउँछ भनेर सोध्दा जनप्रतिनिधिहरूलाई नै थाहा छैन ।

शारदा नगरपालिकाले टाकुरा, मधमकाँडा लगायत आसपासका स्थानीयलाई पानी उपलब्ध गराउन २०७६ र ०७७ मा गरी झन्डै एक करोड बजेट बिनियोजन गरेर ठेक्का मार्फत् लिफ्ट खानेपानी योजनाको काम सम्पन्न गरिसकेको छ । सोही योजना अन्तर्गत स्थानीयले घरघरमा धारा जडान गरेका छन् ।

तर धारा जडान गरेको महिनौँसम्म पनि पानी नआउँदा टाकुरा, मधमकाँडा र आसपासका ३ सय परिवार प्रभावित स्थानीयहरू निराश देखिएका छन् । तर पछिल्लो समय उनीहरूले वर्षौँदेखि नियमित रुपमा ल्याउने गरेको खोल्सामा पनि पर्याप्त पानी नभएको स्थानीयहरू बताउँछन् ।

मधमकाँडाकी २५ वर्षीया पवित्रा बुढाथोकी भन्छिन् 'धारामा पानी नआउँदा ज्यान जोखिममा राखेर खोल्साखोल्सी चाहार्नु पर्ने बाध्यता अझै टरेको छैन । तर खोल्सामा पनि प्रयाप्त पानी नहुँदा रातभर निद लाग्न छाडेको छ । जतिबेला पनि पानीकै चिन्ता लाग्छ ।'

४० वर्षदेखि नै पानीको अभाव झेल्दैआएका यस क्षेत्रका बासिन्दाहरू पानी अभावकै कारण तरकारी फलाउन र वस्तुभाउ पाल्नसमेत मुस्किल भएको बताउँछन् ।

गत वर्ष ट्यांकीमा पानी पुगेसँगै पहिलो चरणको काम सकिएको थियो । शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले पहिलो चरणको काम सकिएपछि धारा खोलेर योजना उद्घाटन गर्दा नै स्थानीयहरू औधी खुसी देखिन्थे । 'दसैंअघि नै पानी आउने भन्नुभएको थियो । तर अहिलेसम्म कुनै तयारी नहुँदा अन्योल बढेको छ’ पवित्रा भन्छिन् ।

शारदा नगरपालिका सल्यानका ईन्जिनियर भरत बुढाथोकीले भने झन्डै एक करोडको बजेटमा संचालन गरिएको टाकुरा–मधमकाँडा लिफ्ट खानेपानी योजना सम्पन्न भइसकेको र अबको केही महिनामै बस्तीका घरघरमा पानी पुर्‍याउने तयारी भएको बताएका छन् । आसपासका बस्तीमा पनि पानी पठाउने तयारीका कारण केही ढिला भएको उनले बताए ।

प्रकाशित : मंसिर २, २०७८ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?