कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाडीमाथि पहिरो खसेपछि...

विप्लव भट्टराई

इलाम — रातको ९ बजेर ४५ मिनेट गएको थियो । आरीघोप्टे वर्षा भइरहेको थियो । यति नै बेला झापाको विर्तामोडबाट विजय न्यौपाने र चालक डिल्ली चौहान मे १ ज २८२१ नम्बरको बोलेरो जिप लिएर पाँचथरको च्याङथापुतर्फ हुइकिँदै थिए ।

गाडीमाथि पहिरो खसेपछि...


इलाम नगरपालिका ४ छ्यारछारे नजिकै उनीहरुले अचानक गाडीमाथि पहिरो बज्रिएको अनुभव गरे । गाडी हुत्तिएर जंगलभित्र लागेपछि दुवैजना अत्तालिए । ‘एक बल्ड्याङ खाएको याद छ । त्यसपछि केही पत्तो भएन,’ चालक चौहानले भने, ‘अब मरिएछ भन्ने लाग्यो अनि केही थाहा भएन । केही क्षणपछि होस् आउँदा गाडी रुखमा अड्किएको थियो । गाडी मालिक न्यौपाने होसमा आएकै थिएनन् । अनि उनलाई जगाएर भागियो ।’

बिब्ल्याँटे बजारबाट पाँचथरतर्फ करिब ५ सय मिटरको दूरीमा भएको यो घटनाले स्थानीय अरुलाई पनि अचम्मित बनाएको छ । सडकबाट करिब २५ मिटर पर गाडी रुखमा अड्किएको अवस्थामा छ । दुवैलाई सामान्य मात्र चोटपटक लागेको छ । ‘अहिले सम्झँदा सपना जस्तै लाग्छ,’ दुर्घटना भएकै स्थानामा भेटिएका न्यौपानले भने, ‘पहिरोले हिर्काएको याद छ त्यसपछि केही थाहा भएन ।’ गाडी २ बल्ड्याङ खाएपछि अगाडिको सीसा फुटेको छ । दुवै होसमा आएपछि त्यही सीसा फुटेको ठाँबाट उनीहरु निस्किएका थिए ।

गाडी भएको दक्षिणतर्फ पनि पहिरो झरेको थियो । अन्धकारमा उनीहरुलाई पल्टिएको गाडीको बलिरहेको लाइटले साथ दियो । अनि त्यही साहारामा उत्तरतर्फ भागे । जीवनमा पहिलोपटक यस्तो घटना भोग्नु परेको सुनाउँदै चौहान र न्यौपानेले पुर्नजीवन पाएको बताए ।

उनीहरु होसमा आउँदासम्म पनि गाडीको ईन्जिन चलिरहेको थियो । भाग्ने बेलामा चावी अफ गर्न भ्याएको विजयले बताए । वर्षा नरोकिँदा उनीहरु कुनै घरमा पुग्न सकेनन् । त्यति बेलासम्म दुर्घटना भएको स्थानमा दुवैतर्फबाट पहिरोले घेरिसकेको थियो ।

राजमार्ग भएर कतै जाने उपाय ननिस्किएपछि त्यहीँ रहेको एउटा ट्रकमा साहारा लिएर दुवैजना बसे । च्याङथापुमा यात्रु लिन उनीहरु बिर्तामोडबाट साँझ ६ बजे उकालो लागेका थिए । ‘धन्न पहिरो सडकबाट तल झरेन । नत्र हामी गाडीमै पुरिने थियौँ,’ विजयले भने ।

ठूलो दुर्घटनाबाट जोगिने अर्को संयोग पनि के रह्यो भने, उनीहरुको गाडी रुखमै अड्किएको थियो । गाडी रुखमा नअड्किएको भए त्यहाँबाट धेरै तल झर्ने थियो । बुधबार बिहानै पहिरो झरेकै ठाउँमा रहेका उनीहरु त्यहाँ भेला भएकाहरुलाई आफूहरु ठूलो दुर्घटनाबाट कसरी बाँचियो भनेर सुनाउँदै थिए । दिउँसो स्थानीयहरुको सहयोगमा गाडी राजमार्गमा तानिएको छ । गाडीको बाहिरी बनोट क्षतिग्रस्त भए पनि ईन्जिन भने नबिग्रिएको चालक चौहान बताउँछन् । इलाममा बाढी-पहिरोका कारण हालसम्म १३ जनाको मृत्यु भइसकेको छ । ३ जना घाइते छन् ।

प्रकाशित : कार्तिक ३, २०७८ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?