कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दसैंमा सुनिन छाड्यो चचहुइ...

दसैंमा एकपटक भुइँ छोड्नुपर्ने मान्यता रहे पनि आजकाल यी कुरा इतिहास बन्न थालिसके
मनोज पौडेल

कपिलवस्तु — दसैं लागे पनि कपिलवस्तु नगरपालिका–२, सागरटोलकी १० वर्षे काशवी शर्माले चचहुइ-चचहुइ भन्दै पिङमा अझै मच्चिन पाएकी छैनन् । टोलको चन्द्रघण्ट रुद्र मन्दिरअघि सधैं राखिने लिंगे पिङ यसपटक राखिएको छैन । ‘पिङ नराख्दा खल्लो महसुस भयो,’ उनले भनिन्, ‘दसैं आएजस्तै लागेन ।’ 

दसैंमा सुनिन छाड्यो चचहुइ...

बडा दसैंको घटस्थापनादेखि पिङमा मच्चिने बानी परेकी उनी अहिले तौलिहवा आसापस पिङ खोज्दै हिँडेकी छन् । तर, कतै पाएकी छैनन् । उनीजस्तै कपिलवस्तु नगरपालिका–६ बर्मेली टोलकी ५२ वर्षीया हरिकला आचार्य पनि यस वर्ष दसैं खल्लो भएको बताउँछिन् । ‘पिङमा मच्चिँदाको आनन्द निकै रोमाञ्चक हुन्थ्यो,’ उनले भनिन्, ‘सधैं सशस्त्र प्रहरीले पिङ बनाइदिन्थ्यो ।’ तर, गत वर्षदेखि चचहुइँ गर्न नपाउँदा नियास्रो लागेको छ ।’

बडा दसैंदेखि तिहारसम्मै रौनक बढाउने लिंगे पिङ अहिले विस्तारै हराउँदै गएको छ । ८/१० वर्षअघिसम्म दसैंको घटस्थापनादेखि नै गाउँटोलमा रोटे, जाते र लिंगे पिङ हालेर गाउँले नै रमाउने गर्थे । तर, अचेल निकै कम भएको छ । रोटे र जाते पिड त देख्नै छाडिएको छ । कहींकतै देखिए लिंगे पिङ मात्रै देखिन्छ । दसैंसँग धार्मिक, ऐतिहासिक र सांस्कृतिक सम्बन्ध बोकेको लिंगे पिङ जिल्लाका थोरै ठाउँमा मात्र देख्न सकिन्छ । यस वर्ष जिल्लाका वाणगंगा नगरपालिकोको भक्लापुर, उप्टाहा, बुङ्ची र चप्पर गाउँलगायत ६/७ ठाउँमा मात्र लिंगे पिङ राखिएको छ । भक्लापुरको नदी छेउमा युवाले एकै ठाउँ दुईवटा लिंगे पिङ बनाएका छन् ।

‘संस्कृति लोप हुन थाल्यो,’ स्थानीय कृष्ण गैरेले भने, ‘हामी आफैंले रकम उठाएर दुईवटा पिङ बनाएका छौं ।’ गाउँले आएर यहाँ पिङमा मच्चिने गरेका छन् । थोरै ठाउँमा बनाइएको पिङ खेलेर गाउँघरमा बालबालिकादेखि युवायुवती, वृद्धवृद्धासम्म रमाइरहेका छन् । दसैंदेखि तिहारसम्म पिङमा रमाउने गर्थे । विस्तारै पिङ खेल्ने परम्परा कम हुँदै गए पनि मधेसदेखि पहाडसम्म पिङमा मच्चिन चाहने उत्तिकै छन् । ४/५ वर्ष सशस्त्र प्रहरीले जिल्लाका ठाउँठाउँमा लिंगे पिङ बनाउने गरेको थियो । तर, दुई वर्षयता कोभिडका कारण नबनाइएको सशस्त्रको २८ नम्बर गणका उपरीक्षक ध्रुव कार्कीले बताए ।

पिङ राख्न थालेपछि दसैं–तिहार आएको संकेत हुन्थ्यो । मानिसहरु दसैं–तिहारका सरसामान जोहो गर्न लाग्थे । पिङ संस्कृतिको सुन्दर पक्ष पनि हो । पिङ राखेको ठाउँ जमघट हुने स्थल हो । त्यसले अप्रत्यक्ष रूपमा सञ्चारमाध्यमको काम र भेटघाट भलाकुसारी गर्ने मञ्च बन्छ ।

पिङ खेल्दा हुने आनन्द अविस्मरणीय हुन्छ । ‘दुःखकष्ट र पीडा एकछिन भए पनि भुलिन्छ,’ बुद्धभूमि नगरपालिका उपप्रमुख मीरा थारूले भनिन्, ‘त्यसैले यस्तो गुण बोकेको संस्कृतिको छुट्टै महत्त्व छ ।’ पिङले साहस पनि बढाउने उनले बताइन् । मधेसमा साउनदेखि तिहारसम्मै पिङ खेल्ने परम्परा रहेको अवधि लोकसाहित्यका विशेषज्ञ विक्रममणि त्रिपाठीले बताए । घर, टोल र बगैंचामा डोरी बाँधेर पिङ राखिन्छ । ‘भगवान् शिवको अराधना गर्ने साउन पवित्र महिना हो,’ उनले भने, ‘त्यसैले त्यही समयबाट मधेसमा पिङ खेलिन्छ ।’ मधेसमा पिङलाई झलुवा भनिन्छ ।

‘दसैंमा एकपटक भुइँ छोड्नुपर्ने मान्यता छ,’ कपिलवस्तु नगरपालिका– २ का वडाध्यक्ष रामभजन कलवारले भने, ‘त्यसका लागि पिङ खेलिन्छ । अचेल यी कुरा इतिहास बन्न थाले ।’ अहिलेको युवा पुस्ताले संस्कृति बिर्संदै गएको उनले बताए । कला, संस्कृति र परम्पराप्रति युवा पुस्ता संवेदनशील नहुँदा समस्या भएको अवधि साहित्यकार राघवेन्द्र श्रीवास्तवले बताए । ‘स्थानीय तह पुरानो संस्कृति संरक्षणमा लाग्नुपर्छ,’ उनले भने, ‘अन्यथा हाम्रो संस्कृति खोज्न अन्यत्र जानुपर्छ ।’ पहिला चंगा उडाएको, मौलिक बाजामा गीत घन्किएको र लिंगे पिङमा मच्चिएको देख्नासाथ दसैं आएको रौनक हुन्थ्यो । काठमाडौंबाट दसैं मनाउन फर्किएका साहिल शर्माले भने अहिले तौलिहवा सुनसान देख्दा चिन्तित भएको बताए । ‘कतै कहीं रौनक छैन,’ उनले भने, ‘विस्तारै कलासंस्कृति भुल्दा दसैं खल्लो लाग्न थालेको छ ।’

प्रकाशित : आश्विन २५, २०७८ २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?