वर्ष ७२, कक्षा २- फिचर - कान्तिपुर समाचार

वर्ष ७२, कक्षा २

वृद्ध भएपछि परिवारमा एक्लै परेका खड्गबहादुर विकलाई पढ्ने रहरले शान्ति त दिएकै छ, हिँड्नुपरेकाले स्वास्थ्यलाभ पनि भएको छ
पर्वत पोर्तेल

सलकपुर, इलाम — उनको निर्णय गाउँलेलाई अनौठो त लागेकै हो । उनलाई भने जानीबुझी गरेकाले अप्ठेरो लागेको छैन । इलामको दक्षिणपूर्वी रोङ गाउँपालिका–६ सलकपुरका खड्गबहादुर विक ७२ वर्षका भए । यो उमेरमा उनी स्कुल भर्ना भएका छन् । महिना दिनअघि स्थानीय मोती माविमा कक्षा २ मा भर्ना भएका हुन् ।

पतानी उमेरका बालबालिकासँग बसेर लेखपढ गर्छन् । शिक्षकले दिएको गृहकार्य नियमित गर्छन् । ‘हेडमास्टरले ५ कक्षामा भर्ना भए हुन्छ भन्नुभएको थियो,’ विकले भने, ‘तर मैले नै मानिनँ, सानै किलासबाट सुरु गरौं भन्ने लाग्यो ।’

जीवनभर स्कुलमा पाइलै नटेकेका विकलाई १२ वर्षयता भने पढ्ने हुटहुटी थियो । तर, घर परिवारको असहयोगले रहर पूरा गर्न पाएका थिएनन् । ‘सानामा घरको आर्थिक स्थितिले पढ्न पाइएन,’ उनले सुनाए, ‘पछि श्रीमती र छोराछोरीले जान दिएनन् ।’

चार वर्षअघि एउटा घटनामा बात लागेर छोरा जेल परे । पत्नी बितिन् । छोरीहरू बिहे गरेर गए । चार सन्तानका पिता भए पनि

उनी अहिले घरमा एक्लै छन् । आम्दानीको स्रोत सरकारले दिने सामाजिक सुरक्षा भत्ता मात्र छ । ‘घरमा एक्लै बस्दा मानसिक बिरामी पो भइन्छ कि जस्तो भयो,’ उनी भन्छन्, ‘त्यही भएर मन भुलाउन स्कुल भर्ना भएँ ।’

भर्ना हुन पहिलोपटक स्कुल जाँदा शिक्षक र विद्यार्थी दुवै झस्किएका थिए । घरमा आराम गर्ने उमेरमा किन स्कुल पढ्नुपर्‍यो भनेर छरछिमेकले पनि हतोत्साही पारे । तर, उनी पछि हटेनन् । ‘जसले जेसुकै भनून् भनेर अघि बढें’, विकले सुनाए, ‘स्कुल जान थालेपछि मन पनि शान्त भएको छ ।’ बाथका बिरामी उनी डेढ किलोमिटर नियमित हिँडेरै कक्षा धाउँछन् । नियमित हिँडाइले बाथको समस्या पनि कम हुँदै गएको उनको अनुभव छ ।

स्कुलका प्रधानाध्यापक कुमार मगरका अनुसार एक्लो जीवन बिताइरहेका विकका लागि स्कुल भर्ना भएर पढ्नुले मानसिक रूपमा आराम दिएको देखिन्छ । ‘उहाँ असाध्यै जिज्ञासु र सहयोगी पनि हुनुहुन्छ,’ मगरले भने, ‘नजानेको कुरा फ्याट्ट सोध्ने बानी छ ।’

रोङ–६ का वडाध्यक्ष मनिकुमार स्याङ्वो (सुवास) ले बुढ्यौली उमेरमा पनि स्कुल भर्ना भएर विकले सिंगो गाउँलाई नै प्रेरणा दिएको बताए । वडाध्यक्ष स्याङ्वोले भने, ‘७२ वर्षको उमेरमा पनि उनमा स्कुल पढ्ने ऊर्जा आउनु ठूलो कुरा हो ।’

विकलाई नियमित रूपमा पठनपाठनका लागि निःशुल्क व्यवस्था मिलाउन गाउँपालिकाले पहल गर्ने स्याङ्वोले जनाए । ‘उहाँ जति कक्षासम्म पढ्न चाहनुहुन्छ, त्यतिसम्म पढ्ने वातावरण पालिकाले मिलाउनेछ’, उनले भने, ‘अन्य सहयोगी संघसंस्थासँग पनि उहाँको पढाइका लागि पहल गर्नेछौं ।’

प्रकाशित : आश्विन २५, २०७८ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्

किन गरियो काठमाडौंसम्मको पैदल यात्रा ? यस्तो छ महिला हिंसाको पृष्ठभूमि

मधु शाही, रूपा गहतराज

बाँके — घटना १ सम्पत्ति हडप्न हत्यासम्मको योजना१२ वर्ष पुरानो फाइल अध्ययन गर्दा एउटी निरक्षर एकल महिलामाथि भएको अत्यासलाग्दो अत्याचार पर्दाफास गर्छ जसको जमिन हत्याउन भूमाफियादेखि सांसदसम्मको गिरोह सक्रिय भएको थियो । गिरोहले उनलाई १२ वर्षअघि बेपत्ता पारेको थियो, यो बीचमा उनको हत्यासमेत भएको निष्कर्ष प्रहरीको छ ।

हिंसापीडित दुई महिलाका लागि न्याय माग्दै २० दिन हिँडेर नेपालगन्जबाट राजधानी पुगेका परिवार र अधिकारकर्मीका खुट्टाका फोका देखेर देश संवेदनशील छ, न्यायप्रति उनीहरुको प्रतिबद्धता देखेर आमनागरिक नतमस्तक छन् । तर त्यो संघर्ष र प्रतिबद्धताले सरकारको मन छोएको छैन । उनीहरुले न्यायकर्मीलाई कसिङ्गर ठानेर माइतीघर मण्डलबाट उठाउने, तर्साउने र नेपालगन्ज चलान गर्ने गरिरहेका छन् । प्रशासन किन यति असंवेदनशील छ ? निरन्तरको उपेक्षा र दमनबीच पनि न्यायको आवाज किन गलेको छैन ? यो बुझ्न घटनाको पृष्ठभूमिमा जानुपर्छ, दुईमध्ये एउटा घटना त हालसालैको हो, अर्को भने १२ वर्ष पुरानो ।

निर्मला कुर्मीको ‘दोष’ यत्ति थियो कि नेपालगन्ज–१७ परस्पुरमा उनको नाममा ४ बिघा १३ कट्ठा जमिन थियो । करोडौं मूल्यको यो जमिनमा भूमाफियाका आँखा लागेपछि निर्मला र उनको परिवार उजाडिएको देखिन्छ ।

सम्पादकीय :

निर्मला हराएकी थिइन् ? तथ्यहरू भन्छन्, उनलाई बेपत्ता बनाइएको थियो । खासमा उनलाई सम्पत्तिबाट अलग गर्न गिरोहले भारतमा दोस्रो बिहे गराइदिएको देखिन्छ । प्रहरीका अनुसार निर्मलाको उतै मृत्यु भइसकेको छ ।

अहिले गुमनाम निर्मला ठीक १२ वर्षअघि २०६६ मा पनि राष्ट्रिय पत्रपत्रिकामा समाचारको पात्र भएकी थिइन् । पहिलो संविधानसभामा निर्वाचित कांग्रेस सभासद बादशाह कुर्मीले उनलाई पिटेका थिए । सम्पत्ति हडप्न सांसदले एकल महिलामाथि हातपात गरेको समाचार कान्तिपुरमा समेत प्रकाशित थियो । विडम्बना के छ भने बादशाहले पिट्नुअघि दुई महिनाको अन्तरालमा निर्मलाका दुई छोराको ‘मृत्यु’ भएको थियो, त्यसको केही समयअघि मात्र उनका श्रीमान्को पनि निधन भएको थियो । छोटो अवधिमा कालगतिले परिवारका तीन हट्टाकट्टा पुरुष सदस्यको मृत्यु हुनु र लगत्तै एकल महिला निर्मलालाई पनि तत्कालीन सांसदले पिटेको समाचार आएपछि नेपालगन्जमा सबैको ध्यान तानिएको थियो ।

परिवारका सदस्य गुमाए पनि निर्मलाको सम्पत्ति पर्याप्त थियो । सम्पत्ति संरक्षण गरिदिन भन्दै तत्कालीन सभासद बादशाहले लालपुर्जा लगिदिएको र फिर्ता माग्दा कुटेको समाचार आएको थियो । बादशाह भन्छन्, ‘निर्मला एक्ली थिइन् र उनको धेरै जमिन थियो । त्यसमाथि अरूको आँखा नलागोस् भनेर मैले संरक्षण गर्न खोज्दा अधिकारकर्मीहरूले उल्टो हल्ला फिँजाए, मेरो बदनाम गरे ।’

एकल महिला कुटेको समाचार आएपछि बादशाहले निर्मलाको लालपुर्जा समाजको रोहबरमा प्रशासनमा बुझाएको बताए । ‘त्यसपछि के भयो मलाई केही थाहा छैन,’ आइतबार साँझ कान्तिपुरसँगको कुराकानीमा उनले भने । कुटपिटपछि हतासिएकी निर्मलालाई महिला हिंसाविरुद्ध सक्रिय गैरसरकारी संस्था ‘साथी’ ले केही समय आश्रय दिएको देखिन्छ । तर उनी हराएपछि उनको जमिन विभिन्न व्यक्तिको नाममा सारिएको प्रमाण भेटिएको छ ।

निर्मला एकाएक हराएपछि रुबी खान संयोजक रहेको ‘राष्ट्रिय महिला अधिकार मञ्च’ ले खोजबिन गरेको देखिन्छ । तर कतै पत्तो नलागेपछि आफन्तको पहलमा मञ्चले गत मंसिर १६ मा प्रहरीलाई जाहेरी दिएको थियो । तर प्रहरीले बेवास्ता गरेपछि चैत २० मा सरकारी वकिल कार्यालय बाँकेमार्फत जिल्ला अदालतमा सोझै मुद्दा दायर गरिएको थियो ।

अहिले आफन्त र अधिकारकर्मीको आन्दोलन काठमाडौं पुगेपछि प्रहरीले निर्मलाको भारतमा बिहा भएको र उनको मृत्यु उतै भइसकेको दाबी गरेको छ । जिल्ला प्रहरीको टोली निर्मलाको खोजी र अनुसन्धानका क्रममा भारतसम्म पुगेर उनका दोस्रो श्रीमान् भनिएका अर्जुन कुर्मीसँग बयान लिएको छ । अर्जुनले प्रहरीमा दिएको बयानअनुसार निर्मलाको कालगतिले मृत्यु भएको बताइएको छ । ‘लामो समयदेखि बेपत्ता निर्मलाको खोजी गर्दै जाँदा भारतीय नागरिक अर्जुन कुर्मीसँग उनको बिहे भएको देखिन्छ, भारतमै उनको मृत्यु भएको तथ्य फेला परेको छ,’ बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसूदन न्यौपाने भन्छन् ।

यता, निर्मलाको सबै जग्गा पहिला पार्वती विष्टको नाममा गएको र त्यसपछि रमेश थापाकी श्रीमती रत्न थापाका नाममा पास भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । निर्मलाबाट पार्वतीले जग्गा लिएको देखाइएको छ । तर विष्टले थापाबाट तमसुक गरेर लिएको पैसा तिर्न नसकेपछि अदालतमार्फत जग्गा दिलाएको देखिन्छ । प्रक्रिया पुर्‍याउन मालपोतकै केही कर्मचारी खजुरा रोडस्थित थापाको प्लाइउड फ्याक्ट्रीमा गएर पास गरेको खुलेको छ । तर यही प्रयोजनका लागि जग्गाधनी निर्मलालाई भारत लगेर बिहेका नाममा अर्कै पुरुषसँग छाडिएको देखिएको छ । लामो समय मौन बसेको प्रहरीले अहिले भने बिहेलाई पनि षड्यन्त्रका रूपमा अनुसन्धान गर्न थालेको छ ।

अर्जुन कुर्मीले निर्मला र आफूलाई बन्धक बनाएर रमेशले किर्ते कागज गरी निर्मलाको जग्गा हडपेको खुलासा अर्जुनले गरेका छन् । ‘निर्मला र मलाई रमेशले प्लाई उद्योगभित्र दुई महिना बन्धकजस्तै बनाइराखे, जबर्जस्ती किर्ते कागज बनाएर निर्मलाको जग्गा हडपे’ उनले प्रहरीलाई भनेका छन् ।

‘तिमीहरूको जग्गा गडबड भएको छ, मिलाउन तिमीहरूलाई यहाँ राखेका हौं, २/३ महिनापछि सबै काम हुन्छ’ भन्दै २० हजार दिएर भारतको अयोध्या घुम्न पठाइएको अर्जुनले बताएका छन् । घुमेर आउँदा निर्मला कुर्मीको सबै जग्ग्गा भुक्याएर रमेशले आफ्नो नाममा पास गराएको अर्जुनले प्रहरीको बयानमा खुलाएका छन् ।

डीएसपी पौडेलका अनुसार निर्मलाको नाममा रहेको जग्गा विभिन्न षड्यन्त्र गरेर २०६९ भदौ ७ मा बर्दिया धधवार–४ घर भई नेपालगन्ज परस्पुर बस्ने पार्वती विष्टको नाममा पास गरिएको थियो । निर्मलाको नामको केही जग्गा पार्वती विष्टको नाममा आइसकेपछि पार्वती विष्टले रमेश थापाकी श्रीमती रत्न थापाबाट पटक–पटक ठूलो रकम तमसुक गरी लगेको र उक्त तमसुकबमोजिमको रकम नतिरेकाले उक्त बिगोबमोजिमको रकम असुलउपर गराउन मुद्दा हालिएको थियो । जिल्ला अदालत बाँकेले २०७३ भदौ २० मा विष्टले पैसा तिर्न नसकेकाले उनको नाममा रहेको जग्गा थापाको नाममा सार्ने फैसला गरेको थियो । यसरी निर्मलाको जग्गा थापाको नाममा पक्का बनाउन अदालतबाटै घुमाउरो फैसला गरिएको थियो । उक्त फैसलालाई आधार मानेर ४ बिघा १० कट्ठा जग्गा ९७ लाख १३ हजार रुपैयाँमा लिलाम प्रक्रियामा लगेको देखिन्छ ।

अर्जुनले बयान दिने क्रममा निजामुद्दिन दर्जीले पनि निर्मला कुर्मीको जग्गा ठगी गरेको खुलाएका छन् । प्रहरीले निजामुद्दिन रुबीका आफन्त भएको जनाएको छ । निजामुद्दिन दर्जी पनि जग्गा हडप्ने हिसाबले भारतसम्म पुगेर प्रलोभनमा पारेर निर्मलालाई नेपाल लैजान खोजेका थिए । डरधम्की र धेरै यातना पाएका कारण निर्मला नेपाल आउन मानेकी थिइनन् । बयानमा अर्जुनले भनेका छन्, ‘त्यसबेला हामी सँगसँगै हुन्थ्यौं । दुवै पढेलेखेका थिएनौं । जग्गा जाने हो भनिएको थिएन । आफ्नो जग्गा आफूले पाउने आशामा उनीहरूले भनेअनुसार कागजमा ल्याप्चे लगाउँथ्यौं ।’ यद्यपि, जग्गा ठगीमा निजामुद्दिन पनि मुछिएको र उनको विरुद्ध कतै जाहेरी नपरेको प्रहरीले खुलाएको छ ।

धनसम्पत्तिका लागि निर्मलाको अपहरण गरी हत्या गरेको आरोपमा बादशाह कुर्मी, रमेश थापाकी श्रीमती रत्न थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, कुँवर बब्बन सिंह, उर्मिला कनौजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंहका नाममा जिल्ला अदालतमा बाँकेस्थित महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य मनकुमारी गुरतालको तर्फबाट मुद्दा दायर गरिएको छ । बाँके प्रहरी प्रवक्ता एवं डीएसपी पौडेल भन्छन्, ‘सूक्ष्म अनुसन्धान गर्दै जाँदा विषयवस्तु गहिरो बन्दै गएको छ । निर्मलाको सम्पत्ति हडप्ने मनसायले धेरै षड्यन्त्र भएको देखिन्छ ।’

लामो समय दबिएको घटना अधिकारकर्मीको आवाजले फेरि चर्चामा आएको छ । प्रहरीले चासो त देखाएको छ, तर पर्याप्त संवेदनशीलता देखाएको छैन भन्ने अधिकारकर्मीको आरोप छ । त्यसैले उनीहरू नेपालगन्जदेखि काठमाडौंसम्मको पैदल यात्रामा निस्किएका हुन् । प्रहरीले इमानसँग अनुसन्धान गरेमा निर्मलाको सम्पत्ति हडप्न को–को लागेका थिए ? उनको साँच्चै बिहे भएको हो वा होइन ? मृत्यु पनि कालगतिले भएको हो कि होइन भन्ने खुलस्त हुनेछ ।

घटना २

नकुन्नीको हत्या कि आत्महत्या ?

बाँकेको जानकी गाउँपालिका–२ नेवाजी गाउँकी ४० वर्षीया नन्कुन्नी धोबी गत साउनमा आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परिन् । प्रहरीले घटनालाई आत्महत्या भन्यो । तर माइती मान्न तयार भएन । पटकपटक धाउँदा पनि प्रहरीले वास्ता नगरेपछि सिंगो परिवार जिल्ला प्रशासन कार्यालयमा धर्नामा बस्यो । अधिकारकर्मीले पनि साथ दिए ।

प्रहरी अनुसन्धानले नन्कुन्नीले आत्महत्या गरेको भने पनि अधिकारर्मीले हत्या भएको दाबी गर्दै जाहेरी दिए । स्थानीय प्रशासनबाट न्याय पाउन ढिलासुस्ती भएपछि पीडित परिवारले अधिकारकर्मीसहित न्याय माग्न काठमाडौंका लागि पैदलयात्रा सुरु गरे । अहिले मृतकका श्रीमान् र जेठाजुलाई अदालतले पुर्पक्षका लागि थुनामा राखेको छ ।

परिवारकै सल्लाहमा नन्कुन्नीले सात वर्षअघि रामकुमार धोबीसँग विवाह गरेकी थिइन् । तर सन्तान नभएको भन्दै श्रीमान् झगडा गर्थे । हिंसाबाट बच्न उनी बारम्बार माइतीको सहारा लिन पुग्थिन् । गुहार माग्न सामाजिक संघसंस्थामा समेत पुग्थिन् । एकपटक गाउँपालिकास्थित प्रहरी चौकीमा पुगेर मिलापत्रमा झगडा टुंग्याएको प्रहरी रेकर्डमा देखिएको छ ।

झगडा थोरै साम्य भएपछि नन्कुन्नी घर फर्किन्थिन् । झगडा भए माइती जान्थिन् । तर गत साउन ५ मा उनले माइत जाने मौका पाइनन् । त्यो दिन नन्कुन्नी घरमै झुन्डिएको अवस्थामा भेटिइन् । उनको जीवन परिवारले नै खोसेको माइतीको आरोप छ । तर अनुसन्धानमा प्रहरी प्रशासनले चासो नदिएकामा उनीहरू आक्रोशित छन् । नन्कुन्नीका आफन्तले उनका श्रीमान्ले घरमा हत्या गरेको किटानीसहित जिल्ला प्रशासन र प्रहरी कार्यालयमा उजुरी गरेका थिए । ‘त्यहाँबाट न्याय पाइँदैन भन्ने लागेपछि काठमाडौं जान बाध्य भयौं,’ भाइ माताप्रसादले भने । उनले दिदीलाई दाइजोलगायतको निहुँमा कुट्ने र मार्ने धम्की दिने गरिएको बताए । ‘मृत शरीरभरि चोटपटक थियो । त प्रहरीले आत्महत्या गरेको भन्छ,’ उनी भन्छन्, ‘मेरो दिदी मार्नेलाई सजाय हुनुपर्छ ।’

नन्कुन्नीको पोस्टमार्टम रिपोर्टमा आत्महत्या देखिएकाले ज्यान मुद्दा दर्ता हुने अवस्था नरहेको प्रहरीको भनाइ छ । ‘डाक्टरको रिपोर्टअनुसार शतप्रतिशत आत्महत्या देखियो । आत्महत्यालाई प्रहरीले हत्या भन्न मिल्दैन । घटनास्थलमा कर्तव्य ज्यानमा मुद्दा दर्ता हुने अवस्था नदेखिएपछि आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरौंभन्दा माइतीले मान्नुभएन । त्यसपछि पति र जेठाजुको नाममा किटानी जाहेरी लिएर आउनुभयो,’ प्रहरी उपरीक्षक (डीएसपी) मधुसूदन न्यौपानेले भने, ‘अभियुक्त पुर्पक्षका लागि कारागारमा छन् । मुद्दा बन्द भएको छैन ।’ तर शरीरभरि नीलडाम देखेका माइती पक्ष भने त्यो आत्महत्या थियो भन्ने मान्न तयार छैनन् ।

प्रकाशित : आश्विन २५, २०७८ ०८:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×