कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

अन्जन गजुरेल : बलिउडमा देखाउँदै छन् कलाको जादु

१८ वर्षदेखि बलिउडमा कला निर्देशन गर्दै आएका गजुरेल भन्छन्– ‘निर्देशकको दिमागभित्रका दृश्य कला निर्देशकले फ्रेममा देखाउनुपर्छ’
रीना मोक्तान

काठमाडौँ — चाँदीवाली स्टुडियोमा ‘लुडो’ फिल्मको सुटिङ हुँदै थियो । सुटिङकै क्रममा एकदिन स्टुडियो घुम्दै गर्दा निर्देशक अनुराग बासुको आँखा त्यहाँको पौडी पोखरी पर्‍यो । कला निर्देशकलाई बोलाएर फिल्मको प्रमुख पात्र पंकज त्रिपाठीको अड्डा त्यही बनाउन निर्देशन दिए । पौडीपोखरी फोहोर थियो । लेउले हरियो देखिन्थ्यो । कला निर्देशकले कश्यपको दिमागभित्र रहेको दृश्यलाई स्केचमा उतारिदिए । बासुले ‘ओके’ गरेपछि सानो पौडीपोखरीमा अड्डा बनाउने काम सुरु भयो । ठूलो तालको बीचमा अड्डा रहेको देखाउनु थियो । बाँस र ड्रम प्रयोग गरेर हिँड्ने बाटो बनाए । पंकज त्रिपाठीको मुख्य अड्डा पुग्नु अगाडि दायाँ र बायाँको झुपडी बनाए । पैसा गन्ने दृश्यका लागि अर्को झुपडी पनि तयार गरे ।

अन्जन गजुरेल : बलिउडमा देखाउँदै छन् कलाको जादु

बाटो बनाउन प्रयोग गरिएका बाँस र ड्रमहरू नयाँ देखिए, पुरानो देखाउन त्यस्तै किसिमको रंग लगाए । झुपडीलाई पुरानै देखाउन उस्तै किसिमका सामग्रीको प्रयोग गरे । पाँच दिनमा तयार भयो, पंकजको मुख्य अड्डा । जुन फिल्मको सुरुवाततिरै विस्फोट भएको देखाइएको छ ।

पंकज त्रिपाठीको अड्डाको स्केच ।

०००

‘यो कक्षामा नेपाली विद्यार्थी को–को छन् ?’ अर्का एक साथीसँगै कक्षामा खुसीले गमक्क परेर बसेका थिए, अन्जन गजुरेल । जेजे स्कुल अफ आर्टमा बल्लतल्ल भर्ना पाएका उनी कक्षा कोठा हेर्दै दंग परिरहेका थिए । काठमाडौंको ललितकला क्याम्पसमा ‘बाख्रा थुन्ने’जस्तो कक्षामा पढेका उनलाई जेजे पुग्दा स्वर्गै पुगेजस्तो अनुभूति भयो । सरको प्रश्नले अन्जन झस्किए । बस्दै गरेको बेन्चबाट जुरुक्क उठे । ‘तिमीहरूको स्केच खोइ ?’ सरले सोधे । कक्षाको पहिलो दिनमै १० वटा स्केच बुझाउनुपर्ने रहेछ । अन्जनलाई पत्तो थिएन । ‘अर्को पटक बनाएर ल्याउँछौ सर । हामीलाई थाहै भएन’ अन्जनले अनुरोध गरे । ढोकातर्फ इसारा गर्दै सरले रिसाएको मुद्रामा भने, ‘गेट आउट ।’

बिर्सेका छैनन् अन्जनले कक्षाको त्यो पहिलो दिन । कक्षाबाट बाहिरिएसँगै अन्जनले ठाने,‘अब यो कक्षामा राम्रो गरेरै छाड्छु ।’ जेजेको चार वर्षे अध्ययनमा उनी शीर्ष १० विद्यार्थीमा पर्न सफल भए । कक्षामा एकसे एक चित्रकारहरू हुन्थे । अन्जनले आफ्नो स्केच सुधार्न खुबै मिहिनेत गरे । बिहानको ७ बजेदेखि स्केच बनाउँथे । ‘त्यतिबेला मलाई म जस्तो स्केच बनाउने कक्षामा अरु कोही छैन होला भन्ने लाग्थ्यो । मैले यति स्केच बनाएँ कि मेरा साथीहरूले स्केच गर्नुपर्दैन थियो, म आफैं उनीहरूका लागि स्केच गर्थें,’ उनी सम्झिन्छन् ।

ललितकला पढेर सन् ११९८ मा मुम्बई पुगेका थिए, अन्जन । उनलाई सानैदेखि चित्र कोर्नमा रुचि थियो । जनकपुरमा हुर्कँदा मिस्रीको पोकामा हिन्दी फिल्मका श्यामश्वेत पोस्टर आउँथे । उनी त्यसलाई हुबहु कापीमा कोर्थे । घरका भित्तामा कुनै ठाउँ खाली छोडेनन् । बुबाले नै उनको चित्रकलाप्रतिको लगाब देखेर ललितकला भर्ना गराए । ललितकलाको अध्ययनले ‘ठूलो आर्टिस्ट बन्न गाह्रो छ’ भन्ने लागेपछि उनी भारत हुँइकिए । जेजे पढुन्जेल उनले आफ्नो त्यो सपना भुलेनन् । त्यही सपनाले उनलाई निरन्तर मिहिनेत गर्ने उर्जा दियो ।

शनिबार र आइतबार अन्जनलाई होस्टलमा भेटिन्न थियो । ब्यान्ड स्ट्यान्डमा बिहान ६ बजेदेखि रातको ७ बजेसम्म ल्यान्डस्केप बनाउन उनी व्यस्त हुन्थे । दसैंमा घर आउँदा पनि उनी चित्रकलामै डुबिरहन्थे । कलेज फर्केर आफ्नो चित्रकला शिक्षकलाई देखाउँदा उपहार पनि पाए । उपहारमा जापानी रंग र पेन्सिल पाए । जोन डगलस, त्यही शिक्षक थिए, जसले अन्जनलाई पहिलो दिन कक्षाबाट निकालेका थिए । त्यसलाई उनी आफ्नो चित्रकला माथिको पहिलो उपलब्धि मान्छन् ।

अस्पतालको सेट

एक पटक जेजेले विद्यार्थीहरूलाई शैक्षिक भ्रमण लाने तयारी गर्‍यो । प्रत्येक विद्यार्थीबाट ७ हजार उठायो । तर अन्जनलाई ७ हजार दिन मन लागेन । सोचेछन्, ‘यति धेरै पैसामा त म पेन्सिल र रंगहरू किनेर पेन्टिङ गर्छु ।’ भ्रमण जाने नजाने सबैका लागि ल्यान्डस्केप बनाउने प्रोजेक्ट दिइएको थियो । उनले ब्यान्ड स्ट्यान्डमा गएर चित्रकला बनाए । पालो आयो, चित्रकला प्रदर्शनीको । सबैले अन्जनको चित्रकलाले अवार्ड पाउनुपर्ने मत राखे । तर भ्रमणमा जाने एक विद्यार्थीलाई अवार्ड दिइयो । प्रोजेक्ट वर्क दिने शिक्षकले त्यो बेला अन्जनलाई कुनामा बोलाएर भनेका थिए, ‘तिम्रो काम राम्रो छ । अवार्ड तिमीलाई नै दिन चाहन्थें ।बहुमतले नै भ्रमणमा जानेलाई दिनुपर्छ भन्यो ।’ शिक्षकको त्यस किसिमको प्रतिक्रिया चित्रकलामा अन्जनले पाएको दोस्रो उपलब्धि थियो ।

तरकारीको भाउमा चित्रकला !

चित्रकलामै दिनरात बिताउन थालेपछि अन्जनलाई जहाँगीर आर्ट ग्यालरी (पेन्टिङको राम्रो खरिद–बिक्री हुने ठाँउ) को प्रदर्शनीमा सहभागी हुने मन भयो । ग्यालरीका प्रमुख व्यक्तिसँग कुरा गर्न पनि पुगे । उनले अन्जनलाई अझै सुधारेर अर्को वर्ष आउन भने । क्यानभासमा घण्टौं बिताउन थाले । कलेजको चौथो वर्षको अन्तिमतिर जब उनी आफ्ना चित्रकला लिएर ग्यालरीमा पुगे, ती व्यक्ति उनको कामलाई देखेर चकित भए । तुरुन्तै प्रदर्शनीमा भाग लिने तय भयो ।

प्रदर्शनीमा चित्रकलाको मूल्य राखेका थिए– २ देखि ५ हजार । ग्राहकहरू आउँथे, मूल्य सोधेर फर्कन्थे । कतिले महँगो भएको बताउँदै जान्थे । उनको चित्रकलामा पश्चिमा शैली झल्कन्थ्यो । उनका अरु साथीहरूको चित्रकला ‘कलर प्याच’ गरिएझैं देखिन्थे । उनका चित्रकलामा भने पारदर्शी इफेक्ट आउथ्यो । अन्तिम २ घण्टा हुँदा पनि चित्रकला किन्न कोही ग्राहक आएनन् । छेउमा अर्का साथीले तरकारीको भाउमा चित्रकला बेचेको दृश्यले भने अन्जनको मन अमिलो भयो ।

‘साथीको क्यानभास पेन्टिङ थियो । एउटा क्यानभासको मूल्य ५ हजारमाथि थियो । प्रदर्शनी सकिँदै थियो । उनले हजारको भाउमा सबै पेन्टिङ बेचिदियो । पेन्टिङलाई तरकारीको भाउमा बेचेको देख्दा ‘यही हो मेरो भविष्य ?’ भन्ने लाग्यो । बुबा आमाको पैसा खर्च गरेर पढेँ, यस्तै भविष्य भयो भने त हुँदैन । व्यवसायिक हुनलाई केही गर्नुपर्छ भन्ने पनि लाग्यो,’ अन्जन नोस्टाल्जिक हुँदै सुनाउँछन् ।

‘बालाजी’बाट कला निर्देशन

डिग्री पास गरेपछि अन्जन कामको खोजीमा बालाजी टेलिफिल्म्समा ठोक्किन पुगे । बालाजी टेलिश्रृंखला निर्माणमा ब्रान्ड बनिसकेको कम्पनी थियो । उनलाई त्यहाँ देखेर मानिसहरू भन्थे, ‘यहाँ नेपालीहरू चाइनिज कुक गर्न आउँछन् । ‘सलाम साब’ भन्न आउँछन् । तिमी पहिलो नेपाली हौं, जो डिग्री गरेर काम गर्न आयौं ।’ कतिले भन्थे, ‘तिमी आर्ट नरोज । आर्ट भनेको ज्यामी काम हो । पेन्ट गर्ने, कुर्सीहरू मिलाउने काम हुन्छ आर्ट डिपार्टमेन्टमा ।’

कला नै नरहे आफ्नो अर्थ नरहने सोचेर ‘बालाजी’ मा कला निर्देशनको शाखामा उनी होमिए । त्यतिबेलासम्म उनलाई कला निर्देशनमा के हुन्छ भन्ने नै थाहा थिएन । ‘त्यति समर्पित भएर पढेँ, आर्ट नै रहेन भने म आएको के मतलब ? त्यसपछि आर्ट निर्देशनमा घुसे । त्यहाँ आर्ट नाम रहेकै कारण, म आर्ट निर्देशनमा पसेँ । आर्ट जिउँदो रहन्छ भनेरै त्यो डिपार्टमेन्टमा छिरें,’ बालाजी प्रवेश गर्दाको क्षण सम्झे ।

त्यसपछि सुरु भयो टेलिभिजनको दुनियाँमा कला निर्देशनको करिअर । रजत पोद्दारको सहायक बनेर उनले काम थाले । त्यतिखेर ‘कसौटी जिन्दगीको’, ‘कुसुम’ छायांकनरत थियो । ठूल्ठूला सेटमा टेलिफिल्मको छायांकन भएको देख्दा उनलाई कला निर्देशनमा ‘जादु’ नै हुने रहेछ भन्ने लाग्यो । विस्तारै कला निर्देशनमा उनको झुकाव बढ्यो । त्यतिबेला न इन्टरनेट न मोबाइल । पोद्दार मुखैले कन्सेप्ट सुनाउँथे । उनी त्यही निर्देशनकै भरमा दिमागमा ‘भिज्वलाइजेसन’ गरेर सेट तयार गर्थे । ‘गुगलमा सर्च गरौं, गुगल थिएन । मेरो क्षमता नै पेन्सिल थियो । त्यसरी भिज्वलाइजेसन शक्ति बढ्दै गयो । नदेखेका लन्डन र अमेरिकाको सेट बनाउन थालेँ,’ अन्जनले भने ।

उनले ‘कोही अपनासा’ बाट कला निर्देशनमा साहयक भएर काम सुरु गरे । अहिलेसम्म ३० भन्दा बढी टेलिश्रृंखलामा कला निर्देशक भएर काम गरेका छन् ।

‘लुडो’ सम्मको यात्रा

एक वर्ष साहयक बनेर काम गरेपछि अन्जन कहाँ सोझै कामको अफर आउन थाल्यो । उनको कामलाई मन पराउनेहरू बढे । बालाजी छोडेपछि ‘देशमे निक्ला होगा चाँद’ गरे । त्यसमा अस्पतालको दृश्य चाहियो । उनले एउटा बिग्रिएको गोदामलाई अस्पतालमा परिणत गरिदिए । काम नलाग्ने ठाउँलाई अस्पतालको सेट बनाइदिएपछि भने उनको चर्चा झनै बढ्यो । हुन त ‘साया’ ‘मर्डर’, ‘इम्तिहा’, ‘मैं भी माधुरी दीक्षित बन्ना चाहती हुँ’ लगायतका फिल्ममा सहायक भएर कला निर्देशन गर्दा उनको काम मनपराउने बढिसकेका थिए । ‘काबुल एक्सप्रेस’को कामपछि भने सबैले उनलाई नोटिस गरे । गोविन्दाको ‘आएगा हिरो’मा पनि उनले कला निर्देशक भएर काम गरे । सन् २०२० मा नेटफि्लक्समा प्रदर्शनमा आएको ‘लुडो’ मा उनी नै कला निर्देशक थिए ।

निर्माणाधीन अड्डा

उनले पंकज त्रिपाठीको अड्डा मात्र होइन, फिल्ममा त्यस्ता सेट तयार पारेका छन् जुन फिल्म हेर्दा वास्तविक हुन् कि कृत्रिम छुट्याउन गाह्रो पर्छ । उनले फिल्म सिटीको मन्दिरलाई ‘प्याराडाइज होटल’ बनाएका हुन् । लुडो हेर्नुभएको छ भने होटल क्लाइमेक्स दृश्य पक्कै याद होला । त्यसको अधिकांश दृश्य अन्जनले नै बनाइदिएको सेटमा खिचिएको हो ।

राजकुमार रावको ढावा पनि अन्जनले नै तयार पारिदिएका हुन् । ओत लाग्ने ठाँउजस्तो देखिने, जस्ताले छाएको एउटा ठाँउलाई नै उनले ढावामा परिणत गरेका हुन् । सेट बनाउन धेरै खर्च लाग्नेगर्छ । तर सेटका लागि निर्माण टिमले धेरै बजेट छुट्याएको हुँदैन । त्यसैले कमसल सामाग्री प्रयोग गरेर उनी सेट तयार गरिरहेका हुन्छन् । त्यो ढावाका भित्ताहरू सबै भुइँमा ओच्छ्याउने म्याट्रेसमा रंग लगाएर बनाएको उनी बताउँछन् । ‘बजेट त उता पनि छैन । तर हामीले कम बजेटमा सेट निर्माण गर्न उस्तै सामाग्रीको प्रयोग गर्थ्यौं,’ उनले भने, ‘हरेक दिन कला निर्देशकले सेटमा युद्ध गर्नुपर्छ । निर्देशकको विचारलाई फ्रेममा देखाउनु सजिलो काम होइन । निर्देशकको दिमागमा भएको कला निर्देशकले भर्चुअल रुपमा प्रस्तुत गर्ने गर्छ ।

तस्बिरहरु : अन्जन गजुरेल

‘अनुराग बासुसँग नजिक रहेर काम गरेका अन्जन लुडोको सेटमा छायांकन सकिएपछि अन्तिममा हरेक पटक कला निर्देशनको शाखाका लागि टिमैले उत्साहको ताली बजाउने गरेको सुनाउँछन् । ‘मैले बनाएको सेटलाई त्यति मन पराउनुभयो उहाँहरूले,’ उनले भने ।

बलिउडमा १८ वर्ष बिताएका ४३ वर्षिय अन्जन नेपालमा फाट्टफुट्ट कला निर्देशक भएर काम गरिरहेका हुन्छन् । नेपालमा केही समयअघि ‘कोहिनूर’ फिल्ममा काम गरे । हालै उनले ‘सारेगमपा लिटल च्याम्प’ का लागि सेट बनाएर मुम्बई फर्केका छन् । ‘क्राइम पेट्रोल’का लागि पुलिस स्टेसनको पनि सेट बाइदिएका छन् । अब उनलाई नेपालमै काम गर्नुछ । ‘अब नेपालमै नयाँ पुस्तासँग काम गर्ने रहर छ । अब हेरौं उता पनि झट्ट छोडिहाल्न मिल्दैन,’ उनले भने ।

प्रकाशित : भाद्र १३, २०७८ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×