महामारीका फ्रन्टलाइनर योद्धाहरू- फिचर - कान्तिपुर समाचार

महामारीका फ्रन्टलाइनर योद्धाहरू

बुनु थारु

काठमाडौँ — सरकार आफैंले घोषणा गरेको कोभिड जोखिम भत्तासमेत नपाएर निराश बनेका फ्रन्टलाइनरहरू बारबरा फाउन्डेसनबाट सम्मानित भएपछि हर्षित छन् । महामारीमा उनीहरू दिनरात नभनी शव व्यवस्थापनदेखि स्वाब संकलनमा खटिएका थिए ।

एकै दिन १२ वटा शव प्याक

जाजरकोट घर भएकी १९ वर्षीया कविता डीसी नेपालगन्जको भेरी अस्पतालमा स्वास्थ्य सहयोगीका रूपमा काम गर्छिन् । उनको जिम्मेवारी भनेकै सरसफाइ र शव व्यवस्थापन हो । दिनमा १२ वटासम्म शव प्याक गरेको क्षण भने उनी कहिल्यै बिर्सन सक्दिनन् ।

‘पहिलो पटक शव प्याक गर्दा मुटु जोडले धड्कियो । डर लागेर काम नै छोड्दिन्छु भन्ने पनि लाग्यो,’ गत कात्तिकबाट काम थालेकी उनले भनिन्, ‘तर बाध्यताले गरें । यस्तो महामारीमा डर त लागिहाल्छ नि ।’

घरमा सानिमा, बुबा र भाइ बस्छन् । दाइ रोजगारीका लागि भारतमा छन् । कविताको आर्थिक अवस्था कमजोर छ । कक्षा १० सम्म अध्ययन गरेकी उनलाई थप शिक्षा हासिल गर्न मन छ तर पैसा छैन । उनी दुःखी हुँदै भन्छिन्, ‘पढ्न त मन छ नि, के गर्नु, पैसा पुग्दैन । काम गरेको पैसाले खान लगाउन मात्र पुग्छ ।’

उनी मासिक १२ हजार कमाउँछिन् । कोभिड संक्रमणमा खटिएका फ्रन्टलाइनरलाई सरकारले जोखिम भत्ता दिने भने पनि पाएकी छैनन् । ‘तलब थोरै छ, काम भने धेरै हुन्छ,’ आँखा टिलपिल पार्दै उनले भनिन्, ‘सायद आमा भएको भए यसरी काम गर्दिनथें होला ।’ संक्रमणको जोखिम र शव व्यवस्थापन गर्नुपर्ने डरले २०–२५ जनाले काम छाडेको उनले सुनाइन् ।

अस्पतालको सरसफाइ र शव व्यवस्थापनको जोखिमपूर्ण काम गर्नुपर्दा कहिले त उनी मास्क लगाएरै सुत्थिन् । ‘दुइटा मास्क कहिल्यै छोड्दिनँ । खानेबेला मात्र खोल्ने हो,’ उनले भनिन् ।

महामारीको जोखिममा साहसिलो काम गरेको भन्दै बारबरा फाउन्डेसनले उनलाई पुरस्कृत गरेपछि थप प्रफुल्ल भएकी छन् । शनिबार एक लाख रुपैयाँको पुरस्कार ग्रहण गर्न उनी पहिलो पटक प्लेन चढेर काठमाडौं आएकी हुन् । पुरस्कारको रकमले कोठाभाडा तिर्ने र बाँकी जोगाएर राख्ने उनले बताइन् ।

०००

३ जनाले ७५ बिरामीलाई सेवा

कलैयाकी शुभद्रा चौधरी पनि कवितासँगै पुरस्कृत भएपछि दंग छिन् । १३ वर्षदेखि नर्सिङ पेसामा संलग्न उनी पेडियाट्रिक वार्ड इन्चार्जका रूपमा पर्सास्थित नारायणी प्रादेशिक अस्पतालमा कार्यरत छिन् । बिरामीको उपचारमा खटिइरहँदा पहिलो लहरमा उनी आफैं संक्रमित बन्न पुगिन् ।

दिनरात कोरोनाका बिरामीका लागि खटिनुपर्दा जोखिम र पीडाको अनुभव नगरे पनि साथीभाइको व्यवहारले उनलाई पोलेको रहेछ । आफू संक्रमित हुँदाको क्षण सुनाइरहँदा उनको आँखामा रसाएका थिए । गला अवरुद्ध गर्दै भनिन्, ‘आफ्नै सहकर्मी अनि समाजले कतिसम्म नराम्रो व्यवहार गरे त्यो म क्षण सम्झिन चाहन्नँ । नरमाइलो लागिहाल्छ ।’

बिरामीको उपचारमा खटिँदा र आँखैअघि छटपटिँदै मृत्यु भएको देख्दा बेकारमा यो पेसा रोजेछु भन्ने लाग्थ्यो उनलाई । ‘दोस्रो लहरको बेला नै हो,’ उनले सम्झिइन्, ‘ड्युटी बिहान ८ देखि २ बजेसम्म थियो । एकै दिन ५ जना बिरामी मरेको देखें । त्यो दिनचाहिँ एकदमै नरमाइलो लाग्यो ।’ अस्पतालमा नर्सिङ स्टाफको कमीले पनि सोचेजति सेवा पुर्‍याउन नपाएको उनको भनाइ छ । एकताका त ३ जना स्टाफले ७५ जनासम्म बिरामी हेर्नुपर्थ्यो ।

नर्सहरू काममा जति खटिए पनि उनीहरूलाई पुरस्कार र हौसला कतैबाट पनि नभएको उनको गुनासो पनि छ । ‘यो पुरस्कारले पक्कै पनि ऊर्जा दिएको छ, तर प्रेसरमा काम गर्नै नर्स जति छन् उनीहरूलाई प्रोत्साहन भने छैन ।’

०००

आफैं बनाइन् भाइजर

४६ वर्षीया नर्स फूलमाया विकले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गर्न थालेको ४ महिनामात्रै भयो । यसअघि उनले २२ वर्ष बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरिन् । त्यहाँ उनको जिम्मेवारी थियो, कोभिडको स्टोर म्यानेजमेन्ट । नर्सहरूका लागि उनी आफैं भाइजर पनि बनाउँथिन् । राप्ती प्रतिष्ठानमा अहिले ओटी तथा आईसीयू म्यानेजमेन्टका लागि खटिएकी छन् ।

कोरोनाका बिरामीको सेवामा लाग्दा पैसा भए पनि रोगले बिरामी चिन्दैन भन्ने पाठ सिकेको फूलमाया बताउँछिन् । सँगै उपचार गराइरहेका बिरामीले मृत्युवरण गर्दा अर्कोले पनि त्रासका कारण ज्यान गुमाएको उनले देखेकी छन् । ‘आफूले सेवा गरेको बिरामी मर्दा मन रुन्छ । कति नर्सहरू बिरामी मरेको देख्दा भक्कानिन्थे । सम्झाउन गाह्रो हुन्थ्यो,’ उनले सुनाइन् । उनी पनि फाउन्डेसनबाट शनिबार सम्मानित भइन् ।

०००

चाप घटाउन परामर्श

सीमित स्रोत साधनका बाबजुद उदाहरणीय काम गरेकामा पुरस्कृत भएका अर्का व्यक्ति हुन्, रुकुम चौरजहारी अस्पतालका मेडिकल निर्देशक डा. कालेबकुमार बुढा । उनका अनुसार ५० बेडको अस्पतालमा रुकुमसँगै सल्यान तथा जाजरकोटसम्मका बिरामी आइपुग्छन् । दिनमा ३ सयदेखि ४ सयसम्म सामान्य बिरामी आइरहेका हुन्छन् । बेड जहिल्यै भरिभराउ हुन्छ ।

कोभिड महामारीसँगै बिरामी व्यवस्थापनमा चुनौती थपिएको उनले बताए । ‘हामीले स्थानीय तहसँग मिलेर काम गर्‍यौं,’ उनले भने, ‘कुन अवस्थामा अस्पताल जाने भनेर राम्रो परामर्श दियौं, त्यसले पनि बिरामीको चाप घटायो होला ।’

अस्पतालले हालसम्म २ सय ५० जना कोरोना संक्रमितको उपचार गरिसकेको छ । महामारीको अर्को लहरको सम्भावित जोखिमलाई हेर्दै स्टाफहरूलाई तालिम दिइरहेको उनले बताए ।

‘सहरी भेगका लागि बनाइएका मापदण्ड नीतिगत रूपमा केन्द्र, प्रदेश, स्थानीयसम्म पुग्छ तर त्यो असम्भव हुन्छ,’ उनी भन्छन्, ‘हामीले बनाएको आइसोलेसन स्ट्यान्डर्ड भएन भन्ने कुरा थियो । हामीसँग उपलब्ध भएको स्रोत साधनअनुसार प्रोटोकल बनाइदिए सजिलो हुन्छ । दुर्गम भेगको वस्तुस्थिति हेरेर सरकारले प्रोटोकल बनाउनुपर्छ ।’

पीसीआर परीक्षण गर्नैका लागि स्थानीयले निकै दुःख खेप्नुपरेको उनले बताए । ‘३/४ दिनसम्म हिँडेर आउँछन् । त्यसमाथि रिपोर्ट समयमा आउँदैन,’ उनले भने । गाउँगाउँमा अक्सिजन कन्सन्ट्रेटर पुगे पनि चलाउन नजान्दा यत्तिकै थन्किरहेको उदाहरण पनि उनले सुनाए । भन्छन्, ‘कन्सन्ट्रेटर गाउँगाउँ पुग्यो । सोलार ब्याट्री छैन । भेन्टिलेटर पनि प्रयोग नभएर यत्तिकै छ ।’

०००

एक्लै २० हजारको स्वाब संकलन

भेरी अस्पताल बाँकेमा पीसीआर ल्याब टेक्निसियनका रूपमा कार्यरत प्रसिद्ध ढकाल पनि फाउन्डेसनबाट सम्मानित भए । ६ वर्षदेखि भेरी अस्पतालमा कार्यरत उनी स्वाब संकलनमा मात्र होइन शव व्यवस्थापनमा पनि खटिए ।

‘कोरोनाको केस धेरै नहुँदा पनि सुरुवातीमा चरणमा त्रसित नै थियौं । अरूको रिपोर्ट पोजिटिभ आउँदा डर लाग्थ्यो,’ उनले अनुभव साटे, ‘आफैं संक्रमित हुने हो कि भन्ने लाग्थ्यो । सम्झाइबुझाइ गरेपछि मात्रै मानिस स्वाब दिन तयार हुन्थे ।’ हालसम्म एक्लैले करिब २० हजार जनाको स्वाब संकलन गरेको उनले बताए ।

बाँके कोरोनाको हटस्पट बनेको थियो । उनी कामकै सिलसिलामा मुस्लिम समुदायमा पुगे । त्यहाँ स्वाब संकलनका लागि सम्झन गाह्रो परेपछि प्रहरी नै परिचालन गर्नुपरेको क्षण बिर्सन सक्दैनन् ।

अछाममा हेलिकप्टर चार्टर गरेर भारतबाट फर्किएका मानिसको स्वाब संकलन गरेर ल्याउँदाको क्षण पनि सम्झनामा आइरहने उनले सुनाए । ‘स्वाब संकलनका लागि धेरै साथीहरू जान मान्नुभएन । कतिपय फोन अफ गरेर नै बसे । हामीले भने आँट्यौं र गरेर देखायौं,’ उनले भने ।

प्रकाशित : श्रावण १६, २०७८ २३:०९
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौं उपत्यकामा कोरोनाका बिरामी भर्ना हुनेको अवस्था के छ ? 

बुनु थारु

काठमाडौँ — निषेधाज्ञा खुकुलिएसँगै काठमाडौं उपत्यकाका अस्पतालहरुमा कोरोनाका बिरामी भर्ना हुने संख्यामा केही मात्रामा बढेको देखिएको छ । सरकारीमा बिरामीहरुको भर्नाको संख्या बढी छ भने निजीमा बिरामी घटेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको तथ्यांक हेर्ने हो भने उपत्यकामा सक्रिय संक्रमितको संख्या ७ हजार २४१ रहेको छ । काठमाडौंमा ५५३७, भक्तपुरमा ८२९ र ललितपुर ८७५ जना सक्रिय संक्रमित छन् ।

मंगलबारको तथ्यांक हेर्ने हो भने ५०० भन्दामाथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, नवलपरासी पूर्व, कास्की, रुपन्देही, सुर्खेत, चितवन , कैलालीसँगै काठमाडौं ,भक्तपुर र ललितपुर रहेका छन् ।

सशस्त्र प्रहरी बल अस्पताल बलम्बुका फोकल पर्सन डा. प्रविन नेपालका अनुसार कोरोनाका बिरामी भर्ना भइरहे पनि ठूलो संख्यामा भने छैनन् । डा. नेपाल भन्छन्,‘पिक भएको बेला २०० बेड चलाउने र नभएको बेला १०० बेड सञ्चालन गर्ने भनेका हौँ । हाल १०० बेड नै प्याक छन् । ’ उनले औसतमा दैनिक ४ देखि ५ जना भर्ना भइरहेको बताउँदै आईसीयू भने भरिएको बताए ।

त्रिवि शिक्षण अस्पतालका फोकल पर्सन राम विक्रम अधिकारीले बिरामी भर्नाको अवस्थामा केही बढेको बताए । उनका अनुसार हाल अस्पतालमा कोभिडका ९७ जना बिरामी उपचार गराइरहेका छन् । 'आईसीयू सबै भरिएको छ । साथै जेनेरल वार्डमा ६५ जना भर्ना भएका छन्,' उनले भने । अधिकारीले मृत्युदर पनि कम भइरहेको बताउँदै सरदर दैनिक १४ देखि १५ जना भर्ना हुने गरेकोमा निको हुने पनि त्यति नै संख्या रहेको बताए । पहिलेको जस्तो कोरोनाको बिरामीहरुको चाप एकदम नबढेको र इमरजेन्सीमा पनि फाट्टफुट्ट बिरामीहरु आइनै रहेको उनले जानकारी दिए ।

वीर अस्पतालमा भने बिरामीको चाप उस्तै । ३ हप्ताको आँकडा हेर्दा लगभग बिरामीको संख्या उस्तै रहेको अस्पतालका फोकल पर्सन डा. अच्युत कार्कीले बताए । वीरमा ८० देखि ९० जना बिरामीले उपचार गराइरहेका छन् । वीरका आईसीयू पनि बिरामीले भरिएका छन् । जनरल वार्डमा अक्सिजन चाहिने बिरामी नै भर्ना भएको उनले सुनाए । अस्पतालमा दैनिक ८ देखि १० जना भर्ना हुने र ६ देखि ७ जनाको हाराहारीमा बिरामी निको हुने गरेका छन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले जेनेरल वार्ड तथा आईसीयू भरि नै रहेको बताए । उनका अनुसार इमरजेन्सीमा दैनिक १० देखि १५ जना आइरहेका छन् भने ८ देखि १२ जना बिरामी भर्ना भइरहेका छन् ।

पाटन अस्पतालका निर्देशक डा रवि शाक्यले निषेधाज्ञा बढेसँगै बिरामीको संख्यामा केही मात्रामा वृद्धि भएको बताए । उनले भने,‘ बिरामीको भर्ना हुने संख्यामा कम आएको छैन । निषेधाज्ञाको समयमा १२ देखि १५ जना भर्ना हुने गरेकोमा हाल २५ देखि ३० जना भर्ना भइरहेका छन् । ' पाटनका आईसीयू बेडहरु पनि भरिएका छन् । पाटनमा हाल १७० जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

'अहिले नन कोभिडका बिरामी पनि धेरै बढेका छन् । ३७८ जना नन कोभिडका बिरामीहरु उपचार गराइरहेका होलान् साथै ओपीडीमा आउने बिरामी पनि बढेका छन् । त्यसैले पनि चुनौती थपिएको छ,' उनले भने ।

निजीमा बिरामी घट्दै

सरकारी अस्पतालमा बिरामी भर्ना भइरहँदा निजीमा भने अहिले बिरामीहरुको चाप ह्वात्तै घटेको छ । स्टार अस्पतालका निर्देशक डा. शैल रुपाखेतीले हाल ७ जना बिरामीहरु उपचार भइरहेको बताए ।

नेपाल मेडिसिटी अस्पतालका सुपरिटेन्डेन्ट डा. राज राना भन्छन्,‘ निषेधाज्ञाले बिरामी कम भएका थिए । अहिले केही बढेको छ तर पहिलेको जस्तो बिरामी संख्या छैन ।’ उनका अनुसार हाल वार्ड र आईसीयू गरी २२ जना कोरोनाका बिरामीहरु उपचाररत छन् ।

ह्याम्स अस्पताका निर्देशक डा. ज्योतिन्द्र शर्माले पनि पहिलेजस्तो फिभर क्लिनिक तथा इमरजेन्सीमा आउने बिरामी ह्वात्तै घटेको बताए । उनका अनुसार हाल अस्पतालमा ९ जना मात्र बिरामी उपचाररत छन् ।



प्रकाशित : श्रावण ५, २०७८ २०:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×