मानिस हामी रहौंला कहाँ, प्रकृति नरहे !- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मानिस हामी रहौंला कहाँ, प्रकृति नरहे !

वातावरण–वार्ता 
दीपक सापकोटा

काठमाडौँ — मानिसको पहिलो र प्रमुख आश्रय नै प्रकृति हो । बाँच्नका खातिर हामीले जे–जति भोग–उपभोग गर्दै आएका छौं, ती सबै प्रकृतिकै देन हुन्— भोजनदेखि खनिजसम्म, उर्जादेखि इन्धनसम्म !

तर, आफ्ना आवश्यकता र स्वार्थपूर्तिका निम्ति मानिसले प्रकृतिलाई त्यो हदसम्म दोहन गरिरहेको छ, जुन विनाशको रूप लिई उसकै लागि प्रत्युत्पादक बनेर बेलाबखत फर्किरहन्छ । प्रकृतिले लगाएको गुण बिर्सिएकैले मानिस डरलाग्दो प्रकोपमा परिरहन्छ । भन्न त मान्छे ‘मदरनेचर’ भनिटोपल्छ, तर प्रकृतिमाथि अकल्पनीय अत्याचार पनि गरिरहन्छ । प्रकृतिको सूक्ष्म स्वभावलाई वर्षौंदेखि नियालिरहेका वनस्पतिविज्ञ हुन्, डा. तीर्थबहादुर श्रेष्ठ (८४) ।

मधेसदेखि हिमालसम्म आफ्नै पैतालाले नापेर नेपाली भूगोल, प्रकृति, जनजीवन र पर्यावरण चिनेका विज्ञ हुन् श्रेष्ठ । काठमाडौं उपत्यकाको नेवारी समुदायमा जन्मे–हुर्केका उनले उपत्यकाको संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध जति मसिनोसँग बुझेका छन्, त्यति नै गहिराइमा सिंगो नेपाली जनजीवनसँग यहाँको पर्यावरणको भूमिका पनि केलाएका छन् । नेपालको आकाशमा मडारिने बादल, विभिन्न उचाइमा उम्रने वनस्पति, त्यो पर्यावरणमा हुर्कने–खेल्ने जीवजन्तु र तीसँगै हुर्किएको विविधतायुक्त नेपाली समाज उनको अध्ययनको विषय हो ।

विशेषतः वातावरणसँग जोडिएका विज्ञानका जटिल पक्षहरूलाई आफ्नो विचारमा ढालेर सरल ढङ्गले लेख्न सिपालु छन् श्रेष्ठ । उनी विज्ञानका मसिना विषय खोज्छन् र आममान्छेले बुझ्ने भाषामा लेख्छन् । नेपालको भू–प्राकृतिक संरचनामाथि लेखिएको उनको किताब ‘नेपालः नखुलेका पाटाहरू’, ‘हिमालयन फ्लावर्स एन्ड ट्रिज’ उल्लेखनीय छन् । यसबाहेक पनि उनका दर्जनौं किताब प्रकाशित छन् । नेपालको जैविक सम्पदाका विज्ञ श्रेष्ठको खास रुचि र अध्ययनको विषय हो– वनस्पति र पर्यावरण । २०१७ देखि २०४७ सम्म वनस्पति विभागको सरकारी सेवामा रहेका उनले फ्रान्सको ग्रिनवल विश्वविद्यालयबाट विद्यावारिधि (कर्णाली क्षेत्रको वन–वनस्पति र पर्यावरणमा शोधकार्य–२०३४) गरेका छन् । श्रेष्ठसँग विश्व वातावरण दिवस (जुन ५) को साइत पारेर दीपक सापकोटाले गरेको वार्ता :

चिन्तामा चुरे

खासमा यहाँ तपाईंको लेखनमाथि बातचित गर्न खोजिएको थियो, तर भर्खरै सरकारले अध्यादेशमार्फत प्रस्तुत गरेको बजेटमा समावेश एउटा प्रस्तावले यो वार्तालाप चुरेबाट सुरु गर्नुपर्ने भएको छ । बजेटमा सरकारले व्यापार घाटा घटाउन देशको बालुवा, गिट्टी, ढुंगा निकासी फुकुवा गर्ने घोषणा गरेको छ । यो घोषणाको सबैभन्दा भयंकर मारमा चुरे–पर्वतशृंखला पर्नेछ । लामो समयदेखि तपाईंले चुरे संरक्षणबारे लेख्ने–बोल्ने गरिरहनुभएको छ । सरकारको निर्णयबारे तपाईंको धारणा के छ ?

बजेट भाषणको साँझदेखि म ढुंगा–गिट्टी, बालुवाको निकासीबाट व्यापार घाटा न्यूनीकरण भएको दिन नेपालको स्वरूप कस्तो होला भनेर सोच्न थालेको छु । सोचिरहँदा मेरो मस्तिष्कमा चुरे र भावरको लासमाथि लुछाचुँडी गरेर गिद्धले छाडेको लासको कंकालको रूप आउन थाल्यो । गिट्टी–बालुवा, ढुंगा नवीकरणीय स्रोत हुँदै होइन । यिनको प्रयोग बडो बुद्धिमानीका साथ गर्नुपर्छ । र, अहिलेको बजेट भाषणको जुन निर्णय छ, त्यो त नेपालको देह–व्यापारजस्तो भयो । एउटा यस्तो व्यापार, जसले देशलाई कंकाल बनाउँछ र जनतालाई कंगाल बनाउँछ ।

तपाईंले कालीदासको बहुचर्चित जीवन–कथा पढ्नुभएकै होला । सरकारको यो निर्णयले रूखको आफैं बसेको हाँगा छिमल्न थालेको कालीदासको सम्झना दिलाउँछ । सुन्दरलाल बहुगुणाको चिप्को आन्दोलनमा प्रत्येक रूखलाई अंगालो मारेर बसेका जनताझैं हामीले पनि समर्पित भएर सडकमा लम्पसार परि गिट्टी, बालुवाका ट्रक र ट्र्याक्टरलाई रोक्न सक्नुपर्छ । हाम्रो पर्यावरणीय स्थिरताको साङ्लोमा सातवटा कडी छन्– तराई, भावर, चुरे, मधेस, महाभारत, हिमाल र भोट । तीमध्ये सबैभन्दा कमजोर कडी चुरे हो । त्यो कडी चुँडियो भने सम्पूर्ण नेपाल भत्किन्छ । चुरे संरक्षणमा हामी सधैं चुकिरहेका छौं । पूर्वराष्ट्रपति रामवरण यादवबाट थालनी भएको ‘राष्ट्रपति चुरे संरक्षण’ कार्यक्रमले पनि संरक्षणको कुनै चुरो भेट्टाउन सकेन । वर्तमान अवस्थामा चुरेकै थाप्लो–थाप्लोबाट राजमार्गको सडक चलाउने काममा ‘कमरेड मदन भण्डारी राजमार्ग’ क्रियाशील हुँदा वातावरणको महत्त्व कहाँ व्यक्त गर्ने, कसरी व्यक्त गर्ने भन्ने रनभुल्लमा छु ।

बालुवा, गिट्टी, ढुंगा निकासी गर्ने सरकारको निर्णय त भर्खरै आएको हो । तर, वर्षौंदेखि चुरेमा ढुंगा–गिट्टीको अनियन्त्रित दोहन त भइरहेकै छ । दोहनको लामो शृंखलाले चुरेलाई कस्तो अवस्थामा ल्याइपुर्‍याएको छ ?

समग्र नेपालको वातावरणीय सन्तुलन मनसुनको चरित्र, मान्छेका क्रिया र पहाडका प्रतिक्रियामा अडिएको छ । नेपालका तीन पहाडी शृंखलाहरू (हिमालय, महाभारत र चुरे) मध्यचुरे सबैभन्दा कान्छो र कमलो तथा अति संवेदनशील शृंखला हो (यस विषयमा हामीले भर्खर पनि कुरा गर्‍यौं ।) हामीले अनुभव गरेका छौं, थुप्रै कडी जोडिएर बनेको कुनै पनि साङ्लोको शक्ति त्यहाँको सबैभन्दा निर्वल कडीले निर्धारण गर्छ । त्यस अर्थमा नेपालको वातावरणीय सन्तुलनको शक्ति चुरेले निर्धारण गर्छ । भौगोलिक अवस्थितिले गर्दा मनसुन वर्षाको पहिलो प्रहार वा पश्चिमी वायुको पहिलो झोंक्का चुरेले नै थाप्नुपर्छ ।

चुरेलाई संरक्षण दिने दक्षिणतिरको चारकोसे झाडी एवं उत्तरतिरको भित्री मधेसका वनजंगल विगत ५०/६० वर्षदेखि मानव अतिक्रमणले गर्दा अधिकांश रूपमा नष्ट भइसकेका छन् । तिनका अतिरिक्त चुरेको अनियन्त्रित उत्खननको रूप कहालीलाग्दो छ । फलस्वरूप विगत २५/३० वर्षदेखि जाडो याममा शीतलहरले तराई आक्रान्त छ । तर, यसप्रति गम्भीर ध्यानाकर्षण भएको छैन । वर्षायाममा बाढी र नदी कटानले त्राहि–त्राहिको अवस्था भोग्नुपरेको छ । तिनका अतिरिक्त हावा र हुन्डरीले बस्तीका–बस्ती उडाउन थालेको छ । नेपालको अन्नको ढुकुटी भनी कहलिएको तराई र मधेस पानीको अभावमा मरुभूमीकरणको दिशामा चल्दै छ ।

चुरे उत्खननको कहालीलाग्दो यो शृंखलाले नेपाललाई लामो समयसम्म कस्तो असर पुर्‍याउला ?

अहिले चुरे खोस्रेर ठूलठूला सहर–बस्ती, उद्योग–कलकारखाना, सडक, नहर, बाँध बनाउन ढुंगा, गिट्टी, बालुवा र काठसमेत निर्यात हुने क्रम रोकिएको छैन । त्यसमा ठूलठूला ठेकेदार निर्माण कम्पनीहरू स्वभावैले संलग्न हुने नै भए । तर, याद रहोस् चुरेलाई गरिएको अपहेलना र दोहनले हाम्रा समृद्धिका आधारहरू भत्कने पूर्णतया निश्चित छ । यसबाट केही स्थानीय जनशक्तिले तत्काल रोजगारी र व्यवसायीले मुनाफा प्राप्त गरे पनि अन्ततः त्यसले सम्पूर्ण नेपाललाई कंगाल बनाएर छाड्नेछ ।

पर्यावरण चिन्तन

चुरे त पछिल्लो बहसको केन्द्रमै छ । तर, हाम्रो सिंगो पर्यावरण पनि त चिन्तामुक्त छैन ! पछिल्ला दिन हाम्रा सेता हिमाल कालाम्मे हुँदै गएका छन् भनिन्छ । नदी–नाला सुक्दै गएका छन् । घना जंगल पातलिएका छन् । यस्तो किन भयो ? अहिले भइरहेको अव्यवस्थित सहरीकरण र अनियन्त्रित प्रदूषण ‘विकास’ जस्तो लाग्छ तपाईंलाई ?

उदाहरण काठमाडौंकै लिऊँ । यो उपत्यका एउटा कचौराजस्तो छ । यसको जलाधार क्षेत्र ६५० वर्ग किलोमिटर भए पनि पीँधका समथल क्षेत्रहरू लगभग ५० प्रतिशत अर्थात् ३३० वर्ग किलोमिटर मात्र उपलब्ध छ । कृषि खेतीपातीले हराभरा त्यो भू–भाग हाल आएर कंक्रिटको जमोठ बनिसकेको छ । त्यो जमोठ वरपरका भीर–पाखोमा माथिमाथि फैलँदो छ । वातावरणीय दृष्टिकोणबाट कुनै योजनावद्ध विकास हुन सकेको छैन । काठमाडौं वरिपरिका पहाडी हरियाली र सदावहार वन यस उपत्यकाको वातावरणीय कवच एवं जीवजन्तु र पशुपन्छीका आश्रयस्थल पनि हुन् । भूकम्पले धरहरा ढलेजस्तै वातावरणीय वहन शक्तिको १५०० मिटरभन्दा उच्च क्षेत्रमा भौतिक अतिक्रमण रोक्न सक्नुपर्छ र प्राकृतिक क्षेत्रको संरक्षणलाई उच्च स्थान दिनुपर्छ । ‘विकास’ भन्दै अहिले भइरहेका अव्यवस्थित सहरीकरण र अनियन्त्रित प्रदूषणले विनाश पारेको वातावरण–पर्यावरणबारे हामीले खास चिन्ता लिएकै छैनौं । मानिसले अब अत्यन्त गम्भीर भएर सोच्नुपर्छ– प्रकृति नरहे हामी पनि रहन्नौं !

काठमाडौं उपत्यकाका वातावरणीय सन्त्रास के–के होलान् ?

यहाँको वायु प्रदूषणलाई प्रथम कोटीमा राख्नुपर्छ भन्ने कुरा हालैको चैते तुँवालोले प्रस्टाएको छ । मानिसको स्वास्थ्यमा अक्सिजनको महत्त्व कस्तो छ भन्ने पाठ कोभिड–१९ ले उजागर गर्दै छ । तसर्थ हरियाली बचाउनु र हरियाली बढाउनु सर्वोपरि कर्तव्य हुन्छ उपत्यकावासीका लागि । पेट्रोल, डिजेल, मट्टीतेल, कोइला आदिको खपत घटाउन र विद्युतीय साधन तथा सौर्यशक्तिको उपयोग बढाउन सरकारी नीति र वित्तीय व्यवस्थामा पुनरवलोकन गर्नु जरुरी छ । काठमाडौंको भू–स्वरूपले गर्दा जाडो महिनामा पनि वायु प्रदूषण अत्यधिक बढ्ने हुन्छ । गत वर्षको पुस महिनामा पनि वायुको गुणस्तर घातक अवस्थामा पुगेको थियो । जाडो याममा यस उपत्यकामाथि चिसो हावाको तहले बिर्को लगाइदिएर ‘थर्मल इन्भर्सन’ को अवस्था सृजना हुन सक्छ । त्यस अवस्थामा मानिस, पशुपन्छी निसास्सिएर अक्सिजनको अभावमा मर्नुपर्ने हुन्छ ।

विश्वकै सबैभन्दा प्रदूषित सहरको रेकर्ड राख्नेगरी चैतमा भएको वायु प्रदूषणको कारण डढेलो पनि हो भनियो । विज्ञहरूका अनुसार, त्यसलाई पुरानै अवस्थामा फर्काउन अब सयौं वर्ष लाग्छ । हरेक वर्षको अन्त्यतिर यसैगरी डढेलो लाग्ने गर्छ । हामी डढेलोबाट मुक्त हुन सक्दैनौं ?

गत वर्षको तुँवालो र डढेलोले काठमाडौं उपत्यका प्रदूषित वायुको विष–प्याला बन्न पुग्यो । यसले संसारका प्रदूषित सहरमध्ये शीर्ष स्थान ओगट्यो । पाठशालाहरू बन्द गर्नुपर्‍यो । हवाई यातायातहरू प्रभावित भए । अँध्यारोले छोपेको काठमाडौंको यो रूप काठमाडौंवासी कसैको स्मृतिपटलमा सम्झना थिएन । तर, कृषिप्रधान देशमा डढेलो लगाउनु नियमित प्रक्रिया पनि हो । गाउँघरका खेतबारीका अनावश्यक झार–बुटा, पात–पतिङ्गरमा आगो लगाउने, चरिचरनका अनावश्यक काँडा–झारहरू नष्ट गर्ने र नयाँ घाँसे बिरुवालाई प्रोत्साहन गर्न सतही डढेलो लगाउने चलन पनि छ । बस्तीमा आगो फैलन रोक्ने प्रयोजनमा गाउँघर र गोठ वरपरका सुक्खा झार–पात सोहेरेर आगो सल्काउने पनि गरिन्छ । घना वनजंगलभित्र रूख–बिरुवाहरू ढालेर तिनलाई सुकेपछि वनमा आगो लगाएर भस्मे प्रक्रियाबाट खोरिया फाँड्ने र थोरै गुजाराका लागि खाद्यान्न (फापर, मकै, कोदो, लट्टे) खेती गर्ने पुरानै पनि चलन हो ।

भनेको, डढेलो हाम्रो आवश्यकता पनि हो ?

होइन, होइन । पहिले यस्तो भस्मे प्रक्रिया मानिसको नियन्त्रणमा हुन्थ्यो । र, डढेलोलाई प्रकोपको रूपमा लिँइदैनथ्यो । अभिलेख राख्ने चलन पनि सरकारको थिएन । विगत ८/१० वर्षदेखि मात्र डढेलोप्रति चासो बढ्न थालेको हो । अहिले डढेलो अनियन्त्रित हुन थालेको छ । जन–धनको क्षति बढ्न थालेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अभिलेखअनुसार, २०६९ यता गत वर्ष सबैभन्दा बढी स्थानमा डढेलोले वन खाएको दृश्य अन्तरिक्ष चित्रबाट प्रस्ट छ । तीन हजारभन्दा बढी ठाउँमा डढेलो सल्केको देखियो । डढेलोले राष्ट्रिय विपत्तिको रूप लियो । नियन्त्रणमा स्थानीय जनसमूहका साथमा प्रशासन, प्रहरी र सेनासमेत संलग्न हुनुपर्‍यो । गएको वर्ष लामो खडेरी पर्‍यो । र, हावा–हुरी तथा असिना–पानीको मौसम पनि स्थिर अनि शान्त थियो । वन व्यवस्थापनले स्याउला र सुकेका झार–बुटालाई समयमै तह लगाउन चुकेको थियो । सामुदायिक वनभित्र खोटोयुक्त सल्लाका बिरुवाहरू अधिक रहेकाले आगोको लप्का भुइँबाट वनको छत (क्राउन) सम्म सजिलै फैलिएको अनुमान गर्न सकिन्छ । मध्यजाडो याममा पनि मनाङको डढेलो र पाथीभराको डढेलोमा सल्ला अनि ठिंग्रे सल्लाहरू महिनौं सल्केर बसे । तर, व्यवस्थापन, रोकथामको काम आवश्यक र उचित तरिकाले भएजस्तो लागेन ।

अनियन्त्रित डढेलो र त्यसले फैलाएको धूवाँको दीर्घकालीन असर कस्तो पर्ला ?

वन डढेलोले जनधनको क्षति मात्र होइन, स्थानीय एवं विश्वव्यापी वातावरणीय प्रतिकूल प्रभाव पनि निम्त्याउँछ । वायुमण्डलको कार्बन निरन्तर सोसेर बसेको हरियाली नष्ट त हुने नै भयो, सँगै सल्केको आगोले उत्सर्जन गर्ने कार्बन पनि वायुमण्डलमा थोपर्छ । वायु प्रदूषणले निम्त्याउने प्रकोप पनि आफ्नै ठाउँमा हुन्छ । डढेलोले स्थानीय पर्यावरणको सन्तुलन बिथोलेर जलाधारहरूमा प्रतिकूल प्रभाव पार्छ । कीरा–फट्याङ्ग्रा र गड्यौंलालगायत पशुपन्छी, कीटपतङ्ग, पुतली, माहुरी सबै भस्म हुन्छन् । तिनका सम्पूर्ण बासस्थान नष्ट हुन्छन् । त्यसपछि प्रकृतिले पर्यावरणको नयाँ काँचुली फेर्ने प्रक्रिया सुरु गर्छ । पूर्वी नेपालको खोरिया इतिहासलाई सम्झन थाल्यौं भने त्यहाँ वनमारा झारले छोपेर खोरियाले पोलेका पाखाहरूमा मलमपट्टी भएको थियो । त्यसको ५/७ वर्षपछि अरू झार पलाएर नयाँ वनको पुनरावृत्त हुने प्रक्रिया देखापरेको थियो । वनमाराले वन मार्ने होइन मान्छेले वन मारेपछि, वन विनाश गरेपछि मलमपट्टी गर्न वनमारा आउने हो । तिनलाई स्वागत गरौं ।

प्रकृति आफैं परिवर्तनशील छ ! त्यसैले वातावरणमा भइरहेको क्षय प्राकृतिक पनि त हुन सक्छ ! हामी अनाहकमा चिन्तित भएका त होइनौं ? फेरि यो एउटा देशको मात्र नभएर विश्वव्यापी चुनौती हो नि, होइन र ? संसारैभरि जसरी प्रकृतिको दोहन भइरहेको छ, त्यसले हाम्रो बसुन्धरालाई भविष्यमा कहाँ पुर्‍याउला ? कतै कवि जोन पेनले भनेजस्तो पो हो कि– ‘हरेक कुराको अन्त्य हुनैपर्छ, जुन सुरु भएको छ !’

यस बसुन्धरामा वस्तु वा पदार्थको कहिल्यै अन्त्य हुँदैन । रूप र स्वरूपमा मात्रै परिवर्तन हुन्छ । परिवर्तनको चक्रमा सृष्टि, पालना र संहारपछि फेरि सृष्टि प्रारम्भ हुने हो । यस क्रममा मानिसले आफ्नो उचित स्थान र अस्तित्व कायम राख्न वातावरणका पाँच तत्त्वहरू– जल, स्थल, वायु, आकाश र तेज (प्रकाश) लाई स्वच्छ राख्ने काममा चुक्नुहुँदैन । हामीले यो पनि भुल्नुहुँदैन कि मानिसको अस्तित्व यस ग्रहका अरू प्राणी, जीव र वनस्पतिका विविधतासँगको सहअस्तित्वमा निर्भर रहन्छ । हाम्रो धर्म, संस्कृति र चिन्तनले स्थापित गरेको तथ्य ‘बसुधैव कुटुम्बकम’ को मूल मन्त्रभित्र बसेर मानव जातिले बाँच्ने कौशल अपनायौं भने कुनै कुराको पनि अन्त्य हुँदैन । तर, परिवर्तन भने हुन्छ । र, परिवर्तन भनेको अन्त्य होइन ।

लेखन विमर्श

चुरेदेखि सिंगो पर्यावरणसम्म जोड्ने तन्तु तपाईंको लेखन नै हो । पत्रपत्रिकामा वातावरण र जीवनलाई जोडेर लेखिएका तपाईंका लेखहरूले कम्तीमा दुई दशकदेखि नेपाली पाठकलाई आकर्षित गरिरहेको छ । तपाईंको लेखनशैली बडो ललित छ । साहित्यिक लेखनतिर रहर जागेन ?

यति राम्रो टिप्पणी ? म त प्रफुल्ल भएँ । वास्तवमा मेरो लेखनी पठनीय, ठोस र सरल होस भन्ने इच्छाले मलाई डोहोर्‍याउँछ । पाठकले सजिलै मेरा मनका भावलाई आत्मसात गरून् भन्ने चाहना राख्छु । त्यसका निम्ति आवश्यक विधि र प्रविधिको औजार आफ्नै नेपाली भाषा र साहित्य वा नेपाली संस्कृतिको फाँटमा पाउँछु कि भनेर चहार्छु ।

विज्ञानका ज्ञानहरू आम–जनतामा बुझ्ने गरी सञ्चार गर्ने/गराउने आवश्यकता हाम्रो समाजमा थियो/छ पनि । त्यही काम सम्पन्न गर्न साहित्यिक रचनाको सहायता खोज्न र टेवा माग्न म भौंतारिने हो । म स्वयं साहित्यिक रचनातिर लाग्ने रहर भएको व्यक्ति होइन । नेपाल (राजकीय) प्रज्ञा–प्रतिष्ठानमा मलाई १० वर्ष साहित्यकार र कलाकारहरूको संगत र सामीप्यमा बिताउने अवसर मिल्यो । फलस्वरूप मैले मेरा लेख–रचनालाई साहित्यतिर ढल्काउन सफल भएँ ।

आफ्ना स्तम्भ कविताका हरफबाट सुरु गर्नुहुन्थ्यो तपाईं एकताका । लेख सुहाउँदो कविता कसरी फेला पार्नुहुन्छ ? पहिले पढेर कण्ठ भएकालाई सम्झिएर वा नयाँ कविताका सुहाउँदा काव्यांश खोजेर ?

प्रज्ञा–प्रतिष्ठानमा कवि–साहित्यकारको संसर्गमा बस्दा उहाँहरूका कुरामा कविता हुन्थ्यो । कवितामा कुराको चुरो हुन्थ्यो । म विज्ञान विधाको सदस्य, तर मैले विज्ञान र प्रविधिको भेद वा विभेद तथा तिनको सम्बन्ध प्रस्ट्याउन भने पाएकै थिइनँ । उपकुलपति माधव घिमिरेले मेरा सबै कुरा सुनिसकेपछि मेरो प्रकाशनार्थ पुस्तकको भूमिका लेखिदिँदा भन्नुभयो, ‘विज्ञान भनेको दृष्टि हो र प्रविधि भनेको यात्रा हो । दृष्टिले यात्रा खुल्छ र यात्राले दृष्टि खुल्छ ।’ म त्यहीं पुलकित भएँ, त्यही शूत्र समातेर विज्ञान र प्रविधिका लेख–रचनाहरूमा आफूलाई प्रस्तुत गर्न थालें । कवि भूपि शेरचनसँग निकै गफगाफ चल्थ्यो । गफगाफमा मैले उहाँसँग सोधें, ‘राजनीति के हो र कसरी गरिन्छ ?’ उहाँले भन्नुभयो, ‘हेर्नोस् तीर्थजी त्यो सजिलो छ । बाँचेका नेताहरूलाई मुर्दावाद र दिवंगत नेतालाई जिन्दावाद भन्दै हल्ला गर्ने– भैगयो राजनीति ।’ यस्तै सटीक कुराकानीबाट मलाई चेत भयो कि कविताका दुई शब्द वा दुई हरफभित्र सागरै अटाउँदोरहेछ । यस्तैगरी पण्डित नयराज पन्तसँग गएर केही सोधिमाग्यो भने आफ्नो टाउको कन्याउँदै संस्कृत भाषाका दुई हरफ श्लोक ओकलेपछि उहाँका विद्वत विचारहरू धारावाहिक प्रवाहमा झरना बनेर झर्थ्यो ।

त्यसबाहेक मैले वनस्पति विज्ञानमा स्नातकोत्तर शिक्षाका निम्ति अलीगढ मुस्लिम विश्वविद्यालयमा करिब दुई वर्ष बिताएँ । त्यहाँ साथीहरूमाझ सायरी र गजलको माहोल बन्थ्यो । नेपालमा यत्तिकै गाएर हिँड्ने सिनेमाका गीत र गजलका गेडाभित्रका गहिराइ त्यहाँ पुगेर बुझ्न थालें । यसप्रकार स्मृतिपटलमा टाँसिएर बस्ने शूत्रको रूप पनि हो कविता बनेर बुझ्न थालेको थिएँ । त्यसैले जसरी एउटा चित्रकारले आफ्नो चित्र प्रदर्शनीमा टाँग्न भित्तोमा किलोको आड खोज्छ, मैले त्यही आड कवितामा खोज्न थालेको हुँ । र, कहिले लेखको आडलाई कविता खोजें, कहिले भने कविताको आडमा लेख रचें ।

रूख–बिरुवा अनि वातावरणलाई नै करियर बनाउनुपर्छ भन्ने तपाईंलाई कसरी लाग्यो ?

२००७ साल लगत्तैका वर्षहरूमा शिक्षा र विद्यामा पनि क्रान्ति प्रारम्भ हुने अवस्था थियो । स्कुलपछिको अध्ययनमा विज्ञान पढ्ने–पढाउने लहर बढ्न थाल्यो । मलाई भने समय र परिस्थितिले जीवविज्ञानतर्फको स्नातक र वनस्पतितर्फको स्नातकोत्तर गर्ने अवसर प्रदान गर्‍यो । वनस्पति विभागमा जागिरे भएँ । जहाँ अमूल्य जडीबुटीको मूल्य कसरी प्राप्त गर्ने, हिमाली गाउँले र गोठालाहरूको पसिनाको मूल्य कसरी चुकाउने भन्ने विषयलाई लिएर वैज्ञानिक अध्ययन–अनुसन्धानतिर लाग्ने काम भयो । नेपालका हिमाल–पहाड, लेक–बेंसी, मधेस–तराई सबैतिरको वन–वनस्पति सर्वेक्षणमा लागेँ । नेपालको विविधताले सधैं मनलाई बाँधिराख्यो । बिहानीको गाँस बेंसीको गाउँमा हुन्थ्यो भने साँझ बास लेकमा । वनस्पति सम्पदाको खोजी गर्दागर्दै हाम्रो अनुपम जैविक विविधताले मलाई गहिरो प्रभाव पार्‍यो । नेपालको भू–स्वरूपको विविधताले नयाँ ज्ञान र चेतना खुल्न मद्दत गर्‍यो । प्रकृति र प्राकृतिक सम्पदासँग आत्मसात् गरेर बाँचेका नेपालीको सांस्कृतिक, आर्थिक एवं भौतिक विविधता र विषमताले पनि मेरो सोचमा नयाँ आयामहरू थप्न थाल्यो । समग्रमा भन्नुपर्दा नेपालको हरेक भू–भागमा समृद्धिका आधारहरू पर्याप्त छन् । हामीले हाम्रै ठाउँको ज्ञान प्राप्त गरेका रहेनछौं, हाम्रै मानिसलाई चिन्न सकेका रहेनछौं, तिनका सम्भाव्यता पहिल्याउन बाँकी नै रहेछ भनि बुझ्न धेरै समय लागेन ।

त्यो बुझेपछि के–के गर्नुभयो त ?

२०३६ सालमा वनस्पति विभागको कार्यभार छोडेर मैले प्रज्ञा–प्रतिष्ठानमा विज्ञान र प्रविधिको कार्यभार सम्हालें । नेपाली समाजमा विज्ञान–चेतनाको अभिवृद्धि गर्ने–गराउने कार्यक्रमका अतिरिक्त जैविक विविधताको अनुसन्धानलाई अँगाल्ने दिशातिर लागें । मकालु–वरुण राष्ट्रिय निकुञ्जको प्रारम्भिक सर्वेक्षणदेखि निकुञ्ज स्थापना गर्दासम्म मेरो प्रत्यक्ष संलग्नता रह्यो । सन् १९८० को दशकमा अरुण जलविद्युत् आयोजनाको चर्चा शिखरमा थियो । त्यसपछि इसिमोडबाट मलाई अनुसन्धान वृत्ति (सिनियर रिसर्च फेलोसिप) प्राप्त भयो । पर्वतीय वातावरणमा मेरो ध्यान मोडियो । २०४७ पछि सरकारी सेवाको अवकाश र प्रज्ञा–प्रतिष्ठानबाट पनि राजीनामा दिएर बाहिरिएलगत्तै आईयूसीएनमा प्रवेश गरेँ । नेपालको जैविक विविधता एवं सांस्कृतिक सम्पदाको जगेर्ना गर्ने विभिन्न क्रियाकलापमा लाग्दा–लाग्दै वातावरणको चासो दिनप्रतिदिन बढ्दै जान थाल्यो ।

आफ्ना कामहरू वातावरण संरक्षणमा कतिको सहयोगी बनेको ठान्नुहुन्छ ?

वातावरणप्रतिको मेरो चासो नेपालको जैविक विविधता र प्राकृतिक परिवेशलाई संरक्षण र संवर्द्धन गर्ने दिशातिर उन्मुख रह्यो । त्यस अर्थमा जैविक विविधताको नेपाली वैभवलाई प्रकाशमा ल्याउने, तिनलाई संरक्षण गर्ने उपायहरूको खोजी गर्ने, तिनको सदुपयोगका सम्भावनाहरू पहिल्याउने, संरक्षणका फलहरू उपयोग गर्दा सामाजिक न्याय हुने अवस्था र व्यवस्था सृजना हुने आदि काममा सहभागिता जनाउने अवसर मलाई प्राप्त भयो । मुलुकको वातावरण कम विनाश हुन मद्दत पुगेका केही उदाहरण मेरा सम्झनामा आइबस्छन् । तीमध्ये मकालु–वरुण राष्ट्रिय निकुञ्जको परिकल्पना र स्थापनाका लागि भए/गरेका प्रयासले गर्दा आज उक्त राष्ट्रिय निकुञ्ज जलवायु परिवर्तनको प्राकृतिक सूचना केन्द्रको रूपमा समेत स्थापना हुन सक्ने अवसर मिलेको छ ।

राष्ट्रिय फूल लालीगुराँसको अनुपम संरक्षित क्षेत्र तीनजुरे–मिल्के–जलजलेको संरक्षण अवधारणा र स्थापनामा सरकारी र गैरसरकारी संघ, संस्थासँगको हातेमालोमा संलग्न हुँदाको समय अविस्मरणीय छन् । नेपालको सबैभन्दा कमलो र कमजोर भू–स्वरूप भएर पनि भित्री मधेस र तराई क्षेत्रको वातावरणीय सुरक्षाकवचको रूपमा चुरेलाई उभ्याउने थुप्रै प्रयास भएका छन् । आईयूसीएनसँग आबद्ध रहेर नेपालका सिमसारहरूको स्थानीय एवं अन्तर्राष्ट्रिय वातावरणीय महत्त्वलाई उजागर गर्दै माईपोखरी, घोडाघोडी ताल, लुम्बिनी क्षेत्रका सिमसारहरू, ललितपुरको नागदहलगायतका जलाशय संरक्षणमा सहभागी हुन पाउनु ठूलो सन्तोषको विषय बनेको छ मेरा लागि । ‘हिमाल’ खबरपत्रिकामा ‘विज्ञान–विचार’ स्तम्भ लेख्न थालेपछि पाठकको धेरै माया पाएको छु । सरकारी सेवाका प्राविधिक कर्मचारीलाई प्रकृति संरक्षणको पक्षमा दह्रोसँग उभिन केही लेखहरू सहयोगी बनेको पनि मैले अनुभव गरेको छु ।

राष्ट्रिय निकुञ्जहरू निजीकरणमा लैजाने, शिवपुरी–नार्गाजुन राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी खुला गर्ने, राष्ट्रिय वनस्पति उद्यानलाई निजीकरणमा लैजाने र यसैगरी वनस्पति विभागलाई नै विलय गरेर वनस्पति अन्वेषण र अनुसन्धानको सिलसिला अवरुद्ध गर्ने खालका निर्णयहरूको विरुद्धमा प्राविधिक कर्मचारीलाई उभ्याउन सहयोग पुगेको अनुभव पनि सँगालेको छु । मनास्लु क्षेत्रको वातावरणीय एवं पर्यटकीय महत्त्व उजागर गर्न स्थलगत अध्ययन र अनुसन्धान भएअनुरूप मनास्लु संरक्षित क्षेत्रको रूपमा स्थापना भएको छ । यसै क्रममा स्यार खोलाको रमणीय उपत्यका चुम क्षेत्रलाई एक अहिंसा क्षेत्रको रूपमा विशिष्ट पहिचान दिन र बुद्ध दर्शनको अमूल्य बीज संरक्षण केन्द्रको रूपमा स्थापित गर्न स्थानीय जनसमुदायलाई प्राविधिक बल पुर्‍याउने प्रयास भएको थियो । त्यस पुनीत कार्यमा सहयोगी हुन पाउनु मेरो सौभाग्य पनि थियो । रातारात प्रतिफल आउने कुरा यी होइनन्, यसतर्फको परिणाम निरन्तर प्रयासबाट मात्र सम्भव छ ।

वातावरण संरक्षणमा सामुदायिक सहभागिताको प्रभाव कस्तो हुँदो रहेछ ?

वातावरण जोगाउने काममा जनसहभागिताको महत्त्व सामुदायिक वन व्यवस्थापन र राष्ट्रिय निकुञ्ज वा संरक्षित क्षेत्रका मध्यवर्ती वन व्यवस्थापनबाट नेपालले उजागर गरिसकेको छ । जनसहभागितालाई सघाउने राज्यको नीति स्पष्ट कायम हुनु जरुरी हुन्छ । स्वामित्वबिनाको सहभागिता र सहभागिताबिनाको स्वामित्वले प्राकृतिक सम्पदा र वातावरणको संरक्षण हुन सक्दैन । सामूहिक स्वार्थको पक्षमा जनसहभागिता सजिलै जुट्छ । निजी स्वार्थको पक्षमा जनसमर्थन र सहभागिता खोज्नु व्यर्थको अभ्यास साबित हुन जान्छ । वातावरण जोगाउने विषयमा हाम्रो निजी काम, कर्तव्य र व्यवहारले अहं भूमिका खेल्न सक्छ । निजी वन, निजी वाटिका वा कृषि फर्म, माछापालन, फलफूल खेती तथा यस्तै गरी निजी होटेल, रेस्टुराँ, रिसोर्ट, आवास क्षेत्रले पनि वातावरणलाई हरियो–भरियो बनाउने काम गर्न सक्छ ।

हाम्रो जीवनचर्याबाट उत्सर्जन हुने प्रदूषणका भौतिक एवं रासायानिक पदार्थहरू वातावरणका प्रमुख समस्या हुन् । हामीले विसर्जन गर्ने फोहोरमैलाका डुंगुरमा नसड्ने, नगल्ने एवं पुनर्प्रयोग हुन नसक्ने विभिन्न पदार्थ हुन्छन् । यस्तै गरी वायु प्रदूषण हुने धूवाँ–धूलो र विभिन्न रासायानिक पदार्थले गर्दा हाम्रो जल, स्थल, वायु, आकाश स्वच्छ र स्वस्थको अवस्थाबाट खस्कँदो छ । काठमाडौंमा वाग्मती सफाइमा उल्लेखनीय जनसहभागिता प्रदर्शन भयो, तर वाग्मतीमा फोहोर विसर्जन नगर्ने र नदीलाई प्रदूषित नगर्ने काममा जनसहभागिता जुट्न सकेको देखिएन । वातावरण जोगाउन फोहोर सोहर्ने काममा भन्दा फोहोर नगर्ने जनसहभागिताको आवश्यक पर्छ । त्यसका लागि व्यक्ति, परिवार, समुदाय र सरकार सबैबाट वातावरणीय संवेदनशीलताको मर्यादालाई पालन गर्नुपर्ने हुन्छ ।

(शनिबार प्रकाशन हुने शनिबार विशेष’बाट ।)

प्रकाशित : जेष्ठ २१, २०७८ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्

सुनसरीमा जेठ ३१ सम्म थपियो निषेधाज्ञा

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीमा पुनस् एक साताको लागि निषेधाज्ञा थपिएको छ । कोरोना संक्रमणको दर र मृत्यु दर घटिरहेपनि निषेधाज्ञालाई एकसातालाई निरन्तरता नदिए फेरि स्थिति नियन्त्रण भन्दा बाहिर जाने भएकाले शुक्रबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले एकसाता बढाएको हो । सुनसरीमा निषेधाज्ञा वैशाख १४ गते पछि थपिएको यो पाँचौ पटक हो ।

जिल्ला जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ ३१ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा थप गरेको छ । यसअघि थपिएको निषेधाज्ञाको अवधि शनिबार राति १२ बजे सकिने भएकाले प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले समितिको बैठक बोलाएर थप एक साताको लागि निषेधाज्ञा अवधि बढाएका हुन् ।

थपिएको निषेधाज्ञालाई खाद्यान्न र तरकारी किन्न र पसल खोल्न केही खुकुलो बनाउने छलफल भएपनि बैठकमा सहभागी स्थानीय तहका प्रमुख र जनप्रतिनिधिहरुले पहिलेकै निषेधाज्ञालाई कडाइका साथ निरन्तरता दिन सुझाव दिएको सहायक प्रजिअ महेश पोखरेलले बताए ।

उनका अनुसार जनप्रतिनिधिहरुले बजारका पसलहरु खुलाउन नमानेको बताए । उनले भने, ‘ बैठकमा सहभागी जनप्रतिनिधिहरुले निषेधाज्ञालाई नै निरन्तरता गरौं भन्नु भयो । त्यसैले पसलहरु खुल्दैन । तर मजदुरहरुलाई भने निर्बाधरुपमा आवतजावत गर्न दिइने निर्णय भएको छ ।’ उनका अनुसार कृषि तथा निर्माण मजदुरलाई स्वास्थ्य मापदण्ड पूरा गरेर आवतजावत गर्न दिने निर्णय भएको छ । उद्योग तथा कलकारखानामा कार्यरत मजदुरहरुलाई बिहान ५ बदेखि ७ बजेसम्म र बेलुकी पनि ५ देखि ७ बजेसम्म हिँड्न दिइने छ । सो अवधिमा सर्वसाधारणहरुलाई औषधि खरीद र उपचारबाहेक घरबाट बाहिर निस्कन नदिने निर्णय भएको छ ।

भारतसँग ६२ किलोमिटर खुला सिमाना जोडिएको सुनसरीमा कोरोना महामारीको दोश्रो लहरमा ५ हजार ४ सय ३२ जना संक्रमित भएका छन् । तीमध्ये १ सय ४० जनाले ज्यान गुमाएका छन् भने ३ हजार ५ सय ८१ जना निको भएका छन् । सहायक प्रजिअ पोखरेलका अनुसार हालसम्म २ हजार ८ सय ८८ जना सक्रिया संक्रमित रहेका छन् । तीमध्ये २ हजार ६ सय ७७ जना होम आइसोलेसनमा ८६ जना सामान्य र ९ जना आइसियूमा भर्ना भएर उपचाररत रहेका छन् ।

प्रकाशित : जेष्ठ २१, २०७८ १८:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×