कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टिप्पणी : सरकार सीमा व्यवस्थापनमा चुक्दा अवस्था फेरि जटिलतातिर

एन्टिजेन परीक्षणमा पोजिटिभ देखिनुको अर्थ सो व्यक्ति सक्रिय संक्रमित रहेको छ भन्ने हो । यस अर्थमा सो व्यक्तिले आफूसँग सम्पर्कमा आएका अन्य धेरै व्यक्तिलाई संक्रमित बनाउने सम्भावना उचो हुन्छ ।
स्वरूप आचार्य

काठमाडौँ — नेपाल सरकारले एक वर्षअघि कोरोना भाइरसको पहिलो लहरले देशलाई जकडेको बेलाको सिकाईलाई बेवास्ता गर्दा दोस्रो लहर झन् भयावह हुने स्थितितिर उन्मुख छ । त्यतिबेला सीमा नाकाबाट प्रवेश गर्ने अधिकांशको यथोचित अभिलेखीकरण र परीक्षण नगरेकै कारण भाइरस समाजमा फैलिएको तथ्यलाई कसैले पनि नकार्न सक्दैन ।

टिप्पणी : सरकार सीमा व्यवस्थापनमा चुक्दा अवस्था फेरि जटिलतातिर

नेपालसँग खुला सीमा भएको छिमेकी मुलुक भारतमा दैनिक संक्रमितको संख्या साढे ३ लाख कट्न लाग्दा पनि स्थलमार्गबाट बिना कुनै परीक्षण र अभिलेख प्रवेश गर्न दिनु नेपाल सरकारको ठूलो लापरबाही हो । विभिन्न सीमा नाकाहरुबाट औपचारिक रुपमा नै दैनिक हजारौंको संख्यामा मानिसहरु नेपाल प्रवेश गरी आफ्नो गन्तव्यतर्फ लागिरहेका छन् । केही नाकाहरुमा एन्टिजेन परीक्षण नभएको भने होइन । त्यसरी एन्टिजेन परीक्षण गर्दा पोजिटिभ देखिएकाहरुको व्यवस्थापन कुनरुपमा भइरहेको छ भन्ने यकिन विवरण मन्त्रालयसँगै छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयस्थित उच्च स्रोतका अनुसार वैशाख ४ गतेसम्म मात्रै ६ प्रदेशका विभिन्न २२ वटा नाका प्रयोग गरेर कुल २३ हजार ८ सय २० व्यक्ति भित्रिएका छन् । जसमा २१ हजार ६ सय ४७ नेपाली छन् भने २ हजार १ सय ७३ जना भारतीय छन् । यो औपचारिक तथ्यांक हो । तथ्यांकमा नसमेटिएका कति छिरे भन्नेको लेखाजोखा छैन ।

यस्तै वैशाख ४ गते गड्डाचौकी नाका हुँदै नेपाल प्रवेश गरेका ७ सय ६९ जनामध्ये १ सय ८४ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजिटिभ थियो । यस्तै गौरीफन्टाबाट प्रवेश गरेका १६ सय २९ मध्ये ५ सय ११ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनाको पोजिटिभ थियो । बाँकेस्थित नाकाबाट भित्रिएका २३ सय ७२ मध्ये १९ जनाको परीक्षण गर्दा १० जना पोजिटिभ थिए ।

माथि उल्लेखित तथ्यांक कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले तयार पार्ने दैनिक अवस्था विश्लेषण रिपोर्टको वैशाख ५ गतेको विवरणबाट लिइएको हो । यसले स्थल नाकाबाट भित्रिएकाहरुमा गरिने परीक्षणको तथ्यांक उजागर गर्छ । अर्कोतर्फ एन्टिजेन परीक्षण गर्दा पोजिटिभ देखिएपछि संक्रमण रोकथामका लागि जेजस्ता उपाय अपनाउनुपर्छ त्यसमा ध्यान नदिइएको देखिन्छ । एन्टिजेन परीक्षणमा पोजिटिभ देखिनुको अर्थ सो व्यक्ति सक्रिय संक्रमित रहेको छ भन्ने हो । सो व्यक्तिले आफूसँग सम्पर्कमा आएका अन्य धेरै व्यक्तिलाई संक्रमित बनाउने सम्भावना उचो हुन्छ । त्यसैले एन्टिजेन पोजिटिभ देखिएपछि संक्रमितलाई होम आइसोलेसनमा पठाउनु कुनै हिसाबमा पनि जायज देखिन्न ।

वैशाख १ देखि ४ गतेसम्म हवाईमार्गबाट नेपाल आएका ११ हजार ३ सय ३५ जनामध्ये जम्मा १ सय २७ जनामात्रै होटल क्वारेन्टाईनमा बसेका छन् । बाँकी सबै होम आइसोलेसनमा बस्ने गरी घर गएका छन् । विदेशबाट नेपाल आएका यात्रुहरु सबैले अनिवार्य रुपमा पीसीआर रिपोर्ट बोक्ने गरेको भए पनि त्यसको आधिकारिकताबारे कुनै अनुसन्धान हालसम्म नगरिएको स्वास्थ्य मन्त्रालयकै उच्च अधिकारीहरुले बताएका छन् ।

विदेशबाट निगेटिभ पीसीआर रिपोर्ट ल्याएकै भरमा उनीहरु संक्रमित छैनन् भन्ने सोचेर व्यवहार गर्नु उचित होइन । पहिलो कुरा त, दिनमा ३ हजार जनाको विमानस्थलमै परीक्षण गर्नसक्ने व्यवस्था हुनै पर्छ । त्यसका लागि आवश्यक पर्ने प्रविधि नेपाल भित्रिएर प्रयोगको बाटो ढुकेर बसेकै लामो समय भइसकेको छ । तर, सरकार सो प्रविधिको उपयोगमा किन उदासिन छ भन्ने सो प्रविधि नेपालमा ल्याउने विज्ञहरुलाई पनि थाह छैन । अर्को कुरा विमानस्थलबाट घर पुगेकाहरुले आइसोलेसनका नियमहरु पालना गरेका छन् कि छैनन् भन्ने थाह पाउन पनि निकै कठिन छ ।

नेपालमा कोरोना स्थल र हवाई मार्गबाट प्रवेश गरेको पोहोर फैलिएको पहिलो लहरको तथ्यांकले नै पुष्टि गरिसकेको छ । यसपटक पनि भारतमा ग्राफ उकालो लागेसँगै नेपालमा पनि ग्राफ उकालो लागिरहेको छ । त्यसको सहज विश्लेषण पनि उही नै हुन्छ । तर नाकामा गरिएको लापरबाहीलाई हेर्दा सरकारले एक वर्षअघिको अवस्थाबाट केही पनि सिकेनभन्दा कदापी अनुचित हुँदैन ।

एक वर्षको समय सीमामा आवश्यक व्यवस्था गर्नका लागि पुग्दो समय हो । तर, कोरोनाको संख्या ओरालो लाग्न थालेसँगै सरकारको प्राथमिकता सत्तातिर मोडियो । सत्ता नै जोगाउन काठमाडौंमा लाखौंको भीड जम्मा गरेर प्रधानमन्त्रीले देखाएको असंवेदनशीलतालाई किन्चित उचित मान्न सकिन्न । त्यसैलाई उदाहरण मानी जनताले सबैतिर मनलाग्दी गर्दाको परिणाम पनि हो अहिलेको अवस्था ।

सरकारले अझै पनि सीमा नाकालाई व्यवस्थित बनाउन तदारुकता नदेखाउने र आवश्यक कदम नचाल्ने हो भने भारतीय सहरहरुमा जुन दुर्दशा देखिएको छ त्यही अवस्था हाम्रो हुँदैन भन्न सकिँदैन । विज्ञ चिकित्सकहरुले सामाजिक संजालहरुमा समेत यसबारे लेखिरहेका छन्, बोलिरहेका छन्, सरकारलाई ध्यान देउ भनिरहेका छन् । सरकारले अझै पनि यसमा ध्यान नदिने हो भने आउने दिनहरु झन् जटिल र भयावह हुनसक्छन् ।

प्रकाशित : वैशाख १२, २०७८ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?