पहिलो महिला प्याराग्लाइडर त्रिशा भन्छिन् : आँट्नु नै ठूलो कुरा हो- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिलो महिला प्याराग्लाइडर त्रिशा भन्छिन् : आँट्नु नै ठूलो कुरा हो

रीना मोक्तान

काठमाडौँ — पहिलो प्याराग्लाइडिङ पछि त्रिशा श्रेष्ठ दोस्रोपटक आकाशमा उड्दिनन् भन्ने पक्का थियो । पहिलो उडानमै झन्डै बेहोस् भएकी उनले दोस्रोपटक उड्ने सोचुन् पनि कसरी ! प्रेमी राजेश बोम्जनसँगै आकाशमा उड्दै गर्दा उनलाई कैयौंपटक बान्ता भयो । ल्यान्डिङसम्म त शिथिल शरीरमा ठीकसँग उभिन पनि सकेकी थिइनन् । प्याराग्लाइडिङले बिरामी बनाइदिएको त्रिशालाई सम्हाल्न प्रेमी बोम्जनलाई हम्मेहम्मे पर्‌यो ।

आज उनै त्रिशा आकाशमा प्यासेन्जरलाई लिएर उडान भर्छिन् । भुइँ छोडेर बादलको बीचमा उड्दै गर्दा प्यासेन्जरको अनुहारमा देखिने खुसीले उनलाई उत्साहित बनाउँछ । १५ वर्षअगाडि आकाशमै बिरामी भएकी उनका लागि अहिले आकाशमा उड्नु एक किसिमको लत नै बनिसक्यो ।

नेपालको पहिलो महिला सोलो प्याराग्लाइडिङ पाइलट त्रिशा पाँच वर्षयता ट्याण्डम(दोस्रो व्यक्तिसहित) पनि उडाउँदै आएकी छिन् ।

पहिलो उडानमै 'मोसन सिक्नेस'को सिकार भएकी त्रिशाले कसरी उड्न मनपराइन् त ?

१६ वर्ष अगाडि राजेशसँग उनको भेट भयो । त्यतिबेला उनी ग्राफिक डिजाइनर भएर पोखराको एडभर्टाइजिङमा काम गर्दै थिइन् । राजेश आफ्नो प्याराग्लाइडिङ कम्पनी सनराइज प्याराग्लाइडिङको बोर्ड बनाउन उनको अफिस पुगे । त्यही बेला उनले प्याराग्लाइडिङबारे पहिलो पटक थाहा पाइन् । बोम्जन प्याराग्लाइडिङको पाइलट रहेको पनि जानिन् । त्यही भेटबाट उनी दुईबीच प्रेम झांगियो । प्रेम सम्बन्धमा रहेकै बेला बोम्जनसँग प्याराग्लाइडिङ गर्दा उनी बिरामी परेकी थिइन् । डेढ वर्षको प्रेम सम्बन्ध विवाहमा परिणत भयो ।

बिहेपछि नै हो त्रिशाले प्याराग्लाइडिङ थालेको । बिहेपछि उनले ग्राफिक डिजाइन छोडिन् । घरमा बस्दा-बस्दै दिक्क लागेपछि एकदिन श्रीमान बोम्जनलाई जिस्केर भनेकी थिइन्,'प्याराग्लाइडिङ पो सिक्नुपर्छ कि, घर बसेर के गर्नु ?'

राजेशले पनि उनलाई 'कोसिस गरी हेर' भने । तालिममा सहभागी भइन् । त्यसपछि उनलाई थाहा भयो तालिममा एकजना भारतीयबाहेक उनीमात्रै महिला रहेछन् । १० दिनको सैद्धान्तिक अध्ययनपछि पनि उनमा उड्ने आत्मविश्वास थिएन । मोसन सिक्नेसले गाह्रो बनाउँथ्यो । तर सिकेरै छोड्छु भन्ने उनको अठोटले उनलाई उडानको अभ्याससम्म पुर्‌यायो । 'सुरुमा एक्लै उड्दा डर लाग्थ्यो । लामो फ्लाइट गर्दा टाढा-टाढा झर्नुपर्छ,' उनले सिकाइका दिन सम्झिन्,'हामीसँग प्रयोगात्मक अनुभव हुँदैन त्यतिबेला । सुरुमा त उडिरहँदा पनि के हुन्छ भनेर हामीलाई थाहै हुँदैन ।'

वाकीटकीमा इन्स्ट्रक्टरको निर्देशनकै आधारमा टेकअफ र ल्याण्डिङ हुन्थ्यो । डरले मनको ढुकढुकी बढ्थ्यो । पूरा भरोसा इन्स्ट्रक्टरमा राखेरै १० मिनेटको पहिलो उडान भरिन् त्रिशाले । त्यो पहिलो उडान उनी कहिल्यै बिर्सनँ सक्दिनन् । 'जबसम्म जमिनमा आफ्नो खुट्टा पर्दैन तबसम्म कामेको काम्यै हुन्थ्यो । दिमाग ब्रेकमै भएर होला खासै बान्ता आएन,' उनले भनिन्, 'पहिलो फ्लाइटपछि 'मैले गर्न सकेँ' भन्ने अनुभव भयो ।'

अभ्यासले नै डरमा आत्मविश्वासको पंखा जोडिन थाल्यो । उडानमा आत्मविश्वास बटुलिन् । त्यसपछि त्रिशाले सोलो प्याराग्लाइडिङको उडान सुरु गरिन् ।

'मैले गर्छु होला भन्ने मलाई नै थाहा थिएन । हावा तालमा सिक्न गएँ । यहाँसम्म आइपुग्छु भन्ने सोचेको थिएन, 'त्रिशा भन्छिन्,'मेरो बुबाले त तालिम लिएर त्यतिकै छोड्छ होला भन्ने सोच्नु भएको थियो ।'

सोलो प्याराग्लाइडिङ सिकेपछि पाँच वर्ष उनी निरन्तर उडिन् । साथीहरुसँग सोलो उडान भर्दै टाढा-टाढा पुग्थिन् उनी । त्यतिबेला केबल रमाइलोका लागि उड्थिन् । एक्लै उड्नेहरुले पोखराको आकाश बुट्टेदार बनाउँथ्यो, त्यो माहोल निकै सम्झिन्छिन् । उनीसँग आकाशमा ६ घण्टासम्म सोलो उडान गरेको अनुभव छ । 'सोलो उड्ने पाइलटहरुसँगै ४० किलोमिटर परसम्म पुगेर आउँथ्यौं । हामी सराङकोट, लुम्ले,पञ्चासे पुग्दै ल्यान्डिङ पामेमै ल्यान्डिङ गर्न आइपुग्थ्यौं । टाढा-टाढा उड्दा एकदमै रमाइलो हुन्थ्यो ।'

सोलो उडानकै बीचमा उनी गर्भवती भइन् । ग्लाइडरको सहारामा स्वतन्त्र भएर उड्ने काम बन्द भयो । तर, त्रिशालाई उडानको बानी परिसकेको थियो । त्यसैले छोरी जन्मेको ६ महिनामै उनी फेरि आकाशमा फर्किन् । 'श्रीमान्‌ले बच्चा हेर्नुहुन्थ्यो । म उडेर आउँथे,' पुराना दिन सम्झिँदै उनी भन्छिन्,'हामी नेपालीलाई दालभात नखाँदा कस्तो हुन्छ । हो प्याराग्लाइडिङ मेरा लागि त्यस्तै भइसकेको थियो ।'

ट्याण्डम प्याराग्लाइडिङ

छोरी जन्मेको २ वर्षपछि उनले ट्याण्डम उड्ने निधो गरिन् । आफूसँगैका साथीहरुले ट्याण्डम सुरु गरिसकेको थियो । उनीहरुले ट्याण्डम उडाएको देख्दा उनलाई ईर्ष्या लाग्थ्यो । त्यसमाथि ट्याण्डम व्यवसायिक थियो । 'आफैं किन आत्मनिर्भर नबन्ने ? अरुसँग मागिरहनु त पर्दैन' भन्ने लाग्यो उनलाई ।

ट्याण्डम गर्नेबारे श्रीमान्‌सँग कुरा राखिन् । राजेशले नानी सानै रहेको भन्दै केही समय कुर्न भने । तर उनको जिद्दीको अगाडि राजेशको केही लागेन । उनले ट्याण्डम तालिम लिइन् र दोस्रो व्यक्तिलाई लिएर आकाशमा उड्न थालिन् । त्यसमा श्रीमान् बोम्जन र सासूको साथ पाइन् । 'सासू लेकसाइडको हुनुभयो । तँलाई गर्न मन लाग्छ भने गर् भनेर साथ दिनुहुन्थ्यो । कुनै रोकटोक गर्नुभएन,' उनी भन्छिन् ।

परिवारले साथ दिएकै कारण व्यवसायिक रुपले पाँच वर्षयता ट्याण्डम प्याराग्लाइडिङ गर्दै आएको उनी सुनाउँछिन् । 'श्रीमान्‌ले साथ नदिएको भए यहाँसम्म आउन सक्दिनथेँ । उहाँले गर्दा नै म यहाँसम्म आएको छु,' त्रिशाले भनिन् ।

अहिले उनी ट्याण्डम उड्दै गर्दा सकेसम्म प्यासेन्जरकै खुसी खोज्छिन् । आकाशमै कोही बिरामी पर्‌यो भने आफ्नो पहिलो फ्लाइट सम्झिन्छिन् । आकाशमा उड्दै प्यासेन्जरले 'म पनि उडेँ' भन्दै खुसी हुँदा त्रिशा झनै उत्साहित बन्छिन् । दिनमा चार जनासम्म प्यासेन्जरलाई उडाउने त्रिशा अहिले पनि उत्तिकै सक्रिय छिन् । कोरोना महामारीले गर्दा अहिले पर्यटक कम छन् । तर, अहिले पनि आन्तरिक पर्यटकलाई लिएर उडिरहन्छिन् । आकाशमा उड्नु सजिलो छैन । तर त्यो बेला आफ्नो आँटले नै यो साहसिक खेलमा आफू जोडिएको त्रिशाको भनाइ छ ।

'केही भइहाल्यो भने भन्ने डर त भइहाल्छ । तर पनि त्यो बेला आँटेर गर्नु नै ठूलो कुरा थियो,' उनले भनिन् ।

प्रतिस्पर्धामा सधैं अगाडि

३ वर्षअगाडि इन्डोनेसियामा भएको एसियन गेम्समा महिला प्याराग्लाइडिङ पाइलटको रुपमा प्रतिस्पर्धामा उनी पुगेकी थिइन् । नेपालका लागि केही पदक जित्न नसके पनि त्यहाँबाट धेरै कुरा सिक्न पाएको उनी बताउँछिन् । त्यसो त नेपालमै हुने विभिन्न प्रतियोगितामा उनले कहिल्यै हार्नु परेन ।

२ वर्षअगाडि पोखरामा त्रिशाले स्वर्ण पदक प्राप्त गरिन् । ८ जना महिलालाई पछि पार्दै उनले प्रतिस्पर्धा जितेकी थिइन् । महिला मात्र होइन पुरुषहरुसँगको 'क्रस कन्ट्री' प्रतियोगितामा पाँच पटक विजेता भएको सुनाउँछिन् त्रिशा । 'प्रतिस्पर्धा जित्दा त महिलाले पनि गर्न सक्छन् सबै कुरा भन्ने अनुभव हुन्छ । यो साहसिक क्षेत्रमा अहिले महिलाहरुको आकर्षण बढेको छ,'उनले सुनाइन्,'मैले गर्न सक्छु भने अरु महिलाले पनि उडाउन सक्छ जस्तो लाग्छ ।'

प्याराग्लाइडिङ साहसिक पेसा त हो नै, त्यससँगै जोखिमपूर्ण पनि छ । सोलो उड्न थाल्दाको एउटा दुर्घटना उनको मानसपटलमा ताजै छ । फागुनको महिना हावा बेस्सरी चलेको थियो । त्यो बेला उनले आफ्नो वजनभन्दा १० किलो बढी ग्लाइडर लिएर उडेकी थिइन् । उड्दै गर्दा हावाले धकेलिएर उनी एउटा रुखमा ल्याण्डिङ गर्न पुगेकी थिइन् । रुखमा तीन सकेण्ड जति अड्किइन् । त्यसपछि गाउँका भाइहरु बोलाएर रुख काटेर ग्लाइडर निकालिन् । 'त्यो मेरो पहिलो दुर्घटनाको अनुभव थियो,' ३२ वर्षीया त्रिशाले सुनाइन् ।

काठमाडौंमा हुर्केकी त्रिशा अहिले पोखराकी लिडिङ प्याराग्लाइडर हुन् । बिहेपछि परिवारकै साथ पाएर आकाशमा उडिरहेकी त्रिशा महिला सशक्तीकरणको एक उदाहरण हुन् ।

प्रकाशित : फाल्गुन २४, २०७७ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्

झरी र हिमपातले कर्णालीमा उडान प्रभावित

राजबहादुर शाही

मुगु — हिमपात र झरीका कारण सोमबार कर्णालीमा हवाई उडान अवरुद्ध बनेको छ ।

मुगु, हुम्ला र डोल्पामा झरीसँगै हिमपात भएपछि सुर्खेत नेपालगन्जदेखि हवाई उडान अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । नेपालगन्जदेखि मुगुका लागि उडेको तारा एयरको जहाज बीचबाटै फर्किएको छ ।

मौसम खराबीका कारण जहाज अवतरण गर्ने अवस्था नआएपछि जहाज बीचबाटै फर्किएको रारा विमानस्थलस्थित तारा एयरलाइन्सका स्टेसन इन्र्चाज लक्ष्मी शाहीले बताए । नेपालगन्ज झर्ने रारा एयरपोर्टमा करिब दुई फलाइटका यात्रु अलपत्र परेको उनले बताए ।

झरी र हिमपातले नेपालगन्जदेखि कुनै पनि हवाई उडान नभएपछि मुगुबाट सुर्खेत नेपालगन्ज झर्ने र तलबाट माथि जाने यात्रु एयरपोर्टमै अलपत्र परेका छन् ।

झरी र हिमपातले हुम्लामा सुर्खेत नेपालगन्जदेखि कुनै पनि हवाई उडान नभएको हवाई नागरिक उड्डयन प्राधिकरण हुम्लाले जनाएको ।

कर्णालीको हुम्ला, मुगु डोल्पा र जुम्लाको उच्च लेकाली भेगमा हिमपात र बेसीतिर दिनभर झरी परेको छ । झरी र हिमपातले कर्णालीका किसान भने खुशी भएका छन् । अर्कोतिर गमगढी नाग्मा सडक हिलाम्य हुँदा सवारी साधन चल्न मुस्किल भएको छ ।

हिमपात र झरीले कच्ची सडक हिलाम्य हुँदा सवारी साधन चल्न मुस्किल भएको रारा छायानाथ यातायात प्रालिले जनायो ।

प्रकाशित : फाल्गुन २४, २०७७ १७:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×