कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

रैथाने परिकारमा यसरी रमाए सन्तोष साह 

बुनु थारु

काठमाडौँ — शनिबार बिहान ९:४५ तिर क्षेत्रपाटीमा अवस्थित पुरानो ग्वारमरी पसलमा मानिसहरुको भिड देखिन्थ्यो । नेवारी परिकार ग्वारमरी विशेषगरी बिहानको नास्तामा खाने गरिन्छ । ग्वारमरी खानेभन्दा पनि पकाउने मानिसमा धेरैको आँखा गइरहेको थियो । आकर्षणका केन्द्रबिन्दु थिए, मास्टर सेफ प्रोफेसनल यूके २०२० का उपविजेता सेफ सन्तोष साह । 

रैथाने परिकारमा यसरी रमाए सन्तोष साह 

पसलका सञ्चालक ८१ वर्षीय बाबुकृष्ण श्रेष्ठसँग यो परिकार पहिलो पटक देखेको भन्दै चाख मान्दै ग्वारमरी बनाउन सिकिरहेका थिए साह । साथमा उनले परिकारमा राखिने सामाग्रीको बारेमा पनि जानकारी लिए । १०० वर्षभन्दा बढी इतिहास बोकेको यो पसल बाबुकृष्णसँगै छोरा बुहारी पनि सघाउने गरेका छन् । ग्वारमरी चाख्दै साहले मिठो लागेको प्रतिक्रिया दिँदै भने,‘मलाई एकदम मिठो लाग्यो । बनाउन सिकेँ । यही स्वादमा मोर्डन टच दिएर आफ्नो भर्सनमा बनाउने छुँ ।’

काठमाडौँ गेष्ट हाउसको आयोजनामा ‘हेरिटेज फुड टुर’ मा सहभागी भएका साह केही समय अघि मात्र नेपाल फर्केका हुन् । मास्टर सेफ यूकेमा नेपाली खाना पकाएर सबैको मन जित्न सफल भएका साहलाई पसलमा बसेका व्यापारी होस् या बाटोमा हिँड्ने बटुवा गल्ली गल्लीमा सेल्फी लिनेको ओइरो लागेको देखिन्थ्यो । आलोक सिद्धी तुलाधरद्वारा विभिन्न सम्पदा क्षेत्रको वर्णन गर्दै अघि बढेको फुड टुर बांगेमुढा चोकमा नेपाल महिला संघ नागार्जुनले महिला दिवसको अवरसमा आयोजना गरेको गृहिणी मेलामा रोकियो ।

साहले मेला अवलोकन गर्दै नेवारी पोसाकमा सजिएका दिदीबहिनीहरुले बनाएको बारा र स्याभले चाखे । साहले सिगल अवलोकन गर्दे श्री ध: कुल्फी उद्योगमा लप्सीको स्वादमा बनेको वरफ पनि खाए । उनले यस्तै प्रकारको वरफजस्तै मास्टर सेफमा बनाएको निम्बु पानी सोर्बे बनाएको सम्झिए ।

७७ वर्षको इतिहास बोकेको क्षेत्रपाटी गणेश स्थानस्थित श्री कुमारी मरि पस: (पुरानो मिठाई पसल)का सञ्चालक हेमदास ताम्राकारले साहलाई लाखमरी बनाउन सिकाउँदै यसको महत्वको बारेमा पनि प्रकाश पारे । लाखमरी विशेषगरी नेवारी बिहेमा सगुनको रुपमा दिने चलन छ । जेरी र स्वारीको लागि पनि चर्चित छ यो ठाउँ । नुनदेखि सुनसम्म पाइने भनेर चिनिने बजार असनबाट क्षेत्र अघि बढ्दै जाँदा अचारमा साहको आँखा गइहाल्यो । उनले सिद्राको अचार पनि किन्न भ्याए । सन्तोषलाई मरमसालामा पनि विशेष रुची छ । उनले मसलाहरुको बारेमा पनि जानकारी लिए ।

अन्नपूर्णादेवी मन्दिरको अवलोकन गर्दै मरु टोलस्थित व पस: मा नेवारीका विभिन्न परिकारहरु खान फुड टुर टोली पुग्यो । साहलाई स्वागत गर्न पसलका सञ्चालक उत्तम राजकर्णिकारको परिवार ढोकैमा थियो । साहलाई खादा लगाएर स्वागत गर्दै उत्तमले छोयला बनाउन सिकाए । छोयलासँगै फोक्सो, माछा, ऐला, सापु:मिचा आदि नेवारी परिकारको स्वादमा रमाए साह । छोयलाको स्वाद लिँदै सन्तोषले भने,‘ रैथाने परिकार पाइने काठमाडौँका विभिन्न पूरानो इतिहास बोकेको पसलहरुका साथै नेपालका अरु आदिवासीका खानेकुरा पनि चाख्ने इच्छा रहेको छ ।’

सन्तोष आफूले नेपाली खानाको महत्व ढिलो चिनेको बताउँदै नेपाली खानासम्बन्धी अझै धेरै अध्ययन र सिक्न बाँकी रहेको बताए । फुड टुरको अन्तिममा कुमारी घर दर्शन गरी बिदा हुँदै गर्दा सन्तोषले खुसी मुद्रामा भने,‘आज यो टुरमा सहभागी भएपछि धेरै कुरा सिक्ने मौका मिल्यो । असली स्वाद चाख्न पाइयो ।’

काठमाडौँ गेष्ट हाउसकी कार्यकारी निर्देशक सगुनी सिंह शाक्यले साहलाई सम्पदा क्षेत्र घुमाउँदै फुड टुर गर्दा खुसी लागेको बताउँदै आगामी दिनमा अरु विशिष्ट व्यक्तित्वलाई यस्तै खालको कार्यक्रम आयोजना गर्ने जनाइन् । फुड टुरमा टर्किस एयरलाइन्सका जेनेरल म्यानेजर अब्दुल्लाह टुन्सर केसेसी र फुड बल्गर सिद्धार्थ घिमिरे पनि सहभागी थिए ।

प्रकाशित : फाल्गुन २२, २०७७ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×