राजनराज सिवाकोटी भन्छन्, '१२ वर्षपछि चर्चामा आउँदा फूलबुट्टे सारी बिर्सिसकेको थिएँ'- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजनराज सिवाकोटी भन्छन्, '१२ वर्षपछि चर्चामा आउँदा फूलबुट्टे सारी बिर्सिसकेको थिएँ'

'फूलबुट्टे सारीको अब कुनै भर्सन आउँदैन'
रीना मोक्तान

काठमाडौँ — गीत रचनाका लागि राजनराज सिवाकोटीलाई सधैं प्रकृति र शान्त ठाउँ मनपर्ने । तीनताका उनी नयाँ सिर्जना कोर्न दोलखा नै पुग्ने गर्थे । 'कस्तो खालको गीत लेख्ने' यात्राभरि उनको दिमाग घुमिरहन्थ्यो । आफू हुर्केको गाउँमा उत्रने बित्तिकै पूराना घरहरु देख्थे । घरको कौसीमा कतै युवा कतै युवती । कोही कपाल फिजारेर बसिरहेका । यी दृश्य नियाल्दै गर्दा उनी मनमनै सोच्थे,'कौसीमा बसिरहेका ती नव यौवनाहरुको मनस्थिति कस्तो हुन्छ होला ? उनीहरुले प्रेमको आभाष गर्दा कस्तो अनुभव गर्लान् !'

घरभन्दा माथिको ठूलो रुखमुनि पतकर ओच्छ्याएर पल्टिरहँदा तीनै संग्रहित दृश्यहरुबाट गीतको शब्द फुर्‍यो, 'फूलबुट्टे सारी सपक्क पारी पछ्यौरी मलमलको…'

०००

'भाइ तपाईंले फूलबुट्टे सारी बोलको गीतमा कभर गर्नु भएको रहेछ । त्यो गीत कसको हो थाहा छ ? राजनराजले प्रश्न गर्दा प्रतिक गुरुङले जवाफ दिए,'थाहा छैन।'

त्यसपछि अर्को प्रश्न थपे,'राजनराज सिवाकोटी चिनेको छौ त ?'

जवाफ उस्तै आयो ।

'कुटुमा कुटु', 'सुर्के थैली' बोलको गीत सुनेको छौ ? भन्दा प्रतिकले 'सुनेको छु' भन्यो । 'हो म त्यही गीत लेख्ने मान्छे हुँ । फूलबुट्टे सारी पनि मेरै गीत हो,' राजनराजले प्रतिकलाई आफ्नो परिचय खुलाए । कभर गीतको भिडियोमा स्रष्टालाई क्रेडिट दिन लगाए ।

तीन वर्ष अगाडि प्रतिकले कभर गरेको 'फूलबुट्टे सारी'बोलको गीत एकाएक टिकटिकदेखि युट्युबमा हिट भइसकेपछि राजनले फोन गर्दै उनलाई धन्यवाद दिए । प्रतिककै कारण १२ वर्ष अगाडिको गीत यसरी अत्यधिक चर्चामा आउँदा राजनलाई हराएको मणि पाएझैं लागेको छ ।

खासमा प्रतिकले गीतलाई तीन कक्षा हुँदा सुनेका रहेछन् । १२ पढ्दै गर्दा कभर गरेर युट्युबमा राखे । तीन वर्षपछि अचानक टिकटकले गीत सर्वाधिक चर्चामा ल्यायो । रचनाकार राजनले त लगभग गीतलाई बिर्सिसकेका थिए । दसैंमा अमेरिका बस्ने एकजना भाइले 'यो गीत त तपाईंले गरेजस्तो लाग्छ ?' भनेपछि मात्र राजनले गीत सम्झिए ।

तस्बिरहरु : दिपेन्द्र रोक्का/कान्तिपुर

'फूलबुट्टे सारी बोलको गीत त गरेको जस्तो लाग्यो । फूलबुट्टे सारी सपक्क पारीको अंश लाइनमै कसैले गीत बनायो होला । मेरो त हुनु नै नपर्ने । १२ वर्ष अगाडिको गीत हिट हुन्छ भनेर सोचेकै थिइनँ,'राजनले ती भाइसँगको कुरा सम्झे,'भाइ झुक्कियो होला भन्ने लाग्यो । तर युट्युब र टिकटकमा त व्यापक भइसकेछ । त्यति धेरै माया पाइसकेको रहेछ गीतले ।'

१२ वर्ष अगाडि यो गीत मार्मिक लामाको आवाजमा रेकर्ड भएको थियो । लामाले गीतको न प्रचार गरे न भिडियो बनाए । सिडी निस्कियो । राजनले पनि खासै वास्ता गरेनन् । एकाएक १२ वर्षपछि चर्चामा आउँदा गीतले समय कुरेझैं लागेको छ राजनराजलाई ।

१२ वर्षपछि खोला फर्किएको हो त ?

राजन भन्छन्,'खोला फर्केको त होइन । तर १२ वर्षपछि सिर्जनालाई दर्शकले मन पराइदिनु भयो भन्नुपर्‍यो।'

गीत चार भर्सनमा

यो गीत चार भर्सनमा सार्वजनिक भएको छ । मेल, फिमेल, चाइल्ड र लिजेन्ड्री भर्सनमा सार्वजनिक भएको गीतलाई दर्शकले रुचाइदिएका छन् । प्रत्येक भर्सनमा फरक स्वाद पाएको भन्दै दर्शकले प्रतिक्रिया दिएका छन् राजनलाई ।

प्रतिकको आवाजमा 'फूलबुट्टे सारी' चलिरहेकै बेला 'सेलिब्रेसन' गर्ने सोचले राजनले गीत रि-रेकर्ड गरे । 'गीतलाई अफिसियल बनाउन र एक हिसाबले सेलिब्रेसन गर्ने सोचले रेकर्ड गरें । आर्काइभ पनि हुने भयो,' राजनले सुनाए ।

लक्ष्मी पूजाको दिन ओरिजिनल गायक मार्मिकको आवाजमा गीत सार्वजनिक भयो । सुरुआतमा खासै भ्युज थिएन । तर बिस्तारै गीतको भ्युज बढ्न थाल्यो । दर्शकले पनि गीतको ओरिजिनल भिडियोलाई मनपराइदिए । गीतमाथि टिकटक बनाउने बढे ।

'कान्छीको केस फिजारिएछ, मै कोरीबाटी गर्दिउँ कि' गीतको यो अंशमाथि दिदीबहिनीहरुले टिकटक बनाएको देख्दा राजनलाई फिमेल भर्सनको डिमान्ड भएझैं लाग्यो । 'फिमेलले त्यो गीतमा टिकटक बनाउँदा एकदमै निसास्सिएको जस्तो, गाह्रो भएजस्तो लाग्यो,' राजनले भने,'त्यसपछि कान्छीको ठाउँमा कान्छाको केस भन्ने शब्द परिवर्तन गरेर फिमेल भर्सनको गीत निकालें ।'

गायिका मिलन नेवारको स्वरमा सार्वजनिक भएको फिमेल भर्सन त आक्रमक तरिकाले दर्शकमा पुग्यो । फिमेल भर्सनलाई अत्यधिक दर्शकले रुचाइदिँदा राजन छक्क परे । 'यस्तो पनि हुन्छ र संसारमा भन्ने भयो । सपना जस्तो लाग्यो । दर्शक स्रोताको प्रतिक्रियाले गीत अमृत जस्तो रहेछ भन्ने भयो,' उनले दंग पर्दै सुनाए । ३ करोड बढीले युट्युबमा हेरिसकेका छन् ।

फिमेल भर्सन सार्वजनिक भएको केही दिन नपुग्दै टिकटकमा एक बालिकाले यही गीत गाउँदै गरेको राजनले देखे । त्यसपछि 'चाइल्ड' भर्सनमा उनले आफ्नी कान्छी छोरी अरिष्मा सिवाकोटीको आवाजमा गीतलाई रेकर्ड गराए । कौसीमा बसी तिमीले हेर्दा मन मेरो हलचल भयो भन्ने ठाउँमा 'चञ्चल भो' परिवर्तन गरे । 'बच्चाको मन हलचल त हुँदैन । चञ्चल हुन्छ नि,' राजनले सुनाए ।

चाइल्ड भर्सनमा गीत ल्याएपछि दर्शकले झिँजो मान्लान् भन्ने पनि लागेको थियो । तर राजनको दिमागमा अझै केही बाँकी छ भन्ने थियो । चाइल्ड भर्सन सार्वजनिक गर्ने कार्यक्रममा मदनकृष्ण श्रेष्ठलाई राजनले सम्मान गरे । कार्यक्रममा बोल्दै गर्दा मदनले गीतको छोटो अंश मिलाएर गुनगुनाए, 'फूलबुट्टे सारी सप्पकै पारी पछ्यौरी मलमलको । फूलहरु हेर्दै आफूलाई हेर्दा उमेरको अलमल भो ।'

उनले ठट्यौली शैलीमा गुनगुनाएको गीत सुनेपछि राजनलाई लाग्यो, बाँकी रहेको भर्सन यही नै हो ।

स्टेजमा आफ्नो बोल्ने पालो आएपछि उनले भने,'अब चौथो भर्सन पनि निकाल्ने सोच छ, के गरुँ ?' दर्शकदीर्घाबाट समर्थनको ताली गुञ्जियो । उनले मदनलाई हेरे । मदनले पनि समर्थनको आँखाले राजनलाई हेरे । त्यसपछि रेकर्ड भयो मदनको आवाजमा लिजेन्ड्री भर्सन ।

'मदन दाइ साह्रै राम्रो स्वरको धनी हुनुहुन्छ । खासमा हास्यव्यंगतिर व्यस्त हुँदा उहाँको गायन पक्ष छुटेको मात्र हो । उहाँका कतिपय गीत हामीलाई गाउन गाह्रो हुन्छ,' मदनको तारिफ गर्दै उनले भने,'गीत गाउन भनेपछि हुरुक्कै मदन दाइ । ४ वर्ष अगाडि मैले उहाँलाई किन गाउनुहुन्न भन्दा समय र अवसर मिले गीत रेकर्ड गर्ने मन छ भन्नु भएको थियो । त्यो कुरा मनमा हुर्कँदै थियो । फूलबुट्टेको लिजेन्ड्री भर्सनमा उहाँलाई लिएँ ।'

लिजेन्ड्री भर्सनको गीतलाई २४ घण्टामै एक मिलियन भ्युज प्राप्त भयो । अनपेक्षित रुपमा दर्शकले लिजेन्ड्री भर्सन मनपराइदिएको भन्दै राजनले सुनाए,'यो भर्सनमा गाली खाइँदैन भन्ने थाहा थियो । धेरै माया पाएको छु ।'

लिजेन्ड्री भर्सनको गीत उनले आफ्नै खुसीका लागि रेकर्ड गरेका हुन् । रेकर्ड भएको दिनदेखि हरेक रात यो गीत नसुनी उनी निदाउँदैनन् ।

अब कति भर्सनमा आउँछ गीत ? प्रश्न गर्दा उनले भने,'सबै उमेर समूहका लागि भइसक्यो । अब कुनै भर्सन आउँदैन ।' 'फूलबुट्टे सारी भाग-२' ल्याउने तयारीमा छन् उनी ।

धेरै भर्सनमा गीत सार्वजनिक हुँदा राजनलाई व्यापारिक रुपमा गीतलाई सस्तो बनायो भन्ने प्रतिक्रिया नआएको होइन। तर उनी फरक उमेर समूहका दर्शकसामू गीत पुर्‍याउन नयाँ भर्सनमा गीत ल्याएको बताउँछन् ।

'मैले व्यापार नै गर्ने हो भने यति धेरै खर्च गर्नुपर्ने जरुरी थिएन । म्युजिक भिडियो बनाउन, रेकर्डिङ गर्न र रिलिज कार्यक्रम गर्न निकै खर्च हुन्छ,' उनले सुनाए,'यो गीत आम स्रोता दर्शकको उमेर समूहका व्यक्तिका लागि फरक स्वाद दिँदा सबैले यो गीतलाई श्रवण गर्न पाउने भयो । मुख्य कुरा त्यो हो ।'

थपे,'सरस्वतीको पूजा गर्दा लक्ष्मी त पक्कै आउँछ । गीत रेकर्डिङ गर्न, भिडियो बनाउन लक्ष्मी हुनै पर्‍यो । व्यापार भएछ भने त्यो ठूलो कुरै भएन नि ।'

यो गीतमा आफूले नयाँ प्रयोग गरेको बताउँछन् राजन । 'हामीले एक जनाको आवाजमा मात्रै गीत सुन्थ्यौं पहिला । केटा र केटीको आवाजमा पनि गीत सुनियो । अरु दुई वटा भर्सन मैले प्रयोग गरेको त हो नि । के गल्ती गरेको छु र ?' ठट्यौली शैलीमा प्रश्न राख्छन् राजन ।

गीतलाई करोडौं दर्शकले मन पराइदिएपछि सबैलाई लाग्न सक्छ, 'यो गीत किन यति धेरै चल्यो ?'

एउटै किसिमको गीत बजारमा चलिरहँदा 'फूलबुट्टे सारी'ले फरक रुपमा प्रस्तुत भयो । गीतमा शब्द, संगीत संयोजन, एरेन्जमेन्ट, म्युजिक भिडियो, गायक/गायिकाको आवाज सबै मिलेकै कारण चलेको बताउँछन् राजन । 'सबै कुरा राम्रो भएपछि दर्शक स्रोतालाई मनपर्‍यो । यो गीत अरु गीतभन्दा फरक छ । शैली र प्रस्तुति फरक छ,' राजनले भने,'रक-पप शैलीको गीत भएर पनि मनपराइदिनु भएको हो ।'

उनी यो गीत आफ्ना लागि अर्को इनिङ रहेको सुनाउँछन् । 'अचम्म त के भने मैले यो गीत निकाल्छु भन्ने योजना बनाएकै थिइनँ । न यो गीत नै सम्झनामा थियो । मलाई समयले जे अह्रायो त्यहि गरेको हो,' उनले भने ।

गीतका चारै भर्सनमा राजनले आवाज दिएका छैनन् । आफ्नो आवाजलाई म्याच नगरेसम्म उनी आवाज दिन तयार हुँदैनन् । 'यसमा मेरो लोभ छैन । पहिला पनि अन्य गायक/गायिकासँग काम गर्दै आएँ,' उनले भने,'म भन्दा राम्रो गाउन सक्ने गायक/गायिकालाई गीत गाउन दिन मन पराउँछु । सकेसम्म अरुलाई अवसर दिन मन लाग्छ। सरस्वती लोभ गर्ने कुरा होइन, बाँड्ने हो।'

टिकटक चहार्दै गर्दा चाइल्ड र फिमेल भर्सन बन्यो । टिकटककै लागि आफूले यी भर्सन निकालेको उनी स्वीकार्दैनन् । 'गीत प्रचारका लागि टिकटकले धेरै सहयोग गरिदिएको छ,'उनले भने,'टिकटक केन्द्रित भएर फूलबुट्टे सारी बनेको होइन नि । टिकटकले बजार खोज्न सजिलो बनाइदियो । टिकटककै लागि गीत बनायो भने खाली टिकटकमै केन्द्रित हुन्छ । गीतको मिठासमा ध्यान दिन पाउँदैन ।'

प्रकाशित : फाल्गुन ८, २०७७ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्

गौरिका र मन्देकाजी सर्वोत्कृष्ट

कुशल तिमल्सिना

काठमाडौँ — पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ शनिबार मध्यपुर थिमिको सांस्कृतिक थलो दुईपोखरीमा आयोजित १५ औं एनएनआईपीए स्पोर्टस अवार्डमा सर्वोत्कृष्ट चुनिएका छन् । 

अवार्डको यस संस्करणमा वर्ष २०७६ सालभर गरेको उत्कृष्ट प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको आयोजक नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले जनाएको छ । गत वर्ष १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपालमा भएको थियो । त्यही प्रतियोगितामा समावेश २६ खेलबाट सम्बन्धित संघको सिफारिसमा एक–एक खेलाडीलाई उत्कृष्ट अवार्ड प्रदान गरिएको हो । उनीहरूले जनही १० हजार रुपैयाँ पुरस्कार पाए ।

उत्कृष्टमध्येबाट गौरिका र मन्देकाजी सर्वोत्कृष्ट चुनिएका हुन् । उनीहरूले जनही एक लाख पुरस्कार पाए । मन्देकाजीले १३ औं सागमा २ स्वर्ण जितेका थिए । घरेलु प्रतियोगिताहरूमा एकछत्र राज गरेका उनले सोही वर्ष बंगलादेशमा आयोजित साफ कराते च्याम्पियनसिपमा पनि स्वर्ण जितेका थिए । १३ औं सागमा ४ स्वर्ण जितेर कीर्तिमान रचेकी गौरिकाले थप २ रजत र ३ कांस्य पनि जितेकी थिइन् । सागको एकै संस्करणमा सबैभन्दा धेरै स्वर्ण जितेर कीर्तिमान राखेकी गौरिकाले आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण जितेकी हुन् । उनी अघिल्लो सातामात्र बेलायतबाट नेपाल आएकी हुन् । सागका स्वर्ण विजेताद्वय गल्फका सुवास तामाङ र कुस्तीकी संगीता धामीले उदीयमान खेलाडीको अवार्ड पाए । दुवैले जनही ५० हजार रुपैयाँ पुरस्कार पाए । यो विधा अवार्डमा पहिलोपल्ट समावेश गरिएको हो ।

सागमा दोहोरो स्वर्ण जितेकी तेक्वान्दोकी आयशा शाक्य र फुटबलका सुजल श्रेष्ठले प्रतिभावान खेलाडीको अवार्ड जिते । सुजल नेतृत्वको फुटबल टोलीले सागमा स्वर्ण जितेको थियो । मछिन्द्रले ‘ए’ डिभिजन लिगको उपाधि जित्दा सुजल टोलीका मुख्य खेलाडी थिए ।

गजराज जोशी आदर्श खेल व्यक्तित्व सम्मानबाट यसपल्ट करातेका पूर्वमुख्य प्रशिक्षक अकबर शाह सम्मानित भए । सन् १९९९ मा नेपालमै आयोजित आठौं सागमा करातेले सर्वाधिक १४ स्वर्ण जित्दा उनी नेपाली टोलीका प्रशिक्षक थिए । उनले नेपाली करातेको विस्तार र व्यापकतालाई दिएको योगदानस्वरूप सम्मान गरिएको एनएनआईपीएले जनाएको छ । उनले ३५ हजार रुपैयाँ पाए । उनले प्राप्त पुरस्कार रकम बोसीगाउँ कराते डोजोलाई हस्तान्तरण गरे । खेलकुद पत्रकारिता पुरस्कार अन्नपूर्ण पोस्टका खेलपत्रकार रोशनसिंह राउतले पाए । पारा एथलिट अवार्डबाट टेबलटेनिसका केशव थापा सम्मानित भए । अवार्डको स्थानीय आयोजकका रूपमा मध्यपुर थिमि नगरपालिका थियो । अर्को संस्करणको अवार्ड ललितपुरको गोदावरी नगरपालिकामा हुने कार्यक्रममा जानकारी गराइयो ।

एनएनआईपीए स्पोर्ट्स अवार्डमा सर्वोत्कृष्ट खेलाडी गौरिका सिंह र मन्देकाजी श्रेष्ठ । तस्बिर : कान्तिपुर

२६ खेलका उत्कृष्ट खेलाडी

गौरिका सिंह (पौडी), मन्देकाजी श्रेष्ठ (कराते), सुजल श्रेष्ठ (फुटबल), कल्पना परियार (सुटिङ), कुलबहादुर थापा (भलिबल), पुरुषोत्तम वज्राचार्य (टेबलटेनिस), विकास थापा (भारोत्तोलन), प्रदीप खड्का (लनटेनिस), रविना थापा (फेन्सिङ), कल्पना ओली

(ह्यान्डबल), विपना ब्लोन (स्क्वास), मीनु गुरुङ (बक्सिङ), श्याम बुढाथोकी (खोखो), रत्नजित तामाङ (ब्याडमिन्टन), सोनी गुरुङ (ट्रायथलन), अञ्जली चन्द (क्रिकेट), आयशा शाक्य (तेक्वान्दो), सुवास तामाङ (गल्फ), देविका खड्का (जुडो), सनातन मल्ल (आर्चरी), जुनी राई (उसु), अनुशा मल्ल (बास्केटबल), संगीता धामी (कुस्ती), मेनुका राजवंशी (कबड्डी), सन्तोषी श्रेष्ठ (एथलेटिक्स) र बुद्धिबहादुर तामाङ (साइक्लिङ) ।

महिला भलिबल खोइ ?

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले वर्ष २०७६ सालमा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट खेलाडीको नाम सिफारिस गर्न सम्बन्धित खेल संघलाई पत्राचार गरेको थियो । यसपालिको अवार्डका लागि १३ औं सागमा समावेश २६ खेलको मापदण्ड तोकिएका कारण संघहरूलाई उत्कृष्ट खेलाडी सिफारिस गर्दा सागकै प्रदर्शन आधार मान्न भनिएको थियो ।

तर भलिबल संघले भने पुरुष टोलीका खेलाडीलाई सिफारिस गर्‍यो । जबकि सागमा नेपालको पुरुष राष्ट्रिय टोली पदकविहीन थियो भने महिला टोलीले ऐतिहासिक रजत पदक जितेको थियो । नेपाल भलिबल संघले भने पुरुष र महिला दुवै टोलीका उत्कृष्ट एक–एक जनाको नाम आयोजकलाई उपलब्ध गराएको दाबी गरेको छ । ‘उहाँहरूले पुरुष र महिला एक–एक उत्कृष्ट खेलाडीको नाम माग्नुभएको थियो, हामीले पुरुषबाट कुलबहादुर थापा र महिलाबाट प्रतिभा मालीको नाम सिफारिस गरेका हौं,’ भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले कान्तिपुरसित भने ।

खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले भने संघबाट एकजनाको नाममात्र आएको प्रस्ट पारे । ‘हामीले सबै खेल संघलाई उनीहरूका पुरुष वा महिलामध्ये उत्कृष्ट एक खेलाडीको सिफारिस माग्ने गर्छौं । संघको सिफारिसकै आधारमा उत्कृष्ट अवार्ड दिइने हो,’ श्रेष्ठले भने ।

लनटेनिसमा संघले प्रदीप खड्काको नाम सिफारिस गरेको थियो । उनीसहित ६ जना सम्मिलित टोलीले सागमा कांस्य पदक जितेको थियो । तर महिलातर्फ प्रेरणा कोइरालाले एकल, युगल र टिममा गरी तीन पदक जितेकी थिइन् ।

राम्रो प्रदर्शन गर्ने खेलाडी नै सिफारिसमा पर्नुपर्ने होइन र ? भन्ने प्रश्नमा नेपाल टेनिस संघका महासचिव मनोहरदास मूलले अहिलेसम्म अवार्ड नपाएका खेलाडीलाई प्रोत्साहनस्वरुप सिफारिस गरिएको तर्क गरे ।

‘प्रेरणा र पुरुषमा शीर्ष वरीयताका संरक्षकभूषण वज्राचार्यले यसअघि नै पाइसकेका छन् । यो अवार्ड सबैले पालैपालो पाऊन् भन्ने हाम्रो मान्यता हो, किनभने यसले खेलाडीहरूलाई प्रोत्साहित पनि गराउँछ,’ महासचिव मूलले भने, ‘नियतवश सिफारिस नगरिएको होइन ।’

प्रकाशित : फाल्गुन ८, २०७७ १७:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×