कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शव ओसार्न खटिँदा...

समाजले कोरोना संक्रमण भएकालाई नै छुवाछूतको व्यवहार गरिरहेका बेला सीता र मीना संक्रमितको शव व्यवस्थापन गर्न तम्सिएका थिए । 
‘नयाँखाले संक्रमण भएकाले सुरुमा डर लागेको थियो । अभ्यस्त हुँदै गएपछि डर पनि हट्दै गयो ।’
जगदीश्वर पाण्डे

संक्रमण विश्वभर फैलिँदै थियो । यसलाई कसरी नियन्त्रण गर्ने भन्नेमा विश्व स्वास्थ्य संगठन नै अलमलमा थियो । संक्रमणले ज्यान जाने क्रम बढ्दै थियो । यसको चपेटाबाट नेपाल अछुतो रहेन ।

शव ओसार्न खटिँदा...

यही बेला सीता र मीनालाई कोरोनाले मृत्यु भएकाको शव व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी आइपर्‍यो । उनीहरू कोरोनाबारे उति धेरै जानकार थिएनन् । ‘तर मुलुक संकटमा पर्दा पछि हट्नु हुन्न भनेर हामीले आत्मविश्वासका साथ जिम्मेवारी सम्हाल्ने आँट गर्‍यौं,’ मीनाले भनिन् ।

सीता गोरखकाली गुल्मकी प्यूठ र मीना सिपाही हुन् । समाजले कोरोना संक्रमण भएकालाई नै छुवाछूतको व्यवहार गरिरहेका बेला उनीहरू संक्रमितको शव व्यवस्थापन गर्न तम्सिएका थिए । परिवारले पनि यो कामलाई सहज रूपमा लिएका थिएनन् । सुरक्षित रूपमा काम गर्ने हो भनेर उनीहरूले परिवारलाई सम्झाए । ‘नयाँ खाले संक्रमण भएकाले सुरुमा डर लागेको थियो । अभ्यस्त हुँदै गएपछि डर पनि हट्दै गयो,’ सीताले सुनाइन् । चीनको वुहानबाट फैलिएको कोभिड–१९ को संक्रमण भित्रिएसँगै नेपाली सेनाले कोरोना भाइरस संक्रमणबाट कसैको मृत्यु भए शव कसरी व्यवस्थापन गर्ने भनेर गृहकार्य गरेको थियो । यसका लागि उसले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग समन्वय गरेको थियो । सेनाले पहिलो महिला गुल्म गोरखकालीका ११ सैनिकलाई शव व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिएको थियो । त्यसमा सीता र मीना पनि परेका थिए ।

सीता र मीनासहितको टोलीले काठमाडौंमा १३ जनाको शव व्यवस्थापन गरिसकेको छ । सीताले पहिलो पटक कात्तिक २६ गते अरू तीन जना साथीसँग मिलेर टेकु अस्पतालमा मृत्यु भएका संक्रमितको शव व्यवस्थापन गरेकी थिइन् । मीनाले भने मंसिरमा उक्त काम थालेकी हुन् ।

मुलुकलाई आवश्यक पर्दा पछि हट्नु हुन्न भन्ने अठोटका साथ सेनामा भर्ती भएको सीता र मीनाले बताए । सुरुमा केही अन्योल भए पनि काम गर्दै जाँदा सजिलो भएको उनीहरूले बताए । ‘नयाँ खाले संक्रमण हुनाले सुरुमा चुनौतीपूर्ण लागेको थियो । तर हामीले चुनौतीलाई अवसरमा परिणत गर्‍यौं,’ मीनाले भनिन् ।

संक्रमणले कसैको ज्यान गए सीसीएमसीले नेपाली सेनाको पृतनालाई खबर गर्छ । त्यसपछि पृतनाले बाहिनी, बाहिनीबाट गण र गुल्ममा खबर जान्छ । गोरखकाली गुल्मसम्म खबर यसरी नै आउने हो । सीता, मीना र उनीहरूका साथी बिहानैदेखि तयारी अवस्थामा बसिरहेका हुन्छन् । शव व्यवस्थापन गर्नुपर्ने खबर आएपछि कमान्डर (हवल्दार) ले कहाँ के गर्ने भनेर विस्तृत जानकारी लिन्छन् । टोलीका सबैले शिरदेखि पाउसम्म पीपीई (व्यक्तिगत सुरक्षा सामग्री) लगाउँछन् । जसमा फेस मास्क, मास्क, चस्मा, पन्जा, बुटलगायत हुन्छन् । ‘पहिले त पीपीई सेट लगाए पनि डर लाग्थ्यो । पछि बानी पर्दै गयो,’ मीनाले भनिन्, ‘मरेको मान्छेबाट कोरोना सर्दैन भन्ने सुनेपछि ढुक्कसँग काम गर्‍यौं ।’

शव व्यवस्थापनमा जाँदा तीनवटा गाडी हुन्छन् । अगाडिको गाडीमा कमान्डर बस्छन्, त्यसपछिको शव बोक्ने गाडी हुन्छ । अन्तिमको गाडीमा शव व्यवस्थापन गर्ने टिम हुन्छ । शव व्यवस्थापनका लागि टोली अस्पताल पुगेपछि कमान्डरले मृतकको परिवारले गरेको मन्जुरीनामाको कागज लिन्छन् । टोलीले शव प्याक गरीवरी स्ट्रेचरमा राखेर गाडीमा हाल्छ ।

काठमाडौंमा मृत्यु भएका संक्रमितको शवलाई पशुपतिको विद्युतीय शवदाहगृहमा लगिन्छ । ‘गेट बाहिर आफन्त हुन्छन् । उनीहरूले आफूले ल्याएको माला र भेटी चढाउनका लागि हामीलाई दिन्छन्,’ सीताले भनिन् । मृतकका आफन्तले दाहसंस्कारअघि मृतकको अनुहार हेर्न खोज्छन् । ‘त्यति बेला कैंचीले प्लास्टिक काटेर मुख देखाइदिन्थ्यौं, उनीहरूले टाढैबाट हेर्थे,’ मीनाले भनिन् । कोरोनाबाट मृत्यु भएका सबैलाई अन्तिम संस्कार गर्नुअघि शव व्यवस्थापन टोलीले अन्तिम सलामी पनि दिँदै आएको छ ।

एउटा शव व्यवस्थापन गर्न कम्तीमा दुई घण्टा लाग्छ । ‘फटाफट काम भए त आधा घण्टामा सकिन्छ,’ सीताले भनिन्, ‘तर अस्पतालमा मृतकका आफन्तलाई कुर्नुपर्‍यो । प्रक्रियागत काम गर्न पनि समय लाग्छ ।’ कुनै अस्पतालमा तीन तलामाथिबाट शव ल्याउनुपर्छ । कसैको तौल बढी पनि हुन्छ । त्यति बेला समय लाग्न सक्छ ।

पीपीईसहित स्वास्थ्य सुरक्षाका सामग्री लगाएपछि खाना खान, पानी पिउन र शौचालय जान गाह्रो हुन्छ । ‘त्यसका लागि अघिल्लो दिनदेखि नै तयारी गर्नुपर्छ । पानी धेरै नपिउने, मुखमात्र भिजाउने गर्छौं,’ सीताले भनिन्, ‘पीपीईसहित लुगा लगाउँदा गर्मी हुन्छ । बिहानदेखि बेलुकीसम्म फुकाल्न मिल्दैन । बेलुकीसम्ममा बुट पनि पसिनाले भिजेको हुन्छ ।’

सीता र मीनाको टोलीले काठमाडौंका टेकु, महाराजगन्जस्थित प्रहरी, छाउनीमा रहेको सैनिकका साथै वीर, भक्तपुर, गंगालाललगायत अस्पतालमा गएर शव व्यवस्थापन गरेको छ । सबै शवलाई उनीहरूले पशुपतिमा लगेर अन्त्येष्टि गरेका हुन् ।

शव व्यवस्थापनमा सावधानी अपनाएकैले सीता र मीनाको टोलीमा कसैलाई पनि कोरोना संक्रमण भएको छैन । मुलुकमा कोरोना संक्रमण सुरु भएयता उनीहरू भने घर गएका छैनन् । चार सदस्यीय टोलीमा तुलसी र पूर्णमाया विवाहित हुन् । तुलसीकी ११ वर्षीया छोरी र पूर्णमायाका तीन वर्षका छोरा छन् । चारै जनाले यसबीचमा परिवारको कसैलाई पनि भेटेका छैनन् ।

सन् १८१४–१६ मा भएको नेपाल–अग्रेज युद्धमा अमरसिंह थापा, भक्ति थापालगायत अंग्रेजको आधुनिक हातहतियारसामु घरेलु हतियार तरबार, भाला, लट्ठी लिएर उत्रिएका थिए । नेपाली पक्षमाथि अंग्रेज हावी भएपछि नेपाली महिला पनि घरेलु हतियार बोकेरै अंग्रेजविरुद्ध भिडेका थिए । पछिल्लो पटक २०७२ सालको भूकम्पले विपत्ति ल्याएका बेला नागरिकको उद्धार र राहतका लागि महिला सैनिकहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

नेपाल मात्र होइन, विश्वमै संकट परेका बेला महिलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । त्यति बेला महिला हो कि पुरुष भनेर लिङ्ग हेरिँदैन । तर जब परिस्थिति सामान्य हुन्छ, महिला र पुरुष भन्दै लिङ्ग छुट्याउने काम गरिन्छ । यो प्रवृत्ति सीता र मीनालाई मन पर्दैन । ‘यो हाम्रो समाजले बनाएको परिधि हो । महिलाले किरिया बस्न नहुने, मलामी जान नहुने, महिलाले यसो गर्न नहुने उसो गर्न नहुने भनिन्छ,’ सीताले भनिन्, ‘तर हामीले जन्मदेखि मृत्युसम्म गरिने सम्पूर्ण क्रियाकलापमा महिलाको महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने प्रस्ट पारिदिएका छौं ।

हामीले कामबाट अन्धविश्वासलाई पनि चिर्‍यौं ।’ नेपाली सेनाको पहिलो महिला गुल्म गोरखकाली २०७४ साउन १७ गते स्थापना भएको हो । उक्त गुल्मका हुद्दा कुष्णकुमारी (३२ वर्ष) र तुलसी (३२ वर्ष), अमल्दार सविना (२५ वर्ष), प्यूठ रचना (२५ वर्ष), सीता (२५ वर्ष), हीरादेवी (२५ वर्ष) र रश्मी (२४ वर्ष) तथा सिपाही पुष्मा (२० वर्ष), पूर्णमाया (२४ वर्ष), लीला (२५ वर्ष) र मीना (२६ वर्ष) शव व्यवस्थापनमा छन् । उनीहरूलाई गोरखबहादुर गणकी कमान्डर उपसेनानी सीता कुँवरले नेतृत्व गरेकी छन् । कोभिड–१९ को संकटमा गरेको कामले आफ्नो टोलीलाई भविष्यमा अन्य संकट आउँदा थप उत्साहका साथ काम गर्न हौसला मिलेको सीता र मीनाको भनाइ छ ।

प्रकाशित : फाल्गुन ७, २०७७ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?