दृष्टिविहीन विद्यार्थीको दैनिकी : पढाइ स्नातकोत्तर, काम अगरबत्ती बिक्रीको

विमल खतिवडा, तस्बिर : अंगद ढकाल

काठमाडौँ — शुक्रबार बिहान । ९ बज्नै लागेको थियो । सानोठिमीस्थित सेनाको ब्यारेक अघिल्तिर एउटा सानो झुण्ड खडा थियो । कसैले कालो चस्माले आँखा ढाकेका । कोही भने सेतो छडी हातमा बोकेर बसको पर्खाइमा । सबैलाई एउटै हतारो थियो- कति बजे रत्नपार्क पुग्ने !


शुक्रबार बिहान यो समूहमाझ कान्तिपुर प्रतिनिधि पुग्दा सबैलाई बित्दो भएपनि 'वर्षौदेखि मनमा गुम्सिएर बसेको पीडा पोख्न' सबै तयार भए । त्यो खुल्ला ठाउँमा कुराकानी सम्भव भएन । समूहमा रहेकामध्ये डोटी पूर्वीचौकी-७, बगडाका २८ वर्षीय कपिल विकले सबैलाई आफ्नो कोठामा लगे । सानोठिमी क्याम्पसको पछाडि पट्टीको गल्लीभित्र विकको कोठा रहेछ । यो एउटै साँघुरो कोठामा कपिलका दम्पती, ४ वर्षीय छोरो र अर्का गाउले दृष्टिविहीन चक्र नेपाली बसेका छन् ।


सामुको खाटमा उनीहरु अटेसमटेस बसेका छन् । यीमध्ये कपिल मास्टर्स पढ्दैछन्, चक्रले पढ्ने खर्च नभएर १२ कक्षामैं पढाइ छाडेका हुन् । अरु आसपासमा भेटिएका सबैजसो पढालेखा छन् । तर, न रोजगारी छ, न कुनै अवसर ।

सेना ब्यारेक पछाडिको यो गल्लीमा दृष्टिविहीनको संसार छ । सानोठिमी क्याम्पसमा ब्रेललिपीमा उच्चशिक्षा पढाइ हुने भएकाले जुम्ला-बझाङदेखिका दृष्टिविहीनहरु यहा भेला भएका हुन् । 'हो, बेरोजगारी नै हामी सबैको समस्या हो' भन्दै कपिल बिकको भनाईमा सहमती जनाए । एकैसाथ आफ्नो कथा-कहानी पनि सुनाइरहेका थिए । कपिल ५ वर्षका मात्रै थिए । दुवै आँखा पाकेछन् । नजिकै अस्पताल थिएन । परिवारिक अवस्था कमजोर थियो । जिल्ला अस्पताल लगेर सम्म उपचार गर्न सक्ने सम्भावना परिवारको थिएन ।


परिवारले औषधि उपचारको सट्टा धामीझाँक्री लगाउन थाले । 'आँखाले गर्दा पाउनु पीडा पाएको छु,' उनले निन्याउरो अनुहार पार्दै भने,' ठिक हुन्छ भनेर कुकुरको दिसा पनि लगाइदिए, पाइपले फुकेर पीडा दिए, उपचार सट्टा अन्धविश्वासकै पछि लागियो ।' कपिलले गाउँकै साजिन्द्रश्वर माविबाट ०६७ सालमा एसलएसली गरेका रहेछन् । प्लस टु पढ्नका लागि सिलगढी पुगे । न कलेजले कपिललाई लिन चाह्यो, न उनले कोठाभाडै पाए । तेब्बर भाडा तिर्ने भएपछि मात्रै उनले ४ महिनापछि कोठा पाए । मासिक ५ सय रुपैयाँको भाडालाई उनले १५ सय तिर्नुपरेको थियो । संयोगले कलेजको प्रवेश परीक्षामा सहभागी ३ सय जनामा एक नम्बरमा नाम निकाल्ने उनै कपिल थिए ।


०७० सालमा काठमाडौं छिरेपछि भने पीडा केही कम भयो । तर संघर्ष भने उस्तै रहृयो । उच्च शिक्षा अध्ययनका लागि राजधानी पसे । सानो ठिमीमा क्याम्पसमा भर्ना भए । स्नातक तहमा शिक्षा संकाय अन्तर्गत नेपाल विषय लिएर पढे । सहारा कोही भएन । संयोगले खोटाङ राजापानीकी मेनुका राईसँग उनको भेट भयो । दुवैले बिहे गरे । श्रीमती मेनुका सिलाईबुनाइको काम गर्छिन । कपिल भने खुल्ला विश्वविद्यालयअन्तर्गत स्नातकोत्तर तहमा भर्ना भएक छन् । उनी दिनभर भने अगरबत्ति बिक्री गर्न हिँड्छन । साँझमा घर र्फकन्छन् । उनलाई साथीभाइले रेकर्ड गरेर कितावका कुरा सुनाउँछन् । त्यसैका आधारमा उनले परीक्षाको तयारी गर्दै आएका छन् ।


'एक वर्ष भयो कोठा भाडा तिर्न सकेको छैन । हातमा सर्टिफिकेट छ, तर जागिर पाइँदैन,' उनले पीडा पोख्दै भने ,'छोराको स्कुल शुल्क नतिरेको पनि महिनौं भैसक्यो । हामीले मागेर खान खोजेका होइनौं, योग्यताअनुसार जागिर पाउन सके कसैको भर पर्नु पर्ने थिएन ।'


दृष्टिविहीन समुदायले कीर्तिपुरमा बनाएको अगरबत्ति ल्याएर कपिलसहितका साथीभाईले बिक्री गर्ने गरेका छन् । रत्नपार्क, सुन्धारा, भक्तपुर बसपार्क र अरुतिर धाएर कहिले बढीमा ८ सय रुपैयाँसम्मको धुप बिक्री हुन्छ । कहिले रित्तै फर्कनुपर्ने हुन्छ । 'हामी प्रकृतिले आफैं ठगिएकाहरुले अरुलाई किन ठग्थ्यौं होला र ?,' उनले भने,' हातहातमा लगेर अगरबत्ति लिइदिनुस भन्दा पनि तथानाम गाली खानुपर्छ । अपमान सहनुपर्दा भने सारै नमज्जा लाग्छ ।' कपिलले कम्प्युटर पनि जानेका छन् । आफूले जागिरका लागि धाएको ५ वर्ष भइसकेको छ । उनले भने,' अब त आश पनि मरिसक्यो ,डिग्री पढेर पनि जागिर नपाउँदाको पीडा दुःख गरेर पढ्नेलाई मात्र थाहा हुन्छ ।'


कपिलको जस्तै पीडा छ- जुम्ला, चन्दनाथ-२, अनामनगरकी २८ वर्षीया अमृता थापाको । उनी ०६२ सालमा एसएलसी उत्तिर्ण भइन् । गाउँमा पढ्न सक्ने अवस्थै भएन । पढाईका लागि सहयोग खोज्दै उनीसहित ३ जना अरु साथीसहित ०६५ सालमा काठमाडौं ओर्लिए । उनीहरुका बारे पत्रिकामा समाचार छापिनेबित्तिकै एनआईसी बैंकले पढाईमा सहयोग गर्‍यो । सानो ठिमी क्याम्पसमा शिक्षा संकायमा अंग्रेजी विषय लिएर पढाइमा अघि बढिहाले ।


अमृता अहिले भक्तपुर बहुमुखी क्याम्पसबाट ग्रामीण विकास (आरडी)मा मास्टर्स गर्दै छिन् । मास्टर्स पढ्दै उनी पनि अगरबत्ति बिक्री गरिरहेकी छन् । बेलाबेला टाउको दुख्ने समस्याले सताउँछ । सुइ लगाएर दुःखाई कम गर्ने गरेको उनले सुनाईन । अमृता बसेको कोठाको भाडा महिनाको ४ हजार रुपैंया छ । नतिरेको ४ महिना भैसक्यो । जागिरको खोजीमा रहेपनि अपांग भएकै कारण हरेक अबसरमा बञ्चित हुनु परेको उनको दुःखेसो पनि उस्तै छ ।


'डिगि्र पढ्दै र पढीसकेका धेरै दृष्टिविहिनहरु यहा छन्,' उनले भनिन,' तर के गर्नु सर्टिफिकेट थन्क्याएर, अगर बिक्रि गर्दै हिंड्नु परेको छ । यो हाम्रो रहर होइन, बाध्यता हो ।' यसैगरी, स्याङजाको अर्जुनचौपारी गाउँपालिकाका दीर्घनारायण अर्यालले पनि ०६८ सालमा ६३ प्रतिशत अंकसहित एसएलसी प्रथम श्रेणिमा उत्तिर्ण गरे । उनी सानोठिमी क्याम्पसमा होस्टलमा बसेर शिक्षा संकायमा मास्टर्स गर्दैछन् । 'म पनि साथीहरुसँगै अगरबत्ति बिक्री गर्न जान्छु,' उनले भने,' हामी दृष्टिविहीनले आफ्नै लागि मात्र पढेजस्तो भयो, पढेरपनि कतै अवसर पाउन सकिएन ।' जुम्लाकी २२ वर्षीया लक्ष्मी बुढा स्नातक तेश्रो वर्षमा अध्ययन गरिरहेकी छन् । उनको दिनचर्या पनि अगरबत्ति बिक्रीमै बित्ने गरेको छ ।


बाजुरा जगन्नाथ गाउँपालिका-६ का प्रेमराज आचार्यको संघर्ष भने अरुभन्दा भिन्न छ । देब्रे खुट्टा चल्दैन । बैशाखीको सहारामा हिँड्डुल गर्छन् । ०६१ सालमा बाख्रा हेर्न जाँदा लडेर खुट्टा भाँचियो । १६ दिनमा होस आयो । समयमै उपचार पाउन सकेनन् । उनी जीवनभरका लागि अपांग बने । '२ वर्ष सम्म उपचार पाउन सकिनँ,' उनले बिलौना गर्दै भने,' जसले गर्दा अहिले अपांग बने ।' सानो ठिमी क्याम्पसबाट स्नातक गरेका उनी आरआर क्याम्पसबाट समाजशास्त्रमा मास्टर्स गर्दैछन् । 'पढ्न त पढियो,' उनी भन्छन्,' पढेर पनि कतै अवसर पाइएन ।' सानो ठिमीबाट मास्टर्स गर्ने भने करिब १ दर्जन विद्यार्थी छन् ।


सानो ठिमी क्याम्पसमा ब्रेल पुस्तकमार्फत पढाइ हुन्छ । त्यही भएर दृष्टिविहीन विद्यार्थीका लागि पढाइमा सहज छ । अवसरको मात्रै होइन, वरपर हिँड्डुल गर्नै पनि समस्या छ । अपांगमैत्री सडक निर्माण गरिएको भनिएपनि फुटपाथले गर्दा हिँड्न पाइँदैन । गाडी चालकले सेतो छडी बोकेर र कालो चश्मा लगाएर सडक किनारमा उभिएको देख्नासाथ हतपत रोक्नै मान्दैनन् । 'हामीले हरेक क्षेत्रमा सास्ती खेप्नु परेको छ,' लक्ष्मी बूढाले भनिन्, 'के अपांग हुनु हाम्रो दोष हो ? हामीले आँखा मात्र देख्दैनौं, तर अवसर दिए आँखा देख्नेहरुसँग प्रतिस्पर्धा गर्न तयार छौं ।' प्रकाशित : वैशाख ६, २०७६ १६:५७

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पारिजात स्मृति केन्द्रद्वारा सम्मान घोषणा, पारिजातको प्रतिमामा मार्ल्यापण

कान्तिपुर संवाददाता

काठमाडौँ — पारिजात स्मृति केन्द्रले बिहीबार यस वर्षका विभिन्न सम्मान घोषणा गरेको छ । केन्द्रले 'पारिजात सिर्जन सम्मान' आनन्ददेव भट्टलाई, 'पारिजात संघर्षशील नारी सम्मान' सरिता डंगोललाई, 'पारिजात कला सम्मान' रामकृष्ण दुवाललाई तथा 'पारिजात बालसाहित्य सम्मान' खगेन्द्र संग्रौलालाई प्रदान गर्ने निर्णय गरेको हो । 

त्यस्तै, पारिजातको लेखन र जीवनका विषयमा विद्यावारिधि गर्ने कृष्णप्रसाद घिमिरे, चन्द्रमान श्रेष्ठ, नयना प्रधान, बद्रीविशाल पोखरेल, भवानीप्रसाद पाण्डे, हरिहर भण्डारी र सिर्जना शर्मालाई पारिजात सम्मान प्रदान गर्ने निर्णय गरेको केन्द्रका सदस्यसचिव स्नेह सायमीले जनाए ।

२६ औं स्मृति दिवसको अवसरमा बिहीबार राजधानीको म्हेपीमा आयोजित पारिजातको प्रतिमा माल्यार्पण समारोहमा सम्मान घोषणा गरिएको हो । समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य, संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति रायनलगातयले पारिजातको साहित्यिका योगदानबारे प्रकाश पारे ।

प्रकाशित : वैशाख ६, २०७६ १६:०८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×