बिसे नगर्चीका सन्तान : लालमोहरमात्रै छ साथमा

रवीन्द्र ढकाल, हरिराम उप्रेती

गोरखा — नेपाल एकीकरण अभियानमा राजा पृथ्वीनारायण शाहले बिसे नगर्चीसँग सल्लाह लिएको किस्सा छ । नुवाकोटसँग पटकपटकको युद्धका कारण हायलकायल भएका पृथ्वीनारायण नगर्चीको दैलोमा ‘बुद्धि’ माग्न पुगेका थिए ।

यिनै नगर्चीले घरधुरी कर लगाएर हतियार किन्ने पैसाको जोहो गर्नुपर्छ भनेर राजालाई सुझाव दिएको मानिन्छ । उनी नगरा पनि बजाउँथे । लडाइँमा नगरा बजाएर गोरखाली फौजमा जोश भरिदिन्थे ।


२०६२/६३ सालको जनआन्दोलनमा श्रवण मुकारुङको ‘बिसे नगर्चीको बयान’ कविताले नगर्चीलाई फेरि चर्चामा ल्यायो । आन्दोलनलाई व्यापक बनाउन यो कविता र बिसे नगर्चीको बिम्वको योगदान र यो आन्दोलनले नेपालबाटै राजतन्त्रै फालेको तथ्यबारे धेरै लेखिरहनु आवश्यक छैन । रोचकचाहिँ जुन बिसेको सल्लाहमा राजतन्त्रको जग फैलिएको थियो तिनै बिसेको नाम राजतन्त्र फाल्ने आन्दोलनको अश्त्र बन्न पुग्यो !


नेपाल एकीकरणको नेतृत्व गर्ने पृथ्वीनारायणपछि उनका दस पुस्ता नेपालका राजा भए । बिसे नगर्चीका भने त्यसपछिका पुस्ताबारे कसैले खोजखबर राखेको पाइदैन ।


बिसे नगर्चीको तीनपुस्ते लालमोहर ।


पृथ्वीनारायण शाह राज्य विस्तारपछि काठमाडौंलाई राजधानी बनाउनेगरी ‘बसाईं’ सरे पनि बिसेका सन्तान भने गोरखामै छन् । सरकारले दिएको लालमोहर लेमिनेसन गरेर बसेका उनका शाखा सन्तति गत साता गोरखा नगरपालिका– ६ मा भेटिए ।

राजाहरुले बिसेका सन्तानलाई लालमोहर दिने गरेका थिए । अन्तिम लालमोहर जंगबहादुरले दिएका थिए । जंगबहादुरका पालामा दिएको लालमोहर लेमिनेसन गरेर सुरक्षित राखिएको छ । उनीहरुका केही शाखा सन्तान भने चितवन झरेका छन् । दुवै ठाउँका मिलाएर बिसे नगर्चीका एघारौं र बाह्रौं पुस्ताका सन्तान २५ घरधुरी छन् ।


विसं १९०५ को लालमोहरमा काले नगर्चीसम्मको उल्लेख छ । वि.स १८४६, १८७५ र १९०५ का सरकारी लालमोहरका आधारमा काले नगर्चीसम्मको पुस्ता कागजमा देखिन्छ । काले नगर्चीपछि एकैचोटि योगी नरहरि नाथले मचिन्द्र परियारलाई ९ औं पुस्ता भनेर उल्लेख गरे । तर, काले नगर्ची र मचिन्द्र बीच को–को थिए ? यस ठाउँमा कहिले जन्मिए कहिले मरे भन्ने कुराको तिथि मिति कसैलाई थाहा छैन ।


योगी नरहरिले पनि केका आधारमा ९ औं पुस्ता भने भन्ने कुरा कतै खुल्दैन । दरबारले लेख्दिएर तीन पुस्ता खुल्यो । त्यसपछिको लामो समय बिसे नगर्चीका सन्ततिको खोजी भएन । सार्वजनिक वृत्तमा खोजी हुन थालेको त भर्खरै हो ।


बिसे नगर्चीकै सन्तानहरु भने मचिन्द्र परियारलाई ११ औं पुस्ता मान्छन् । त्यसै आधारमा उनकी छोरी रामकुमारी परियारलाई १२ औं पुस्ता मान्न सकिन्छ ।


बजार झर्दै बिसेका सन्तति

२०३६ सालतिर बिसे नगर्चीका सन्तानहरु सिलाइबुनाइ गर्न बजार झरे । बजारले नै उनीहरुका लागि छाकटार्ने व्यवस्था गरिदियो । २०३६ सालभन्दा अगाडि बालीघरे प्रथामै उनीहरुको गुजारा टर्थ्यो । दिनभरि बिष्टका खेतमा काम गर्दा मुस्किलले एक माना अन्न पाइन्थ्यो । खेतमा काम नहुँदा विष्टका लुगा सिलाइदिनुपर्थ्यो ।


२०३६ सालपछि बजारले सिपको कदर गर्न थाल्यो । तर पनि बालीघरे प्रथा टुटेको थिएन । पछिल्लो १०–१५ वर्षमा गोरखा बजार निकै ठूलो भयो । अनि बालीघरे प्रथा विस्थापित भयो । लाजले पनि विष्टहरुले पैसा दिएर लुगा सिलाउन लगाए ।


बिसेका सन्तति प्रायःको नाममा घर छ खासै जग्गा जमिन छैन । रामकुमारी परियारको पनि घर भएको जग्गामात्र छ । उनका एक छोरा डीभी परेर अमेरिका गएका छन् । अर्को छोरा खाडी । श्रीमान टेलरमा काम गर्छन् । मचिन्द्रका कान्छा भाइका छोरा शिवशंकरको पनि बजारमा टेलर छ ।


नगर्चीको सालिक पाखामा

बिसे नगर्चीको सालिक


२०५२ सालदेखि नै बिसे नगर्चीको सालिक गोरखामा राख्न परियार सेवा समाज लागिपरेको थियो । परियार सेवा समाज र बिसे नगर्चीका सन्तति दुवैले गोरखा दरबार जाने पर्यटनमार्ग छेउमा सालिक राखिनुपर्छ भनेर लामो समय कुरे । फलस्वरुप स्थानीय तहको चुनाव भइसकेपछि गितारडाँडामा नै सालिक राखिने निर्णय भयो ।


गितारडाँडा गोरखा नगरपालिका–६, मा ०७५ साल जेठ २६ गते सालिकको शिलान्यास गरियो । यस थुम्कोबाट गोरखाबजारका कंक्रिट घरहरु, पत्रैपत्रका पहाडहरु, दरौंदी खोला र हरिया फाँटहरु देखिन्छन् । गोरखा दरबार पुग्ने पर्यटकहरु ढुङ्गाले बनेका सिँढी हुँदै यही थुम्कोबाट मास्तिर लाग्छन् ।


यस ठाउँमा १४ रोपनी सार्वजनीक जग्गामा बिसेको सालिक र पार्क बनाइने भइयो । शिलान्यासमा वडाध्यक्ष, उपमेयर, परियार समाज नेपाल र गाउँमा रहेका बिसे नगर्चीका सन्तति सबै उपस्थित भए । उनीहरु निकै खुशी पनि थिए । तर, यो खुशी धेरै लामो समय टिकेन । जुन ठाउँमा सालिक राख्ने भनिएको थियो । त्यहाँ खनेको खाल्टो जस्ताको तस्तै छ तर सालिक छैन ।


सालिक बन्यो गितारडाँडाभन्दा माथि अग्लो भीरमुनि । २०७५ साउन १८ मा रातारात पाखोतिर फर्काएर बिसेको सालिक ठड्याइयो । सन्तानहरुलाई थाहा नदिई । गोरखा दरबार घुम्न जाने पर्यटकले यो सालिक देख्दैनन् । सालिकका वरिपरि बाख्रा चर्छन् । बालबालिका खेल्छन् ।



शिवशंकर र तिलकुमारीलाई सालिक राखेको ठाउँले बिझाएको छ । तिलकुमारीको गुनासो छ, ‘त्यहाँ राख्ने थाहा पाएको भए म मेरै पाखोमा लगेर राख्थेँ । हामीले सालिकमार्फत बिसे नगर्चीको सम्मान खोजेको हो ।’ यति भनिसकेपछि उनी प्रश्न गर्छिन्, ‘अर्याल, पन्त, थापालगायतका व्यक्तिको सालिक भए यसरी मिल्काउँथे त ?’


त्यस्तै मचिन्द्रको छोरी रामकुमारी भन्छिन्, ‘दमाईको चिहान यहाँ राखिदिए भन्छन् स्थानीय बासिन्दा । सालिक धरी हेला मा छ ।’ उनको घर नजिकै सालिक छ । तैपनि उनले कहिले सालिक नजिक पुग्ने, धुप बाल्ने कहिलै गरिनन् । आफूले भोगेको हेला बिसे नगर्चीको सालिकले पनि भोगिरहेकै छ । उनी थप्छिन् ‘ दमाइको भूत रातिराति सालिक वरिपरि लाग्छ भन्छन् यहाँका बासिन्दाहरु ।’


नगरपालिकाले नै सार्‍यो पाखामा

सालिकलाई यसरी पाखामा सार्ने काम गोरखा नगरपालिकाले गरेको हो । गोरखा नगरपालिकाका मेयर राजनराज पन्त भन्छन्, ‘३० फिटको गोरखनाथको सालिक गितारडाँडामा ठड्याउने योजना पाइपलाइनमा छ । बिसे नगर्चीको सालिक गितारडाँडामा राख्दा गोरखनाथको सालिकमा बाधा देखिने भयो ।’


नगरपालिकाले बिसेको सालिक शिलान्यास गरेको ठाउँमा गोरखनाथ पार्क बनाउने योजना अघि सारेको छ । मेयर पन्त भन्छन्, ‘बिसे नगर्चीको पार्कले भन्दा गोरखनाथको पार्कले बढी आन्तरिक तथा बाहृय पर्यटक भित्र्याउन सक्छौं भन्ने हाम्रो बुझाइ र इतिहासलाई पनि सम्मान गर्ने अनि धार्मिक पर्यटक विस्तार गर्ने उद्देश्य हो ।’


बिसेका सन्तान भने यसरी सालिक कसैले नदेख्ने पाखामा पुर्‍याइँदा यसले बिसेको इतिहासको अपमान गर्ने बताउँछन् । ‘हामीले राज्यबाट अरु केही मागेका छैनौं । केवल बिसेको सम्मान भएको हेर्न चाहन्छौं । सालिकै बनाउने हो भने कम्तिमा देख्ने ठाउँमा राख्नुपर्‍यो । इतिहास पनि हो भन्ने अनि लुकाउने पनि गर्न मिल्छ ?’ शिवशंकर प्रश्न गर्छन् ।


तिलकुमारीले सालिक देखिने ठाउँमा सालिक राख्नुपर्‍यो भनेर जनप्रतिनिधि, मेयर पन्त र पुरातत्व विभागका हाकिमलाई भेटिन् । सिडिओलाई पनि गुहार लगाइन् । ‘मैले कि देख्ने ठाउँमा राख्नुस् कि म मेरै जग्गामा राख्नु भनें, कसैले टेरेन,’ उनले भनिन्, ‘कतिले दमाइको सालिक किन सबैले हेर्नुपर्‍यो भनेर समेत भने ।’ उनले थपिन्, ‘मैले संघर्ष गर्न छाडेको छैन । आखिर दमाइको खोजी त हुँदो रहेछ नि ! इतिहास त सबैलाई चाहिँदो रैछ नि !’


तिलकुमारीलाई त यो सालिकको बनावटले पनि बिझाएको छ । भन्छिन्, ‘बिसे नगर्चीको पहिचान नै राजालाई बुद्धि दिने व्यक्ति हो । उनको सालिक त हातमा एक रुपयाँको ढ्याक्क बोकेको हुनुपर्ने । कि लिएको चाहियो कि दिएको । हात त चाहियो नि ! हातै नभएको सालिक कसको हो भन्ने ?’ उनले प्रश्न गरिन् ।


परियार सेवा समाजका लागि अमर चित्रकारले २०५२ सालमा एक हातले राजालाई पैसा दिइरहेको बिसे नगर्चीको सालिक बनाएका थिए । यो नै उनले बनाएको अन्तिम सालिक थियो । शिलान्यास हुँदा यही सालिक राख्ने तयारी थियो । तर, पछि नगरपालिकाले बिना हातको सालिक बनाउन लगाएर राख्यो । प्रकाशित : पुस २६, २०७६ १६:५३

प्रतिक्रिया
पठाउनुहोस्

सभामुखबारे छलफल गर्न बालुवाटारमा नेकपा सचिवालय बैठक

कान्तिपुर संवाददाता

काठमाडौँ — सभामुखको उम्मेदवार चयनबारे सत्तारुढ नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवासबालुवाटारमा सवा ४ बजे सचिवालय बैठक सुरु भएको हो ।

बैठकमा सभामुख चयन लगायत समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आइतबार संघीय संसदको प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ । उक्तबैठकमा सभामुख चयनको कार्यतालिका अगाडि बढाउने तयारी भइरहेको छ । नेकपाले सभामुखकोउम्मेदवार तय गर्न नसक्दा संसद बैठक यसअघि सूचना टाँसेर स्थगित गरिएको थियो ।

नेपकाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले सभामुखमा पूर्वएमाले किपूर्वमाओवादीबाट हुने भन्ने टुंगो लगाउन नकसेपछि नेकपा अनिर्णित भएको हो ।

प्रकाशित : पुस २६, २०७६ १६:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×