ककपिटमा महिला- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ककपिटमा महिला

कुनै बेला महिला पाइलट देख्दा मानिसहरू विमान चढ्नै डराउँथे । केही यात्रुचाहिँ उत्साहित पनि देखिन्थे । एकपटक एउटी महिलाले ‘पाइलट त केटी पो रहिछ’ भन्दै डरले विमान ढोगेको यशोधरालाई अहिले पनि याद आउँछ ।
रीना मोक्तान

काठमाडौँ — काठमाडौंबाट उडेको केही बेरमा विमान भैरहवामा अवतरित भयो । क्याप्टेन यशोधरा थापा र को–पाइलट प्रीति गिरी ककपिटबाट निस्कने सुरसार गर्दै थिए । अचानक यात्रुहरूले भनेको कुरा उनीहरूको कानमा ठोक्कियो– ‘लौ आज त विमानमा सबै क्रु महिला नै पो रहेछन् ।’

यशोधराले यो कुरा त हेक्कै राखेकी थिइनन् । अनि उनले हेक्का राख्न नसकेको अर्को संयोग पनि थियो– महिला दिवस । क्याप्टेनदेखि को–पाइलट, क्याबिन क्रु सबै महिला । दुई वर्षअघिको यो संयोगलाई उनीहरूले तत्काल स्मृतिमा कैद गरे । सामूहिक फोटो खिचाए ।

०००

घरकी एक्ली सन्तान हुन् यशोधरा । अन्तर्मुखी स्वभावकी उनी सानो छँदा मानिसहरूसँग खासै बोल्दैनथिन् । त्यसैले बुबा उनलाई अतिरिक्त क्रियाकलापमा सहभागी हुन हौस्याउँथे । साहसी भएर अघि बढ्न प्रेरणा दिन्थे ।

‘तेरा लागि बोलिदिने कोही दाजुभाइ छैन । तँ लडिस् भने आफैं उठ्नुपर्छ । कहिल्यै नरुनू, बलियो बन्नू भन्नुहुन्थ्यो बुबा,’ यशोधरा भन्छिन्, ‘त्यही सिकाइले मलाई बलियो बनायो । क्याप्टेन बनायो ।’

पोखराको हर्मन माइनर कलेजबाट कक्षा १२ सक्दासम्म यशोधरा करियरमा त्यति ‘फोकस’ थिइनन् । सँगैका साथी डाक्टरी पढ्न थालेका थिए । उनलाई चाहिँ फरक पेसा अँगाल्ने मन भयो । पोखरा–काठमाडौं आउजाउ गर्दा एयरपोर्टको माहोलले सधैं लोभ्याइरहन्थ्यो । त्यही क्रममा दिमागले क्लिक गर्‍यो– अब पाइलट बन्ने ।

एक्ली छोरीको इच्छा । परिवारको साथ अपेक्षित नै थियो । ‘छोराले समेत सजिलै नआँट्ने काम छोरीले गरेको भन्दै उहाँहरू खुसी हुनुभयो,’ यशोधरा सम्झिन्छिन्, ‘यो पेसामा जोखिम छ भन्ने थाहा थियो परिवारलाई । तर मलाई कहिल्यै निराशा देखाउनुभएन ।’

पाइलट बन्ने सपना पूरा गर्न सन् १९९९ मा उनी अमेरिका पुगिन् । ट्विन टावर अट्याक हुँदा उतै थिइन् । पढाइ सकेर सन् २००३ देखि ‘बुद्ध एयर’ मा काम सुरु गरिन् । विमान उडाउँदा गल्ती भए दोस्रो मौका मिल्दैन । उनले पनि यो जोखिम बुझेकै छिन् । अब त विमान उडाउन थालेकै १८ वर्ष भइसक्यो । विमानमा नयाँ–नयाँ ठाउँ पुग्न रमाइलो मान्छिन् उनी । ‘अरूलाई कमान्ड गर्न एकदम रमाइलो लाग्छ । त्यसैले होला, मलाई मेरो पेसा मन पर्छ,’ उनले भनिन् ।

यो पेसाले उनको आत्मविश्वास बढाइदिएको छ । वर्षौंदेखि पुरुषहरू हिँड्दै आएको यो बाटोमा आफूलाई कमजोर ठान्दिनन् । ‘यो क्षेत्रमा आएपछि म पनि कोहीभन्दा कम रहेनछु भन्ने अनुभव आयो,’ उनले भनिन्, ‘केटी भएकैले गर्न सकिन भन्लान् भनेर मनमा डर हुन्थ्यो । त्यसैले धेरै मिहिनेत गरें ।’

४० वर्षीया यशोधरा अहिले विमानकी क्याप्टेन मात्र होइनन्, आमा, बुहारी र श्रीमती पनि हुन् । १३ वर्षका छोरा र पाँच वर्षकी छोरी छन् । उनी बिहान साढे ३ बजे उठ्छिन् । पूजापाठ गरेपछि जिम जान्छिन् । जिमबाट फर्किएर छोरीलाई गृहकार्यमा सघाउँछिन् । त्यसपछि एयरपोर्ट पुग्छिन् ।

अप्ठ्याराहरू थुप्रै छन् । तिनलाई चिर्दै उडान भरिरहेकै छिन् उनी । ‘छोराछोरी हेर्नै भ्याउँदिनँ । यो पेसा छोड्न पनि सक्दिनँ । छोडें भने मसँगै मेरो बाबाआमाको सपना टुट्छ,’ उनले भनिन् ।

विमानमा महिला ‘क्रु’

उड्डयन क्षेत्रमा महिलाहरूको संख्या बढ्दो छ । को–पाइलट, टेक्निसियन, अफिसरदेखि एटीसी (एयर ट्राफिक कन्ट्रोल) सम्म महिलाहरू छन् । उडान क्षेत्रमा महिलाहरूको यस्तो आकर्षण देख्दा यशोधरा खुसी मान्छिन् । ‘अरू क्षेत्रमा पनि महिलाहरू अघि बढेको देख्दा एकदम राम्रो लाग्छ । एटीसीमै महिलाहरू हुनुहुन्छ । यो एउटा परिवर्तन हो,’ उनले भनिन्, ‘हाम्रो समाजले जहिल्यै पुरुषलाई प्राथमिकतामा राख्यो । हामी पनि कम छैनौं भन्ने अठोटले नै महिलाहरू यहाँसम्म आइपुगेका हुन् ।’

२ वर्षअघि ‘रोस्टर’ मा संयोगले महिलाहरूको क्रु परेको थियो । हिजोआज त महिनामा दुईपटकसम्म यस्तो संयोग जुरिरहन्छ । सुुरुका दिन यति सहज थिएनन् । महिला पाइलट देख्दा मानिसहरू विमान चढ्नै डराउँथे । केही यात्रुचाहिँ उत्साहित पनि देखिन्थे । तर तिनीहरू थोरै हुन्थे । ‘अहिले त कति यात्रु महिलाहरू रहेछन्, अब सुरक्षित हातमा परियो भन्नुहुन्छ,’ यशोधरा भन्छिन्, ‘कोहीचाहिँ आत्तिनुहुन्छ । एकपटक एउटी आमा त पाइलट केटी रहिछ भन्दै विमानको ढोका ढोग्न थाल्नुभयो ।’

तर अहिले धेरैले बुझ्न थालिसकेका छन् । उडान भर्दा क्रुमा महिला छन् कि पुरुष भनेर खोजीनिती गर्नेहरू कम छन् ।

‘ककपिटमा दिमागको काम धेरै भइरहेको हुन्छ । तर कसैले सबै महिला क्रु रहेको भन्दै प्रशंसा गरेको सुने खुसी लाग्छ,’ उनले भनिन्, ‘हामी आफैंलाई भने केटाकेटी जो हुँदा पनि फरक पर्दैन ।’

०००

सिनियर को–पाइलट प्रीति पनि दुई वर्षअघिको महिला दिवसको त्यो संयोग बिर्सिंदिनन् । ‘त्यस दिन सबै क्रु महिला भएको थाहा भएपछि फोटो खिच्यौं,’ उनले भनिन् । ३३ वर्षीया प्रीति पनि उडान भर्दा पुरुष–महिला को छ भनेर खासै वास्ता गर्दिनन् । तर महिला पाइलटसँग उड्न सहज हुने उनको अनुभव छ ।

‘यो क्षेत्रमा अरू महिलाको पनि रुचि देख्दा म मात्र एक्लो छुइनँ भन्ने अनुभव हुन्छ,’ उनले भनिन्, ‘पहिला परिवारकै केही सदस्यले मलाई पनि केटीले कहीँ पाइलट पढ्छन् र भनेका थिए । तर आफूलाई मन पर्ने विषय पढ्दा रमाइलो हुँदो रहेछ ।’

साहसिक खेल रुचाउने प्रीति उडिरहेको विमानबाट बाहिरका दृश्य हेर्न मन पराउँछिन् । आकाशमा उड्दै गर्दा डर हराउने गरेको सुनाउँछिन् । ‘आकाशमा उड्नुको मज्जा बेग्लै छ,’ उनले भनिन् ।

प्रीति पनि सन् २००८ मा अमेरिकाबाट पाइलट पढेर फर्किएकी हुन् । नेपाल फर्केको तीन वर्षपछि २०११ मा सिंगल इन्जिन उडाउन सुरु गरिन् । रारा, सिन्कोट, जुम्ला, डोल्पातिर यात्रु र कार्गो बोकेर पुगिन् । चार वर्षयता बुद्ध एयरमा को–पाइलट भएर उडान भर्दै छिन् ।

कक्षा ७ मा पढ्दाको कुरा । शिक्षकले उनलाई सोधे, ‘के बन्छौ ?’ उनलाई उड्दै आएको विमान देखाउँदै भनिन्– पाइलट । युनाइटेड एकेडेमीबाट १२ कक्षा सक्नासाथ उनले आफ्नो सपनाको बाटो रोजिन् । ‘बुबा त बच्चादेखि नै केटाले गर्ने कुराहरू मलाई गर्न लगाउनुहुन्थ्यो । मैले पाइलट बन्छु भन्दा उहाँ खुसी हुनुभयो,’ उनले भनिन् ।

०००

एयरहोस्टेस दिपाली सिंह क्याबिन क्रुमा बसेर धेरैपटक उडिसकिन् । यस क्रममा महिला क्रुप्रति यात्रुहरूको चासोलाई राम्ररी नियालेकी छन् उनले ।

‘महिला पाइलट देखेर खुसी हुन्छन् यात्रुहरू । पाइलटसँग फोटो खिचाउन कुरेर बस्छन्,’ उनले भनिन् ।

सन् २०१७ देखि क्याबिन क्रुमा खटिँदै आएकी छन् दिपाली । विमानमा यात्रा गर्दा नै उनलाई यो पेसाप्रति आकर्षण बढेको हो । कक्षा ७ मा हुँदा नेपालगन्जबाट यात्रु बनेर विमानमा एक्लै काठमाडौं आएकी थिइन् उनी । चार वर्षदेखि नियमितजसो आकाशमा उडिरहेकी छिन्, जागिरे बनेर ।

महिला क्रु मात्रै रहेको विमानमा धेरैपटक उडिसकेकी छन् एयरहोस्टेस सुरक्षा अधिकारी । महिलाको टोलीमा सहज अनुभव गर्छिन् उनी पनि । महिला पाइलटले पाएको आदर–सम्मानले उनलाई लोभ्याएको छ । ‘पाइलट पढेको भए विमान उडाउन सकिन्थ्यो कि भन्ने लाग्छ,’ उनले भनिन्, ‘क्याबिन क्रुको पेसामा पनि रमाइलो छ ।’ ४ वर्षदेखि ‘क्याबिन क्रु’ भएर काम गरिरहेकी छिन् सुरक्षा ।

सात कक्षामा पढ्दाको कुरा हो । उनी ‘बिच क्राफ्ट’ विमानमा यात्रा गर्दै थिइन् जसमा ककपिटसम्मका गतिविधि छर्लंगै देखिन्छन् । त्यही क्रममा उनलाई एयरहोस्टेस हुने इच्छा जागेको रहेछ । इटहरीको कोसी कलेजबाट १२ सकाएर एयरहोस्टेसको तालिम लिएकी थिइन् ।

महिलाहरू ‘एयर’ तिर मात्र होइन, ‘ग्राउन्ड’ मा पनि उत्तिकै सक्रिय छन् । २८ वर्षीया सीता कार्की ६ वर्षयता जुनियर अफिसरका रूपमा बुद्ध एयरमा काम गर्दै आएकी छिन् । टिकेटिङ, चेकिङदेखि यात्रु डिलिङसम्मका काममा खटिन्छिन् । प्रत्येक दिन फरक–फरक यात्रुलाई ‘ह्यान्डल’ गरिरहेकी भेटिन्छिन् उनी ।

प्रकाशित : फाल्गुन २४, २०७७ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्

उद्योगमा करेन्ट लागेर एकको मृत्यु

कान्तिपुर संवाददाता

मोरङ — मोरङ बेलबारी नगरपालिका-७ का २४ वर्षीय आशिष मग्रातीको सुनसरीको दुहबीस्थित एक उद्योगमा करेन्ट लागेर मृत्यु भएको छ ।

दुहबी–२ स्थित मैनावती स्टिल फ्याक्ट्रीमा ना४ख ५९३६ नम्बरको ट्रकमा सामान लोड गर्ने क्रममा ट्रकका सहचालक मग्रातीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलेक्ट्रिक क्रेनमा करेन्ट लागी घाइते भएका उनको विराटनगरस्थित विराट अस्पताल उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।


प्रकाशित : फाल्गुन २४, २०७७ १४:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×