कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

'तर, तेरो सम्झना यो मनमा छ'

यमबुद्ध बिना र्‍यापका तीन वर्ष

काठमाडौँ — अमेरिकी र्‍यापर कल्याण चाम्सलिन नेपाल आएकी थिइन्, सन् २०१२ मा । एक मित्रमार्फत् उनीसँग भेट भयो । उनले यहाँका र्‍यापरहरुसँग सहकार्यको सम्भावनाबारे छलफल गर्न चाहिन् । चिनेजानेका केही र्‍यापरलाई खबर गरें ।

'तर, तेरो सम्झना यो मनमा छ'

अरु र्‍यापरलाई पनि लिएर आउन अनुरोध गरें । र, भेट भयो- जयनेपाल हलसँगै जोडिएको आँखीझ्याल रेष्टुराँमा ।


केहीबेरमा एउटा केटा हामीतिर आयो । ख्याउटे । कालो । अनुहारमा डन्डीफोर, क्याप पछाडि फर्काएको । खुकुलो कपडा लगाएको । आउनासाथ उसले चुरोट सल्कायो । एक ठाउँमा बसेन, घरी यता, घरी उता । अरुले बोल्दा पनि खास ध्यान दिए जस्तो नलाग्ने । चुरोटचाहिँ ओठबाट छुट्न नहुने । त्यहाँ निर्णय श्रेष्ठ, अराज केशव, जिएक्स सोलजस्ता गिनुचुनेका र्‍यापर थिए । त्यो केटाचाहिँ देख्दा अलि ‘आवारा', पारा पनि उस्तै ।


बोल्ने पालो उसको आयो । हाम्रो समाजको चरित्र कस्तो छ, हाम्रो सन्दर्भमा कस्तो र्‍याप प्रभावकारी हुन्छ, र्‍यापमा समाज कतिको प्रतिविम्बि भइरहेको छ, नेपाली र्‍यापले अपेक्षित प्रगति गर्न नसक्नुका कारण के–के हुन्, उसले अंग्रेजीमा धाराप्रवाह दियो । अरुजस्तै म पनि ट्वाल्ल परेर सुनिरहें । माहोल पूरै बदलियो । महिला हिंसा, सडक बालबालिका, लागूऔषध दुर्व्यसन, चेलिबेटी बेचबिखन, प्रतिभा पलायनदेखि राजनीतिक अस्थिरतासम्मको उसको बुझाई साँच्चै गज्जब थियो । अभिव्यक्ति शैली पनि आकर्षक ।


अबचाहिँ मलाई त्यो केटाबारे चासो जाग्यो ।


नजिकैको र्‍यापरलाई सोधें, ‘ऊ को हो ?'


‘यमबुद्ध,' उसले भन्यो ।


मैले ठ्याक्कै चिनिनँ, मेरो अनुहारबाट भेउ पायो क्यारे !


र, भन्यो, ‘त्यही साथी... गाउने यमबुद्ध क्या ।'


त्यसपछि मेरा आँखा तन्किए । त्यो गीत धेरै सुनेको, एकाध भिडियो पनि हेरेको तर यमबुद्धको अनुहार याद भएनछ । ड्रग्सका कारण बितेको साथीलाई सम्झेर गाएको त्यो गीतले नेपाली हिपहपमा हलचल ल्यायो । हरेक शब्द मुटुमै बिझ्ने । कतिपय यो गीतपछि नेपाली र्‍यापको अर्को अध्याय सुरु भएको मान्छन् । यी सब कुरा कल्याणालाई थाहै थिएन्, उनले पनि अघिसम्म यमबुद्धलाई 'भाउ' दिएकी थिइनन् । त्यसपछि भने नजिकै बोलाइन, अंकमाल गरिन् र सबैको सामून्ने भनिन्, ‘तिम्ले तिम्रो समाज चिनेको रहेछौं । र्‍यापरमा हुनुपर्ने पहिलो गुण यही हो । तब मात्र र्‍यापमा समाजको असली चित्र उर्तान सकिन्छ, सवाल उठाउन सकिन्छ ।' त्यसपछि जति बसियो, उनले अधिक समय यमबुद्धसँगै बिताइन् ।


मैलेचाहिँ यमबुद्धलाई केही भनिनँ, परिचय दिँदै मोबाइल नम्बर लिएँ ।

त्यतिबेलासम्म उनी युट्युबमा पहुँच भएका, अझभन्दा युवापुस्तामाझ मात्र परिचित थिए । तर छनक मिलिसकेको थियो, नेपाली हिपहपमा एउटा आँधी आउँदैछ । अर्को गीत ‘आमा...' ले पुनः प्रमाणित गर्‍यो, उनी आमर्‍यापरभन्दा अलग छन् । र, विशेष पनि ।


‘साथी...' गीतमा यमबुद्ध गाउँछन् :


'जित्नुभन्दा ठूलो कुरा हिम्मत नहार्नु हो

त्यसैले लड्दै छु, संघर्ष गर्दैछु'


जिन्दगीबाट हार खाएका र दिक्क भएका धेरै युवामा यसले उर्जा दिएको थियो । तर किन हो कुन्नी, यमबुद्ध स्वयंलेचाहिँ हिम्मत हारे । जबकी उनी त जित्दै पनि थिए ।

तीन वर्षअघि आजकै दिन अर्थात् २०७३ माघ १ गते उनले आफ्नो कथा आफैं सक्काए । लन्डनस्थित आफू बसेको घरको बाथरुमको झ्यालको डण्डीमा पेटीले बाँधेर झुन्डिएको अवस्थामा फेला परे । दुई वर्षदेखि उनी उतै बस्थे । उनको मृत्युका कारणबारे अनेक अड्कलबाजी भए, हल्ला चले तर खास कारण त उनले उनीसँगै लिएर गएका थिए । ‘सुसाइड नोट' वा अरु केही भेटिएन । उनले प्राण त्यागे, संसारभर छरिएका उनका प्रशसंकको आँखा रसायो, छटपटी चल्यो ।


यमुबद्ध र्‍यापर मात्र थिएनन्, प्रेरणाको स्रोत थिए । सपना र संघर्षको खानी थिए । मुख्य सपना थियो, नेपाली र्‍याप लिएर वर्ल्ड टुर गर्ने । नेपाली र्‍यापका प्रणेता मानिने गिरीश खतिवडासँग यो सपना बाँडिसकेका थिए ।


यमुबद्ध उनको ‘स्टेज नेम' । परिवारले राखिदिएको नाम- अनिल अधिकारी । ‘यम' अर्थात् हिंसाको प्रतिक । ‘बुद्ध'चाहिँ शान्तिको । समाजमा दुवैथरी चरित्र थियो, सायद उनमा पनि, त्यसैले दुवैलाई जोडेर आफैंले न्वारान गरे, ‘यमबुद्ध'।


जतिबेला उनी उदाए, त्यतिबेला नेपाली र्‍याप सुस्ताएको थियो । र्‍यापको व्यावसायीकरण हुनसकेको थिएन्, केही प्रतीभा ‘अन्डरग्राउन्ड'मै सिमित थिए । पूरा संगीतप्रति नै समाज उदार छैन । र्‍याप त एकहिसाबले बहिस्कृत । तर यमबुद्धले यही असहज बाटो मार्ग रोजे ।


धेरैलाई लाग्छ, ‘साथी...' गीतपछि यमबुद्ध रातारात हिट भए । तर होइन । त्यहाँसम्म आउन उनले अनेकौं हन्डर खानु परेको थियो ।

सन् २००३ बाटै र्‍याप लेख्न थालेका थिए । तर आफैंलाई चित्त बुझ्दैन्थ्यो, कुनै–कुनै मनपर्थ्यो, अरुलाई सुनाउन धक मान्थे । एकैपटक खरर र्‍याप हान्न सक्दैनथे, लघुताभाष हुन्थ्यो । त्यसैले हरदिन अभ्यास गर्थे । बुबाआमालाई चिन्ता, छोरो बिग्रियो, ट्यापे भयो भनेर । उनले सन् २०१५ तिर भनेका थिए, ‘तर ममा विनिङ एट्ट्यिुड थियो । सबैलाई चुप लागेर बस्नु मलाई मेरो काम गर्न दिनु भन्थे ।' उनी जतिबेला पनि मनोबलको कुरा गर्थे । यही मनोबलले त हो, उनलाई ‘यमबुद्ध' बनाएको ।


एउटा उदाहरणबाट प्रष्ट हुन्छ, उनीभित्रको प्रतिवद्धता र उर्जा ।


गाउँको सरकारी स्कुलमा पढेर भर्खरै स्वयम्भूस्थित 'द एक्सेसियर' स्कुलमा कक्षा आठमा भर्ना भएका थिए । त्यहाँ त सबै अंग्रेजी बोल्ने । उनीचाहिँ शब्दपिच्छे अड्कन्थे, नभर्स हुन्थे । लजालु थिए । एकदिन शिक्षिकाले अगाडि आएर अंग्रेजी गीत गाउन भनिन् । रातोपिरो भए । मरीतरी ‘स्माइल...' भन्ने गीत गाए । उनको अंग्रेजी लवज सुनेर सबै गलल्ल हाँसे।


उनले 'मोटेभेसनल स्पिकर'का रुपमा एक ठाउँमा भनेका छन्, ‘त्यो मेरो जीवनकै सबैभन्दा लाजमर्दो क्षण हो । तर मैले हरेस खाइनँ, जसरी पनि अंग्रेजी सिक्छु भन्ने प्रण गरें ।' त्यसपछि उनले अंग्रेजी गीत सुने, फिल्म हेरे, बोल्न र लेख्न अभ्यास गरे । समय कस्तो पनि आयो भने उनले इराज, चिन्गी, टोनी टीजस्ता विदेशी र्‍यापरसँग गीत गाए ।


गीतजस्तै यमबुद्धलाई ‘अमर' बनाउने अर्को कारण हो, र्‍याप ब्याटल । मसँग उनले भनेका थिए, ‘मैले मात्र र्‍याप गाएर केही परिवर्तन हुन्न । नयाँ–नयाँ र्‍यापर आउनुपर्छ, सहरमात्र होइन, गाँउ–गाँउसम्म र्‍याप पुग्नुपर्छ ।' मूलधारका मिडियाले र्‍यापरलाई खास स्थान दिँदैनथे । अरु प्लेटफर्म पनि थिएन । यही अभाव पूरा गर्न उनकै परिकल्पना र पहलकदमीबाट जन्मियो- र्‍याप ब्याटल ।


नयाँ र्‍यापरलाई एक ठाउँमा ल्याएर ‘फ्रि स्टाइल' गराउथे, त्यही खिचेर युट्युबमा हाल्थे । यसले र्‍यापको सुखद माहोल निर्माण गर्‍यो । युनिक पोएट, साकार, बालेन यहीबाट चम्किएका हुन् । लाउरेले यसबाटै राष्ट्रिय पहिचान पाए । समिर घिसिङ ‘भिटेन' अगाडि आउन पनि र्‍याप ब्याटलको भूमिका छ ।


यसमा सन्देह छैन, सन् २०११ पछि जति र्‍यापर आए, उनीहरुमा कहीं न कहीं यमबुद्धको प्रभाव छ । अझ धेरैले के दाबी गर्छन् भने उनको देहान्तपछि नेपाली र्‍यापले अर्को अभिभावक पाएको छैन । ‘र्‍याप ब्याटल' ले समेत निरन्तरता पाएन ।


यमबुद्धका हरेक गीतले उनी बाँचेको समयको कथा भन्छ ।


जस्तो : ‘यो प्रसंग हो...' मा छोरीमाथिको विभेद र चेलीबेटी बेचविखनको दर्दनाक पाटो उघारेका छन् । ‘फुटपाथमा...'सडक बालबालिकाको दुर्दशा । विदेशबाट फर्कन नपाएको भाईको रोदन हो, ‘दिदी...',राष्ट्रप्रेमले भरिएको छ, ‘म फुट्छु तर झुक्दिनँ...'। यी भिडियोमा पनि ‘आफ्नोपना'छ, बहुसंख्य र्‍याप गीतझैं युवतीको हुल राखिएको छैन, र्‍यापर चिल्लो गाडीमा ‘इन्ट्रि' मार्दैन । उनी भन्ने गर्थे, ‘मजस्तो छु, मेरा गीत र भिडियो पनि उस्तै हुन्छ । मलाई केही ढाँट्नु छैन ।'


मर्नुभन्दा तीन दिनअगाडि ‘खतरा' एल्बमको कभर सार्वजनिक गरेका थिए । त्यसमा ‘मलामी...' शीर्षकको गीत छ । सुन्दा लाग्छ, उनले आफैंले आफ्नो लागि गाएको मृत्यु गीत हो यो :


'हे आमा म यो कस्तो गीत गाउँदैछु

थकित भएर स्वर्गको ढोका ढक्ढकाउँदैछु

नरुनु तिमी मेरो शरीर आगोमा रन्कदा

चिसा लुगा लिएर मलामी ती फर्कँदा'


‘साथी...' का यी पंक्तिहरुचाहिँ उनका फ्यानहरुले बरोबर उनलाई नै ‘डेडिकेट' गर्छन् :


'नहोलाऔं सँगै आज तँ र म

तर तेरो सम्झना यो मनमा छ'

प्रकाशित : माघ १, २०७६ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?