कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

छायामा नेपालका पहिलो कम्प्यूटर वैज्ञानिक

बुनु थारु

काठमाडौँ — उमेरले ७० वसन्त पार गरिसक्दा पनि नेपालका पहिलो कम्प्यूटर वैज्ञानिक मुनीबहादुर शाक्य उत्तिकै तगडा देखिन्छन् । उनी अझै अध्ययन–अनुसन्धानमा लागिरहेका हुन्छन् । उनको जोस कुनै कमी आएको छैन ।

छायामा नेपालका पहिलो कम्प्यूटर वैज्ञानिक

घट्टेकुलोस्थित घर पुग्दा उनी लेखपढमै व्यस्त थिए । उनले आफ्नै घरमा विज्ञान तथा प्रविधि संग्रहालय बनाएका छन् । जहाँ विभिन्न वैज्ञानिक उपकरणहरु राखिएको छ ।

जिउँदो इतिहासका रुपमा रहेका शाक्य आफ्नो सम्मानपत्रले भरिएको कोठामा विभिन्न अध्ययनमा घोत्लिरहन्छन् ।

‘आफूले योगदान दिएबापत पाएका सम्मान हेर्दा खुसी त लाग्छ तर यसको उपयोग नभएको देख्दा भने मन पोल्छ,’ उनले भने ।

...

सन् १९४२ मा पाटन मंगलबजारमा जन्मिएका शाक्य सानैदेखि विज्ञानमा रुचि राख्थे। पढाइमा पनि अब्बल थिए । कक्षामा सधैं प्रथम नै हुन्थे । आफूले विज्ञान विषयमा पढेका कुराहरु परीक्षण गरिहाल्नुपर्ने उनको बानी थियो । चाहे त्यसका लागि जतिसुकै समय किन नलागोस् । विशेषगरी इलेक्ट्रिोनिक्समा उनी रुचि राख्थे ।

उनको विज्ञानप्रतिको भोक अझै पनि उस्तै छ । विज्ञान क्षेत्रमा सधैं अपडेट नै रहने गरेका छन् उनी ।

६–७ क्लासमा पढ्दा उनले एकदिन बिग्रेको इलेक्ट्रिकल मोटर आफैं बनाए । ‘त्यो मोटर चलेपछि यति खुसी भएँ की अरु पनि आविष्कार गर्न सक्छु भन्ने हिम्मत मिल्यो,’ उनले हौसिंदै सुनाए ।

विभिन्न परीक्षण गरेर सफलता मिल्दै गएपछि उनले इलेक्ट्रिकल इन्जिनियर बन्ने सपना देख्न थालिसकेका थिए । १४ वर्षकै उमेरमा एसएलसी पास गरेका उनले आईएस्सी त्रिचन्द्र कलेजबाट पूरा गरे ।

नेपालमा त्यतिबेला इलेक्ट्रिकल इन्जिनियरिङको पढाइ हुँदैन थियो । तर विज्ञान क्षेत्रको त्यो रुचिले उनलाई छोड्दै छोडेन । उनले जसरी पनि यो विषय पढ्छु भन्ने नै सोचे र उनी भारत गए ।

उनले हाँस्दै सुनाए, ‘त्यतिबेला अहिले जस्तो इन्टरनेट कहाँ थियो र ?अहिलेका विद्यार्थी कति भाग्यमानी । के विषय कहाँ पढ्ने इन्टरनटमै भेटाइहाल्छन् ।’

...

उनी सन् १९६० तिर भारत गए । १ वर्षसम्म कलेज खोज्नका लागि नै भौंतारिए । उनी सोच्थे सानो काम पाए त पढाइ अनि बस्नको लागि खर्च पुग्ने थियो । उनको परिवारको आर्थिक अवस्था राम्रै थियो । तर, उनले परिवारलाई बोझ बन्न चाहनेन् । ‘म त आफूलाई स्वावलम्बी भन्न रुचाउँछु । आफैं केही गरेर, केही बनेर देखाउँछु भन्ने चाहना थियो,’ उनले भने ।

खोज्दै जाँदा कलकत्तामा रेडियो इलेक्ट्रिोनिक्स इन्जिनियिरङ विषय भेटाए । कोर्स ५ वर्षको थियो । फी जम्मा २५ रुपैयाँ तर उनीसँग पढाइ खर्चका लागि पैसा थिएन । भाग्यवश उनले एक केबुल कम्पनीमा सुपरभाइजरको जागिर पाए । महिनाको ३०० रुपैयाँ । उनका लागि पढाइ र बसाइको राम्रो जोहो भयो । पढाइ अनि काममा उत्तिकै मिहिनेतका साथ खटे ।

‘त्यतिबेला समयको महत्व मैले राम्ररी बुझ्न सक्ने भएको थिएँ । एक मिनेट पनि खेर फाल्थिनँ,’ उनले भने । उनी आफ्नो पढाइ पूरा गरेर १९६७ तिर नेपाल फर्के ।

...

नेपाल फर्केलगत्तै उनले रेडियो नेपालमा असिस्टेन्ट इन्जिनियरको जागिर पाए । विभिन्न अन्तर्राष्ट्रिय वैज्ञानिकहरुसँग धेरै सिक्ने मौका पाए । रेडियो नेपालको हाइपावर ट्रान्समिटरहरु जडान गर्ने काममा उनको योगदान रहेको छ । सिंहदरबारभित्रको स्टुडियो, खुमलटारमा रहेको हाइपावर एन्टेनासहितको उपकारण जडानमा पनि उत्तिकै सक्रियताका साथ काम गरेका थिए उनले ।

‘खुमलटारमा राखेको रेडियोको तारहरु मलाई एकएक गरी सबै थाहा छ,’ उनले गर्वसाथ सुनाए ।

उनको कामप्रतिको लगनशीलता देखेर बेलायती सरकारले उनलाई छात्रवृत्ति मिलाइदिने भयो । उनले बेलायतमा चार्टर्ड इन्जिनियिरिङ पढ्ने मौका पाए । १९७०मा उनी अध्ययनका लागि बेलायत गए ।

आफ्नो जन्मदिनको दिन उनी बेलायत पुगेका थिए । उनले त्यहाँ पनि मन लगाएर पढे ।

‘छात्रवृत्तिमा पढ्न गएकाले होला मलाई जहिल्यै पनि आफ्नो देशको लागि केही गर्नुपर्छ भन्ने लागिरहन्थ्यो,’ उनले भने, ‘त्यहाँ धेरै अवसर हुँदाहुँदै पनि ३ वर्ष पछि म नेपाल नै फर्किएँ ।’

रेडियो नेपालबाट काम थालेका उनले राससमा पनि काम गर्ने मौका पाए । भाग्यले उनलाई साथ दिँदै लगिरहेको थियो । उनले विभिन्न अवसर प्राप्त गर्दै गए ।

सन् १९७८मा उनले फ्रेन्च सरकारबाट छात्रवृत्ति पाए । उनले डिजिटल इलेक्ट्रोनिक एन्ड माइक्रो कम्प्यूटरको स्पेशल कोर्स पढ्न पाउने भए । त्यहाँ पढेपछि उनले कम्प्यूटरबारे धेरै जानिसकेका थिए ।

त्यसपछि उनी अमेरिकामा सन् १९८० मा रिसर्च एन्ड डेभलपमेन्ट पढ्नका लागि गए । यो भ्रमण भने उनको आफ्नै खर्चमा थियो । त्यहाँ उनले सिलिकन भ्यालीमा काम गर्ने अवसर पाए । त्यहाँ पनि उनका लागि अवसरका ढोकाहरु निकै भएपनि आफ्नै देशको मायाले उनलाई डोर्‍यायो । र पुनः नेपाल नै फर्किए ।


आविष्कारमा पाइला

उनकै शब्द सापटी लिएर भन्नु पर्दा उनी यहाँसम्म हिँडेर होइन दौडिएर पुगेका हुन् ।

मुनी भन्छन् , ‘आफैं मिहिनेत गर्नुपर्छ । सफल हुनका लागि परिश्रम गर्न कहिल्यै छोड्न हुन्न ।’

फ्रान्सबाट कम्प्यूटरसम्बन्धी ज्ञान लिएर आएपछि उनले सन् १९७९ मा नेपालकै पहिलो माइक्रो कम्प्यूटर बनाउन सफल भए । उनका अनुसार त्यतिबेलासम्म साउथ एसियाको कुनै पनि राष्ट्रले कम्प्यूटरको क्षेत्रमा त्यति फड्को मारेका थिएनन् ।

त्यो आविष्कारपछि उनको चर्चा चुलिन थाल्यो । अन्तर्राष्ट्रिय मिडियामा पनि उनको चर्चा हुन पुग्यो । मुनी आफूले बनाएको कम्प्यूटरका बारेमा त्यतिबेलाका तत्कालीन योजना आयोगका प्रमुख रत्नशमशेरले प्रशंसा गरेको सम्झन्छन् ।

त्यसपछि उनले विभिन्न किसिमका कम्प्यूटर आविष्कार गर्दै गए । सन् १९७९ मा माइक्रो कम्प्यूटर बनाएका उनले सन् १९८३ मा देवनागरी कम्यूटर, सन् २००६ मा सुपर कम्प्यूटर र २००९ मा ग्रीन कम्प्यूटर बनाए ।

उनलाई सबैभन्दा खुसी दिने आविष्कार कुन हो त भन्ने प्रश्नमा सन्तुष्टिको भावमा मुनीले भने, ‘पक्कै पनि मान्छे बचाउने ग्रीन कम्प्यूटर हो ।’

नेपालमा टेलिमेडिसिनको सुरुवात गरेका मुनीले कर्णाली क्षेत्रमा सामान्य झाडापखालाले पनि मान्छे मरिरहेको खबर सुनेपछि उनले त्यहाँका मानिसलाई सहयोग पुग्ने गरी केही आविष्कार गर्ने सोच बनाए । त्यसपछि उनलाई ग्रीन कम्प्यूटर बनाउने आइडिया फुर्‍यो ।

त्यतिबेला लोडसेडिङको मार खेपिरहेका थिए नेपालीले । उनले कम वाटमा चल्ने कम्प्यूटर बनाउने सोचे । यो कम्प्यूटर ३५ वाटबाट मात्र चल्ने गरेको छ । उनले कालिकोटमा पहिलो कम्प्यूटर पठाए । त्योसँगै ४ बाकस औषधि पनि । हप्ताको एकपटक मानिसहरु स्वास्थ्यचौकीमा आइपुग्थे । त्यहाँ कम्प्यूटरमा हेरेर काठमाडौँमा रहेका चिकित्सकहरुले बिरामी जाँच्थे र त्यसैअनुसार औषधि दिइन्थ्यो । यसले त्यहाँको बासिन्दालाई निकै फाइदा पुग्यो ।

मुनीलाई अहिले पनि त्यहाँका बासिन्दाले सम्झिन्छन् ।


मेरो स्थान कहाँ?

नेपालका पहिलो कम्प्यूटर वैज्ञानिक भनेर वाहवाही कमाएका मुनीका आविष्कारहरु आज एउटा कोठामा थन्‍किएर बसेका छन् । आफूले आविष्कार गरेका उपकरण र सीप सरकारले उपयोग गर्न नसकेकोमा दुःखेसो पोख्छन् उनी ।

उनलाई आफ्नो ज्ञान नयाँ पुस्तालाई बाँड्‌न मन छ । तर, यसमा सरकारले कुनै चासो र सहयोग छैन । उनको ज्ञान, सीप र आविष्कार उनको एउटा कोठाको संग्रहालय र उनको मस्तिष्कमात्र स्टोर भएका छन् ।

उनले आफूले खोलेको विज्ञान तथाप्रविधि संग्रहालयलाई सरकारले पनि सहयोग गरिदिओस् भन्ने इच्छा राखेका छन् ।

मुनी प्रश्न गर्छन्, ‘मैले नेपालको विश्वमा यति नाम राखें, आविष्कार गरें । तर, मेरो स्थान खोइ कहाँ छ ?’

उनले करिब ३४ वर्षअघि हाइटेक पायोनिर नामको पहिलो कम्प्यूटर बनाउने कम्पनी खोलेका थिए । कम्प्यूटर बाहेक आवाजबाट पानी तान्ने मेसिन, नेपाली बोल्ने रोबोटलगायत दर्जनौं उपकरण आविष्कार गरेका छन् उनले । कुनै समय उनले बनाएको कम्प्यूटर कृषि विकास बैंक ,नेपाल बैंक तथा अर्थ मन्त्रालयले समेत किनेर लगेको उनी बताउँछन् । तर पछि कसैले पनि उत्पादनमा चासो नदिएकोमा भने उनको गुनासो रहेको छ ।

उनले आफ्नो संग्रहालयमा अवलोकनका लागि टिकटको व्यवस्था गर्ने सोच बनाएका छन् ।

उनलाई इन्जिनियरिङ पढेका युवाहरु बेरोजगार बसेकोमा चिन्ता लाग्छ ।

उनी भन्छन्, ‘मेरो आविष्कारलाई सरकारले सहयोग गरेको खण्डमा धेरै युवाहरु अहिले रोजगारी गरिरहेका हुन्थे ।’

२१ औँ शताब्दीको युगमा विज्ञान तथा प्रविधिले धेरै फड्को मारिसक्दा पनि नेपालमा भने विज्ञान र प्रविधिमा अझै पनि सरकारले उचित ध्यान नदिनु दुर्भाग्यपूर्ण रहेको उनको तर्क छ ।

‘हाम्रा विद्यार्थीहरु पनि अब्बल छन् । प्रविधिमा नयाँ क्रान्ति थपिन सक्छ । तर सरकारले यसको महत्व बुझेको छैन,’ उनले दुःखी हुँदै भने, ‘कृषिप्रधान देश भनिन्छ तर अझै पनि पुरानै किसिमले खेतीपाती गरिँदै आएको छ । युवाहरु विदेशिएका छन् । खेत बाँझै छन् । हामीले आफ्नै देशमा खेतीपातीका लागि उपकरण उत्पादन गर्न सक्छौं । तर यसमा पहल लिने कसले ?’

प्रकाशित : माघ १, २०७६ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?