‘ठीक भएपछि घुम्न जान्छु’

कोहलपुर दुर्घटनामा खुट्टा गुमाएकी प्रकृतिका एक महिना
बुनु थारु

काठमाडौँ — २०७६ मंसिर २२ गतेको त्यो भयानक ट्रक दुर्घटना नभएको भए सायद आज कोहलपुरकी ११ वर्षीया प्रकृति चन्द नियमित विद्यालय गइरहेकी हुन्थिन् होला । आफ्ना साथीभाइसँग खेल्दै रमाइरहेकी हुन्थिन् होला ।

‘ठीक भएपछि घुम्न जान्छु’

तर, त्यो घटनाले उनलाई आज अस्पतालको शैयामा पुर्‍याएको छ । त्यो एक दिनले जीवन नै कायापलट पारिदिएको छ । उनले दुवै खुट्टा गुमाउन पुगिन् ।सधैँ हाँसीखुसी विद्यालय जाने प्रकृति कहिले अस्पतालबाहिर जान पाइएला भन्ने प्रतिक्षामा छिन् ।

ललितपुरको बी एन्ड बी अस्पतालको पाँचौं तल्लाको रुम नं ५२७ को ३ नं बेडमा छिन् प्रकृति । दुई चुल्ठी बाँटेकी प्रकृति नीलो ब्ल्याङ्केट ओढेर बसिरहेकी थिइन् । आमा भगवती शाहीले कपाल मिलाइदिँदै थिइन् ।

बेडको छेउमा पिसाब थैली झुण्डिएको देखिन्छ ।

आमा भगवतीका अनुसार पहिलेभन्दा प्रकृति तंग्रिएकी छिन् । भगवतीको अनुहार पनि पहिलाभन्दा उज्यालिएको देखिन्थ्यो । सायद त्यो दिनको सम्झना उनले बिस्तारै भुल्दै गइरहेकी छिन् ।

एकछिनमा प्रकृति आइप्याडमा गेम खेल्नमा व्यस्त हुन थालिन् । दुर्घटनापछि अस्पताल बस्दा उनका सारथी भनेका मम्मी र आइप्याड नै बनेका छन् ।

‘आइप्याडमा के–के हेर्न मनपर्छ प्रकृति ?’ उनले सानो स्वरमा मोटुपत्लु, कमेडी सिरियल र गीत हेर्न मज्जा लाग्ने बताइन् ।

भगवती छेउको मुडामा बस्दै भनिन्, ‘बेडमा हुँदा मोबाइल मागेर साह्रै जिद्धी गरेपछि उसको फुपुले आइप्याड ल्याइदिनुभयो । मन भुलाउने उपाय भएको छ ।’

...

दुर्घटना भएको मंगलबार एक महिना पुगेको छ । उनलाई हिजोमात्रै आइसियुबाट साँझ जेनरल वार्डमा सारिएको हो ।

प्रकृतिको घाउ निको हुने क्रममा छ । पहिलाभन्दा धेरै बिसेक पनि भएको छ । ‘एउटा खुट्टाको घाउ त पुरिसक्यो, अर्को घाउ पनि छिट्टै निको हुन्छ होला,’ यति भन्दा भगवतीको अनुहारमा खुसीको भाव देख्न सकिन्थ्यो ।

आइसियुमा १ महिना रहँदा प्रकृतिलाई एक प्रकारको मानसिक आघात पुगेजस्तै भइसकेको थियो । घाउ नदुखे पनि दुखेजस्तो हुने अनि रुने कराउने गर्थिन् प्रकृति । आमा भगवती भन्छिन्, ‘घाउ निको भए पनि मानसिक रुपमा घाउ दुख्ने भन्ने भएको रहेछ, रुने गर्थी ।’

जेनरल वार्डमा सारिएपछि प्रकृति रमाउन थालेकी छिन् । खाना पनि मज्जाले खान थालेकी छिन् । ‘ज्ञानी भएकी छे, बिरामी बच्चा अलि पनि खुसी हुँदा आफूलाई पनि खुसी लाग्ने रहेछ,’ भगवतीले हाँस्दै भनिन् ।

आइसियुमा एकै ठाउँमा रहँदा प्रकृतिलाई ‘मोनोटोनस’ भएकाे रहेछ । त्यसमाथि औषधिको डोज पनि बढी नै थियो । प्रकृतिलाई वार्डमा सारिएपछि रमाएको देखेर नर्स र डाक्टर पनि खुसी देखिएका छन् । माथिल्लो तल्लाबाट बाहिरी दृश्य देखिन्छ । मान्छेको चहलपहल पनि । खुल्ला महसुस गर्न पाएकी छिन् प्रकृतिले ।

प्रकृतिलाई गेम खेल्न, नाच्न, पढ्न मनपर्ने बताउँछिन् । उनलाई साइकल पनि चलाउन मनपर्छ साथै फोटो खिच्न । ‘आइसियुमा भएका बेला त मोबाइल पाएपछि सेल्फी खिचेर बस्थी,’ आमा सुनाउँछिन् ।

स्कुलमा हुने विभिन्न अतिरिक्त क्रियाकलापमा भाग लिएको सम्झिन्छिन् उनी । ‘हामी एकचोटी हाजिरीजवाफ प्रतियोगितामा दोस्रो भएका थियौँ नी,’ प्रकृतिले हौसिँदै सुनाइन् ।

प्रकृतिलाई स्कुल अनि आफ्ना मिल्ने साथीहरुको याद आइरहन्छ । दिप्चना र राधिका उनका मिल्ने साथी हन् । सायद घरपरिवार अनि साथीको यादले होला उनको अनुहार त्यति खुलेको देखिदैन । तर पनि उनी हाँस्न खोज्छिन् ।

उनी समय–समयमा मम्मीलाई सोध्ने गर्छिन्, ‘मम्मी स्कुल लागेको होला है, जाँच पनि आउँदै होला है ?’

भगवतीले पछि पनि परीक्षा दिन मिल्छ भनेर उनको मन बुझाउने प्रयास गर्छिन् ।

प्रकृतिसँग कुरा गर्दा उनलाई बेडमा बस्न पटक्कै मन नभएको जस्तो देखिन्छ । बेलाबखत बाहिर पनि हेर्छिन् । चकचक गरिरहिन्छन् उनी ।

उनलाई पनि बाहिर गएर खेल्न मन हुँदो हो, बा–आमाको हात समाएर घुम्न मन हुँदो हो । तर उनी मन हुँदाहुँदै पनि आफ्नो चित्त बुझाउन बाध्य छिन् ।

...

बाबा आउने खबरले औधी खुसी थिइन् प्रकृति । उनका आँखा भित्तामा झुण्ड्याइएको घडीमा घरीघरी परिरहेको थियो । बारम्बार मम्मीलाई ‘बाबा कति बेला आउनुहुन्छ ?’ भनेर सोधिरहेकी थिइन् ।

मौसम खराबीका कारण उनका बाबा अलि ढिलो आउने भएका थिए ।

आइसियुमा रहँदा उनलाई छेउकी एकजना आन्टीले कलरिङ बुक पनि ल्याइदिएकी रहिछन् । उनले केही चित्रहरुमा कलर पनि लगाएकी छिन् । कलरिङ बुक हेर्दे बोलिरहेकी प्रकृतिले बाबाले घडी ल्याइदिने भन्ने कुरा सुनाइन् ।


‘मलाई चेन भएको सानो घडी लाउन मनपर्छ,’ उनले खुसी हुँदै भनिन् । दुई घण्टाको बसाइमा पहिलोपटक उनको मुहारमा मुस्कान देखिएको थियो ।

चिकित्सकले उनलाई धेरै खानेकुरा बार्न लगाएका छैनन् । ठीक साढे १० मा फुपुले खाना ल्याइदिइन् । एकछिनमा आमाले थालमा साग, दाल, मासु अनि भात हालिदिइन् । प्रकृतिले ज्ञानी बच्चा बनेर कुपुकुपु खाइन् ।

बेलाबेलामा ओढेको ब्ल्याङ्केट तल सार्छिन् प्रकृति । अहिले आफूलाई के भएको हो थाहा पाइसकेकी छिन् उनले । भगवती भन्छिन्, ‘सुरुमा उसलाई दुःख लाग्ला भनेर खुट्टा काटिएको कुरा भनेनौं । घटनाको १५–१६ दिनपछि उसले आफै थाहा पाई ।’

अनि थाहा पाउँदा उसले के भयो भन्ने प्रश्नमा भगवती भन्छिन्, ‘सुरुमा थाहा पाएपछि डाक्टरलाई काटिएको खुट्टा किन दुख्छ भनेर सोधेकी रहिछे ।’

नर्स बन्ने इच्छा छ प्रकृतिको । धेरै पढ्न मन छ । त्यसैले उनी बारम्बार आफू स्कुल गएको सम्झिरहन्छिन् । ‘म त आफै कोरिबाटी गरेर स्कुल जान्थे ।’ प्रकृतिले बेडमा पल्टेर गेम खेल्दै कुरा गरिरहेकी थिइन् । ‘म दुई हप्तामा ठीक हुन्छु रे ! त्यसपछि त घुम्न जाने,’ उनी प्रफुल्ल मुद्रामा भन्छिन् ।

...

छोरीको स्याहार सुसारमा आमा भगवती दिनरात नभनी खटिएकी छिन् । प्रकृतिका बाबा कामले गर्दा धेरै पटक आउन पाएका छैनन् । उनको कोहलपुरमा खाजा पसल छ ।

भगवती छोरीको खुट्टा हेर्दै भन्छिन्, ‘पहिला बानी पार्न प्लास्टिकको खुट्टा हाल्दिने सोचेका छौँ, त्यसपछि अलि बलियो हाल्दिने विचार छ ।’

यस अवधिमा प्रकृतिलाई हिृवलचियरमा बसाएर अस्पताल भित्र घुमाएको भगवती बताउँछिन् । ‘उसलाई बाहिर जाने रहर छ, उसको बाबा आएपछि यसो हावा खुवाउन लाने भनेर सोचेकी छु,’ उनले भनिन् ।

प्रकृतिलाई युट्यबुमा उक्त घटनाको पनि भिडियो छ भनेर कसले सुनाएछ, आफ्नो भिडियो हेर्ने भनेर ढिपी गरिरहेकी थिइन् । छेउकी एक दिदीले आइप्याडमा युट्युब खोलेर देखाइदिइन् । उनी त्यो दृश्य देखेर नमज्जाले भक्कानिइन् । अझै पनि प्रकृतिलाई त्यो घटनाले गहिरो छाप छोडेको छ । आमा भगवती कृत्रिम खुट्टा राख्ने अनि तीन पांग्रे स्कुटीमा स्कुल जानुपर्छ भनेर सम्झाउने गर्छिन् ।

छिनमै आगन्तुकसित घुलमिल भइहाल्ने प्रकृतिले जाँदा जाँदै मुसुक्क हाँस्दै भनिन्, ‘अर्कोचोटी आउने बेला कलर पेन्सिल र कलर बुक ल्याइदिनुस् है दिदी ।’

एक महिनाको अवधिमा प्रकृतिको खुट्टाको घाउ त पुरिदैछ । मनको घाउ भने कहिले पुरिने हो थाहा छैन !


यो पनि पढ्नुहोस्ः

कोहलपुर घटना : जसलाई खुट्टा गुमेको थाहा छैन

तस्बिरहरु : अंगद ढकाल

प्रकाशित : पुस २३, २०७६ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?