चित्रको कथा : पृथ्वीनारायणको चित्रमा चोरी औंला कसरी ठडियो ? 

पृथ्वीनारायणको चित्र बनाउने कलाकार केके कर्माचार्यसँग संवाद
केके कर्माचार्य

काठमाडौँ — आज पुस २७ पृथ्वीजयन्ती । पृथ्वीनारायण शाह भन्नासाथ दिमागमा आउने पहिलो चित्र हो, औंला ठड्याइरहेको राजाको । उनका सालिक हुन् वा फोटो, सबैमा रोबदार तरिकाले उभिएका, औंला ठड्याइरहेको यो चित्र बन्यो कसरी ? ठडिएको औंलाको अर्थ के हो ? हुलाक टिकटका लागि यो चित्र डिजाइन गर्ने कलाकार केके कर्माचार्यको स्मृति :

अक्षर र तिथिबाहेकको इतिहास कलाले बताउँछ । चित्र केबल चित्रमात्र होइन इतिहास पनि हो । कपाल, आँखा, अनुहार, आभूषण, बसेको र उभिएको ठाउँले इतिहासको कथा भनिरहेको हुन्छ । जान्नेहरुले तस्बिरमा देखिने आभूषणबाटै कुन लिच्छवीकालीन, कुन मल्लकालीन र कुन शाहकालीन समय हो छुट्याउँन सक्छन् ।

शब्दले मात्र इतिहास बन्दैन । पात्रको क्यारेक्टर चित्रमा आउनुपर्छ । पृथ्वीनारायणको चित्रमा साधारण श्रीपेचमात्र लगाएको भए त्यसले कस्तो इतिहास बताउँथ्यो होला ?


पृथ्वीनारायण शाहको बारेमा पढ्नुपर्‍यो भने शब्द चाहियो । तर, शब्दले सम्पूर्ण दृश्य दिँदैन । चित्रको भाषा यहाँ महत्वपूर्ण हुन्छ । यसैकारण शब्दभन्दा चित्र बलियो हो भनिन्छ ।


पृथ्वीनारायणका दुई चित्र, दुई मुद्रा

इतिहासकार बाबुराम आचार्यले फेला पारेको पृथ्वीनारायणको सबभन्दा पुरानो चित्र


अब पृथ्वीनारायण शाहको दुई अलक समयको फोटोको चर्चा गरौं ।


पहिलो तस्बिर इतिहासकार बाबुराम अचार्यले भेटेका हुन् भनिन्छ । यसमा पृथ्वीनारायण फूल समाएर सिंहासनमा साधारण राजा जसरी विराजमान छन् ।


यो चित्र बनाउने कलाकार अज्ञात छन् । पृथ्वीनारायणको यही चित्र प्रचारमा आएको सबभन्दा पुरानो चित्र हो । यस चित्रको क्यारेक्टर साधारण छ । पृथ्वीनारायण शाह भनेर लेखेकोमा यो सबभन्दा पुरानो हो । यसकारण यसको चर्चा निकै चल्यो ।


राजाको फोटो लिने भनेपछि राम्रो बनाउनुपर्‍यो भन्ने थियो । राम्रो बनाउन केही त चाहियो । अनि हातमा फूल राखेको हुनुपर्छ । यो भारतीय प्रभाव हो । भारतका पुराना राजाहरुको चित्र प्रायः यस्तै प्रकारका हुन्छन् ।


मेरो अनुमानमा फूल भएको कारण यो पोट्रेट पृथ्वीनारायण जीवित भएको बेलामा बनाएको हुनुपर्छ । अनुमान गर्ने आधारहरु छन् । यसको परम्परागत शैलीले नै उनी जीवित हुँदै बनाएको भन्ने भन्छ । बाबुराम अचार्यले पनि यही आधारमा जीवित हुँदा बनाएको भन्छन् । चित्रमा मुगलको जस्तो रानीहरु वरिपरि छैनन् ।


महेन्द्र राजा भएपछि पृथ्वीनारायण शाहको चित्रको खोजी हुनथाल्यो । चित्रको खोजी गर्दा त्यही फूल भएकोमात्र भेटियो । पञ्चायत व्यवस्था, राष्ट्रिय विभूति र पृथ्वीनारायणलाई प्रचार गर्ने पनि महेन्द्रकै कन्सेप्ट हो त्यसबेला । पृथ्वी जयन्ती मनाउने चलन पनि यसैबेला सुरु भएको हो । पहिला पृथ्वी जयन्ती त्यस्तो मनाइँदैन थियो । महेन्द्र राजा भइसकेर पञ्चायतको व्यवस्था गरिसकेपछि यस्ता कुरा धेरै आएका हुन् ।


महेन्द्रले यो चित्र परम्परागत भयो, प्रभावकारी भएन भने । चित्रले पृथ्वीनारायणले एकीकरण गरेको हो भन्ने कुरा कतै देखाउँदैन थियो । त्यसबखतको चित्र बनाउने शैलीले जयप्रकाश मल्ल र पृथ्वीनारायणको चित्र उस्तै देखाउँथ्यो । पूरै अनुहार पनि आएको थिएन । यो चित्रमा देखाइएको श्रीपेचको डिजाइन पनि लोकल हो, गोरखाकै ।


महेन्द्रले बनाउन लगाएको दोस्रो चित्र


पृथ्वीनारायणलाई एकीकरण गरेका फरक राजा हुन भनेर कसरी देखाउने त ? उनको चित्र त्यस्तो थिएन ।

२०२४ सालतिर टिकट पृथ्वीनारायणको टिकट निकाल्ने भइयो । म हुलाक टिकटको डिजाइन गर्थे त्यसबेला । त्यही भएको पुरानो चित्रमा फूल हटाएर मैले नै औंला राखें ।


टिकटको आर्ट गर्ने एकजनाले हो । तर, कस्तो गर्ने भन्ने के कसरी गर्ने भन्ने बैठकले अगाडि नै पास गर्थ्यो । मिटिङले पास गरेको डिजाइनअनुसार मैले चित्र बनाएँ । अनि नेपाल एकीकरण गरेका फरक राजा हुन् भनेर चित्रले छुट्यायो ।

यो चित्र बन्यो कसरी त ?


पहिलेको बजारको चित्र त्यति राम्रो भएन पृथ्वीनारायणको एकीकरणकर्ताको छविअनुसारको चित्र परिकल्पना गर्नुपर्‍यो भन्ने कुरा भयो । अमर चित्रकार दरबारको सबै चित्र कोर्नुहुन्थ्यो त्यसबखत । उहाँलाई बालकृष्ण समले दरबारभित्र पुर्‍याउनु भएको थियो ।


उहाँ दरबार पुग्नुअघि दरबारको मात्र छुट्टै आर्टिस्ट भन्ने कोही थिएन । उहाँ पुगेपछि नै शाह राजाहरुका पोट्रेट भटाभाट बन्न थालेको हो ।

२४ सालमा जारी गरिएको केके कर्माचार्यले बनाएको पृथ्वीनारायणको नयाँ चित्रको हुलाक टिकट ।

पृथ्वीनारायणको यो नयाँ चित्र बनाउन त्यसबेलाको सरकारले निर्देश गरेको थियो । पृथ्वीनारायणलाई लडाकु, अलि बहादुर देखाउनुपर्‍यो भन्ने थियो । पहिलेको चित्रमा त यो कुरा देखिएन । बहादुर देखिनको लागि यो नयाँ चित्र बनाउन लगाएको हो ।


यो तस्बिर अहिलेको यूरोपियन शैलीमा छ । यसलाई आधुनिक भन्नुपर्छ । राजाको त चिउडो तल पोटिलो मासु भएको देखाउनुपर्‍यो । फुर्तिलो देखाउनुपर्‍यो । अनि यस चित्रमा त्यस्तै देखाइयो ।


अहिलेको समयमा सबै ठाउँमा यसैको प्रचार छ । स्कूलका विद्यार्थीले पृथ्वीनारायणलाई चिन्ने यही फोटोको मार्फतबाट हो ।


यसमा हातहतियारसहित श्रृंगारिएको छ । आभूषण छ । बहादुरीपन छ । औंला राख्नुको अर्थ यो राजाले एकीकरण गरेको हो भन्ने कुरा देखाउनको लागि हो । पृथ्वीनारायण त नेपालको इतिहासमा अरुभन्दा भिन्न राजा हुन नि त !

उनको पहिचान कसरी गर्ने ? औंलाको चित्रले पृथ्वीनारायणलाई पहिचान दियो ।


यो चित्र हर्ने मानिसका लागि चित्रको सन्देश हो– एकीकरण । पहिलेको फोटोले एकीकरणको म्यासेज दिँदैन थियो । फूलको ठाउँमा औंला थपेर एकीरणको सन्देश दिइयो । पृथ्वीनारायणको योगदान के त भन्दा एकीकरण । अनि मैले त्यो औंला थपिदिए ।


यस्तो सन्देश आमजनतालाई भन्दा पनि सैनिकलाई बेसी आवश्यक हुन्छ । सौनिकलाई जुरुक्क पार्ने फोटो चाहियो । जनताले त एक दिन पृथ्वी जयन्ती मनाउँछन् । त्यसपछि सकियो । सेनाका त कार्यालयमा अहिले पनि ठूलाठूला फोटा सजाएर राखेका हुन्छन् ।

कलाकार केके कर्माचार्य


चित्रमा राजालाई नेवारजस्तो वा गुरुङजस्तो पनि देखाउन सकिन्थ्यो नि ! वा इन्डियन जस्तो पनि देखाउन सकिन्थ्यो तर क्षेत्रीय देखाइयो । यो पछिल्लो तस्बिर राजा यस्तो हुनुपर्छ भनेर कल्पना गरेर बनाइएको हो ।

समयसँगै चित्रमा यसरी परिवर्तन भयो ।


त्यसबेलाको पृथ्वीनारायण शाहको निर्देशित अनुहार अहिलेको गणतन्त्रमा पनि प्रयोग हुन्छ । नयाँ चित्र बनाएको छैन । यसलाई परिवर्तन गरेर नयाँ बनाउन नसकिने त होइन । तर, गरिएन । किन गरिएन यो प्रश्न नै छ । अनि अर्को महत्वपूर्ण प्रश्न हो अहिले फेरि पृथ्वीनारायणको चित्र बनाइयो भने कस्तो बन्ला ? वा कस्तो बनाइएला ?


(नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यसँग रवीन्द्र ढकालले गरेको कुराकानी ।) प्रकाशित : पुस २७, २०७६ ११:३४

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सभामुखको उम्मेदवार टुंग्याउन ओली–दाहाल बालुवाटारमा

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको रिक्त सभामुखमा पार्टीको उम्मेदवार टुंग्याउन सत्तारुढ दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भइरहेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा एक घण्टादेखि जारी छलफलमा प्रतिनिधिसभाको सभामुख र उपसभामुखको उम्मेदवारका विषयमा छलफल भइरहेको बताइएकाे छ ।

नेकपा सचिवालयको शनिबार बसेको बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन निर्देशन दिएको थियो । तुम्बाहाङ्फे तत्कालीन नेकपा एमालेबाट उपसभामुख बनेकी हुन्। उपसभामुख तुम्बाहाङ्फेले भने आफूले राजीनामा नदिने र आइतबारको बैठक आफै‌ंले चलाउने इकान्तिपुरलाई शनिबार बताएकी थिइन् ।

कृष्णबहादुर महराले गत असोज १४ गते राजीनामा दिएपछि प्रतिनिधिसभा सभामुखविहिन छ । नेकपामा सभामुखका लागि वर्तमान उपसभामुख तुम्बाहाङ्फे, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र अग्नी सापकोटा आकांक्षी छन् ।

प्रकाशित : पुस २७, २०७६ ११:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×