२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

'छपाक'ले आलो बनाएको संगीताको घाउ

रीना मोक्तान

काठमाडौँ — पर्दामा मालती अग्रवाल (दीपिका पादुकोण)लाई एसिड छ्यापिएको दृश्य सुरु हुन्छ । मालतीको चिच्याहटले हलको माहोल सुनसान छ। मालती छटपटाइरहेकी छन्। 

'छपाक'ले आलो बनाएको संगीताको घाउ

‘छपाक’को यो दृश्य हेर्दै गर्दा एसिड पीडित संगीता मगरको आँखामा आँशु टिलपिलाए । आफूलाई एसिड हानिएको २०७१ फागुन १० उनले सम्झिइन् । त्यसदिन उनीमाथि मालतीलाईझैं एसिड प्रहार गरिएको थियो । सायद यसैगरि छटपटिएकी थिइन् संगीता ।


त्यो पीडा फेरि कल्पना गरेर होला उनको मन पनि छटपटाएको थियो । दृश्य हेरिरहँदा उनले मुठ्ठी कसेर बसेकी थिइन् । लामो सास फेर्दै एकटक पर्दातिर आँखा पुर्‍याइन् । हल अँध्यारो थियो । तर, अँध्यारोमा पनि उनको आँखामा लामो समय लुक्न सकेन । ब्यागबाट टिस्यू झिक्दै आँशु पुछिन् । कसैले देख्ला भनेर होला बेलाबेला नजिकै रहेकापट्टी आँखा डुलाउँथिन् । फेरि भिजेका आँखा पर्दातिरै पुर्‍याउँथिइन् ।


हलको अँध्यारोमा प्रवेश गर्नुअघि उनको मुड यति खराब थिएन । 'छपाक'बारे सुने पनि यसले आफ्नै घाउलाई आलो बनाइदेला भन्ने सायद उनले सोचेकी थिइनन् ।


‘म आइपुगें दिदी,’ त्यो बोली मोबाइलमा सुनिनासाथ म कुमारी हलको गेटमा पुगें । कालो टोपी अनि कालै मास्क लगाएकी एक युवती ट्याक्सीबाट बाहिर निस्किइन् । कालो जिन्स, त्यसमाथि ज्याकेट । कानमा इएर फोन ।


'छपाक' हेरेर निस्किएपछि नै मैले संगीता र सीमालाई सम्झिएकी थिएँ । उनीहरुमाथि एसिड छ्यापिएका समाचार र फोटो हेर्दा नै मलाई सिरिङ भएको थियो । पछि लाग्यो पक्कै उनीहरुले पनि फिल्म हेरे होलान् । फोन गर्दा थाहा भयो, सीमा भारतमा रहिछन् । संगीताले फिल्म हेर्ने समय नमिलेको बताइन् । त्यो समय मिल्यो मंगलबार।


फिल्म सुरु भएको ५ मिनेट भइसकेको थियो । त्यसैले हतार गर्दै हलभित्र छिर्‍यौं । संगीता देब्रेतिरको सिटमा बिसिन् । पर्दामा पहिल्यै फिल्मका दृश्य चलिरहेको थियो । ध्यान पर्दाको दृश्यले तानियो ।


फिल्ममा रुवाउने दृश्यमात्र थिएन । कति हसाउने दृश्यमा मन खोलेर हाँसिन् संगीता । संगीता हलमा गएर खासै फिल्म हेर्दिनन् । घरमै ल्यापटपमा बलिउड हलिउड फिल्म हेर्न रमाइलो मान्छिन् । तर, 'छपाक' रमाइलोसँगै पीडा सम्झाउने फिल्म थियो उनका लागि । त्यसैले जब एसिड छ्यापिएको कुनै दृश्य पर्दामा आउँथ्यो उनी गम्भीर हुन्थिन् ।



फागुन १० गतेको त्यो बिहान संगीता बसन्तपुरको ट्युसन सेन्टरमा थिइन् । १० कक्षामा पढ्थिन् । यसरी नै जीवन विकले उनीमाथि एसिड छ्यापेका थिए । एसिड छ्यापिएपछि खासै छटपटाएको त्यो क्षण उनलाई याद छैन । धमिलो याद छ, आफूले लगाउँदै गरेको ज्याकेट बाटैमा खोलेको । रुँदै घर पुगेको ।


उनलाई एसिडले अनुहार पोल्दाको पीडा अनुभव छ । अनुहारमात्र होइन सपना जल्दाको पीडा उनलाई थाह छ । त्यसपछिको संघर्षका कथा त उनीसँग अथाह छ ।


आँखाबाट निरन्तर आँशु बग्न थालेपछि खुसुक्क कानमा भनिन् 'आँखामा धेरै हावा गएपछि यसरी आँशु झरिरहन्छ ।'

आमाले दीपिकालाई स्याहार सुसार गरेको दृश्यले उनलाई निकै भावुक बनायो । दृश्यमा उनले आमा चमेलीको माया ममता अनि त्यो दिक्दारै नमानी स्याहार गरेको क्षण सम्झिन् । त्यहीबेला उनको फोन बज्यो । गजबको संयोग के थियो भने फोन उनकी आमाकै थियो । उनले आमालाई आफू फिल्म हेरेर चाँडै घर फर्कने बताइन् ।


फिल्ममा ब्रेक भएर हलमा बत्ती बलेपछि हलको ढोकामा उभिएकाहरुले अनौठौ तरिकाले उनलाई हेरिरहेका थिए ।

फिल्ममा एक दृश्य छ, दीपिकाको जलेको अनुहार देखेर एक बच्चा डराएको । मैले उनलाई सोधें, 'यस्तो घट्ना त भयो होला है ?'


'त्यस्तो त कति हो कति । मान्छे तर्सिने, बच्चाहरु डरले चिच्याउने धेरै भए,' गम्भीर भावमा सुनाइन्, 'नरमाइलो फिल हुन्छ किन यस्तो भयो भनेर । मैले अनुहार देखाएर हिँड्न थालेको धेरै समय भएको थिएन । एकचोटी इन्डिया काम गर्न जाँदा एकजनाले भन्यो- यस्तो अनुहार किन देखाएर हिँडेको, छोपेर हिँड।'


यस्ता घटनाहरुले सुरु-सुरुमा उनलाई निराश बनाउँथे । लामो समय अनुहार छोपेर हिँडिन् । जलेको भाग नदेखियोस् भनेर लामो कपडाले शरीर ढाक्थिन् । आफ्नो अनुहार हेरेर मुख बिगार्नेहरुबाट तर्कन्थिन् । तर, पछिबाट त्यस्ता प्रतिक्रियालाई वास्ता गर्न छोडिन् । 'बाटोमा हिँड्दा हेरिरहेका हुन्छन् । कानेखुशी गरिदिन्छन् । उनीहरु कुरा काट्दै गर्छन् म एयरफोन कानमा हालेर गीत सुन्दै आफ्नो बाटो लाग्छु,' उनी निर्धक्क सुनिइन् ।



फिल्ममा एउटा दृश्य छ जहाँ प्रहरीले दीपिकाको मोबाइल पुरुष नामहरुले भरिएको छ भन्छन् । समाजले सुरुमै महिलालाई दोषी देख्ने दृश्य संगीताको जीवनसँग मेल खान्छ । 'मलाई पनि प्रेमका कारण एसिड हानिएको भनेर प्रहरीले पत्रकारहरुलाई भनिदियो । अनि सबैले त्यही लेखे,' उनले भनिन् ।


प्रेम र जातीय भेदभावलाई उक्त घट्नासँग जोडिए पनि वास्तविकता त्यस्तो नरहेको संगीताले बताउँदै आएकी छिन् । 'कुनै पनि केटीलाई केटाले केही गर्छ भने प्रेमसम्बन्ध नै भनेर सोच्दारहेछन् । हाम्रो समाजको सोच भनौं न,' उनले भन्दै आएको कुरा हो ।


फिल्ममा वास्तविक एसिड पीडितलाई पनि दीपिकासँग खेलाइएकोमा संगीतालाई निकै चित्त बुझ्यो । 'फिल्ममा एसिड अट्याक सर्भाइभरलाई पनि एक्टिङ गर्न दिएको छ । त्यो राम्रो लाग्यो । त्यत्रो ठूलो सेलिब्रिटीसँग अभिनय गर्न दिएको छ । हामीलाई त अनुहार बिग्रेको छ भन्दै कति ठाउँमा राख्दा पनि राख्दैनन्,' उनले भनिन् ।


फिल्मबाट जीवनमा कहिल्यै हार मान्नु नहुने सिकेको संगीता बताउँछिन् । 'लडिरहनुपर्छ हार मान्नु हुन्न भन्ने सिकें । लडाईंचाहिँ लामो समय लक्ष्मी दिदी (लक्ष्मी अग्रवाल, जसको जीवन कथामा यो फिल्म बनेको हो) ले लड्नु भएको रहेछ । तर हाम्रोमा त सुरुमा बोल्नेहरु पनि लडाइँमा साथ दिन आउँदैनन्,' उनले भनिन् ।


'एसिड ब्यान्ड गर्नैपर्छ'

'छपाक'ले एसिड प्रतिबन्धको अभियान अगाडि बढाएको छ । फिल्म हेरिसकेपछि संगीतालाई पनि यो अभियान महत्वपूर्ण भएको बोध भएको छ । एसिड प्रतिबन्ध नगरेकाले युवतीहरुमाथि एसिड छ्यापिएको र अझै छ्यापिइन सक्ने उनको तर्क छ । 'एसिड ब्यान्ड गर्नैपर्छ । ब्यान्ड नभए आज अथवा भोली अरु कोहीलाई छयापिन्छ,' उनले भनिन् ।


एसिड छ्यापिएपछि संगीताको निम्न मध्यम वर्गीय परिवार पनि आर्थिक चपेटामा पर्‍यो । उपचारका क्रममा बुबा प्रेमबहादुर र आमा चमेलीको काम रोकियो । ऋण खोजेर गुजारा चलाए । 'आर्थिक अभाव त भयो । कसैको सहयोग नपाएको भए औषधि उपचार सम्भव थिएन,' उनले सुनाइन् ।


एसिड पीडितलाई सहयोग गर्नेहरुलाई फिल्मले हिरो बनाएर उभ्याएको छ । वास्तविक जीवनमा त्यस्ता सहयोगी कमै भेटिने गरेको संगीताको अनुभवले बताउँछ । सहयोगको नाममा स्वार्थ पूरा गर्नेहरुको भीड छ ।


अपराधीले अझै धम्क्याउँछ


तस्बिरहरु : अंगद ढकाल


अदालतले अपराधी जीवनलाई १० वर्षको सजाय सुनायो । उनले जेलमा पाँच वर्ष बिताइसके । तर, आफ्नो गल्ती भने उनलाई महशुस भएको छैन । प्रहरीले हातमा हत्कडी लगाउँदै गर्दा पनि उनमा कुनै अपराधबोध थिएन । बाहिर आएर परिवारलाई नै सखाप पारिदिने संकेत देखाएको कुरा संगीताको परिवारले अझै बिर्सेका छैनन् । जेलमा भेट्न जानेहरुसँग जीवनले सन्देश ल्याउँछन्- उसले बाहिर निस्किएपछि तिम्रो परिवारै सखाप पारिदिन्छु भनेको छ।


'जब त्यसलाई समात्यो । मुद्दा चलिरहँदा पनि चिठ्ठी पठाएको थियो,' उनले सम्झिन् 'म कालो कोट लगाएर आउँछु । परिवार नै सखाप पारिदिन्छु भनेर लेखेको थियो । अदालतमा जाँदा मम्मीलाई पनि इसारा गरेर काट्छु भन्ने संकेत देखाउँथ्यो । कसैको जीन्दगी बिगारेर, महान काम गरेको छु भन्ने सोच्छ । अझै पनि प्राउड नै फिल गरिरहेको होला ।'

'म बलियो छु' निडर सुनिइन् संगीता 'अपराधी सोच्दैन कि उसको पनि आमा दिदी छ । मेरो ठाउँमा उसको आमा दिदी परेको भए के हुन्थ्यो । कुनै नारीको जिन्दगी बर्बाद गरें, त्यसको अनुहार बिगारेर महान् काम गरें भनेर नै सोचिरहेको छ ।'

काम खोजिदिनु न !

२० वर्षिया संगीताले १२ कक्षाको अध्ययन सकाइन् । अब स्नातक गर्ने सोचमा छन् । कतै केही जागिर गर्ने सोच पनि छ । तर, पाएकी छैनन् ।


'छपाक'मा पनि दीपिकाले काम खोजिरहेको दृश्य छ । उनी कामका लागि धेरैतिर धाउँछिन् पनि । तर, अनुहारकै कारण उनले काम पाउँदिनन् । संगीताले भनिन्, 'म पनि काम खोजिरहेकी छु। पाइरहेकी छैन । बरु काम खोजिदिनुस् न मलाई ।'


अनि, फिल्मको यस्तै दृश्य सम्झेर संगीता मज्जाले हाँसिन् ।


संगीता आनन्दले हाँसेको देख्दा मलाई लाग्यो- जतिसुकै दुख र पीडामा पनि मान्छेको मनभित्र खुशीको मूल सुकेको हुँदैन ।

प्रकाशित : माघ १, २०७६ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?