कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कान्समा कपाडियालाई ‘ग्रान्ड प्रिक्स’

दक्षिण फ्रान्समा आयोजित कान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा भारतीय फिल्मले पहिलो पटक ‘ग्रान्ड प्रिक्स अवार्ड’ जितेको छ । पायल कपाडिया निर्देशित ‘अल वि इम्याजिन याज लाइट’ फिल्मले कानको दोस्रो प्रतिष्ठित अवार्ड हात पारेको हो । 

काठमाडौँ — विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा यसपटक केही फरक दृश्य देखियो । फेस्टिभलमा भारतीय फिल्म ‘अल वि इम्याजिन याज लाइट’ प्रदर्शन भइरहेको थियो । जब फिल्म सकियो, सबै दर्शकहरू आ–आफ्नो ठाउँबाट उठेर निकैबेर ताली बजाए । तालीको गडगडाहट करिब आठ मिनेटपछि मात्रै रोकियो । 

कान्समा कपाडियालाई ‘ग्रान्ड प्रिक्स’

फिल्म मे २३ मा कान्सको सबैभन्दा प्रतिष्ठित श्रेणी पाम डे’ओरअन्तर्गत प्रिमियर गरिएको थियो । फेस्टिभलको मुख्य प्रतिस्पर्धामा भारतबाट ३० वर्षपछि छानिएको फिल्म पनि हो, ‘अल वि इम्याजिन याज लाइट’ । यसअघि १९९४ मा साजी एन खरुनको ‘स्वाहम’ यस विधामा मनोनयनमा परेको थियो ।

१९८८ को कान्स फेस्टिभलमा भारतकी मीरा नैरको ‘सलाम बम्बे’ ले ‘क्यामेर डे’अर’ अवार्ड जितेको थियो । नैरको अर्को फिल्म ‘मनसुन वेडिङ’ ले २००१ को भेनिस फिल्म फेस्टिभलमा ‘गोल्डन लायन’ अवार्ड जितेको थियो । २०१३ को कान्समा रितेश बात्राको फिल्म ‘द लञ्चबक्स’ ले ग्रान्ड गोल्डन रेल अवार्ड जितेको थियो ।

कपाडियाको यही फिल्मले ७७ औं कान्स फिल्म फेस्टिभलमा भारतका लागि ऐतिहासिक सफलता दिलाएको छ । फिल्मले कान्ससको दोस्रो प्रतिष्ठित अवार्ड ग्रान्ड प्रिक्स जितेको हो । कान्समा भारतीय फिल्मको प्रिमियर गरिएकामा आभार व्यक्त गर्दै कपाडियाले अर्को भारतीय फिल्मका लागि ३० वर्ष नपर्खाउन अनुरोधसमेत गरिन् । ‘यो मेरा लागि विश्वासै गर्न नसकिने क्षण हो । विश्वास नलागेर आफैंलाई चिमोटिरहेकी छु,’ फेस्टिभलमा अवार्ड प्राप्त गरेपछि बोल्ने क्रममा कपाडिया मुस्कुराउँदै भनिन्, ‘मेरा लागि यस प्रतियोगितामा चयन हुनु नै ठूलो कुरा थियो । अवार्ड त मेरो कल्पना बाहिरको कुरा हो ।’

उमेरले भर्खर ३८ वर्ष टेकेकी पायल कपाडियाको निर्देशकीय डेब्यु फिचर फिल्म हो, ‘अल वि इम्याजिन याज लाइट’ । फिल्ममा तीन फरक उमेर र वर्गका महिलाहरूबीचको मित्रताको कथा प्रस्तुत गरिएको छ । मलायलम–हिन्दी भाषाको फिल्ममा कान्ति कुश्रुती, दिव्या प्रभा र छाया कदमले मुख्य भूमिका निर्वाह गरेका छन् ।

कपाडियाले यसअघि विभिन्न सर्टफिल्म तथा वृत्तचित्र बनाइसकेकी छन् । मुम्बईमा जन्मिएकी कपाडिया कलाकार नलिनी मलानीकी छोरी हुन् । आन्ध्र प्रदेशको ऋषि वैली स्कुल पढेकी कपाडियाले सेन्ट जेभियर्स कलेजबाट अर्थशास्त्रमा स्नातकोत्तर र सोफिया कलेजबाट स्नातकोत्तर गरेकी छन् । त्यसका साथै उनले पुणेस्थित फिल्म एन्ड टेलिभिजन इन्टिच्युट अफ इन्डिया’ मा फिल्म निर्माणसम्बन्धी अध्ययनसमेत गरेकी छन् ।

कपाडियाको पहिलो वृत्तचित्र ‘अ नाइट अफ नोइङ नथिङ’ ले २०२१ को कान्स फिल्म फेस्टिभलमा ‘गोल्डन आई अवार्ड’ जितेको थियो । उक्त वृत्तचित्र २०१५ मा भारतको पुणेस्थित फिल्म संस्थामा छात्राहरूले गरेको प्रदर्शनमा आधारित छ ।

चार महिनासम्म चलेको प्रदर्शनको कपाडियाले नेतृत्व लिएकी थिइन् । जसका कारण संस्थानले उनको छात्रवृत्तिसमेत कटौती गरिदिएको थियो । कपाडियाले ‘आफ्टरनुन क्लाउड्स’, ‘द लास्ट म्याङ्गो विफोर द मनसुन’ र ‘एन्ड ह्वाट इज द समर सेइङ’ को निर्देशन गरिसकेकी छन् ।

यस पटकको कान्समा भारतीय फिल्मकर्मीले तीन मुख्य अवार्ड हात पारेका छन् । कपाडियासँगै चिदानन्द एस नायकको ‘सनफ्लावर्स वेयर द फ्रस्ट वन टु नो’ र अनुसुया सेनगुप्ताको ‘द सेमलेस’ ले अवार्ड हात पारेका हुन् । नेपालमा छायांकन भएको ‘द सेमलेस’ ले ‘अन सर्टेन रिगार्ड’ विधामा पर्फर्मेन्स अवार्ड प्राप्त गरेको हो ।

कान्सको शीर्ष पुरस्कार ‘पाम डे’ओर’ भने अमेरिकी निर्देशक सिन बेकर निर्देशित फिल्म ‘एनोरा’ ले जितेको छ । फिल्ममा विदेशी नर्तकी (माईकी म्याडिसन) र रुसी धनाढ्यका छोरा (मार्क आइडेलेस्टेन) बीचको रोमान्टिक सम्बन्ध देखाइएको छ । यसअघि कान्समा बेकरका ‘द फ्लोरिडा प्रोजेक्ट’ र ‘रेड रकेट’ छनोट भएका थिए ।

यसअघि २०११ मा अमेरिकी निर्देशक टिरेन्स मल्लिकले ‘द ट्री अफ लाइफ’ का लागि उक्त अवार्ड जितेका थिए । पाम डे’ओरका दुई पटकका विजेता निर्देशक फ्रान्सिस फोर्ड कोपोला फिल्म ‘मेगालोपोलिस’ ले भने यस पटक कुनै सफलता हात पार्न सकेन । हलिउड निर्देशक जर्ज लुकासलाई पनि कान्समा मानार्थ पाम डे’ओर प्रदान गरिएको छ । मे १४ मा सुरु भएको कान्स शनिबार राति समापन भएको हो ।

प्रकाशित : जेष्ठ १४, २०८१ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?