कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड्स : ओमविक्रम विष्टलाई दीर्घ साधना सम्मान

पवनदीपको आकर्षक प्रस्तुति 

काठमाडौँ — पप सम्राट ओमविक्रम विष्टलाई रेडियो कान्तिपुरले आयोजना गर्दै आएको प्रतिष्ठित अवार्ड 'नेसनल म्युजिक अवार्ड्स-२०८०'मा दीर्घ साधना सम्मान (लाइफ टाइम अचिभमेन्ट) प्रदान गरिएको छ ।

रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड्स : ओमविक्रम विष्टलाई दीर्घ साधना सम्मान

नेपालमा पपमात्रै होइन, अनप्लग रेकर्डिङ भित्र्याउने विष्टलाई पाँच दशकदेखि यो विधामा गरेको साधनाको कदर गर्दै यो सम्मान दिइएको हो ।

'यो सम्मान पाएर म अत्यन्त हर्षित छु,' ७३ वर्षीय विष्टले अवार्ड उचाल्दै खुसी साटे । उनको सम्मानमा गायक सुरजकुमार थापाले विष्टको अत्यधिक रूचाइएको गीत 'म मौनतामा'माथि गायन प्रस्तुति दिए । गायक थापासँगै गायिका चाँदनी शाक्यले 'चञ्चले' बोलको गीतमाथि प्रस्तुति दिने क्रममा सम्राट विष्ट आफै पनि मञ्चमा उत्रिए । र, समस्याग्रस्त स्वरमै दुई गायक, गायिकासँगै आफ्ना गीतमा स्वर मिलाए । सम्राटले 'चञ्चले' र 'को हो त्यो जसले मलाई' गाइरहँदा दर्शक पनि झुमे ।

अवार्ड कार्यक्रम आकर्षणको केन्द्र बनेका भारतीय रियालिटी सो इन्डियन आइडल १२ औं सिजनका विजेता पवनदीप राजन र समूहले जब 'किसे पुछुँ' गीतबाट प्रस्तुति सुरू गरे, दर्शकका धेरैजसो मोबाइल उनीतर्फ तेर्सिए । करिब आधा घण्टाको प्रस्तुतिबीच पवनको समूहले 'तेरे मिट्टी', 'सायद', 'केसरिया', 'आसियाना', 'तेरा यार हुँ मे',आफै तबला बजाउँदै 'लगजा गले' लगायतका गीतमाथि प्रस्तुति दिए । आफूले स्वर दिएको नेपाली गीत 'तिम्रो हाम्रो भेट' पनि गाए । 'मैले नेपाली गीत पनि गाएको थिए, एकदमै राम्रो कम्पोजिसनमा, 'गीत सुरु गर्नुअघि पवनदीपले भने ।


रेडियो कान्तिपुरले आयोजना गर्दै आएको प्रतिष्ठित अवार्ड 'नेसनल म्युजिक अवार्ड्स-२०८०' को छैटौँ संस्करण यही जेठ ३२ मा आयोजना हुने भएको छ । रेडियो कान्तिपुरको वार्षिकोत्सवको अवसरमा आयोजना हुँदै आएको अवार्ड ५ औँ संस्करणबाट छुट्टै समारोहकाबीच हुँदै आएको छ ।

रेडियो कान्तिपुर छैटौं 'नेसनल म्युजिक अवार्ड्स-२०८०'मा यो वर्ष १३ विधामा अवार्ड वितरण गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा विसं २०७९ साउनदेखि २०८० असार मसान्तसम्म प्रसारण भएका गीतबाट अवार्ड वितरण गरिएको हो ।

उत्कृष्ट 'नवगायक/नवगायिका'को अवार्ड प्रभा अधिकारीको शब्द, सत्य र स्वरूपराज आचार्यको संगीत रहेको 'ए रात'बाट गायक सुरेश ढुंगानाले जिते । उत्कृष्ट रचनाकारतर्फ प्रदीप मैनालीले 'के लत बस्यो'बाट अवार्ड उचाले । दर्शकको मुखैमा झुन्डिएको यो गजललाई तिलकसिंह पेलाले गाएका हुन् भने गीतमा उनकै संगीत छ । उत्कृष्ट म्युजिक निर्देशनतर्फ 'ढुंगा जस्तो' बोलको गीतबाट महेश खड्काले अवार्ड पाए । सुवास चन्द्रको शब्द रहेको यो गीतमा गायक प्रमोद खरेलको आवाज छ ।


उत्कृष्ट लोकदाहेरी गायिकाको अवार्ड भने 'माझी दाइ'बाट शान्तिश्री परियारले जितिन् । नेत्र अर्यालको शब्द रहेको यो गीतमा खेम सेञ्चुरीको संगीत छ । उत्कृष्ट लोक गायकको विधामा 'सकम्बरी'बाट प्रकाश सपुतले अवार्ड पाए । यो विधामा प्रकाशसँगै प्रकाश दुतराज, राजु परियार, खेम सेञ्चुरी, राजु ढकाल मनोनयनमा परेका थिए ।

उत्कृष्ट पार्श्व गायिका बेनिशा पौडेलले 'नाइँ नभन्नु ल ६'को 'दिउँला माया'बाट जितेकी छिन् । यो विधामा बेनिशासँगै सहिमा श्रेष्ठ, सदिच्छा कट्टेल, निकिता थापा र रचना रिमाल मनोनयनमा परेका थिए । साथै, उत्कृष्ट पार्श्व गायकतर्फ एसडी योगीले 'बेमौसमी'बाट अवार्ड जिते । 'महापुरुष' फिल्मको यो गीतमा राम अविरल विष्टको शब्द र गायक योगीकै संगीत छ ।

उत्कृष्ट आधुनिक गायिकाको अवार्ड 'कयौं दुःख'बाट संगीता रानाले अवार्ड उचालिन् । यो विधामा उनीसँगै बानिका प्रधान, नुमा लिम्बू, रचना रिमाल र निशा देसार मनोनयनमा परेका थिए । उत्कृष्ट आधुनिक गायकतर्फ 'के लत बस्यो'बाट तिलकसिंह पेलाले अवार्ड जिते । यो गीतले रचनातर्फको अवार्ड पनि जितेको छ । उत्कृष्ट आधुनिक गायकको विधामा तिलकसँगै गायक राजेश पायल राई, कर्म ग्याल्जेन बोम्जन, सुरजकुमार थापा र हिमाल सागर मनोनयनमा परेका थिए । उत्कृष्ट ब्यान्डको विधा 'अपरिभाषित'बाट 'स्वर'ले अवार्ड उचाल्यो । यो विधामा अभया एण्ड द स्टिम इन्जिन्स, एक्सिस, मंकी टेम्पल र द एज ब्यान्ड मनोनयनमा परेको थियो ।


उत्कृष्ट पप गायिकामा 'बानी'बाट सुवानी मोक्तानले अवार्ड उचालिन् । यो विधामा अन्य गायिकाहरु त्रिशला गुरुङ, तृष्णा गुरुङ, मेलिना मैनाली र प्राश्ना शाक्य मनोनयनमा परेका थिए । चर्चित गीत 'सारंगी'बाट सुशान्त केसीले उत्कृष्ट पप गायकको अवार्ड उचाले । यही विधामा सुशान्तसँगै समीर श्रेष्ठ, सबिन राई, अपूर्व तामाङ र नवीन के भट्टराई मनोनीत थिए ।

'जे छौ तिमी'बाट 'पिपल्स च्वाइस' अवार्ड भने स्वप्न सुमन र समीर श्रेष्ठले जिते । यो विधामा सुशान्त केसी (सारंगी), डेभिड शंकर (दर्शन सलाम), सुजन चापागाईं (फूलथुंगे रानी) र तिलकसिंह पेला (के लत बस्यो) मनोनीत थिए । यी चर्चित मनोनयनबीच 'जे छौ तिमी'ले अवार्ड उचाल्यो । अवार्ड लिन स्वप्नमात्रै मञ्च उक्ले, समीर अनुपस्थित थिए । यो अवार्डको विजेता भोटिङमार्फत छनौट गरिएको हो ।


भारतीय गायक पवनसँगै कार्यक्रममा अन्य नेपाली गायक/गायिकाले समेत गायन प्रस्तुति पस्के । कलाकारहरू रचना रिमाल, बद्री पंगेनी, सुशान्त घिमिरे, सुगम पोख्रेल, अनु चौधरी र हिमाल सागरले प्रस्तुति दिए । त्यस्तै, कमेडियन सीता न्यौपानेले स्याण्डअप कमेडी प्रस्तुत गरिन् ।








तस्बिर : दीपक केसी/कान्तिपुर


प्रकाशित : जेष्ठ ३२, २०८१ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×