कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

बागलुङमा ७६ प्रतिशत कर संकलन

बागलुङ — आन्तरिक राजश्व कार्यालय बागलुङले जेठ मसान्तसम्म लक्ष्यको ७६ प्रतिशत राजश्व संकलन गरेको छ । जेठ मसान्तसम्म राखेको लक्ष्य ६७ करोड ५२ लाख मध्ये ५१ करोड ६८ लाख मात्रै राजश्व संकलन भएको हो ।

बागलुङमा ७६ प्रतिशत कर संकलन

जसमध्ये भ्याटबाट २९ करोड ३७ लाख लक्ष्य राखिएकोमा १९ करोड ८ लाख मात्रै संकलन भएको हो । जुन लक्ष्यको ६६ प्रतिशत हो । अन्तशुल्कबाट ४ करोड ५२ लाख लक्ष्य राखेकोमा ३ करोड ८७ लाख रुपैयाँ संकलन भएको कर अधिकृत मोहनप्रसाद आचार्यले जानकारी दिए । सेवा क्षेत्रको कर भने ८३ प्रतिशत संकलन भएको छ ।

सेवा क्षेत्रबाहेक आयकर असुलीमा २ सय प्रतिशत प्रगति गरेको आचार्यले जानकारी दिए । चालु वर्षको ११ महिनामा १ करोड १ हजार लक्ष्य राखेकोमा २ करोड १४ लाख संकलन भएको हो ।

गत वर्ष २०७९/०८० कार्यालयले १ अर्ब ५ करोड ५१ लाख राजश्व संकलन गर्ने लक्ष्य बनाएकोमा असार मसान्तसम्म ९५ करोड ३१ लाख रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो । अघिल्लो आर्थिक वर्ष ९० करोड ४० लाख राजश्व संकलन गरेको कार्यालयले पछिल्लो बर्ष लक्ष्य बढाएको थियो । असारमा मात्रै २४ करोड ४५ लाख संकलन भएको र लक्ष्य पूरा गर्ने आचार्यले जानकारी दिए ।

कार्यालयले चालुबर्ष १ हजार ९ सय २५ व्यवसायिक प्यान दर्ता गर्ने लक्ष्य राखेको छ । जेठ समान्तसम्म १ हजार ६ सय ४५ वटा दर्ता गरेको हो। भ्याटमा पनि १४ व्यवसाय दर्ता गर्ने लक्ष्य राखेकोमा १० वटा दर्ता भैसकेको हो । झुटाबिजक कारोवारमा पनि कार्यालयले चालु वर्ष ३ वटा संस्थालाई कारवाही गरिसकेको छ । ५ वटा व्यवसायिक संस्थाको अनुसन्धान गर्ने लक्ष्यमा ७ वटाको अनुसन्धान भएको थियो ।

आन्तरिक राजश्व कार्यालय स्थापना हुनु अघि यहाँका व्यवसायीले पोखरा पुगेर तिर्नुपर्ने कर बागलुङमै तिर्न पाएपछि करको दायरा बढेको छ । कार्यालयमा करतिर्ने अहिले २५ हजार करदाता पुगेका हुन् । पोखरा छउन्जेल जिल्लाबाट ५ हजार करदातामात्रै कर तिर्थे ।

पोखरा पुगेर तिर्नुपर्दा लक्ष्य अनुसार कर उठ्ने थिएन । क्रमश हरेक बर्ष कर राजश्वको उठ्ने दर बढी रहेको छ । लक्ष्यमा शतप्रतिशत नपुगेपनि हरेक बर्ष अंक भने बढेको हो । कार्यालयले करदाता शिक्षा अभियान ग्रामीण क्षेत्र सम्म बिस्तार गरेपछि कर संकलन बढेको आचार्यले बताए ।

‘बजेट अभामा बिकास निर्माण समेत ठप्प हुने अबस्थाबाट कर संकलनमा गिराबट आएको छ’ आचार्यले भने, ‘तर हामीले करको अंक भने बढाइ रहेका छौं ।’ असारमा कर संकलन राम्रो उठ्ने र त्यसले शतप्रतिशत नजिक पुग्न सकिने आचार्यले जानकारी दिए । कतिपय शिर्षकमा लक्ष्यबढी राजश्व संकलन भएको छ । केहीमा नपुग छ । त्यसैले राजश्व संकलनमा कठिनाइ छैन । तर कर रहरले तिरौ भन्ने मान्यता बिकास गर्न सके लक्ष्यभन्दा माथी पुग्न सकिने उनले बताए ।

प्रकाशित : असार ३, २०८१ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×