कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बागद्वारबाट 'जेसुम यात्रा'

काठमाडौँ — कलाका विभिन्न प्लेटफार्ममार्फत स्थानीय सम्पदा, संस्कृति प्रर्वद्धन गर्ने उद्देश्यले ६ वर्षअघि सुरू भएको ‘जेसुम यात्रा’ यसपटक बाग्मतीको उद्गमस्थल बागद्वारबाट सुरु भएको छ ।

बागद्वारबाट 'जेसुम यात्रा'


विभिन्न साहित्यकार, पत्रकार, चित्रकार र रंगकर्मी सहभागी काभ्रेको धुलिखेलबाट सुरु भएको अभियानले विगतमा नगरकोट, भक्तपुर, बौद्ध, तरकेश्वर, विष्णुद्वार, धनकुटा लगायत विभिन्न थलोका सम्पदास्थल पुगेर प्रत्यक्ष साहित्य रचना, चित्रकला सिर्जना र नाट्य प्रस्तुति गरिसकेको छ ।

‘यसपटक हामीले बाग्मती सभ्यताको उदगमस्थललाई रोज्यौं’, अभियानका संस्थापक एवं बुढानीलकण्ठ नगरपालिकाकी उपमेयर समेत रहेकी साहित्यकार अनिता लामाले भनिन्, ‘बीचमा केही समय रोकिएपछि फेरि यो अभियान सुरु गरेका हौं ।’

यसपटक बागद्वार पनि पदयात्रा गर्दै कवि अनिता लामासँगै नारद बज्राचार्य, फूलकुमार बमजन, स्नेह सायमी, बालकृष्ण बस्नेत, फूलमान वल, जयन्ता पोखरेल लगायतले कविता सिर्जना गरेर प्रत्यक्ष सुनाए भने दिपेन्द्र बनेपाली, एनबी गुरुङ, विनोद गुप्ता, चन्द्र श्रेष्ठ, विपना महर्जन, नेमबहादुर तामाङ, मनरा प्रजापति, लुनिभा महर्जन लगायतका चित्रकारहरुले लाइभ चित्र कोरे । त्यस्तै सरोज अर्याल, केदार श्रेष्ठ, अनामिका गौतम, समापिका गौतम लगायतका रंगकर्मीले जीवन र प्रकृतिसँगको सम्बन्ध जोडिएको थिममा ‘ठेगाना’ नामक छोटो नाट्य प्रस्तुति दिए ।

बुढानीलकण्ठ नगरपालिकाको व्यवस्थापकीय सहकार्य रहेको यसपटकको यात्रामा जेसुम अभियन्ताहरुलाई बुढानीलकण्ठका मेयर मिठाराम अधिकारीले रुद्राक्षको माला लगाएर स्वागत गरेका थिए । त्यसपछि कवि, चित्रकार, संचारकर्मी र रंगकर्मीहरुको टोलीले नागी गुम्बाबाट यात्रा तय गर्दै बागद्वारा हुँदै शिवपुरी पिकसम्म पुगेर टुंग्याएका थिए । ‘स्थानीय संस्कृति र सम्पदा प्रबद्र्धनमात्रै हैन, यो यात्रा विश्वव्यापी प्रकोप बन्दै गइरहेको जलवायु परिर्तनप्रतिको सचेतना पनि हो’, प्रेस काउन्सिलका अध्यक्ष समेत रहेका जेसुम संस्थापकमध्ये एक बालकृष्ण बस्नेतले भने, ‘अभियानको नाम भने तामाङ भाषाबाट लिएका छौं, जसको अर्थ हुन्छ, सबैभन्दा सुन्दर ।’

अभियानलाई साथ दिन बाग्मती प्रदेशका पूर्व सासद एवं नेकपा एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौला पनि पुगेका थिए । बीचमा केही समय रोकिएको भएपनि अब यो यात्राले निरन्तरता पाउने जेसुम संयोजक लामाले बताइन् ।

प्रकाशित : असार ३, २०८१ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×