मनसुन सुस्त गतिमा, देशभर फैलन अझै साता दिन लाग्ने
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — नेपालमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि यो प्रणाली सुस्त गतिमा अगाडि बढिरहेको छ । मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभर फैलिन अझै एक साताभन्दा बढी समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![मनसुन सुस्त गतिमा, देशभर फैलन अझै साता दिन लाग्ने](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/monson-1762024063727-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुन अहिले कोशी प्रदेशको पूर्वी र उत्तरी भेगमा केन्द्रित छ । मनसुन फैलिएको क्षेत्र अर्थात् कोशी प्रदेशका सबैजसो जिल्लामा वर्षात् भइरहेको छ ।
मनसुन भित्रिएको लामो समय भइसके पनि यो निकै सुस्त गतिमा रहेकाले सङ्घीय राजधानी काठमाडौँ आइपुग्न अझै केही दिन लाग्ने मौसमविद् मानन्धरको भनाइ छ ।
“मनसुन कोशी प्रदेशको पूर्वतिर रहेको छ । यो पश्चिमतर्फ विस्तारका क्रममै छ तर निकै सुस्त गतिमा । काठमाडौँ आइपुग्न दुईदेखि तीन दिन र काठमाडौँ पुगेको पाँचदेखि सात दिनपछि मात्रै सुदूरपश्चिम क्षेत्रमा पुग्ने देखिएको छ”, मौसमविद् मानन्धरले भने ।
अघिल्लो वर्षको मनसुन पनि देशभर फैलिन करिब तीन हप्ता लागेको जानकारी दिँदै मानन्धरले यस वर्ष यही जुन १० तारिखका दिन मनसुन प्रवेश गरेको बताए ।
महाशाखाका अनुसार गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले नयाँ प्रणालीको विकास भए पनि वर्षा प्रभावकारी हुन सकेको छैन । गण्डकीको पोखरा आसपास र सुदूरपश्चिमको दार्चुलामा मात्रै हल्का वर्षा भइरहेको छ ।
अहिले कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहेको छ । बागमती प्रदेशका एक/दुई स्थानमा मात्रै हल्का वर्षा भएको छ । महाशाखाले साँझ जारी गरेको बुलेटिनमा हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारत आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
आज राति कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित : असार ३, २०८१ २२:२३