कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अरुको सहारामा फिल्म चलाउनुपर्छ भन्दा नराम्रो लाग्छ : अभिनेत्री खड्का 

काठमाडौँ — कोभिड महामारीबीच हल खुल्दा नेपाली फिल्मले खासै प्रदर्शनको आँट गर्न सकेनन् । झन्डै २ वर्षपछि हल खुल्दा महामारीअघि प्रदर्शन रोकिएर बसेका फिल्मले पनि नयाँ मिति तोक्न सकेनन् ।

अरुको सहारामा फिल्म चलाउनुपर्छ भन्दा नराम्रो लाग्छ : अभिनेत्री खड्का 

तर यसबीच प्रदर्शनमा आएको हिन्दी फिल्म 'सुर्यवंशी'ले नेपालमै करोडौं रकम कमायो । अभिनेता अक्षय कुमारले भारतमा मात्र होइन नेपालका हलमा दर्शकको घुइँचो फर्काइदिए ।

हल खोलेसँगै प्रदर्शनमा आएको 'डाँडाको वरपीपल'ले हलिउड फिल्मले पाएको दर्शक पनि बटुल्न सकेनन् । हिन्दी फिल्मले हलमा चहलपहल बढाइदिएपछि नेपाली फिल्मकर्मीले धमाधम फिल्मको प्रदर्शन तोक्न थाले । 'चपलीहाइट ३', 'म यस्तो गीत गाउँछु २', 'सम्हालिन्छ कहिले मन'ले हिन्दी फिल्म पर्खिएको देखियो । कतिले नेपाली फिल्मकर्मीलाई आफ्नो फिल्ममाथि नै विश्वास नभएको, नेपाली फिल्ममा दर्शक तान्ने क्षमता नभएको भन्दै आलोचना गरे ।

फिल्म प्रदर्शनका लागि नेपालीले हिन्दी फिल्मकै भर परेको सुन्दा कस्तो लाग्छ ? राजधानीमा आयोजित एक कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्कालाई प्रश्न सोध्दा उनले जवाफमा नराम्रो लाग्ने सुनाइन् ।

'बलिउड/हलिउड फिल्मसँग हाम्रो फिल्म जुध्दा हामीलाई खुसी लाग्दैन । तर फिल्म रिलिज गर्नलाई हामी बलिउड र हलिउड फिल्म कुर्नुपर्ने रहेछ भन्दा कलाकारका हिसाबले नराम्रो त लाग्छ । तर फिल्ममा ठूलो लगानी हुन्छ । लगानीकर्ताले त फिल्म प्रदर्शन गर्नु अगाडि २ चोटी सोच्छन् नि ! तर अरुको सहारामा फिल्म चलाउनुपर्छ भन्दा नराम्रो लाग्दो रहेछ,'उनले भनिन् ।

उनी अभिनित फिल्म 'चपलीहाइट ३' पुस २ गतेदेखि प्रदर्शनमा आउँदैछ ।


प्रकाशित : मंसिर ३, २०७८ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?