कान्समा 'लोरी'लाई स्पेशल मेन्सन अवार्ड

जेष्ठ १५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — अविनाशविक्रम शाह निर्देशित लघु फिल्म 'लोरी'ले चर्चित फिल्म फेस्टिभलमा कान्समा स्पेशल मेन्सन अवार्ड जितेको छ । पहिलो पटक कान्समा छनोटमा परेको फिल्मले लघु फिल्मतर्फको यो अवार्ड पाउन सफल भएको हो । 

१४ मिनेट लामो फिल्ममा बाल विवाहको विषयमा समेटिएको छ । यसअघि अविनाशकै फिल्म 'एलिफेन्ट इन दि फग' कान्सको मेन्टरसिप कार्यक्रमतर्फ छनोटमा परेको थियो । कान्सको ७५ औं संस्करणमा नेपालको प्रतिनिधि गरेको यस फिल्मलाई अहिले बधाई दिनेको ओइरो छ ।

अभिनेत्री सुरक्षा पन्तले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्,' बधाई छ अविनाशविक्रम शाह अनि लोरी टिम । पहिलो पटक कान्समा प्रदर्शन आएको फिल्मले स्पेशल मेन्सन अवार्ड जितेको छ ।' यसै वर्ष विदेशी फिल्म 'द एट माउन्टेन्स'मा अभिनय गरेकी सुरक्षालाई कान्सको रेड कार्पेटमा हिँड्ने मौका मिलेको थियो । 

कान्तिपुर

Link copied successfully